विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज वैशाख २८, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार मे ११, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

श्रीलंकामा रोकिएन प्रदर्शन

श्रीलंकामा लगातार दोश्रो रात पनि हिंसात्मक प्रदर्शन भएका छन् । सरकार विरोधी प्रदर्शनकारीले मंगलबार अबेर र बुधबार सबेरै रातभर प्रदर्शन, आगजनी, तोडफोड र अन्य हिंसात्मक गतिविधिलाई निरन्तरता दिएको बीबीसीले जनाएको छ ।

त्यसअघिको अघिल्लो रात पनि प्रदर्शनकारीले प्रदर्शन गरेका थिए । सोमबार सरकार समर्थक प्रदर्शनकारीसँग हिंसात्मक झडप भएपछि श्रीलंकामा सरकारविरोधी प्रदर्शनकारीहरू आक्रोशित बनेका हुन् ।

आक्रोशित प्रदर्शनकारीले श्रीलंकाका सत्तारुढ राजपाक्षे परिवारको पुर्ख्यौली घरमा पनि आगो लगाइदिएका थिए । मङ्गलबार राजधानी कोलम्बो नजिक पर्ने नेगोम्बो शहरमा प्रदर्शनकारी तोडफोड गरी केही सम्पत्तिमा हानी पुर्‍याएको बीबीसीले जनाएको छ ।

सोमबार यता जारी हिंसात्मक झडपका क्रममा ८ जनाको मृत्यु भइसकेको छ भने अरु २ सय भन्दा धेरै घाइते भएको आशंका गरिएको छ । मारिनेमा सत्तारुढ दलका एकजना सांसद पनि छन् । प्रदर्शनकारीसँगको झडपपछि उनले आत्महत्या गरेको बताइएको छ ।

यसअघि गत सोमबार प्रदर्शनकारीलाई साम्य पार्न प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिएको घोषणा गरेका थिए ।

उनले राजीनामा दिनुअघि सरकार विरोधी प्रदर्शनकारी र सरकारका समर्थक प्रदर्शनकारीबीच प्रधानमन्त्रीको सरकारी निवास ‘टेम्पल ट्रिज’ मा झडप भएको थियो ।

उनको राजीनामाका बावजुद सरकार विरोधी प्रदर्शन थामिएको छैन । श्रीलंकामा बुधबारसम्मका लागि कफ्र्यू जारी गरिएको थियो । सोमबार राती मात्र आक्रोशित प्रदर्शनकारीको भीडले राजनीतिक नेता तथा राजपाक्षे परिवारका ५० भन्दा धेरै घरहरूमा आगजनी गरेका थिए ।

चरम आर्थिक संकट तथा अत्यावश्यक वस्तुको अभावका कारण श्रीलंकामा केही सातायता सरकार विरोधी प्रदर्शन हुँदै आएका छन् ।

हाल निवर्तमान प्रधानमन्त्री राजपाक्षेले मुलुकको उत्तर पूर्वमा रहेको ट्रिङ्कोमाली शहरस्थित नौसेनाको आधारमा शरण लिएको बताइएको छ ।

उक्त नौसैनिक आधार बाहिर पनि प्रदर्शनकारी भेला भएर प्रदर्शनलाई चर्काएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच, श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ । इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् ।

सोमबार गोटाबायका दाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । तर, पनि हिंसा रोकिएको छैन। सरकारले सार्वजनिक सम्पत्ति लुट्ने वा ‘जीवनमा हानि’ गर्ने जो कोहीलाई गोली चलाउन आदेश दिएको छ । राजधानी कोलम्बोका सडकहरूमा गस्ती गर्न दसौँ हजार सेना, नौसेना र वायु सेनाका कर्मचारीहरू तैनाथ छन् ।

सुरक्षाकर्मीको परिचालनका बाबजुद मंगलबार दिउँसो एउटा भीडले शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई सुरक्षा नदिएको आरोप लगाउँदै शहरका एक शीर्ष प्रहरी अधिकारीलाई आक्रमण गरेको थियो । कोलम्बोको गाले फेस ग्रीनमा पनि भीडहरू जम्मा भएका थिए ।

सोमबारदेखि भएको प्रदर्शनमा आठ जनाको मृत्यु भएको छ । झडपमा दुई सयभन्दा बढी घाइते भएका  राजधानीको मुख्य अस्पतालले जनाएको छ । केही सरकार समर्थक भीडले गरेको हमलाबाट घाइते भएका छन् भने कोही भीडमाथि प्रहरीले अश्रुग्याँस प्रहार गर्दा घाइते भएका छन् ।

प्रधानमन्त्रीका समर्थकविरुद्ध मुद्दा दायर गरिएको प्रदर्शनकारीहरूको पक्षमा काम गरिरहेका वकिलहरूले बताएका छन् । यता भारतीय उच्चायोगले आफ्नो फौज श्रीलङ्का पठाएकोबारे सञ्चारमाध्यमको रिपोर्टको खण्डन गरेको छ । श्रीलङ्काको प्रजातन्त्र, स्थिरता र आर्थिक पुनः स्थापनालाई देशले पूर्ण समर्थन गरेको भारतीय अधिकारीले बताएका छन् । 

श्रीलङ्काले तीव्र खाद्यान्न र बिजुलीको अभावसँगै आर्थिक सङ्कटका कारण छिमेकी तथा अन्तर्राष्ट्रिय संघ संगठनहरूसँग सहयोग माग्न बाध्य भएको छ । 

पछिल्लो आर्थिक अवस्थाले प्रधानमन्त्री महिन्दा राजपाक्षे र राष्ट्रपति गोताबाया राजपाक्षेको राजीनामा मागसहित ठूलो समूहले विरोध प्रदर्शन गरिरहेको छ । 

‘भारतले श्रीलङ्कामा आफ्नो फौज पठाएको बारेमा केही सञ्चारमाध्यममा समाचारहरू आएको र यसलाई उच्च आयोगले स्पष्ट रूपमा अस्वीकार गर्न चाहन्छ’ भारतीय मिसनद्वारा जारी ट्वीटमा भनिएको छ । 

ट्वीटमा भनिएको छ, ‘यी रिपोर्ट र विचारहरू पनि भारत सरकारको श्रीलङ्काको नीतिअनुरूप छैनन् ।’

भारतको विदेश मन्त्रालयका प्रवक्ताले मङ्गलबार भारत श्रीलङ्काको लोकतन्त्र, स्थिरता र आर्थिक पुनःस्थापनामा पूर्ण समर्थन गरिरहेको बताएका थिए । 

भारतले केहीश्रीलङ्काली राजनीतिक व्यक्ति र उनीहरूका परिवार भारत भागेका छन् भन्ने सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रसारित अफवाहहरूको खण्डन गरेको भारतीय अधिकारीले जनाएका छन् ।

श्रीलङ्काले देशका सशस्त्र फौजलाई एक दिन हिंसात्मक द्वन्द्वपछि सार्वजनिक सम्पत्ति लुट्ने वा अरूलाई हानी पु¥याउने जोसुकैमाथि कारवाही गर्ने आदेश जारी गरेको छ ।

राष्ट्रपति गोताबाया राजपाक्षेले पनि नागरिकहरूलाई शान्त रहन र अरूविरुद्ध हिंसा र बदलाको कार्य नगर्न आग्रह गरेका छन् ।

सरकार समर्थक समूहले सोमबार सरकार विरोधी प्रदर्शनकारीसँग झडप गरेपछि देशमा विभिन्न हिंसात्मक घटना भएका छन् । यस क्रममा आठ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका थिए ।

सोमबारदेखि बुधबारसम्म देशव्यापी कर्फ्यू लगाइएको थियो र कानुन र सुव्यवस्था कायम गर्न सैनिक खटाइएको थियो। हिंसात्मक विरोध प्रदर्शन चर्किएसँगै महिन्दा राजपाक्षेले सोमबार श्रीलङ्काको प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

पुटिन लामो युद्धको तयारीमा रहेको अमेरिकाको दाबी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा लामो युद्धको तयारीमा रहेको अमेरिकी गुप्तचर निकायले दाबी गरेको छ ।

पूर्वी युक्रेनमा रुसले भीषण हमला गरिरहेका बेला गुप्तचर निकायले रुसले पूर्वी युक्रेनमा जित हासिल गरे पनि द्वन्द्व अन्त्य नहुने चेतावनी दिएको हो ।

राजधानी किभ कब्जा गर्ने रुसी सेनाको प्रयासको युक्रेनले प्रतिरोध गरेपछि मस्कोले दोनबास क्षेत्र कब्जा गर्न आफ्ना सेनाहरूलाई पुनः केन्द्रित गरेको छ ।

मंगलबार अमेरिकी सिनेट समितिको सुनुवाइमा राष्ट्रिय खुफिया निर्देशक एभ्रिल हेन्सले पुटिन अझै पनि ‘दोनबासभन्दा बाहिरका लक्ष्यहरू हासिल गर्न’ खोजेको तर उनले ‘आफ्नो महत्वाकांक्षा र रुसको वर्तमान परम्परागत सैन्य क्षमताबीचको बेमेलको सामना गरिरहेको बताइन ।

सो सुनवाईमा रक्षा गुप्तचर निकायका निर्देशक स्कट बेरियरले रुसी र युक्रेनीहरू ‘अलिकति गतिरोधमा’ रहेको बताए । पछिल्लो युद्धमा युक्रेनले उत्तरपूर्वी खार्किभ क्षेत्रका चारवटा बस्तीहरू पुनः कब्जा गरेको दाबी गरेको छ ।

चेर्कासी तिश्की, रुस्की तिस्की, रुबिज्नेबायराक सबैलाई रसियाबाट फिर्ता लिएको रुसी सेनाको भनाई छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सफलताले रुसी सेनालाई बिस्तारै खार्किभबाट बाहिर धकेलिरहेको बताएका छन् । खार्किभमा युद्ध सुरु भएदेखि नै लामो समयदेखि बमबारी भइरहेको छ ।

रुसमा चार क्षेत्रीय गभर्नरद्वारा राजीनामा

पश्चिमा मुलुकहरूले आर्थिक प्रतिबन्धहरूको घोषणा गरेसँगै रुसमा चार जना क्षेत्रीय गभर्नरहरूले राजीनामा दिएका छन् ।

रुसको टोम्स्क, सराटोभ, किरोभमारिएल क्षेत्रका गभर्नरहरुले राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यस्तै, रायजान क्षेत्रका गभर्नरले आफूले दोश्रो कार्यकालका लागि उम्मेद्वारी नदिने घोषणा गरेका छन् । त्यहाँ आगामी सेप्टेम्बर महिनामा चुनाव हुँदैछ ।

रुसका क्षेत्रीय गभर्नरहरु चुनावमार्फत निर्वाचित हुने भएपछि उनीहरु रुसी प्रशासन क्रेमलिनको मातहतमा रहने बताइन्छ । कहिलेकहीँ क्रेमलिनले यस्ता गभर्नरहरुलाई राजीनामा दिन बाध्य समेत पार्ने गरेको बताइन्छ ।

पश्चिमा मुलुकहरूले प्रतिबन्ध लगाएका कारण खस्कँदो रुसी अर्थतन्त्र क्रेमलिनले कमजोर गभर्नरलाई हटाएको मस्कोस्थित सेन्टर फर द डेभलपमेन्ट अफ रेजिनल पोलिटिक्स नामक थिंक ट्यांकका प्रमुख इलिया ग्राश्चेन्कोभले बताए ।

यो वर्ष सन् २०२२ मा रुसको अर्थतन्त्रमा ८ दशमलब ८ प्रतिशतको संकुचन आउने रुसी अर्थ मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

युक्रेनमा रहेका रुसी सम्पत्ति जफत गरिने

युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने भएको छ । युक्रेनको सरकारले सो कुरा जनाएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहालले युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने जानकारी दिएका हुन् ।

उनले युक्रेनको मन्त्रिपरिषद्ले हालैमात्र युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गर्ने विषयको कानुन बनाएको र सो सम्पत्ति जफत गर्ने अनुमति दिएको बताए ।

प्रधानमन्त्री स्मिहालले भने– ‘अब युक्रेनमा रहेका रुसका सबै प्रकारका भौतिक सम्पत्तिहरू युक्रेन राज्यको मातहतमा आएका छन्, मङ्गलबारको मन्त्रिपरिषद् बैठकले सो कानुन बनाएको छ ।’

युक्रेनले रुसको आक्रमणबाट ध्वस्त बनाएका संरचनाहरूको पुननिर्माणका लागि एक कोषको स्थापना गरेको जनाएको छ । रुसको सो सबै सम्पत्ति उक्त कोषमा जम्मा हुने गरी कानुन बनाएको उनले बताए ।

युक्रेनका प्रधानमन्त्रीले युक्रेनले विश्वका अरु देशसँग पनि ती देशमा रहेका सम्पत्तिहरू जफत गर्ने विषयमा पनि अनुरोध गर्ने जनाएको छ ।

उनले ती सम्पत्ति ती देशहरूले जफत गरी युक्रेनको पुननिर्माणसम्बन्धी कोषमा जम्मा गर्ने गरी काम गर्न अनुरोध गरिने जानकारी दिए ।

इजरायली सेनाको गोली लागी अल जजिराकी पत्रकारको मृत्यु

प्यालेस्टाइनको वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर कतारी टेलिभिजन च्यानल अल जजिराकी एक पत्रकारको मृत्यु भएको छ ।

इजरायली सेनाको गोली लागेर सेरिन अबु अक्लेहको मृत्यु भएको कतारस्थित समाचार च्यानल अल जजिरा र प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

अक्लेहलाई जेनिन सहरमा सेनाको छापामारको रिपोर्टिङ गर्दा गोली लागेको अल जजिराले जनाएको छ । गोली हानिएका बेला उनले ‘प्रेस’ लेखेको ज्याकेट लगाएको अल जजीराले जनाएको छ । 

सेना र प्यालेस्टिनी बन्दुकधारीबीचको झडपको क्रममा उनी मारिएको हुनसक्ने इजरायली सेनाले जनाएको छ । आक्रमणमा अर्का पत्रकार घाइते भएका छन् । उनको अवस्था स्थिर छ । 

अक्लेह अल जजिराको अरबी समाचार सेवामा महत्वपूर्ण व्यक्तित्व थिइन् ।

बिल गेट्सलाई कोरोना भाइरसको संक्रमण

माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले आफूलाई कोभिड–१९ सङ्क्रमण भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा सन्देश जारी गर्दै आफूलाई कोरोना भाइरसको सङ्क्रमण भएको र अहिले आफ्नै निवासमा क्वारेन्टाइन मा रहेको जानकारी दिएका छन् ।

उनीद्वारा ट्विटरमा जारी सन्देशमा आफूले पूर्ण मात्रा खोप लगाएको, परीक्षण र चिकित्सा उपचार लिइरहेको बताइएको छ ।

‘मलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । अहिले मलाई कोभिडका हल्का लक्षणहरू देखिएको अनुभव गर्दैछु र म फेरि स्वस्थ नभएसम्म अलग्गै रहेर विशेषज्ञहरूको सल्लाह पालना गर्दैछु’ उनले भनेका छन् ।

मैले बुस्टरसहित तीन वटै खोप लगाइसकेको छु । खोप लगाउन, परीक्षण तथा महान चिकित्सा उपचारको पहुँच पाएकोमा म आफूलाई भाग्यशाली ठानेको छु’ उनले ट्वीटमा भनेका छन् ।

उनी आफ्नो बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनसँग कोभिड–१९ निदान, उपचारात्मक र खोप वितरणको विश्वव्यापी प्रयासमा सक्रिय सहभागी हुँदै आएका छन् ।

विश्वका अति धनाढ्य व्यक्ति अर्बपति बिल गेट्सले ‘अर्को महामारीलाई कसरी रोक्ने’ शीर्षकमा नयाँ किताब मे को सुरुतिर प्रकाशन तथा सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ ।

चीनको शून्य कोभिड नीति दिगो नभएको डब्लूएचओको टिप्पणी

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले कोभिड महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको बताएका छन् ।

कोभिडको महामारी सुरु भएदेखि अहिलेसम्मकै खराब अवस्थाविरुद्ध लड्न सांघाईका साढे दुई करोड मानिसहरू हप्तौँदेखि घरमा बस्न बाध्य भइरहेका बेला डब्लूएचओका प्रमुखको यस्तो भनाइ आएको हो ।

‘जब हामी शून्य–कोभिड रणनीतिको बारेमा कुरा गछौँ, भाइरसको व्यवहार र भविष्यमा हामीले के अनुमान गर्छौं भन्ने विषयलाई मनन गर्दा यो दिगो छ भन्ने लाग्दैन’, गेब्रेयससले पत्रकार सम्मेलनमा भने । चीनमा पछिल्लो समयमा कोभिड संक्रमणका घटना तीव्र वृद्धि भएका छन् । कोभिडबाट सांघाइ सहर नराम्रोसँग प्रभावित छ ।

सांघाइमा कोभिडबाट अहिलेसम्म ५ सय जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ८ : ११ बजे

क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो : स्वास्थ्य मन्त्रालय

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन

लुम्बिनी विहार तथा तीर्थयात्री व्यवस्थापन कार्यविधि कार्यान्वयन

लुम्बिनी– लुम्बिनीका स्थानीय होटल र लुम्बिनी विहारबीचको विवाद समाधान भएको

क्यान्सरविरुद्धको खोप बनाएको रुसको घोषणा, आगामी वर्ष संसारभर बाँडिने

काठमाडौं– रुसले क्यान्सरविरुद्धको खोप बनाएको घोषणा गरेको छ । रुसी

गाजामा इजरायली आक्रमण : एक लाख भन्दा बढी घाइते

इजरायल – इजरायली सेनाले गाजामाथिको आक्रमणलाई निरन्तरता दिएको छ। पछिल्लो

नदीजन्य पदार्थको उपयोग गर्न संयुक्त कार्यदल गठन

लुम्बिनी– लुम्बिनी र सुदूरपश्चिम प्रदेशका बीचमा कर्णाली नदीको स्रोत उपभोग