बेलायती महारानी एलिजावेथको महाप्रस्थान | Khabarhub Khabarhub

बेलायती महारानी एलिजावेथको महाप्रस्थान

मध्ययुगको अवशेष राजसंस्थाको छवि सुधार्ने महारानी



काठमाडौँ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजावेथ द्वितीयको बिहीबार स्कटल्याण्डस्थित बालमोरलमा निधन भएको छ । ७० वर्षसम्म बेलायतमा शासन गरेकी महारानीको ९६ वर्षको उमेरमा निधन भएको हो ।

सन् १९५२ मा बेलायती राजगद्दी सम्हालेकी महारानीले व्यापक सामाजिक परिवर्तनको अनुभव गरेकी थिइन् । उनका छोरा राजा चाल्र्स तृतीयले आफ्नी आमाको निधन आफू र आफ्नो परिवारको लागि ‘ठूलो दुःखको क्षण’ भएको र उनको अभावको विश्वले ‘गहिरो अनुभव’ गर्ने टिप्पणी गरेका छन् ।

उनले भनेका छन्– ‘हामी एकजना आमा र महारानीको निधनप्रति गहिरो शोक व्यक्त गर्दछौँ ।’ ‘मलाई थाहा छ देशभर, राष्ट्रमण्डलका मुलुकहरु र विश्वभरका अनगिन्ती मानिसहरुले उहाँको अभाव महसुस गर्नेछन् ।’

यसअघि बिहीबार महारानीको स्वास्थ्यमा समस्या आएको खबर थाहा पाएर बेलायती राजपरिवारका सदस्यहरु बालमोरलमा भेला भएका थिए । अब महारानी एलिजावेथका नाति राजकुमार ड्युक अफ क्रोनवाल विलियम बेलायती राजगद्दीको उत्ताराधिकारी भएका छन् ।

मंगलबारमात्रै महारानीद्वारा प्रधानमन्त्री नियुक्त भएकी लिज ट्रसले महारानीलाई आधुनिक बेलायतको चट्टानजस्तै भएको टिप्पणी गरेकी छिन् । प्रधानमन्त्री ट्रसले महारानीले ‘हामीलाई आवश्यक स्थायित्व र शक्ति प्रदान गरेको’ उल्लेख गरेकी छिन् ।

नयाँ राजाप्रति आफू वफादार रहने उल्लेख गर्दै ट्रसले भनिन्– ‘हामी उहाँकी आमाले धेरैलाई धेरै लामो समयसम्म हामीप्रति देखाएजस्तै हाम्रो वफादारी र भक्ति उहाँलाई टक्र्याउँछौँ ।’

‘दोस्रो एलिजावेथन युगको अन्त्यसँगै श्री ५ ले चाहेजसरी नै हामी हाम्रो महान् देशको उत्कृष्ट इतिहासमा नयाँ युगमा प्रवेश गरेका छौँ ।’

यता बेलायती चर्चका धर्मगुरु आर्चविशप अफ क्यान्टरबरीले पनि महारानीको निधनप्रति शोक व्यक्त गरेका छन् । आर्चविशप अफ क्यान्टरबरी जस्टिन वेल्बीले उनको निधनप्रति ‘गहिरो दुःख’ व्यक्त गरेको बीबीसीले जनाएको छ । उनले ‘राजा र राजपरिवारप्रति आफ्नो प्रार्थाना रहने’ जनाएका छन् ।

महारानीको ७० वर्षे शासनमा बेलायती समाजमा धेरै परिवर्तन देखा परेका थिए । दोस्रो विश्वयुद्धपछिको पुनर्निर्माण, बेलायत साम्राज्यबाट राष्ट्रमण्डलमा रुपान्तरण, शीतयुद्धको अन्त्य, युरोपेली युनियनमा बेलायतको प्रवेश र बहिर्गमनजस्ता घटनाको साक्षी बनेकी उनले बेलायतका १५ जना प्रधानमन्त्रीहरुसँग काम गरेकी थिइन् ।

सन् १८७४ मा जन्मेका विन्स्टन चर्चिलदेखि सन् १९७५ मा जन्मेकी ट्रस पनि महारानीको मातहतमा रही बेलायतको प्रधानमन्त्री बनेका थिए ।

यसअघि बिहीबार महारानीको स्वास्थ्यमा समस्या आएको थाहा पाएर ठूलो सङ्ख्यामा मानिसहरु बकिङ्घम दरबारअगाडि भेला भएका थिए । केही समयपछि महारानीको निधनको खबर पाएर त्यहाँ भेला भएका केही मानिसहरु रुन लागेका थिए ।

पछि बेलायती समयअनुसार बेलुकी ६ बजेर ३० मिनेटमा दरबारको गजुरमा राखिएको बेलायती ध्वजा ‘युनियन ज्याक’ आधा झुकाइएको थियो ।

महारानी एलिजावेथको जीवनचक्र

महारानीको जन्म सन् १९२६ अप्रिल २१ मा लण्डनको मेफेयरमा भएको थियो ।  जन्म भएका बेला सायदै कसैले उनी बेलायती महारानी बन्ने कल्पना गएका थिए । सन् १९३६ मा उनका काका एडवर्ड आठौँले दुईपटक सम्बन्धविच्छेद गरेकी अमेरिकी महिला वालिस सिम्पसनसँग विवाह गर्न राजगद्दी नै त्यागेपछि उनका पिता जर्ज छैटौँ राजा बनेका थिए । उनका पिता राजा बनेसँगै सानोमा लिलिवेत भनी पुकारिने एलिजावेथ १० वर्षको उमेरमै राजगद्दीको उत्तराधिकारी बनेकी थिइन् ।

त्यसको तीन वर्षपछि नै बेलायत तत्कालीन नाजी जर्मनीविरुद्ध दोस्रो विश्वयुद्धमा प्रवेश गरेको थियो । दोस्रो विश्वयुद्धको अधिकांश समय उनले आफ्नी बहिनी राजकुमारी मर्गरेटसँगै लण्डनको विन्जर दरबारमा बिताएकी थिइन् । उनलाई उनका मातापिताले क्यानाडा जान सल्लाह दिए पनि उनले त्यसबेला अस्वीकार गरेको बताइन्छ ।

१८ वर्ष पुगेपछि उनले ५ महिनाजती ‘एक्जुलरी टेरिटोरियल सर्भिस’ मा मोटरको मर्मत र सवारी चलाउने सिप सिकेकी थिइन् ।

युद्धका बेला उनले आफ्ना टाढाको नाता पर्ने तत्कालिन ग्रिक राजकुमार फिलिपसँग पत्र आदानप्रदान थालेकी थिइन् । त्यसबेला राजकुमार फिलिप शाही नौसेनामा तैनाथ थिए । उनीहरुको सम्बन्ध पछि विवाहमा परिणत भएको थियो । उनीहरुले सन् १९४७ नोभेम्बर २० मा वेस्टमिनिस्टरमा विवाह गरेका थिए ।

राजकुमार फिलिपको गत वर्ष ९९ वर्षको उमेरमा निधन भएको थियो । उनीहरुका पहिलो सन्तानको रुपमा चाल्र्सको जन्म सन् १९४८ मा भएको थियो । त्यसको दुई वर्षपछि सन् १९५० मा उनले राजकुमारी एनलाई जन्म दिएकी थिइन् ।

पछि सन् १९६० र १९६४ मा क्रमशः राजकुमार एड्रियु र राजकुमार एडवर्डको जन्म भएको थियो । हाल उनका ८ नातीनातिना र १२ पनातीपनातीनीहरु छन् ।

सन् १९५२ मा राजकुमारी एलिजावेथ केन्या भ्रमणमा गएकी थिइन् । त्यसबेला उनलाई राजकुमार फिलिपले राजा जर्ज छौटौँको निधन भएको खबर सुनाएका थिए । उनी लगत्तै बेलायतको नयाँ महारानीका रुपमा लण्डन फर्केकी थिइन् ।

उनलाई वेस्टमिनिस्टरमै सन् १९५३ जुन २ का दिन २७ वर्षको उमेरमा महारानीका रुपमा राज्याभिषेक गरिएको थियो । त्यसबेला उनको राज्याभिषेकलाई टेलिभिजनमा प्रत्यक्ष प्रसारणमार्फत् २ करोडभन्दा धेरै मानिसहरुले हेरेका थिए ।

मध्ययुगको अवशेष मानिने राजसंस्थाको छवि सुधार गर्न उनले निकै महत्वपूर्ण कार्य गरेको विश्लेषण गरिन्छ । उनी आम जनतासँग घुलमिल हुन रुचाउने, औपचारिकतालाई खासै प्राथमिकता नदिने एवम् सार्वजनिक समारोह तथा शाही भ्रमणमा आफ्ना जनतासँग अनौपचारिक कुराकानीमा मग्न हुने उनको स्वभाव रहेको बताइन्छ ।

त्यसबाहेक राष्ट्रमण्डप्रति उनको लगाव पनि उत्तिकै थियो । आफ्नो शासनकालमा उनले राष्ट्रमण्डलका हरेक मुलुकको कम्तीमा एकपटक भ्रमण गरेकी छिन् । तर, उनको जीवनमा सधैँ खुशीयाली भने थिएन । सन् १९९२ लाई उनी आफ्नो जीवनको सबैभन्दा दुःख वर्ष मान्छिन् । त्यसबेला विन्जर दरबारमा आगलागी भएको थियो भने उनको तीन सन्तानका वैवाहिक सम्बन्ध बिग्रिएको थियो ।

सन् १९९७ मा तत्कालीन प्रिन्सेस अफ वेल्स लेडी डायनाको फ्रान्सेली राजधानी पेरिसमा कार दुर्घटनामा ज्यान गएपछि महारानी आलोचनाको शिकार बनेकी थिइन् । लेडी डायनाको निधनप्रति सार्वजनिक शोक व्यक्त गर्न आनाकानी गरेको भन्दै उनी आलोचनाको पात्र बनेकी थिइन् । अब बेलायती राजपरिवारका साथै बेलायत र महारानी औपचारिक रुपमा राष्ट्रप्रमुख रहेका १४ मुलुकसहित पूरा विश्व नै शोकमा डुबेको छ ।

अबका केही दिन बेलायतमा औपचारिक कार्यक्रमहरु स्थगित गरिने अपेक्षा गरिएको छ भने राष्ट्रिय ध्वजा ‘युनियन ज्याक’ आधा झुकाइएको छ । बेलायती संसद्का सदस्यहरुले महारानीको निधनप्रति शोध व्यक्त गर्ने र नयाँ राजासमक्ष आफ्नो वफादारी पुनः कबोल गर्ने अपेक्षा गरिएको छ । उनको राजकीय सम्मानका साथ अन्तिम बिदाइ भने आगामी दुई साताभित्रै हुने बीबीसीले जनाएको छ ।

बेलायती महारानी एलिजावेथको निधनमा इंग्लिस प्रिमियर लिग एक हप्ताका लागि स्थगित गरिएको छ । यस्तै महारानीको निधनमा नेपाल सरकारले तीन दिनसम्म शोक मनाउने निर्णय नै गरेको छ । यसले पनि उनको विश्वव्यापी चर्चा र सम्मान दर्साउँछ । जुन असाधारण थियो । सधैँ अविष्मरणीय रहिरहनेछ ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ९ : २२ बजे

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको