अप्रिय प्रिय !
म अर्चना – तिमीद्वारा १५ वर्ष अघि बलात्कृत केटी । म एकदम सञ्चै छु । सुन्छु तिमीलाई सञ्चो छैन रे । हुनत तिमी सञ्चो हुनु र नहुनुले मलाई खासै फरक पर्दैन ।
नयाँ जिन्दगी पाएपछि अघिल्लो जुनीका सबै घटना र पात्र बिर्सन खोजे पनि तिमीहरू दुईजना मेरो दिमागमा सधैँ आउँछौ– एकजना मेरी आमा र अर्को तिमी । मेरी आमा– जसले मेरो खुसीको लागि आफ्ना खुसी र चाहना माथि जीवनभर बलात्कार गरिन् । तिमी– जसले आफ्नो तृष्णा मेटाउन घरमुनि बगैँचामा मलाई रातभरी बलात्कार गर्यौ ।
*******
करिब करिब ६२–६३ सालको कुरा हो । त्यतिखेर काठमाडौँको सञ्चार माध्यममा चरम संघर्षका दिनहरू बिताउँदै म रातदिन मेहनत गर्थें । त्यसै क्रममा रेडियो एचबिसीमा कार्यक्रम निर्माता तथा प्रस्तोताको काम गर्थें ।
त्यहाँ मेरा ‘आरूबारीका फूलहरु’, ‘नचम्किएका हिराहरु’, ‘सरगम’, ‘गीत गंगा’ लगायत केही कार्यक्रम थिए । ती मध्ये श्रोताहरूले निकै मन पराएको एउटा कार्यक्रम थियो– ‘गोरेटो र घुम्तीहरू’ । जसमा म कुनै एकजना श्रोताले पठाएको कथा बाचन गर्थें । बीच बीचमा सान्दर्भिक नेपाली गीतहरू पनि समावेश गर्थें । त्यतिबेला चिठीको समय हुनाले चिठीपत्र प्रशस्तै आउँथे । निकै राम्रा कथाहरू आउँथे । छानेर पढ्नै गाह्रो पर्दथ्यो ।
त्यसै क्रममा एकदिन अफिसमै बसेर प्राप्त कथाहरू मध्ये एउटा छान्न खोज्दै थिएँ । निकै सुन्दर अक्षरले लेखिएको एउटा कथामा मेरा आँखा अडिए । निकालेर हेरें । प्रेषकको नाम मात्र ‘अर्चना’ थियो । थर, ठेगाना केही थिएन । म कथा पढ्न थालें । शुरूमा शीर्षकले नै मलाई आकर्षित गर्यो – ‘बलात्कारीलाई प्रेमपत्र ।’ अनि म कथा पढ्न थालें । यो त्यही कथा हो, जुन आजसम्म पनि उत्तिकै सान्दर्भिक र समसामयिक छ ।
*******
अर्चना जी अगाडी लेख्नुहुन्छ :
तिमीलाई सुनाउने मेरा धेरै कथा छन् । कृपया पूरै पढ है ! नडराउ म केही गर्दिन । भरोसा सबै मान्छेले कहाँ तोड्छन् र अप्रिय ?
बलात्कृत हुनु एउटा पीडा, त्यसलाई लुकाएर जीवनभर बस्नु, एक्लै रूनु अर्को पीडा ! म त्यस्तो समाज र देशमा जन्मेकी हुँ जहाँ न म फुलन देवीको जसरी विद्रोह गर्न सक्छु, न ‘मी टु’ अभियान चलाउने एलिसा मिलानो जसरी अभियान चलाउन सक्छु । तर, केही गर्न पक्कै पाउँछु र सक्छु । किनकि आज म त्यो अर्चना हैन, जसलाई तिमीले बर्बाद पारेर अलपत्र छाडेको थियौ ।
तिमीलाई विश्वास नगर्नु पर्ने रैछ । तर मेरो बाल मस्तिष्कले आफू जस्तै निश्चल देख्यो, भरोसा राख्यो र अन्तिममा लुटियो ।
सधैँ झैँ त्यस साँझ पनि तिमीले मलाई उपहार दियौ । उपहार साच्चै राम्रो थियो–छड्के भिर्ने व्याग । मलाई सुहाएको पनि थियो । हामी भेटेर कुरा गर्दा साँझ परेपछि मैले घर जान हतार भएको कुरा गर्दा तिमीले निकै कर गर्यौ । बगैँचामा जाउँ भन्यौ मैले मानिन । कर गरेर हात नै तान्यौ । भरोसा राखेर ‘एकैछिन’ सम्झेर म गइदिएँ ।
रात झमक्क परेपछि तिमीले मेरो शरीरका अङ्गहरू माथि गिद्दे दृष्टि लगायौ । म तर्सिएँ । डराएँ । तर, तिमी झन उत्तेजित भयौ । म उम्कन खोज्दा पनि नसक्ने गरी जोडले पाखुराले बेर्यौ । च्यिाउन खोज्दा मुख थुन्यौ । सबैलाई भनेर बद्नाम गर्ने धम्की दियौ । पछि त मुखमा कपडा बाँधीदियौ अनि हातगोडा थिचेर मेरो शरीर माथि खनियौ । मलाई असह्य पीडा भयो त्यो बेला । संवेदनशील अङ्ग र मन दुवै अत्यन्तै दुखे । तर तिमीले के सुन्थ्यौ ?
धेरैबेर मेरो शरीर, खुसी र जीवन लुटेपछि म असह्य पीडाले बेहोस भएँ । कतिबेर बेहोस भएँ थाहा छैन । होस खुल्दा आँखा सामुन्ने मध्यरात थियो, जिन्दगी सामुन्ने सिङ्गै ब्ल्याकहोल थियो, तर बिडम्बना ! तिमी थिएनौ ।
त्यो अँध्यारो रात, त्यो एकान्त, बलात्कृत हुँदाको त्यो पीडा । कल्पना गर्न सक्छौ त्यो क्षणको ?
हुनत मलाई थाहा छ, त्यो रात त्यसपछि तिमीलाई पनि चैन भएन । किनकि म बेहोस भएपछि एकपल्ट तिम्रो पनि होस उड्यो । म ज्यूँदै छु भन्ने थाहा नपाउञ्जेल भोक, तिर्खा तिम्रो पनि हरायो । हुनत त्यस्तो नहुन पनि सक्छ, तिमी त पैसा र पावर दुवै भएको मान्छे ।
अँ, जब होसबाट ब्यूँझिएँ, तब डर र पीडाका बाबजुद हिँड्न खोजें । तर पाइला सर्न मानेनन् । निकैबेर बसिरहें । धेरैबेर पछि विस्तारै पाइला अघि सारें । पाइलाले घरतिर जान मानेनन् ।
घर गएपछि मेरो मुख हेरेर बनिबुतो गरेर बसेकी मेरी आमाको सम्भावित अवस्थाको कल्पनाले थलिएँ म । मलाई पढाउन, घर खर्च चलाउन र मेरो बिहेदान गर्न खाडिको पचास डिग्री तातोमा काम गर्ने बुबाले यो कुरा सुनेपछि व्यहोर्ने पीडा सम्झेर कहालिएँ म । त्यसपछि अनायासै मेरा गतिहीन पाइला घरको विपरीत अर्को बाटो मोडिन थाले ।
एकैछिन हिंडेपछि फेरि बेहोस भएछु ।
बेहोसिमा देखें अनन्त आकाशको बीचमा एक ‘पीडित सम्मेलन’ भइरहेको रहेछ । जसका सहभागी रहेछन्– कञ्चनपुरकी निर्मला पन्त, बझाङकी सम्झना विश्वकर्मा, पोखराकी श्रेया सुनार, बैतडीकी भागीरथी भट्ट, झापाकी सन्ध्या राजवंशी, रामेछापकी सुन्तली तामाङ आदि । सबै निरीह र मलिन देखिन्थे । अरू कसैको तृष्णा मेट्न जीवनको बलिदानी दिएका ती अभागीहरूको थप गुनासो रैछ– त्यसपछि पनि न्यायको पर्खाल भत्केकोमा । परिवारको खुसी अस्ताएकोमा । अनि, समाजको निरीहता चाहिँ सगरमाथा भन्दा अग्लो भएकोमा ।
निष्कर्ष बिहीन थियो त्यो सम्मेलन पनि– माइतीघरको आन्दोलन जस्तै । मसानतुल्य थियो त्यो स्वर्ग पनि– हामी बलात्कृत हुने हाम्रा गाउँवस्ती जस्तै अनि उदास थियो तिनको चेहरा पनि खडेरीको अफ्रिका जस्तै । सम्मेलनको संयोजक थिइन् निर्मला पन्त । कार्यक्रम संचालक सम्झना विश्वकर्मा । श्रेया, भागीरथी, सन्ध्या, सुन्तलीहरू वक्ता थिए ।
सम्मेलनमा न कुनै मञ्च बनाइएको थियो, न कुनै व्यानर । न कुनै सोफासेट थिए, न कुनै कुर्सी । सहभागीहरू भुइँमै बसेका थिए । सम्झनाले उद्घोषण गर्दै पालैपालो सहभागीलाई बोलाउँदै थिइन् । अनि वक्ताहरू उठेर आफ्नो मन्तव्य राखिरहेका थिए । प्रायः सबैका शब्दहरूमा उही करूणा थियो । उही रोदन थियो अनि थियो – स्वाभाविक आक्रोश ।
त्यो अन्जान र अनौठो ठाउँमा ती अवोध र निर्दोष चेलीहरू चिच्याइ–चिच्याई आफ्ना वेदना सुनाउँदै थिए । तर, विडम्वना ! तिनको त्यो चिच्याहट सुन्ने र आँसु देख्ने त्यहाँ कोही थिएन । म एक कुनामा बसेर कहिले रूँदै, कहिले रिसाउँदै त्यो सब हेरिरहेकी थिएँ । ती सबैको एउटा साझा गुनासो रैछ– समाज र राज्य यति निरीह भएकोमा । आफ्नो अस्मिता र जीवनलाई कुनै कुनै नेताले पदसँग र विकासे खेतीवालाले पैसासँग साटेकोमा ।
सम्झनाले बोलाएपछि सम्मेलनकी संयोजक निर्मला उठेर बोल्न थालिन्–
‘सुन्दैछु, दक्षिण अफ्रिका संसारकै सबैभन्दा धेरै बलात्कार हुने देश हो । त्यो लिष्टको पाँचौं नम्बरमा हाम्रै छिमेकी देश भारत पर्छ । जहाँ प्रत्येक २२ मिनेटमा १ जना महिला बलात्कृत हुन्छन् र प्रतिवर्ष २ लाख ४० हजारले बलात्कारकै कारण प्राण त्याग गर्छन् । हाम्रो देशमा पनि हरेक दिन ६ देखि ७ जना बलात्कृत हुन्छन् । ती मध्ये ८२% आफन्तबाटै लुटिन्छन् । तर विडम्वना ! धेरै अझ अधिकांश घटनाहरू लुकाइन्छन् । बाहिर ल्याइँदैनन् । हाम्रो समाजमा इज्जत हाम्रो ज्यान भन्दा ठूलो मानिन्छ । फलस्वरूप अरू कैयौं चेलीहरूले हाम्रो जस्तै पीडा भोग्नु पर्छ ।
साथी हो, हामी सबैलाई थाहै छ, हाम्रा यी आवाज बालुवामा पानी मिसाए जस्तै हुन् । यिनको कुनै औचित्य छैन । यो आफ्नो व्यथा बिर्सिने र मन बुझाउने काम मात्रै हो । न हामी पृथ्वीलोकमा फर्केर विद्रोह गर्न सक्छौं न यहाँ नै केही गर्न सक्छौं । त्यसैले आज म सबैसँग एउटा आग्रह गर्छु– अब यो रोनाधोना, आँसु, चिच्याहट बन्द गरौं । रोएर आफैँलाई दुखी बनाउने यो श्रृङ्खला छोडौं ।
अब हामी हरेक दिन यसैगरी जब सम्मेलन गर्छौं तब खाली मीठा, रमाइला र हँसाउने कुरा मात्रै गर्नेछौं । हामीलाई बलात्कार गर्ने अपराधीको नाउमा आँसु हैन घृणाका शब्द फ्याँक्नेछौं । तिनका नाममा थुक्नेछौं, खुट्टाले कुल्चिनेछौं र तिनको त्यो पशुतुल्य जीवनप्रति धिक्कार्नेछौं । त्यसैले आजदेखि आँसु बन्द । हाँसो शुरू । आऊ त्यसको अभ्यास आजैदेखि गरौं । हाँसौं साथी हो । सबैजना उठेर हाँसौं । पेट मिचीमिची हाँसौं । सकुञ्जेल हाँसौं । सारा दुःख बिर्सेर हाम्रा बलात्कारीलाई सम्झेर गिज्याउँदै हाँसौं ।’
मन्तव्यसँगै उनी उठेर हाँस्न थालिन् । अरू पनि उठेर हाँस्न थाले । त्यो अन्जान ठाउँ ती पीडितहरूको त्यो बनावटी हाँसोले गुञ्जयमान भयो । यति मीठो धून त्यहाँ निस्कियो कि त्यस्तो मीठो ध्वनि मैले आजसम्म सुनेकी थिइन् । तिनको सिको गर्दै म पनि उठेर हाँस्न थालें । हामी यति हाँस्यौं, कोही लडिबुडी गर्दै हाँस्न थाले, कोही उफ्रिदै, चिच्याउँदै हाँस्न थाले ।
म पनि पछि हुलमै गएर मिसिएँ । पीडित सम्मेलन एकैछिनमा अट्टहास सम्मेलनमा परिणत भयो ।
ठीक त्यही बेला पश्चिमतिरबाट एउटा अनौठो आवाज आयो । त्यस्तो आवाज मैले कहिल्यै सुनेको थिइन् । त्यो अनौठो र डरलाग्दो आवाज सुनेर हामी सबैजना तर्सियौं । हाम्रो हाँसो रोकियो । सबै आ–आफ्नै ठाउँमा टक्क अडियौं ।
आवाज झन नजिक आउँदै थियो । आवाज जति नजिक आउँथ्यो हामी त्यति डराउँथ्यौ । त्यो आवाज एक आँधीको रैछ । एक्कासी आँधी आयो । हामी एकै ठाउँमा गुजुल्टिएर बस्यौं । तर हावाको चाप यति धेरै थियो कि हामी अडिन सकेनौं । सबैलाई उडाएर लग्यो । तितरबितर भयौं ।
हामी आकासमा चराजस्तै उड्न थाल्यौं । सबै चिच्याउँदै थिए । तर, कस्ले सुन्ने ! को कता, को कता सबै एक्लाएक्लै परे । पर पर सानो सानो आकारमा उडेका देखिन्थ्यो । म पनि उडेर टाढा पुगें । थाहा थिएन, कहाँ पुगें । आँधी निरन्तर थियो । अरू कता कता पुगे थाहा थिएन । म उड्दै उड्दै यति माथि पुगें की न धर्ती देखिन्थ्यो, न बादल । केवल शून्य थियो । म उड्दै थिएँ । आँधीको गति उस्तै थियो ।
त्यो निर्जन, शून्यतामा म कति आत्तिएँ, कति रोएँ, त्यसको कुनै लेखाजोखा छैन । तर विडम्वना ! त्यहाँ मेरो कोही सहारा थिएन । म निरीह उड्दै थिएँ । कहाँ पुर्याउने हो त्यो आँधीले कुनै ठेगान थिएन । के हुने हो त्यो पनि थाहा थिएन । केवल उडाइँदै थिएँ ।
यहाँ मैले मेरा बा, आमा, भाइ, आफन्त, साथीभाइ सबैलाई सम्झें । तर, ती कसैले मलाई देखेका थिएनन् । ती कोही पनि मेरो सहारा बन्न आउँदैनथे । तर, पनि दुःखमा नजिकका मान्छे सम्झिँदो रैछ ।
ठीक त्यही बेला म तन्द्राबाट ब्यूँझिएँ । ज्यान पसिनाले निथ्रुक्क भएको रैछ । सरसर्ती अघिको सम्मेलन र त्यहाँको घटनाक्रम सम्झें । तिमीबाट बलात्कृत हुनु पर्दाको पीडा सँगै अर्को कुरा पनि मनमा खेल्न थाल्यो– म जस्तै अरू त्यत्रा बलात्कृतहरूको जीवन पनि कति दुःखद होला भनेर ।
उठेर हिंड्न खोजें । गोडा फेरि लडखडाए । तर पनि हिँडिरहें । अलिक पर पुगेपछि देखें पछाडिबाट कुनै उज्यालो आइरहेछ । कोही बोल्दै पनि छन् । पछाडि फर्केर हेरें ५–७ जना हातमा राँको बोकेर मतिर आउँदैछन् । बीचबीचमा मेरै नाम लिएर बोलाउँदै छन् ।
पछि बुझें मलाई खोज्न काकाहरू आउनुभएको रहेछ । एक हिसावले भरोसा मिल्यो, सहारा पाएजस्तो लाग्यो । ‘अब बँचें’ भन्ने लाग्यो । अर्को मनले सोचें– ‘कहाँ गएकी यतिबेलासम्म भनेर सोध्नुभयो भने के उत्तर दिने ? सही कुरा बताउँ भने यो समाजले भोलि मलाई सहज बाँच्न पक्कै दिंदैन । म मात्र हैन मेरा बुबा, आमा, परिवार कसैको पनि जीवन सहज हुँदैन । झुठ बोलौं या केही नभनौं भने मलाई यिनीहरूले पक्कै गलत सोच्नेछन्, मैले नखाएको विष मलाई लाग्नेछ ।’
म निकै दोधारमा परें । एकछिन सोच्नै सकिन के गरूँ भनेर । पछि निर्णय गरें– म जान्न । यो समाजले मजस्ता निरीहलाई बाँच्न दिंदैन । त्यसपछि एउटा रूखको छेको परेर बसें । बाटो भन्दा तल नदेखिने ठाउँमा गएर । काकाहरू नजिकै आइपुग्नुभो । बेला बेलामा बोलाउँदै पनि हुनुहुन्थ्यो । आमा चाहिँ आउनुभाको रैनछ । खाली पुरूषहरू मात्रै थिए ।
काका भन्दै हुनुहुन्थ्यो– ‘मैले त भनेको हो, यसरी नबोलेर हुँदैन भनेर । बच्चा भए पो । त्यत्रो १४ वर्षकी मान्छे यता भए त आइहाल्थी नी । तैपनि आमा चाहिँको मन राखिदिनै पर्यो ।’
तल्लो घरको दाइले थप्नुभयो– ‘त्यही त । यसो विचार गर्दा त्यो कसैसँग हिँडी जस्तो छ । आजकलका बच्चाहरू खाली मोबाइल, टिभीमा दशथरी हेरेर बिग्रिसके ।’
अरु पनि के के भन्दै हुनुहुन्थ्यो तर बुझिन । मैले बुझेका दुवै संवादले मलाई मुटुको भित्रपट्टि घोच्यो । फेरि एकपल्ट दुई थोपा आँसु तप्प झरे । म निरीह बसिरहें । उहाँहरू जानुभयो । म त्यो अँध्यारो रातमा फेरि एक्लै भएँ । सोचें, आज अब कहिँ जान्न, यतै रात बिताउँछु । अनि त्यहीँ ढल्कें ।
डर यति लाग्यो कि जसको सीमा नै छैन । जङ्गली जनावरको पनि त्यतिकै डर लाग्यो । भोलि कहाँ जाने कसरी जाने, गएर के गर्ने कुनै प्रश्नको उत्तर ममा थिएनन् । तिम्रो बलात्कारले थलिएर मरिसकेको मेरो जीजिविषा झन्झन् मर्दै गयो । अनेकौं तस्बिर र तरंग मनमा उठिरहे । तिमीलाई पनि सम्झें ।
एक मनले लाग्यो– ‘भोलि बिहानै गएर तिम्रो घरमा बबाल गरौं’ ।
फेरि सम्झें – ‘त्यसो गरें भने यो समाजले मैलाई थुक्छ । तिमी त पहुँच भएको मान्छे । जसरी पनि उम्कन्छौ । २–४ महिना मेरी आमा र मेरो परिवार रून्छन् । विकासे खेती गर्नेहरू काठमाडौँको माइतीघरमा उफ्रन्छन् । सामाजिक सञ्जाल मेरो नाम र तस्वीरले रंगिन्छन् । तर मैले न्याय पाउँदिन । भविष्य बर्बाद मात्रै हुन्छ मेरो । भोलिदेखि उही छिःछिः र दुरदुर मात्रै भोग्नु पर्छ र मैले जीवनभरि हरेक क्षण मर्नु पर्छ ।’
त्यसैले तिम्रो घरमा जाने विचार त्यागें । मलाई सबैभन्दा दुःख त्यतिबेला लाग्यो, जतिबेला तिम्रो बलात्कारपछि मूर्च्छा परेर ब्यूँझदा त्यो एकान्त ठाउँमा मैले तिमीलाई पाइन । मलाई थोरै भए पनि माया गर्ने भएको भए, मेरो ज्यानको थोरै भए पनि चिन्ता भए, कमसेकम म मूर्च्छा परेपछि अलपत्र छोडेर जाँदैन थियौ ।
पहिला पहिला मलाई गरेको मायाको नाटकको पर्दा त्यतिखेर च्यातियो र मैले तिम्रो वास्तविक स्वरूप देखें । मेरो बाल मस्तिष्कले सकारात्मक सोचेको तिम्रो सामिप्य त्यति गिद्दे छ भन्ने कुरा मलाई के थाहा र ?
म कतिबेर मूर्च्छा परें थाहा छैन, तर त्यो अवधिमा मैले चेतना र परिपक्वताका कैयौं दशक बिताएछु । ब्यूँझदा एक्कासी पचासौं वर्ष पुगेको मान्छे जस्तो परिपक्व भएर निस्कें । एक अनिश्चित र कहालिलाग्दो भोलिको प्रतिक्षामा बसिरहें ।
‘दुःखीको घरमा मात्रै तेरो बास हुने भए, हे ईश्वर ! दया राखी मलाई अझै दुःख दे’ भनेर बालकृष्ण समले मुकुन्द इन्दिरा नाटकमा लेखे जस्तै मलाई त्यो निर्जन ठाउँमा अर्को आपत आइलाग्यो । पानी पर्न थाल्यो । के गर्ने अब ? उठेर यताउती घुमें । ढिस्कोमा गएर हेरें । चारैतिर अन्धकार बाहेक केही पनि थिएन ।
पानी बढ्दै गयो । रूखको ओत लागेर बसें । तर, साना साना बुट्यान मात्रै भएकोले ठूला रूख त्यहाँ थिएन । त्यसैले म रूझ्नबाट बच्न सकिनँ । क्रमशः भिज्दै गएँ । तैपनि ओत लाग्ने ठाउँ पाइन्छ कि भनेर यताउती हेरें । तर, केही पाइन ।
क्रमशः भिज्दै भिज्दै गएँ । उज्यालो कतिबेला हुन्छ थाहा थिएन । काकाहरू अघि आएर गएको हुनाले गाउँ टाढा छैन भन्नेमा चाहिँ म ढुक्क थिएँ । तिम्रो बलात्कारले रूझेको मेरो जीवनको एक पाना फेरि रूझ्यो त्यो पनि एकान्त जङ्गलमा । भिज्दै जाने क्रममा शरीरका सम्पूर्ण कपडा भिजे । पानीको स्पर्श नभएको ठाउँ कुनै पनि बाँकी रहेन । तिम्रो कारण छियाछिया भएको मेरो गोप्य अङ्गको घाउ बेसरी चाहर्याउन थाल्यो । त्यो पीडा सहन धेरै गाह्रो भयो मलाई । सहाराबिहीन भएर म घण्टौंसम्म भौतारिएँ ।
एकपटक फेरि आमालाई सम्झें । घरमा आमाको के हालत होला ? रूँदारूँदा थाकेर निदाइन होला कि ब्यूँझेकी नै होलिन् । कि कसैसँग गई भनेर रिसाउँदै होलिन् ?
यसो सोचें– ‘म अन्त गएर पनि कहाँ जानु ? के गर्नु ? फेरि अरूबाट पनि लुटिन पर्यो भने ? यता परिवारको पनि बिजोग, उता आफ्नो पनि । बरू कसैलाई नभनी सहेर बस्छु । साह्रै गरिन् भने आमालाई भनेर सल्लाह गर्छु । त्यसैले म आफ्नै घर फर्कन्छु अब । आमाको काखमा गएर धित मरूञ्जेल रून्छु । जे पर्छ भोगौंला । समाजले के भन्ला भनेर के गर्नु ?
मैले घर बाहेक सबैतिरका बाटाहरू बन्द भएको देखें ।
सायद पीडाको चरम मात्राले मलाई आफ्नै घर र आमाको बाटो देखायो । दुःखमा आमालाई सम्झने त मानव जाति मात्र नभएर सम्पूर्ण प्राणीको बानी हो ।
त्यसपछि रोइरहेका आँखा, दुखिरहेको मन र चहराइरहेको घाउ लिएर घस्रेको शैलीमा म घरतिर लागें । अघि काकाहरू आएकै बाटो पछ्याएँ । घरी बाटो भुलेर घुम्दै, घरि हिलोमा पछारिँदै, घरि चहराइरहेको घाउ छाम्दै बिहान झिसमिसेमा घर पुगें ।
कसैले नदेखोस् भन्ने मेरो चाहना पुरा भयो । कसैले देखेन ।
घर पुगेर ढोका ढक्ढकाएँ । खुलेन । विस्तारै बोलाएँ ‘आमा’ भनेर । निकैबेरपछि ढोका खुल्यो। मैले दौड्दै भित्र गएर आमालाई गम्लङ्ग अँगालो मारें ।
केहीबेर दुवैजना बोल्न सकेनौं । म खाली रोई मात्रै रहें । मेरो आँशु देखेर आमा पनि रूनु भयो। शुरूमा केही सोच्न सक्नु भएन ।
मैले सोचेकी थिएँ कि आमा शुरूमै रिसाउनु हुन्छ होला । कसरी सम्झाउने होला ? तर, आमा आखिर आमा नै हो । मेरो अनुहार र आँशु देखि सायद अनुमान गर्नुभो मेरो पीडा । धेरै बेरपछि कोठामा लैजानु भयो र लुगा फेर्न दिनुभयो ।
मैले रूँदैरूँदै सबै लुगा फेरें । मैले यो सबै गरूञ्जेल आमाले हेरी मात्रै रहनुभयो । जब मेरो भित्री वस्त्र खोलें, तब रगतले पूरै लतपतिएको देखेपछि उहाँको अनुहार अर्कै भयो । आश्चर्यचकित मुद्रामा मलाई हेर्नुभयो । मेरो पनि होस हवास उड्यो । केहीबेर दुवै बोलेनौं । लुगा फेरेपछि आमाले ओछ्यानमा लगेर मलाई सिरक ओढाएर आफू पनि त्यसैमा पसेर मेरो कपाल मुसार्दै सोध्नुभयो घटनाको बारेमा । शुरूमा लाज, डर दुवै भए पनि मैले विस्तारै सबै कुरा भनें । मैले रूँदै भनें, आमाले रूँदै सुन्नुभयो ।
शुरूशुरूमा तिमीले फकाउँदा फकिएको कुरा पनि सबै भनें । तर, आमाले एक वचन गाली गर्नुभएन । कत्ति महान मेरी आमा ।
सबै कुरा भएपछि अन्तिममा आमाले भन्नुभो– ‘भो छोरी जे भयो त्यो कुरा बिर्सिदेऊ । दिउँसो खाना खाएपछि तिमी र म सदरमुकाम गएर तिम्रो उपचार गरौंला । कसैलाई भनेर कुनै फाइदा छैन । उल्टै हामी सबैको घृणाका पात्र बन्छौं । कुनै दिन समयले साथ दिएछ भने, बुबा पनि आएपछि कुनै किसिमले त्यो पशुलाई सजाए दिउँला । नत्र चुपै लाग । तर अब उप्रान्त तिमीले बुझ्नु यो समाजलाई र चिन्नु यहाँका पिपासुहरूलाई ।’
यति भन्दा कयौं पटक मेरो गालामा म्वाइँ खानुभयो । यो सिङ्गै संसारकै सबैभन्दा महान् मलाई मेरी आमा लाग्यो । अनि आजसम्मको सबैभन्दा सुखद र न्यानो क्षण त्यही भयो ।
अहिले १५ वर्षपछि बुझ्दैछु खलिल जिब्रानले भनेको एक भनाइको अर्थ– ‘दुःख भनेको दुई बगैंचा बीचको पर्खाल जस्तै हो । त्यसलाई पार नगरी तिमी एउटा बगैंचाबाट अर्को बगैंचामा जान सक्दैनौ ।’
त्यसमा हात र साथ मेरी आमाको रह्यो । कति भरोसायोग्य मेरी आमाको हात !
थकान र पीडाका बीच आमाको न्यानो काख र माया पाएर होला म एकैछिन निदाएछु ।
सपना देखें– एउटा ठूलो नदी थियो । त्यसको बीचमा एउटा बडेमानको ढुङ्गा । त्यो ढुङ्गामा म थिएँ । नदी निकै ठूलो थियो । पौडेर पार गर्न सक्ने सम्भावना थिएन । वरिपरि कुनै मान्छे, वस्ती थिएन । म सहाराविहिन भएर त्यहाँ बसिरहेकी थिएँ । डर र त्रासले म व्याकूल थिएँ चारैतिर हेरें । कुनै आशा थिएन ।
म चिच्याएँ, कराएँ, रोएँ । तर, कसैले सुनेन मेरो अर्तनाद । म कहाँ पुगें, कसरी पुगें, कसले पुर्यायो, कसरी उम्कने केही थाहा थिएन । हतास र अन्यौलका बीच थप पीडाले मलाई ढपक्कै ढाक्यो । पानी क्रमशः धमिलो हुँदै गयो र बढ्दै पनि आयो । अब मेरो होस हवास उड्यो ।
म निरीह त्यो एउटै ढुङ्गामा जीवन खोज्दै रोइरहें । पानी बढ्दै बढ्दै गयो । अब म बसेको ढुङ्गाको सतहमा पानी आइपुग्यो । म अब बाँच्ने आशा मार्न थालें ।
ठीक त्यही बेला साँझले पनि छोप्दै ल्यायो । दुःखमा उज्यालोले पनि साथ छोड्यो । बढ्दै गएको बाढी र अँध्यारो, नदीको बीचमा एक्लो म । कल्पना गर्न सक्छौ त्यो क्षण ?
दृश्य फरक भए पनि मेरो सपनाको त्यो क्षण र विपनाको तिमीबाट लुटिँदाको क्षण दुवै अनुभूति समान थियो । दुवै समयमा एकैखाले निर्दयी आक्रमण तर म सहाराबिहीन र निरीह।
अन्यौल र दुःखकै बीच आशाको एउटा सानो त्यान्द्रो देखियो । पर कतैबाट एउटा सानो अनौठो विमान उड्दै मतिर आयो । लगभग अँध्यारो भइसकेको हुनाले पूरै ठम्याउन सकिन । तर, मधुरो बत्ती बालेर मतिर आइरहेको त्यो विमान देखदा आशाले मेरा आँखा ठूलाठूला भए । भगवानले मलाई तार्न पठाएझैँ लाग्यो ।
विमान विस्तारै मेरो नजिकै आयो । नभन्दै अचम्मै भयो । विमान मेरो बुबाले हाँक्नु भएको रहेछ र पछाडि हुनुहुँदो रैछ मेरी आमा ।
मेरो नजिकै विमान आएपछि उठीउठी आमाले हात दिनुभयो । म खुसीले पागल झैँ भएँ । बेसरी रोएँ । अनि आमालाई हात दिन माथि उठाएँ । तर, दुर्भाग्य ! ठीक त्यही बेला पानीको ठूलो छाल आएर आमा, बुबा, त्यो अनौठो विमान र म सबैलाई हुत्याएर बगायो । सबै कता पुग्यौं कता । म पानीमा पछारिंदै, ठोक्किदै बग्न थालें । आमा बुबाको अत्तोपत्तो थिएन । उहाँहरूको बारेमा सोच्ने फुर्सद पनि थिएन ।
चोट कति लाग्यो, त्यो धमिलो पानी कति पिएँ, कति अत्तालिएँ कुनै सिमा छैन ।
त्यही आँधीका बीच म निद्राबाट ब्यूँझिएँ । आमा पनि मलाई अंगालो मारेर निदाउनु भएको रहेछ । म पसिना पसिना थिएँ । सपना सम्झेर थरथर कापें । विस्तारै आधा उठेर आमालाई म्वाइँ खाएँ अनि फेरि टाँसिएँ उही संसारको सबैभन्दा न्यानो, प्यारो र फराकिलो छातीमा ।
दिउँसो खाना खाएर भाइलाई स्कुल पठाएपछि आमाले काकालाई भनेर एम्बुलेन्स बोलाउन लगाउनु भयो । के भएको भनेर सोध्दा स्कुलबाट आउँदा बाटोमा लडिछ भनेर झुठ बोल्नु भयो।
जीवनमा कहिल्यै झुठ नबोल्ने मेरी आमाले मेरो लागि झुठ बोल्नुभयो ।
भाइलाई काकीको जिम्मा लगाएर हामी सदरमुकाम गयौं । चार दिनसम्म त्यहाँ मेरो उपचार भयो । अनि हामी घर फर्कियौं । बुबा, आफन्त सबैलाई लडेको भनेर नै झुठ बोल्यौं ।
शुरू शुरूमा मेरो अवस्था देखेर दुवैजना टाँसिएर रून्थ्यौं । तर, पछि पछि तन र मन दुवैका घाउ पुराना हुँदै गएपछि रून छोड्यौं । मैले विगत बिर्सेर इख लिएर पढ्ने निर्णय गरें र मेहनत गरेर पढें । त्यसैको परिणामस्वरूप आज म देशकै प्रतिष्ठित आफ्नै कम्पनी चलाइरहेकी छु र त्यसइको सिईओ छु । बुवा आमालाई खुसीसाथ राखेका छौं ।
सुन्दैछु, तिमी त रक्सी र चुरोटले सकिन आँटेको छौ रे ! त्यो रक्सी चुरोट त बहाना हो । वास्तवमा तिमी सकिएको मेरो श्रापले हो । सम्पत्ति पनि सबै सिध्यायौ रे । गाउँमा एक गिलास रक्सी पनि मागेर खाँदै हिंड्छौ रे ।
पर्ख, म अब गाउँ आउँदा तिमीलाई दुई गिलास रक्सी खुवाउँछु । एक गिलास गाउँलेको नाताले र अर्को गिलास मलाई इख लिएर यो ठाउँमा आउने बनाएकोमा ।
साँच्चै हो, तिमीले त्यसरी लुटेर मलाई दुःखी नबनाएको भए सायद म अहिले यो ठाउँमा हुँदैनथें होला । त्यसैले यो पत्रलाई पनि मैले ‘प्रेमपत्र’ भनेकी ।
यी सबैका बाबजुद मलाई तिम्री श्रीमतीको साह्रै माया लाग्छ । तिम्रा यी करतुतका बाबजुद तिमीलाई व्यहोरेर यतिका वर्ष विचरीले कसरी गुजारिन होला ? श्रीमानले गरेको गल्तीको सजाय श्रीमतीले भोग्नु पर्ने यो विडम्वना आखिर कहिलेसम्म रहला ?
एकजना निकै असल केटाले मलाई मन पराएका छन् । मलाई पनि उनी मन पर्छन् । घरमा सल्लाह हुँदैछ, सायद अर्को साल हाम्रो बिहे हुन्छ होला । निम्ता पठाउँछु, जसरी पनि आउनु । अनि हेर्नु कि कुनै दिन तिम्रो लागि केवल मासुको डल्लोको रूपमा रहेको यो ज्यान कसरी आत्मा बनेको छ । अनि समय कति बलवान छ !
सुन्छु, कहिलेकाहीं औषधि खान पैसा नहुँदा तिमी छट्पटाउँछौ रे । छोराछोरी पनि कुलतमै छन् रे । कमाएर दिन त के उल्टै दुःख दिन्छन् रे । संस्कार राम्रो दिएको भए पो राम्रो बाटोमा लाग्थे !
अँ, त्यसरी औषधि खाने पैसा नहुँदा मलाई खबर गर्नु, पठाइदिउँला । किनकि घाउको पीडा मलाई थाहा छ– त्यो पनि तिमीले नै दिएको घाउबाट थाहा पाएको ।
अन्त्यमा एउटा आग्रह छ– कुनै दिन झुक्किएर पनि भेट भयो भने मसँग माफी नमाग्नु । किनकि माफी मागेपछि तिमीलाई त हल्का हुन्छ, तर तिम्रो बोझ मलाई थपिन्छ । माफी दिने र नदिने दोधारमा परेर मलाई साह्रै गाह्रो हुनेछ । त्यसैले यही ठीक छ कि, एक अमूर्त धन्यवाद सहित तिमीलाई जीवनभरि घृणा गरिरहन पाऊँ । त्यो घृणाले मलाई जीवनमा नयाँ ऊर्जा दिन्छ ।
– उही अर्चना
*******
कथा पढिसक्दा मन भारी भएको रैछ । आँखा रसाएका रैछन् । मलाई चिन्ता लाग्यो– म यो कथा पढ्दा पक्कै पनि लाइभमै रून्छु होला । रोएर पढ्नै सकिनँ भने के हुने होला ? त्यसपछि केही समयपछि, त्यो पनि रेकर्ड गर्ने सोचेर कथा सुरक्षित राखें ।
तर, विडम्वना ! त्यसको केही समय पछि नै मैले रेडियो एचबिसी छोडें । त्यसकारण यो कथा पढ्न भ्याइनँ । तर बेला बेलामा निकालेर पढ्ने गर्छु । आँखाहरू उसैगरी रसाउँछन् । रेडियोमा कथा नपढेको कारण लेखकलाई अन्याय पक्कै गरेको छु । तर, आज यसरी प्रकाशन गर्दा मन केही हल्का भएको छ । त्यसको लागि म लेखकसँग यहींबाट माफी माग्छु । कुनै दिन समय र सन्दर्भ मिलेछ भने त्यो पनि गरौला ।
जीवनमा एकपटक अर्चनाजीलाई भेटेर दुःखको लागि दया हैन सहास र सफलताको लागि बधाई र शुभकामना दिने इच्छा छ ।
प्रतिक्रिया