दिउसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउसो १ बजेसम्मका मुख्य १० समाचार


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. बाढीले नुवाकोट र रसुवाका सडक तथा पुलमा क्षति

गएरातिको वर्षापछि आएको बाढीले नुवाकोट र रसुवाका सडक तथा पुलमा क्षति पुर्‍याउँदा यातायात आवागमन अवरुद्ध भएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ बनुवा घुम्तीस्थित पासाङ ल्हामु राजमार्ग पहिरोले भत्काएपछि दुईतर्फी सवारी आवागमन ठप्प भएको छ । प्रहरीका अनुसार त्यहाँ वैकल्पिक बाटो बनाउने प्रयास भइरहेको छ ।

पासाङ ल्हामु सडकमा क्षति पुग्दा गोसाइँकुण्ड जाने पर्यटक र स्थानीयवासी प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार तादी नदीमाथि बनेका कतिपय पक्की पुलहरू भत्किएका छन् ।

२. कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । सभापति शेरबहादुर देउवा र उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ अनुपस्थित भएपछि  महामन्त्री गगन थापाको अध्यक्षतामा बैठक बसिरहेको हो ।

१४ औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि थापाले पहिलो पटक कांग्रेसको बैठक अध्यक्षता गरेका हुन् । स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि साउन  ३० र ३१ मा  गर्ने तय भएको अभिमुखीकरण कार्यक्रमको तयारीका लागि बैठक बसेको एक पदाधिकारीले  बताएका छन् ।

३. जापान भ्रमण सकेर दाहाल आज स्वदेश फर्किदै 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने जापान भ्रमण सकेर आज स्वदेश फर्किने भएका छन् ।

नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणामा गत शुक्रबार अध्यक्ष दाहाल जापान प्रस्थान गरेका थिए । दाहालसहितको टोली आज दिउँसो साढे ३ बजे काठमाडौं आइपुग्ने  उनको  सचिवालयले जनाएको छ ।  

४. कैदी तथा बन्दीको नगद भत्ता वृद्धि गर्ने तयारी

सरकारले विभिन्न कसुरमा कैद भुक्तानरत र मुद्दाको किनारा नलागेर पुर्पक्ष थुनामा रहेका कैदी तथा बन्दीको नगद भत्ता वृद्धि गर्ने भएको छ ।

कैदीबन्दीले पाउने दैनिक भत्ता र दशैँ खर्चबापतको रकम वृद्धि गर्न गृह मन्त्रालयले कारागार नियमावली– २०२० संशोधन प्रक्रिया अघि बढाएको हो । साउनबाटै बढेको भत्ता पाउने गरी नियमावली संशोधन गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । हाल कैदीबन्दीले दैनिक पाउँदै आएको नगद भत्ता रकम ६० रुपैयाँबाट बढाएर ८० बनाउन प्रस्ताव गरिएको छ ।

५. बालाजुस्थित जुत्ता कारखानामा आगलागी   

काठमाडौंको बालाजुस्थित जुत्ता कारखानामा आगलागी  भएको छ ।  औद्योगिक क्षेत्रनजिकै रहेको  बाइपासको एक जुत्ता  कारखानामा आगलागी भएको हो । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरीसँगै नेपाली सेना, सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।

काठमाडौं महानगरको एउटा दमकल त्यहाँ पुगिसकेको र ललितपुर  भक्तपुरको दमकललाई पनि आगो नियन्त्रणका लागि  बोलाइएको  प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

६. सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना भएका छन् । मुख्यमन्त्री भट्टलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव शिव ओलीले जानकारी दिए ।

अस्पताल प्रशासनले भने मुख्यमन्त्री भट्टको स्वास्थ्यावस्थाबारे कुनै जानकारी सार्वजनिक गरेको छैन ।

७. जहाजबाट पक्राउ परेका व्यक्ति १० हजार धरौटीमा रिहा

केही दिनअघि भारत जान लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजभित्रबाट पक्राउ परेका सन्तोष लामिछाने १० हजार धरौटीमा रिहा भएका छन् । उनी अभद्र व्यवहार मुद्दामा १० हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका हुन् ।

लामिछानेलाई पक्राउ गर्न उड्नै लागेको प्लेन समेत रोकेर प्रहरीको विशेष ब्युरोले अपरेसन नै चलाएको थियो । त्यस क्रममा २ घण्टा प्लेन डिले भएको थियो ।

पक्राउ परेका व्यक्तिको कैलालीमा सुनचाँदी पसल समेत रहेको र भारतमा सुन चोरेर ल्याई खरिद बिक्री गर्ने गरेको आरोप लागेको थियो ।  

८. अमेरिकाद्वारा फिनल्याण्ड र स्वीडेनलाई नाटो सैन्यमा सहभागी गराउने पत्रमा हस्ताक्षर 

अमेरिकाका राष्ट्रपति जो बाइडेनले फिनल्याण्ड र स्वीडेनलाई नाटो सैन्य गठबन्धनमा सहभागी गराउने पत्रमा  हस्ताक्षर गरेका छन् । फिनल्याडस्वीडेनलाई नाटोमा सहभागी गराउन अनुमति दिने अमेरिका गठबन्धनको २३ औं देश हो ।

राष्ट्रपति बाइडेनले गठबन्धनका अन्य देशहरूलाई पनि यथाशक्य छिटो यो प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् ।

९. राष्ट्रिय टोलीकी मिडफिल्डर दिपा भारतीय क्लबमा अनुबन्धित 

नेपाल पुलिस क्लब तथा राष्ट्रिय टोलीकी मिडफिल्डर दिपा न्यौपाने भारतीय क्लबमा अनुबन्धित भएकी छिन् । मिडफिल्डर दिपाले केरेला महिला लिगका लागि भारतीय क्लब डन बस्को एफएसँग सम्झौता गरेकी छिन् ।

दिपा प्रतियोगिताका लागि आज दिउँसो  भारत प्रस्थान गर्ने छिन् । दिपाले खेल्ने केरेला महिला लिग आजबाट सुरु हुँदैछ ।

१०. एसीसी एसिया कप क्रिकेटको क्वालिफायरका खेलहरू ओमानमा हुने  

एसीसी एसिया कप क्रिकेटको क्वालिफायरका खेलहरू ओमानमा आयोजना हुने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आज एक विज्ञप्ति निकाल्दै छनोट ओमानमा हुने जानकारी गराएको हो ।

छनोट प्रतियोगिता २० अगस्टबाट २४ अगस्टसम्म चल्नेछ ।प्रतियोगितामा सिंगापुर, युएई, हङकङ र कुबेत सहभागी हुनेछन् ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १ : २९ बजे

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेले पाए भौतिक पूर्वाधार मन्त्रालय

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको