लम्की-टीकापुर-खक्रौला सडक निर्माणको म्याद सकिँदै, काम न्यून « Khabarhub

लम्की-टीकापुर-खक्रौला सडक निर्माणको म्याद सकिँदै, काम न्यून


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीको लम्की-टीकापुर-खक्रौला सडकखण्ड निर्माणको समय सकिन एक महिनामात्रै बाँकी छ तर सडकको स्तरोन्नति गर्ने कामको प्रगति न्यून देखिएको छ । उनन्तीस दशमलव सात किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरी सुरु गरिएको स्तरोन्नतिको कामको पहिलो खण्डको प्रगति केही देखिए पनि दोस्रो र तेस्रो खण्डको प्रगति न्यून छ । 

सम्झौता भएको मितिको लगभग ९५ प्रतिशत समय सकिँदा पनि पहिलो खण्डको करिब ६५ प्रतिशत तथा दोस्रो र तेस्रो खण्डको करिब ३० प्रतिशत मात्र काम सकिएको छ । तीस महिनाभित्र काम सम्पन्न गर्नेगरी गरिएको सम्झौताको अहिले २९ महिना सकिएको छ । अहिलेसम्मको कामको प्रगति हेर्दा अबको बाँकी एक महिनाको समयमा काम सम्पन्न हुने सम्भावना छैन ।

 सडक निर्माण कम्पनीले  दूर्त गतिमा काम गरेमा पहिलो खण्डको आगामी जेठ मसान्तसम्म र अन्य दुई खण्डको करिब एक वर्षभित्र काम पूरा हुने सम्भावना रहेको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका प्रमुख सविन जोशीले बताए ।

‘समयमै काम सकिने सम्भावना टरेको छ, अब तीव्रगतिमा काम गरेमा सबै सडक निर्माण सकिन करिब एक वर्ष लाग्ने देखिन्छ’, उनले भने, ‘पहिलो खण्डको काम तीव्र गतिमा हुँदैछ, पहिलो खण्डका लागि धेरै समय आवश्यक छैन, अन्य खण्डका लागि करिब एक वर्ष लाग्छ ।’

तीनवटै ठेकेदार कम्पनीलाई सडक निर्माणको काम चाँडो सक्न आफ्नातर्फबाट ताकेता गरिरहेको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका प्रमुख जोशीको भनाइ छ । तीन खण्डमध्ये पहिलो खण्ड निर्माण कम्पनी कालिका कुमार जेभीका दिनेश मल्लको हो । उक्त सडकको १८ सय मिटर भाग कालोपत्र गरिसकिएको र आफ्नो कम्पनीले आगामी जेठ मसान्तभित्र सडक कालोपत्रको काम सकाउने उनले बताए । ‘हामी धमाधम काम गरिरहेका छौँ, आगामी जेठ मसान्तसम्म सबै काम सक्नेगरी काम थालेका छौँ’, उनले भने, ‘अब ढिलाइ हुँदैन ।’

दोस्रो खण्डको एपेक्स खड्का कृष्ण जेभी र तेस्रो खण्डको रायमाझी गल्वा जगदम्बा जेभीले ठेक्का पाई काम गरिरहेको छ । उनीहरूको प्रगति भने न्यून छ । यसरी ठेक्का लिएर समयमै काम नहुँदा नागरिकलाई निकै समस्या भइरहेको र सरोकारवालाले यस समस्याको समाधान चाँडै गर्नुपर्ने नागरिक समाज टीकापुरका संयोजक भीमराम चपाईंले बताए । 

‘समयमै निर्माण नगरिँदा नागरिकलाई सास्ती भएको छ, सडक खाल्डाखुल्डी र धुलाम्मे छन्’, उनले भने, ‘जताततै खनेर अलपत्र छोडिएको अवस्था छ, यो नागरिकमाथि गरिएको लापरवाही हो, यस्तो लापरवाही गर्ने छुट कसैलाई दिन हुँदैन ।’ जम्मा २९ दशमलव सात किलोमिटरमध्ये बजार क्षेत्रमा पर्ने छ दशमलव तीन किलोमिटर चार लेन र बाँकी सडक दुई लेनको निर्माण हुनेछ ।

 सडक निर्माणका लागि हुलाकी राजमार्ग निर्देशनालयसँग पहिलो खण्ड आठ किलोमिटर कालिका कुमार जेभी काठमाडौँले २०७७ साल जेठ २८ गते ४० करोड १९ लाख, दोस्रो खण्ड १० किलोमिटर एपेक्स खड्का कृष्ण जेभीले जेठ २६ गते ४० करोड ९९ लाखमा र बाँकी तेस्रो खण्ड रायमाझी गल्वा जगदम्बा जेभी काठमाडौँले २०७७ असार १४ गते ३३ करोड २० लाखमा ठेक्का सम्झौता गरी काम सुरु गरेको हो ।

तीनै खण्डको ठेक्का सम्झौता समाप्त हुने मिति ३० महिनाको रहेको आयोजना कार्यालयले जनाएको छ । काम सक्नुपर्ने ३० महिनाको अवधिमा २९ महिना गइसक्दा पनि कामको प्रगति भने ५० प्रतिशत पनि नपुग्नु राम्रो नभएको स्थानीय भुवनेश्वर अधिकारीको भनाइ छ । 

‘काममा ढिलासुस्ती भइरहँदा नागरिकस्तरबाट दबाब दिइनुपर्छ, स्थानीय सरकारले पनि काममा भएको ढिलाइबारे चासो राख्नुपर्छ’, उनी भन्छन्, ‘सडक निर्माणमा ढिलाइ हुँदा नागरिकमा परेका असर धेरै छन्, यस विषयमा सरोकारवाला निकायले ध्यान दिन जरुरी छ ।’

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  १२ : ४९ बजे

काठमाडौं महानगरको १५ औँ नगरसभा : उपप्रमुख डंगोलले भनिन्- जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको

ड्रोनबाट खिचिएका तस्बिरको प्रदर्शनी पर्यटन बोर्डमा सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको ३ दिने विशेष

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा

एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर