आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

पाकिस्तानमा शहबाज शरिफ नयाँ प्रधानमन्त्री चयन

पाकिस्तानमा पाकिस्तान मुस्लिम लिग नवाज (पीएलएम–एन) पार्टीका अध्यक्ष शहबाज शरिफ नयाँ प्रधानमन्त्री चुनिएका छन् ।

पाकिस्तानी संसद्मा भएको मतदानमा सामान्य बहुमत पुर्‍याएसँगै शहबाज पाकिस्तानका २३ औँ प्रधानमन्त्री चुनिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ । प्रधानमन्त्री बन्न पाकिस्तानी संसद्मा कायम ३ सय ४२ मध्ये १ सय ७२ सिट आवश्यक पर्छ ।

संसद्मा भएको मतदानमा शहबाजको पक्षमा १ सय ७४ मत खसेको पाकिस्तानबाट प्रकाशित हुने एक्सप्रेस ट्रिब्युन पत्रिकाको अनलाइन संस्करणले जनाएको छ ।

प्रधानमन्त्री बन्न शरिफका साथै इमरान खानको पाकिस्तान तहरिक ए इन्साफ पीटीआईका उपाध्यक्ष शाह महमुद कुरैशीले मनोनयन दर्ता गराएका थिए । यद्यपि प्रधानमन्त्री चयन प्रक्रियाअघि पीटीआईका सांसदहरूले सामूहिक राजीनामा दिँदै संसद् बैठक बहिष्कार गरेका थिए ।

यसअघि शनिबार अबेर संसद्ले प्रधानमन्त्री इमरान खानविरुद्ध विश्वासको प्रस्ताव पारित गरेसँगै उनी पदमुक्त भएका थिए । पाकिस्तानी राजनीतिमा निकै चर्चित नाम रहेपनि शहबाजलाई पाकिस्तान बाहिर थोरैले चिनिन्छन्  ।

तर, प्रभावकारी प्रशासकको रूपमा देशभित्र उनको उच्च प्रतिष्ठा रहेको बताइएको छ । पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बनेका नवाज शरिफका कान्छा भाइ शहबाजले इमरान खान नेतृत्वको सरकार ढाल्न नेतृत्व गरेका थिए ।

शहबाजको पाकिस्तानको शक्तिशाली एवम् आन्तरिक राजनीतिमा निकै प्रभावशाली मानिने सेनासँग पनि राम्रो सम्बन्ध रहेको बताइन्छ ।

पन्जाब प्रान्तको मुख्यमन्त्री हुँदा शहबाजले कुशल ढंगले आफ्नो भूमिका निभाएको पाकिस्तानी सञ्चारमाध्यमहरू बताउँछन् । चीनले सहयोग गरेका परियोजना सम्पन्न गर्न उनी बेइजिङसँग निकट भएर कार्य गरेका थिए ।

गत साता एक अन्तर्वार्तामा उनले अमेरिकासँगको राम्रो सम्बन्धमा जोड दिएका थिए । इमरान खानले भने अमेरिकाको विरोध गर्दै आएका थिए । खानले आफ्नो सत्ता ढाल्न विदेशी चलखेल भएको उनले दाबी गर्दै आएका छन् ।

सन् १९९९ मा पाकिस्तानमा परभेज मुशर्रफको नेतृत्वमा भएको सैनिक कू पछि शहबाजलाई साउदी अरब निर्वासनमा पठाइएको थियो । उनी सन् २००७ मा स्वदेश फर्किएका थिए ।

आर्थिक हिनामिनाको अभियोगमा नवाज शरीफ सन् २०१७ मा दोषी ठहर भएपछि शहबाज पीएलएम–एनको प्रमुख बनेका थिए ।

फ्रान्समा राष्ट्रपति बन्न म्याक्रोँ र ले पेनबीच प्रतिस्पर्धा हुने

फ्रान्समा राष्ट्रपति इम्मानुएल म्याक्रोँ र दक्षिणपन्थी नेतृ मरी ले पेनबीच दोश्रो चरणको राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा हुने भएको छ ।

पहिलो चरणको मतदानमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेको खण्डमा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई उम्मेद्वारबीच प्रतिस्पर्धा हुने प्रावधान अनुसार दोश्रो चरणमा म्याक्रोँ र ले पेनबीच प्रतिस्पर्धा हुन लागेको हो ।

दोश्रो चरणको मतदान अप्रिल २४ मा हुने फ्रान्स २४ टेलिभिजनको अनलाइन संस्करणले जनाएको छ ।

यसअघि आइतबार भएको मतदानमा म्याक्रोँ २७ प्रतिशत मतका साथ विजयी भएका थिए । दोश्रो स्थानकी ले पेनले २३ प्रतिशत मत ल्याएको फ्रान्स २४ ले जनाएको छ ।

यसअघि सन् २०१७ मा भएको निर्वाचनमा पनि यी दुई नेताबीच प्रतिस्पर्धा भएको थियो । सन् २०१७ को निर्वाचनको पहिलो चरणको मतदानमा माक्रोँले २४ प्रतिशत मत प्राप्त गरेका थिए भने ले पेनले २१ प्रतिशत मत पाएकी थिइन् ।

यी दुई बीच भएको दोश्रो चरणको प्रतिस्पर्धामा भने ६६ प्रतिशत मत ल्याउँदै म्याक्रोँ राष्ट्रपति चयन भएका थिए ।

 नवाज शरिफ आगामी महिना पाकिस्तान फर्किने

लण्डनमा निर्वासित जीवन बिताइरहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ पाकिस्तान फर्किने भएका छन् । पाकिस्तान मुस्लिम लिग नवाज पीएलएम–एन पार्टीका एकजना वरिष्ठ नेतालाई उद्धृत गर्दै पाकिस्तानी अखबार एक्सप्रेस ट्रिब्युनले जनाएअनुसार नवाज आगामी महिना इदपछि पाकिस्तान फर्किने छन् ।

यस वर्ष आगामी मे महिनाको पहिलो साता इद परेको जनाइएको छ । पीएलएम–एनका सांसद मियाँ जावेद लतिफका अनुसार तीनपटक पाकिस्तानको प्रधानमन्त्री रहिसकेका नवाजको पाकिस्तान फिर्तीबारे गठबन्धनसँग छलफल गरिनेछ ।

कान्छा भाइ शहबाज शरिफ नयाँ प्रधानमन्त्री बन्न लागेसँगै नवाजको पाकिस्तान फिर्तीबारे पीएलएम– एनका कार्यकर्ता र आम सर्वसाधारणमा ठूलो चासो रहेको बताइन्छ ।

उनीमाथि पाकिस्तानमा विभिन्न भ्रष्टाचार र आर्थिक हिनामिनाका विषयमा अनुसन्धान भइरहेको छ भने उनीविरुद्धका धेरै मुद्दाहरू अदालतमा विचाराधीन रहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१९ मा सर्वोच्च अदालतले पानामा पेपर्स काण्डमा नवाजलाई दोषी ठहर गरेपछि ७२ वर्षे उनको राजनीतिक भविष्य सकिएको आँकलन गरिएको थियो ।

लाहोर उच्च अदालतको अनुमतिमा विदेशमा उपचार गराउन भन्दै उनी सन् २०१९ नोभेम्बर महिनामा लण्डन गएका थिए । त्यसयता उनी पाकिस्तान फर्केका छैनन् ।

रुस–युक्रेन युद्धका कारण आर्थिक मन्दी आउने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले रुस–युक्रेन युद्धले केही देशमा प्रत्यक्ष आर्थिक मन्दी ल्याउने प्रक्षेपण गरेको छ । विश्व बैंकले रुस, युक्रेन, बेलारुस, किर्गिजस्तान, मोल्दोभा, र ताजिकिस्तानमा प्रत्यक्ष आर्थिक मन्दी आउने र अन्य देशहरूमा समेत आर्थिक वृद्धिदर संकुचन ल्याउनसक्ने प्रक्षेपण गरेको हो ।

बैंकले युद्धका कारण युरोप र मध्य एशियासँगै धेरै देशको आर्थिक वृद्धिदरलाई नकरात्मक असर पार्ने जनाएको छ । विश्व बैंकले युद्धका कारण युक्रेनको अर्थतन्त्रमा यो वर्ष करिब ४५.१ प्रतिशतले सङ्कुचित हुने र अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धहरूका कारण रुसको अर्थतन्त्र ११.२ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरेको छ ।

त्यस्तै बैंकले आर्थिक संकुचनको असर युरोप र मध्य एसियाली देशहरूका उदीयमान बजार र विकासशील देशहरूले भोग्ने समेत विश्व बैंकको पछिल्लो आर्थिक प्रक्षेपणले जनाएको छ।  विश्व बैंकले रुसी आक्रमणका कारण पूर्वी युरोप र मध्य एसियामा कोभिड महामारीले भन्दा बढी आर्थिक नोक्सानी हुने प्रक्षेपण गरेको छ ।

युक्रेनका अधिकांश मानिसहरू युद्ध मैदानमा खटिएको वा शरणार्थी भई विदेश पलायन भएका कारण आर्थिक गतिविधिमा कमी आएको विश्व बैंकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । प्रक्षेपणले मध्य एशियाली देशहरूको रेमिट्यान्समा समेत युद्धका कारण धेरै असर पार्ने जनाएको छ ।

युद्धले विश्वव्यापी मन्दी ल्याउने, मुद्रास्फीति र ऋण बढाउने तथा गरिबी बढाउँने चिन्तालाई थपेको विश्व बैंकले जनाएको छ। बैंकले युद्धका कारण वित्तीय बजार, व्यापार, आप्रवासन र बजारको आत्मविश्वासमा प्रतिकूल प्रभाव पारिरहेकाले संसारभरको आर्थिक वृद्धिदरमा असर पार्नसक्ने चेतावनी पनि दिएको छ ।

युद्धले निम्त्याएको मानवीय सङ्कटको परिमाण भयावह रहेको र रुसी आक्रमणले युक्रेनको अर्थतन्त्र र पूर्वाधारमा ठूलो क्षति पु¥याएको  युरोप र मध्य एसिया क्षेत्रका लागि विश्व बैंककी उपाध्यक्ष अन्ना बियर्डले बताइन । युक्रेनको अर्थतन्त्रलाई निरन्तरता दिन तत्कालै ठूलो आर्थिक सहायता चाहिएको उनको भनाइ छ ।

बैंकले युक्रेनलाई हालसम्म १ अर्ब डलरको सहयोग गरेको छ भने आगामी महिनाहरूमा थप २ अर्ब सहयोग गर्ने बीबीसीले जनाएको छ । कृष्ण सागरको तटमा रुसी बन्देजका कारण युक्रेनबाट हुने अन्न निर्यात ९० प्रतिशतले कमी आएको छ ।

युक्रेनले विश्वभरि निर्यात गर्ने सामाग्रीहरूको निर्यात रोकिएकाले खाद्यान्नको मूल्यवृद्धि हुने र आर्थिक वृद्धिदरमा असर पार्ने विज्ञप्तिमा जनाएको खाद्यान्नले युक्रेनको कूल निर्यातको झण्डै आधा हिस्सा ओगट्छ । विश्वको सबैभन्दा ठूलो सूर्यमुखी तेलको निर्यातकर्ता युक्रेनको निर्यात ठप्प जस्तै भएसँगै यसले विश्वभर खाद्यान्नको मूल्य पनि अकासिएको छ विश्व बैंकले जनाएको छ ।

मारिउपोल शहरमा दशौँ हजार मारिएको जेलेन्स्कीको दाबी

रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको युक्रेनको दक्षिणी शहर मारिउपोलमा दशौँ हजार मारिएको हुनसक्ने राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

दक्षिण कोरियाली सांसदहरूसँग प्रत्यक्ष भिडियो लिंकमार्फत् वार्ताका क्रममा जेलेन्स्कीले यस्तो बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

‘मारिउपोल ध्वस्त भएको छ, दशौँ हजारको मृत्यु भएको छ तर यसका बावजुद रुसीहरूले आक्रमणलाई रोकेका छैनन् ।’ जेलेन्स्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यद्यपि जेलेन्स्कीको दाबीको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ । चौतर्फी घेराबन्दीमा रहेका कारण शहरभित्रबाट समाचार प्राप्त गर्न निकै कठिन रहेको बताइन्छ ।

शहरबाट भाग्न सफल केही शरणार्थीहरूले भने शहरमा शवहरू अव्यवस्थित चिहानमा गाडिएको, रुसी फौजमा सरिक चेचेन लडाकुहरूले लुटपाट मच्चाएको तथा शहरभरी भोकमरीको अवस्था रहेकोबारे जानकारी दिएको बीबीसीले जनाएको छ ।

मारिउपोल शहरमा रुसी फौजले बारम्बार आक्रमण गर्दै आएका छन् । रणनीतिक रुपमा अत्यन्त महत्वपूर्ण भौगोलिक अवस्थितिमा रहेको मारिउपोल रुसी सेनाको प्रमुख निशानामा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।

युक्रेनमा १९ हजार ५ सय रुसी सैनिक मारिएको युक्रेनी दाबी

युक्रेनमा आक्रमणकारी रुसी सेनाका १९ हजार ५ सय सैनिक मारिएका छन् । युक्रेनी सुरक्षा बलले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिँदै युक्रेनमा जारी हमलाका क्रममा हालसम्म १९ हजार ५ सय रुसी सैनिक मारिएको बताएको हो ।

युक्रेनी सुरक्षा बलले जनाएअनुसार जारी आक्रमणमा रुसी सेनाका ७ सय २५ ट्यांक, १ हजार ९ सय २३ बख्तरबन्द गाडी, १ सय ५४ लडाकु विमान र १ सय ३७ हेलिकप्टरहरू ध्वस्त भएका छन् ।

यसअघि उत्तर एटलान्टिक सन्धि संगठन नेटोले युक्रेनमा रुसी फौजले १५ हजार सैनिक गुमाएको दाबी गरेको थियो । त्यस्तै, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा १ हजार ७ सय ९३ सर्वसाधारण मारिएको र २ हजार ४ सय ३९ जना घाइते भएको बताएका छन् ।

केही दिनअघिमात्रै रुसी प्रशासन क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले युक्रेनमा ‘उल्लेखनीय क्षति व्यहोरेको’ स्वीकार गरेका थिए ।

इलोन मस्क ट्विटरको सञ्चालक बोर्डमा सहभागी नहुने

हालैमात्र सामाजिक सञ्जाल ट्विटरको सबैभन्दा ठूलो शेयरधनी बनेका इलोन मस्क कम्पनीको सञ्चालक बोर्डमा भने सहभागी नहुने भएका छन् ।

ट्विटरका प्रमुख कार्यकारी पराग अग्रवालले मस्क ट्विटरको बोर्डमा सहभागी नहुने जानकारी दिएका हुन् । ट्विटरको ९ दशमलब २ प्रतिशत शेयर खरिद गरेका मस्कले यही शनिबार कम्पनीको बोर्डमा आबद्ध हुने तय थियो ।

तर, सोही दिन बिहान मस्कले बोर्डमा सहभागी हुने जानकारी दिएको अग्रवालको भनाइ छ । ‘इलोनले त्यही बिहान बोर्डमा सहभागी नहुने जानकारी दिएका थिए ।’ अग्रवालले ट्विट गरेका छन् ।

टेस्ला कम्पनीका मालिक समेत रहेका मस्क ट्विटरको सबैभन्दा ठूला शेयरधनी रहिरहने र उनको योगदानका लागि कम्पनी सधैँ खुला रहेको अग्रवालको भनाइ छ ।

न्यु योर्क शहरका मेयरलाई पनि कोरोना

अमेरिकाको न्यु योर्क शहरका मेयरलाई कोरोना भाइरसको संक्रमण भएको छ । मेयर एरिक आडम्सलाई कोरोना पोजेटिभ देखिएको मेयरको कार्यालयले जनाएको हो ।

मेयरको कार्यालयले विज्ञप्ति जारी गर्दै उनलाई कोरोना भाइरस देखिएको जानकारी दिएको अमेरिकाबाट विभिन्न सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । सीएनएनका अनुसार मेयर आडम्सलाई कोभिडको खासै गम्भीर लक्षण देखिएको छैन ।

यद्यपि परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ आएपछि भने उनी अहिले आइसोलेसनमा बसिरहेका छन् । उनी अझै एक साता कुनै सार्वजनिक कार्यक्रममा सरिक नहुने बताइएको छ । न्यु योर्क शहरमा कोरोनाको निःशुल्क स्वास्थ्य जाँच र निःशुल्क औषधि सेवा उपलब्ध छ ।

अमेरिकामा कोरोना भाइरस अझै निर्मूल भइसकेको छैन । त्यहाँ अहिलेसम्म ८ करोड नागरिकलाई कोरोना पोजेटिभ देखिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ९ : ३३ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द