फूर्सदमा गीत गुन्गुनाउने विशेषज्ञ डाक्टर | Khabarhub Khabarhub

फूर्सदमा गीत गुन्गुनाउने विशेषज्ञ डाक्टर

कलेजो रोग विशेषज्ञ डाक्टर रमेशसिंह भण्डारीको सफलता कथा



काठमाडौँ – डा. रमेशसिंह भण्डारी चिकित्सा क्षेत्रमा चर्चित छन् । दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको उपचार गर्दा उनी टिमका प्रमुख थिए । टिचिङ अस्पतालमा कार्यरत उनले कैयन् बिरामीको सफल कलेजो प्रत्यारोपण गरेका छन् ।

टिचिङका उपप्राध्यापक समेत रहेका डा. भण्डारीले केही गीत पनि निकालेका छन् । बिरामीसँग मीठो बोल्ने उनको स्वभावले बिरामीले पनि उनलाई आफन्तको जस्तो व्यवहार गर्छन् । १६ वर्षदेखि उनी टिचिङ अस्पतालमा सर्जनका रुपमा कार्यरत छन् ।

बैतडीमा जन्मिएका डा. भण्डारी काठमाडौंमा हुर्किए । उनका बुबा कामको सिलसिलामा भारतमा थिए । आफन्तहरू काठमाडौंमा भएका कारण उनका बुबाले छोरालाई काठमाडौंमा राखेर पढाउनुपर्छ भन्ने मान्यता राख्थे । बुबाले उनलाई काठमाडौंमै राखिदिए आफन्तसँग ।

‘म घरको जेठो छोरो थिएँ, यसलाई त जसरी पनि पढाउनुपर्छ भनेर घरमा सल्लाह गर्नुभयो र म तीन वर्षकै उमेरमा काठमाडौं आएँ,’ डा. भण्डारी आफ्नो बाल्यकाल सम्झन्छन् ।

त्यतिबेला अहिलेजस्तो सञ्चारको विकास भइसकेको थिएन । बैतडीमा रहेको आफ्नो परिवारसँग कुरा गर्ने माध्यम चिठी थियो । बेलाबेलामा चिठी पठाउँथे । चाडपर्वमा घर पुग्थे ।

डा. भण्डारीले काठमाडौं आएर राजधानीकै भीएस निकेतन स्कुलमा अध्ययन गरे । उनले त्यहीँबाटै एसएलसी दिए । त्यसपछि वीरेन्द्र सैनिक अस्पताल भक्तपुरबाट आईएसी गरे । त्यसपछि उनी प्रवेश परीक्षामा उत्तीर्ण भएर धरानस्थित धरान इन्स्टिच्युटमा थप अध्ययनका भर्ना भए ।

‘मैले एमबीबीएस सकेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापन थालेँ, पछि त्यहीँ उपप्राध्यापकका रुपमा आफ्नो करिअर अगाडि बढाएँ,’ उनी भन्छन् ।

अध्यापनकै सिलसिलामा उनले कलेजो सम्बन्धी लिभर ट्रान्सप्लान्टको तालीम लिन उनी अस्ट्रेलिया गए । अहिले उनी नेपालमै बसेर बिरामीहरूको सेवा गरिरहेका छन् ।

डाक्टर बन्छु भन्ने हौसला

आफूलाई सानोमा गीत गाउन मन लाग्ने डा. भण्डारी बताउँछन् । पढाइलाई अगाडि बढाउँदै लैजाँदा कक्षा दशमा पुगेपछि डाक्टर बन्ने सोच आएको उनी बताउँछन् ।

‘मेरो पढाइ पनि राम्रो थियो, त्यसैले सबैले एमबीबीएस पढ्दा राम्रो हुने सुझाव दिनुभयो, त्यही अनुसार अगाडि बढेँ,’ उनी सम्झन्छन् ।

धरानमा पढाइ सकेर उनी काठमाडौँ फर्किए । उनको भागमा सर्जरी पर्‍यो । त्यसपछि उनी यही विधामा थप पोख्त हुन थाले । ‘शुरुमा मेरो रुचि पिडियाट्रिक्स (बाल चिकित्सा) मा थियो, पछि सर्जरीतिर लागियो, इच्छा अर्कातिर भएकाले सर्जिकलमा राम्रो गर्न सकिँदैन कि भन्ने लागेको थियो तर अगाडि बढेँ,’ डा. भण्डारी भन्छन् ।

सफलता हासिल गर्दाका ती क्षण

त्यसो त परीक्षा सँधै गाह्रो नै हुन्छ । यसको नतिजाको फल मीठो आयो भने चाहिँ खुशी लाग्छ । डा. भण्डारीलाई पनि त्यस्तै भएको थियो ।

‘म डाक्टरको पढाइ सकिँदा निकै खुशी थिएँ, त्यसपछि अस्ट्रेलियाको छात्रवृत्ति पाउँदा पनि उत्तिकै खुशी लागेको थियो, अर्को त जागिरमा आफ्नो प्रमोसन हुँदा पनि धरै खुशी भएको थिएँ,’ उनी भन्छन् ।

उनका अनुसार डा. भण्डारी लिभर ट्रान्सप्लान्टका लागि दश वर्षदेखि लागिपरेका थिए । धेरै मेहनत र प्रयासपछि सन् २०१९ मा बल्ल शुरु गरेका थिए । ‘त्यो दिनको खुशी त अझ बेग्लै छ, त्यो सफलताको पछाडि धेरै मेहनत छ, म निकै नै खुशी थिएँ,’ उनी स्मरण गर्छन् ।

कलेजो प्रत्यारोपण युनिटको प्रमुखका रुपमा काम गर्दाको अनुभव

नेपालमा पहिलोपटक भक्तपुरको एमआर अर्गान ट्रान्सफर सेन्टरमा कलेजो प्रत्यारोपण भएको उनी बताउँछन् । पछि टिचिङ अस्पतालमा पनि शुरु गरियो । टिचिङमा पनि सफलताका साथ कलेजो प्रत्यारोपण भइरहेको छ । र, उनी उक्त टिमको प्रमुख छन् ।

‘अस्ट्रेलियामा लिभर (कलेजो) सर्जरीका लागि छात्रवृत्ति माग्दा के का लागि भनेर सोधिएको थियो, त्यतिबेला हामीले नेपालमै कलेजो प्रत्यारोपण गर्ने सन्दर्भ उठाएको थिएँ,’ उनी भन्छन् ।

अस्ट्रेलियाबाट फर्किएपछि कलेजो प्रत्यारोपणका लागि मुख्य चुनौती खडा भएको उनी सुनाउँछन् । उनका अनुसार त्यतिबेला सबैलाई बुझाउनुपरेको थियो भने एउटा टिम नै तयार गर्नुपरेको थियो । साथै चाहिने उपकरणका लागि स्वास्थ्य मन्त्रालयसँग सहयोग माग्नुपरेको थियो ।

‘त्यतिबेला हामीले मन्त्रालयबाट १५ करोड सहयोग पायौँ, त्यसपछि एक वर्षको बीचमा सबै उपकरणहरूको व्यवस्थापन गर्‍यौँ, लाइसेन्सका लागि प्रक्रिया अगाडि बढायौँ,’ उनी थप्छन्, ‘अहिले त धेरै सहज भइसकेको छ, यस वर्षमात्र आठ वटा कलेजो प्रत्यारोपण गरिसकेका छौँ ।’

डा. भण्डारीका अनुसार पहिले र अहिले कलेजो प्रत्यारोपण गर्दा प्राविधिक रुपमा फरक परेको छ । शुरुमा जति गाह्रो थियो, त्यति अहिले छैन । अहिले प्रविधि पनि त्यही अनुपातमा विकास भइरहेको छ । अहिले पनि अन्य संस्थाहरूको सहयोग लिए पनि टिचिङ अस्पतालकै डाक्टरको टिमले यसलाई अगाडि बढाइरहेका छन् ।

टिचिङमै दिनको दश घण्टा बिताउँछन्

डा. भण्डारीले वृन्दा काफ्लेसँग बिहे गरेका छन् । दुवैजना टिचिङमै कार्यरत छन् । डा. भण्डारी भन्छन्, ‘अहिले पनि हामीले दैनिक दश घण्टा त टिचिङमै बिताउँछौँ ।’

बिहानदेखि साँझसम्म काम गर्दा प्रायः रातिको दश बज्ने उनी बताउँछन् ।

बिरामीसँग गीत गाएर थेरापी गराउँछन् भण्डारी

डा. भण्डारीको अर्को रुचि के हो भने उनले गीतमा खुबै रुचि राख्छन् । त्यसो त उनको यो रुचि सानैदेखिको रुचि हो ।

‘मलाई गीत र खेलकुदमा सानैदेखि रुचि लाग्छ । केही गीत पनि गाएको छु । ती गीतले बिरामीलाई पनि हौसला मिल्छ । बिरामीसँग जति खुल्यो, त्यति उहाँहरूले आफ्ना समस्या भन्नुहुन्छ,’ उनी भन्छन् ।

हालै मात्र उनले ‘तिम्रो नै माया’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेका छन् । जुन गीतमा स्वर, संगीत र शब्द डा. भण्डारीकै छ ।

‘मैले गीत र संगीतलाई पनि प्राथमिकतामा राख्ने गरेको छु,’ उनी भन्छन् ।

कलेजो प्रत्यारोपणका लागि टिचिङ अस्पतालमा अहिले धेरै नै बिरामी आउने गरेका छन् । कलेजोका बिरामी धेरै आउने भएकाले कलेजो प्रत्यारोपण पनि धेरै नै हुने गरेको छ ।

उनी सल्लाह दिन्छन्, ‘हामीले कलेजो जोगाउनुपर्छ, मदिरा सेवन गर्दा कलेजो खराब हुन्छ, अन्य रोग देखिँदा पनि तुरुन्त उपचार गराइहाल्नुपर्छ, आममानिसमा कलेजोको रोग लाग्यो भने निको हुँदैन भन्ने छ, तर ख्याल गर्न सक्यो भने निको हुन्छ ।’

चिकित्सकको जिन्दगी र संगितको माहोल

डा. भण्डारीलाई बिहान उठेदेखि नै दौडधुप हुन्छ । उनी बिहान र बेलुकाको समयमा अन्य निजी अस्पतालमा समेत सेवा प्रदान गर्ने भएकाले दैनिकी झनै व्यस्त छ । यही व्यस्त दैनिकीलाई अस्तव्यस्त हुनबाट जोगाउन संगीतले ठूलो भूमिका खेलेको उनको अनुभव छ ।

भण्डारी भन्छन्, ‘बिहान घरबाट निस्किएपछि एक्कैपटक बेलुकी मात्रै घर पुग्छु । यति धेरै व्यस्तताबीच गीतारको तारमा हात कोतर्दै गीत गाउँदा सम्पूर्ण थकान मेटिन्छ ।’

‘डाक्टरभन्दा पहिला मानिस हुँ, थकान महसूस हुन्छ, चिन्ता पनि लाग्छ । तर, जब संगीतको सामु पुग्छु, चिन्ता र थकान सबै बिर्सिएर आनन्ददमा पुग्छु,’ उनी भन्छन् ।

सानैदेखि संगीतमा रुचि भए पनि यसलाई सबैसामु पुर्‍याउन भने प्रधानमन्त्री रहेका बेला केपी शर्मा ओलीको भूमिका महत्वपूर्ण रहेको उनी बताउँछन् । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको एपेन्डिसाइटिसको जटिल शल्यक्रिया उनैले गरेका थिए । सर्जरी पश्चातको १० दिन प्रधानमन्त्री अस्पतालमा नै बसेका थिए ।

‘मोबाइलमा मैले रियाज गर्दा गाएका गीत रेकर्ड गरिएको थियो । ती रेकर्ड प्रधानमन्त्रीलाई सुनाएँ । मोबाइलमा सुनेपछि लाइभ गाउन लगाउनुभयो र उहाँले नै रेकर्डका लागि हौसला प्रदान गर्नुभयो,’ उनले भने ।

प्रधानमन्त्री ओलीसँगका ती दिन सम्झँदै उनले भने, ‘पार्टीगत राजनीतिको कुरा मलाई थाहा छैन तर उहाँ निकै सकारात्मक व्यक्ति हुनुहुन्छ ।’

 

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  १ : ४० बजे

प्रधानमन्त्री ओलीद्वारा ‘सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र’ मा श्रद्धाञ्जली व्यक्त

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको

राष्ट्रिय एकता प्रवर्द्धनमा खेल क्षेत्रको भूमिका महत्त्वपूर्ण : प्रचण्ड

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय

काठमाडौं – अर्थ मन्त्रालयले सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश विषयलाई

सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभापति देउवा

वीरगञ्ज – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण

स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री खलीलबीच भेट, केके भए कुराकानी ?

काठमाडौं । इन्डोनेसियाको भ्रमणमा रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल