आलु मकै छाडेर किबी व्यवसायतर्फ भोजपुरका किसान | Khabarhub Khabarhub

आलु मकै छाडेर किबी व्यवसायतर्फ भोजपुरका किसान


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भोजपुर- आलु तथा मकैबाट भन्दा राम्रो आम्दानी हुन थालेपछि जिल्लाका कृषक व्यवसायिक किबी खेतीतर्फ आकर्षित भएका छन् । बजारमा माग राम्रो भएको तथा एक पटक विस्तार गरिसकेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएसँगै आफूहरू व्यवसायिक किबी खेतीमा लागेको कृषक बताउँछन् ।

एकपटक रोपिएपछि बर्साैँसम्म आम्दानी लिन सकिने भएपछि कृषक अन्य बाली हटाएर व्यावसायिक किबीखेतीमा लागेका छन् । विशेष गरेर भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, वडा नं ४ नागीको लुङ्गिन र वडा नं ५ को मझौले तथा पौवादुङ्मा, आमचोक गाउँपालिकालगायत ठाउँमा किसानले यसको व्यवसायिक खेती गरिरहेका छन् । दिमागको तेज र रक्तशुद्धिका साथै युरिक एसिड, अल्सर रोगीका लागि उपयोगी किबी एक हजार ५०० मिटरदेखि दुई हजार ४०० मिटरसम्मको उचाइमा खेती गर्न सकिने कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । एक बगानबाट वर्षमा चार सय–पाँच सय केजी किबी उत्पादन हुने भए पनि जिल्लाको कुल उत्पादनको अभिलेख भने राखिने गरेको छैन ।

केही कृषकले रहरले खेती गरे पनि टेम्केमैयुङ–४ नागीमा भने व्यावसायिकरूपमा नै यसको खेती भइरहेको छ । व्यवसायिक रूपमा १५० भन्दा बढी बिरुवा लगाएर यसको खेती गरिरहेको नागीका नवीन राईले बताए। मकै फल्ने बारी मासेर पाँच वर्ष अघिदेखि किबीको व्यवसायिक खेती भइरहेको उनको भनाइ छ । रोपिएको दुई वर्षदेखि केही उत्पादन दिन थालेकामा यस वर्षदेखि भने उत्पादनबाट दोब्बर आम्दानी लिने लक्ष्य नवीनको छ । उनले भने, ‘‘किबीले राम्रो उत्पादन दिन थालेको छ । मकै, आलुबाट खास आम्दानी थिएन । अहिले त्यही बारीबाट राम्रो आम्दानी लिँदै आएको छु । यस क्षेत्रलाई किबी पकेट क्षेत्र बनाउने मेरो लक्ष्य छ ।’’

नवीनले शुरुमा इलामबाट बिरुवा ल्याएर खेती सुरु गरेका हुन् । किबीका साथमा पाखे अलैँची र खोर्सानीसमेत खेती गर्न सकिने भएकाले दोहोरो फाइदा लिन सकिने उनले बताए । राईका बारीमा रु दुई लाखदेखि तीन लाखसम्मको किबी फल्ने गरेको छ । उनले किबीखेतीबाट वार्षिक रु छ लाखसम्म आम्दानी लिने अपेक्षा रहेको बताए।

आफ्ना बारीमा उत्पादित किबीमध्ये केही गाउँमा खपत हुने र बाँकी बाहिरी जिल्लामा बिक्री गर्दै आएको नवीनले जानकारी दिए। किबी प्रतिकेजी रु २५० देखि रु ३०० मा बजारमा बिक्री हुने गरेको छ । नजिकै मध्यपहाडी राजमार्गसमेत बनिरहेको हुँदा उत्पादित किबीले राम्रो बजार पाउनेमा उनी आशावादी छन्। ‘‘मैंले खेती गर्न थालेपछि अन्य साथीहरूको पनि यसतर्फ आकर्षण बढेको छ । सडकको पहुँच वृद्धि भइरहेको छ । आगामी दिनमा बजारीकरणमा समेत थप सहजता हुने आशा बढेको छ’’, नवीनले भने।

त्यस्तै टेम्केमैयुङ गाउँपालिका ५ मझौलेका एकराज विष्टले पनि किबीको व्यवसायिक खेती गरिरहेका छन् । विष्टले करिब सात रोपनी क्षेत्रमा गत वर्षदेखि किबीखेती थालिएको बताए। उनले भने,‘‘राम्रो आम्दानी हुने भएपछि मैंले व्यवसायिक खेती थालेको छु । फल लिनका लागि तीनदेखि चार वर्षसम्म लाग्छ तर अन्यबालीका तुलनामा किबीखेतीबाट राम्रो आम्दानी लिन सकिन्छ । म धेरै वर्ष विदेशमा बसेर अहिले नेपालमै किबीको खेतीमा लागेको हुँ ।’’

किबीबाट सोचे जस्तो आम्दानी लिन सुरुमा जमिन तयार गर्दा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । पहिलो पटक खेती गर्ने कृषकले कृषि प्राविधिक अथवा अनुभवी कृषकको सल्लाह लिनुपर्ने उनले बताए। कृषक विष्टले भने,‘‘ खास गरेर किबीको बिरुवा हिउँद महिना अर्थात् पुसदेखि माघ अन्तिमसम्म लगाउन उपयुक्त हुन्छ । बिरुवा लगाउनु पूर्व तीनदेखि चार फिट गहिराइ र सोही बराबरको चौडाइमा प्राङ्गारिक मल कुहाएर लगाएमा राम्ररी फस्टाउँछ तर धेरै साथीहरूले यसरी खेती गरेको पाइँदैन । त्यसो भयो भने राम्रो आम्दानी लिन सकिँदैन ।’’

किसानले व्यवसायिक रुपमा खेती गरिरहे पनि स्थानीय तह तथा सरोकार पक्षले यसको विस्तारमा ध्यान दिनुपर्ने किसानको माग छ । साथै उत्पादित किबीलाई बजारीकरणमा समेत ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ । ‘‘किबी किसानको आर्थिक अवस्था सुधारमा टेवा पुर्‍याउने बाली हो । एक पटक राम्रो परिश्रम गरेर विस्तार गर्न सकियो भने यसबाट धेरै वर्ष सहजरूपमा आम्दानी लिन सकिन्छ । त्यसैले यसको थप विस्तारमा राज्यले सहयोग गर्न आवश्यक छ । धेरै मात्रामा उत्पादन गर्न सकियो भने बिक्रीवितरण गर्न खासै समस्या छैन,’’ किसान विष्टले भने।

टेम्केमैयुङ गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रममार्फत यसको खेती विस्तारमा सहयोग गरिरहेको छ । सम्पूर्ण किसानलाई व्यवसायिक तथा आधुनिक खेतीमा लगाई गाउँपालिकालाई कृषिमा नमूना बनाइने गाउँपालिकाले जनाएको छ । विभिन्न समयमा किसानलाई अनुदान दिने लगायत अन्य आर्थिक तथा प्राविधिक सहयोग गरिएको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले बताए। उनले भने,‘‘ यहाँको खेतीको सम्भावना हेरेर सबै बालीलाई प्रोत्साहन गरिरहेका छौँ । हाम्रो गाउँपालिकाको माथिल्लो क्षेत्र अलि बढी चिस्यान खालको भूगोल छ । त्यसैले यहाँ विशेष गरेर किबीको राम्रो सम्भावना छ । त्यही भएर यसको खेतीमा लागेका कृषकलाई सहयोग गर्ने लक्ष्यका साथ गाउँपालिकाले काम गरिरहेको छ ।’’

व्यवसायिक खेतीमा लागेको कृषकलाई सरकारले विशेष कार्यक्रम बनाएर प्रोत्साहन गर्न सके देशको आर्थिक विकासमा टेवा पुग्ने स्थानीय जानकारको भनाइ छ । यहाँको भौगोलिक विविधतालाई ध्यानमा राखी माटोअनुसारको खेती विस्तारमा ध्यान दिन आवश्यक रहेको किसान बताउँछन् ।

स्थानीय कृषक रत्नबहादुर विष्टले भने, “किबीको राम्रो जातको पहिचान गरेर लगाउन सकियो भने एक बोटबाट एक सयदेखि १५० केजीसम्म फलाउन सकिन्छ । व्यवसायिक रूपमा लगाउने हो भने वर्षमा रु चार पाँच लाख कमाउनका लागि युवाहरू अर्काको देशमा दुःख गर्न जानु पर्दैन । त्यसैले पछिल्लो समय किबीखेती धेरै मानिसको रोजाइमा पर्ने बालीका रूपमा स्थापित भएको छ । अहिले हाम्रो गाउँमा परम्परागत बाली छाडेर मानिसहरूले यसको व्यवसायिक खेती थालेका छन् ।”

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ४ : ०८ बजे

रविको संकट बढ्दै जाँदा डाकियो रास्वपा बैठक, नेताहरू पोखराबाट काठमाडौंतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक सोमबार अपरान्ह बस्दै

कान्छा न्यायाधीश नीतिजले दिनेछन् रविको भाग्य र भविष्यको निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित पाँचजना

‘जलवायु परिवर्तनको असर स्थानीय तहमा बढी’

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले जलवायु परिवर्तनको असर स्थानीय

इलाका प्रशासन रामपुरबाट सेवा सुरु

रामपुर – इलाका प्रशासन कार्यालय रामपुरमा तोकेअनुसारको दरबन्दी व्यवस्थापन नहुँदा

जनकपुर बोल्ट्सका समर्थकलाई आक्रमण : कीर्तिपुरबाट पक्राउ परे डोटीका दुई युवक

काठमाडौं- गत शनिबार भएको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनलपछि जनकपुर