महिला हिंसाको जड पुरुषको पुरानै मानसिकता | Khabarhub Khabarhub

महिला हिंसाको जड पुरुषको पुरानै मानसिकता



काठमाडौँ – अहिले महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ। तर अभियान चलिरहँदा देशभर महिला हिंसाका घटना मात्रै होइनन्, कति महिलाले ज्यानै गुमाउनुपरेका समाचार बाहिर आएका छन्।

यसका पछाडि सबैभन्दा ठूलो पुरुष सोच र मानसिकताको जड छ। यो अभियानले अधिकांश पुरुषको मनमा रहेको सामान्य जस्तो लाग्ने, तर हिंसाको मुख्य जड अचम्मको हुँदो रहेछ।

बिहान बेलुका घरको काम महिलाको दैनिकी हो। पुरुषले जागिर। व्यवसाय गरेर पैसा कमाएकै छु, श्रीमतीले मेरो मैलो लुगाहरू धुनुपर्छ, मैले जे जे भने पनि जे जे गरे पनि सहनुपर्छ, मेरो श्रीमती हुनु नै उसको परिचय हो भन्ने पुरुष मानसिकता छ।

अनि मलाई मन लागेको बेला यौन सम्पर्क गर्न दिनु उसको दायित्व हो, पितृ सत्ताको चुरो नेपाली पुरुषको यही गलत सोच हो। मेरो बुझाई गलत छैन भने बाहिर कसैले नसुनाउने कथित इज्जतदार घरमा महिला हिंसाको स्वरूप झन् विकराल बन्दै गएको छ। त्यसका लागि मैले देखे भोगेका केही उदाहरण पनि यहाँ प्रस्तुत गर्न चाहन्छु।

पहिलो घटना : पल्लो घरकी हाकीम्नी दिदी, सबैले हाम्री दिदी भनेर सम्बोधन गर्छन्। घरमा आउने अनि बाहिर भेटिनेसँग उनको व्यवहार अति नै राम्रो हुन्छ। देख्दा लाग्छ यो दुनियाँकै सुखी र खुसी यिनै मान्छे हुन्। तर अपसोच यिनको पीडाको बाध फुट्यो भने के होला ?

नजिकबाट उनलाई नियाल्नेलाई बाहेक पीडा के हो भनेर कसैले आँकलनसम्म पनि गर्न सक्दैन, एक मुस्कानमा सबै पीडा लुकाउने दिदी। उनको वास्तविक विस्तार गर्नै सकिन्न। किनकि उनको पीडा व्यक्त गर्न सकिने खालकै छैन। जुन पुरुषकै कारण सिर्जना भएको हो।

दोस्रो घटना : महिला अभियानकर्ता भनेर चिनिने प्रख्यात नाम, जसको घरमा काम गर्न बस्ने सुन्तली दिदी। आफ्नो गुजरा चलाउन अरुको घरमा बिहान बेलुका जुठो भाँडा उठाउनु पर्ने, देख्दैमा घिन लाग्ने कपडा उठाएर धुनु पर्ने छ। यति मात्रै कहाँ हो र मालिकको घरमा मालिक्नी नभएको बेला ओछ्यानसम्म तताईदिनु पर्ने सुन्तली जस्ता महिला कति छन् ?

अनि कसरी महिला हिंसाको सिकार भएका छन्। कसैलाई वास्ता छैन। सुन्तली दिदी आफैले यो घटना बाहिर ल्याउन पनि सक्दिनन् कारण उनको गाँस, बाँस र कपास नै रोकिन्छ।

कहिले आउँछ यी र यस्ता महिलालाई महिला हिंसाविरुद्धको दिवस ? कहिले प्रत्याभूत गर्न पाउँछन्। कानुनी राज्यको सर्वोत्कृष्ट संविधानको महसुस ? प्रश्न त धेरै छन् तर जवाफ छैन।

तेस्रो घटना : तराईमा महिला हिंसा धेरै छ। अब रोक्नु पर्छ, सुरुवात आफ्नो घरबाट भन्ने सर्मिला महतोले छोरोको बिहे गरिन्। गाउँकै जान्ने बुझ्ने, ओहो, सर्मिला दिदी भन्छन्, उनको नाम लिने बित्तिकै तर आज तिनै सर्मिला दिदीकी बुहारी दाइजोका कारण सर्वोच्चसम्म पुग्नु परेको छ। कारण हो, घरेलु हिंसा।

श्रीमानको पीटाईबाट एक महिना अस्पताल बसेर निस्केकी सानु भन्छिन्, ‘मेरो सासुको हात्तिको देखाउने र चपाउने दाँत जस्तै रहेछ व्यवहार समयमा चिन्न सकिन्, अहिले धेरै आत्माग्लानी भएको छ।’

कहिल्यै छोरालाई यस्तो नगरसम्म भनिनन्, उल्टै सुकुम्वासीको छोरी भन्ने उपनाम पाएकी छु, उनका आँखा भरिए। सहजै अनुमान लगाउन सकिन्छ कि नेपालमा महिला अधिकारकर्मीले कस्तो भूमिका खेलेका छन्।

सबैलाई एउटै टोकरीमा राख्न त नमिल्ला तर पनि राज्य तथा विभिन्न संघ संस्थाले जति लगानी महिला हिंसा रोक्नको लागि गरेका छन् त्यो बालुवामा पानी खन्याए जस्तै भएको छ। पीडित झन् पीडामा छन् पीडक झन् अग्रसर।

नेपालमा महिला हिंसा न्यूनीकरणका लागि विभिन्न कानुनी तथा संस्थागत व्यवस्था कायम छन्। पहिलो लिखित कानुन मुलुकी ऐन १(१)को जीउ मास्ने बेच्ने, सती जाने, आशय करणी, करणीको आशयले हातपात गर्ने, हाडनाता, जबरजस्ती एवम् कमारा र बाँधाको महलको व्यवस्थालाई पनि त्यो समयको प्रगतिशील व्यवस्था मान्नुपर्ने हुन्छ।

त्यसपछि जारी गरिएको सुधारिएको मुलुकी ऐन २०२० हुँदै विभिन्न विषयगत कानुन हुँदै मुलुकी फौजदारी संहिता २०७४ सम्म आइपुग्दा महिला हिंसा न्यूनीकरणका लागि प्रशस्त कानुनी व्यवस्था र प्रतिबद्धता छन्। सोही मात्रामा राज्यले संस्थागत संयन्त्रहरूको पनि स्थापना र विकास, स्रोतको परिचालन गर्दै आएको छ।

हिंसा अन्त्यका लागि के गर्ने ?

विभिन्न आध्यात्मिकता मिसिएको विश्वाससँग हाम्रो सामाजिक मूल्य गाँसिने गरेको छ। जसले गर्दा महिला माथिको नियन्त्रणको दायरा अझ पनि कसिलो देखिन्छ। त्यस्तो मानसिकता कसरी निर्माण हुन्छ र यसमा जिम्मेवार के हो वा को हो? भन्ने प्रश्नको उत्तर खोज्न ढिला भई सकेको छ। हिंसालाई उत्प्रेरित गर्ने कारणमा उमेर, वर्ग, संस्कृति, जातीयता, धर्म, यौन झुकाव र उनीहरूको उत्पत्तिको विशिष्ट भौगोलिक क्षेत्र हुन सक्दछ।

यसका अतिरिक्त नागरिक चेतनाको स्तरमा देखिएको कमी, गोप्यतामा रमाउने हाम्रो संस्कृति, औपचारिक शिक्षा प्राप्त भएको तर दीक्षा प्राप्त गर्न नसकेको हाम्रो वर्तमान हुन नसकेको कानुनी व्यवस्थाको कार्यान्वयन र अपराधीलाई कडा दण्ड सजाय लैङ्गकि हिंसालाई मलजल गर्ने अन्य कारण हुन सक्दछ।

हिंसाका कारण, हामीले सोचेका हुन् कि त्योभन्दा फरक हुन्, त्यसले खासै फरक नपार्ला। यहाँ समाजको गन्तव्य भने सदैव हिंसा अन्त्यको दिशामा हुनु आवश्यक छ। पुरुष वर्गले पुरुष भएर होइन बाबु, दाजु वा जीवनसाथी भएर यी प्रश्नको उत्तर खोज्नुपर्ने भएको छ।

मैले असहजतामा पारिरहेको महिला पनि कसैको छोरी, कसैको बुहारी, कसैकी दिदीबहिनी अनि कसैकी श्रीमती हुन्। जसरी मेरी छोरीको स्वतन्त्रता र स्वच्छन्दता मलाई अमूल्य छ, त्यसरी नै यी चेलीको दाजु वा जीवनसाथीलाई यिनको सुरक्षा र स्वाभिमान प्यारो हुन्छ, भन्ने सोच हामी सबैमा हुनु पर्छ।

त्यस्तै महिला मित्रहरूले आमा, दिदी र जीवनसाथीको भावबाट सोच्नुपर्ने कुरा भनेको, कतै मेरो छोराले कसैको छोरीको बलात्कार त गर्ने छैन ? मेरो भाइको कारणले कुनै चेली हिंसामा त परेकी छैनन् ? मेरो जीवनसाथीले कार्यालय वा अन्य स्थानमा महिलामाथि दुर्व्यवहार त गरेको छैन ? भनेर सोच्न सक्नुपर्छ।

समग्रमा हामी आम पुरुषले पुरुष र महिलाले महिला भएर होइन, मानिस भएर यी प्रश्नको उत्तर खोज्नुपर्छ। के सबै पुरुष पापी, अमानवीय र बलात्कारी, क्रुर मानसिकताका हुन्छन् त ? महिलामाथि यौनिक हिंसा किन हुन्छ? यौनिक हिंसा कसले गर्छ ? समाजमा कैयौं परिवर्तन हुँदा पनि आखिर के कारण यौनिक हिंसामा कमी आउनुको सट्टा लगातार बढिरहेको छ?

सामाजिक न्याय, समानता र सम्मानको प्रत्याभूति दिने दाबी गर्ने कैयौं कानुनी पाना आखिर यौनिक हिंसा रोक्ने सवालमा किन यति विघ्न निरीह बने होला ?

समाजमा विद्यमान यस प्रकारका विकृति र विसंगतिका विरुद्ध परिवार र समुदाय स्तरमा व्यापक रूपमा सचेतना अभियान सञ्चालन, कानुनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन, साथै महिलाहरूलाई आर्थिक रूपले आत्मनिर्भर बनाउँदै महिला र पुरूषमा भएको असमान शक्ति संरचनामा परिवर्तन गर्न सके मात्र महिलाविरुद्ध हुने हिंसा कम गर्न पक्कै पनि सकिन्छ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ९ : ३१ बजे

कोशी लगानी सम्मेलनमा विज्ञको राय– कानून संशोधन, आर्थिक स्वामित्व ग्रहण र लगानीको स्पष्ट खाका हुनुपर्छ

काठमाडौं – कोशी प्रदेशमा बिहीबारबाट सुरु भएको लगानी सम्मेलनमा आर्थिक

आजदेखि खुले सरकारी विद्यालय (तस्बिरहरू) 

काठमाडौं– करिब एक महिना लामो शिक्षक आन्दोलन सहमतिमा टुंगिएपछि आजदेखि

अर्थमन्त्री पौडेल र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेट

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टी

मन्त्रिपरिषद् बैठक स्थगित, रोकियो राज्यमन्त्रीको शपथ 

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाको शपथ

कलश यात्रा (तस्बिरहरू)

काठमाडौं– नागार्जुन नगरपालिकामा बनाइएको बद्रीनारायण धामको प्राणप्रतिष्ठाको अवसरमा आज कलश