दिनभर के के भयो देशभर ? (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर के के भयो देशभर ? (अडियोसहित)


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

जेठ १ गतेदेखि निजी र सरकारी विद्यालयमा सातामा दुई दिन बिदा दिने निर्णय
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बर्खे, हिउँदे, स्थानीयलगायतका बिदा कटौती गरेर जेठदेखि विद्यालय आइतबार बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रालयको बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार विद्यालयमा बिदा दिने औपचारिक निर्णय गरेको हो । मन्त्रालयले सोमबारदेखि शुक्रबारसम्म १० बजेदेखि ४ बजेसम्म विद्यालय समय कायम गरेर वार्षिक २० दिन अन्य बिदा कटौती गरे पाठ्यक्रम तोकेको पाठ्यघण्टा पूरा गर्न सकिने निष्कर्ष निकालेको छ ।स्थानीय तहले आफू अनुकूल बर्खे, हिउँदे, स्थानीय, दसैं, तिहारलगायत चाडपर्व बिदाको दिन विद्यालय खोलेर पठनपाठन गराउन सक्ने मन्त्रालयले जनाएको छ । हिउँदे, बर्खे गरेर ४५ दिन र स्थानीय बिदा ५ दिन दिइँदै आएको छ 

जेठ १ गतेदेखि बैंकहरू शनिबार र आइतबार दुई दिन बन्द हुने
आगामी जेठ १ गतेदेखि बैंकहरू पनि सातामा दुई दिन बन्द हुने भएका छन् । यसअघिको सरकारी निर्णय सातामा दुई दिन, शनिबार र आइतबार विदा दिने निर्णय भएसँगै बैंकहरू पनि सो दिन बन्द हुने भएका हुन् । आज एक सूचना जारी गर्दै राष्ट्र बैंकले सरकारी निर्णय बमोजिम वित्तीय क्षेत्र पनि दुई दिन बन्द गरिने निर्णय भएको र सोही निर्णय बमोजिम कार्य गर्न तथा गराउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको हो । तर, कार्यालय खुला हुने दिन सोमबारदेखि शुक्रबारसम्म पाँच दिन भने बिहान ९ः३० देखि ४ः०० बजेसम्म नै बैंक खुला राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । 

नौ महिनामा सरकारको खर्च ७ खर्ब ९४ अर्ब, पुँजीगत खर्च हुन सकेन
सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा कुल ७ खर्ब ९४ अर्ब २६ करोड रुपैयाँ खर्च गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सरकारले २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त खर्च गरेको हो । यस अवधिमा चालु खर्चतर्फ ६ खर्ब २५ अर्ब ५० करोड रुपैयाँ, पुँजीगत खर्चतर्फ १ खर्ब ३ अर्ब ७९ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गतको खर्चतर्फ ६४ अर्ब ९७ करोड रुपैयाँ खर्च भएको राष्ट्र बैंकले जनाएको छ । चैतसम्ममा संघीय सरकारको कुल राजस्व ७ खर्ब ८९ अर्ब २६ करोड रुपैयाँ परिचालन भएको छ । चैतसम्ममा संघीय सरकारले ट्रेजरी विलमार्फत ५० अर्ब रुपैयाँ, विकास ऋणपत्रमार्फत ५४ अर्ब ५० करोड रुपैयाँ र नागरिक बचतपत्रमार्फत ९७ करोड  रुपैयाँ गरी कुल १ खर्ब ५ अर्ब ४७ करोड रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको छ । 

थप खस्कियो विदेशी मुद्रा सञ्चिति
मुलुकको विदेशी मुद्रा सञ्चिति थप घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि चैत महिनासम्मको वित्तीय प्रतिवेदनअनुसार चैत मसान्तसम्म ११ खर्ब ६७ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति छ । फागुनसम्म यस्तो सञ्चिति ११ खर्ब ७१ अर्ब थियो । २०७८ असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब रुपैयाँ बराबर रहेको विदेशी मुद्रा सञ्चिति ९ महिनामा १६.५ प्रतिशतले घटिसकेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा चैत मसान्तमा १८.२ प्रतिशतले घटेर ९ अर्ब ६१ करोड डलर कायम भएको छ । 

मुलुक २ खर्ब ६८ अर्ब घाटामा, चालु खाता घाटा ५ खर्ब नाघ्यो
चालु आर्थिक वर्षको नौं महिनामा मुलुकको भुक्तानी सन्तुलन २ खर्ब ६८ अर्ब घाटामा गएको छ । चैतमा मात्रै करिब १० अर्ब घाटा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो वित्तीय प्रतिवेदनअनुसार चैत मसान्तसम्म भुक्तानी सन्तुलन अर्थात शोधनान्तर स्थिति २ खर्ब ६८ अर्बले घाटामा देखिएको हो । अघिल्लो वर्ष यसै अवधिमा ४२ अर्ब ५४ करोडले बचतमा थियो । यसैबीच देशको मूल्यवृद्धि ७.२८ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरणअनुसार गत चैत महिनाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् मूल्यवृद्धि ७.२८ प्रतिशत रहेको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मौन अवधि सुरु
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मौन अवधि शुरु भएको छ । गएराति १२ बजेपछि प्रचारप्रसार गर्न नपाइने सहितको कडा आचारसंहिता लागु भएको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ । मौन अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिका सम्बन्धमा निगरानी राख्ने र मतदातालाई प्रभाव पार्ने गतिविधि भएको पाइएमा सुरक्षा निकायले तत्काल नियन्त्रणमा लिने निर्वाचन आयोगले जनाएको छ  । त्यस्तै निर्वाचन सुरक्षालाई ध्यान दिँदै गए रातिदेखि देशका सीमानाका बन्द गरिएको छ । तर, अन्तर्राष्ट्रिय उडान भने रोकिएको छैन । निर्वाचनका दिन आन्तरिक उडान र अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।यस्तै गएरातीदेखि मतदान सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री–वितरण तथा सेवनमा समेत प्रतिबन्ध लगाइएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले भोलि पनि मतदाता परिचयपत्र वितरण गर्ने
निर्वाचन आयोगले बिभिन्न निर्वाचन अधिकृतको कार्यालयले भोलि पनि मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । निर्वाचन आयोगले भोलिसम्म मतदाता परिचयपत्र वितरण गर्ने र मतदाता परिचय पत्र बितरण गरेकै स्थानमा मतदाता शिक्षा पनि दिने जनाएको छ । आयोगले नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराएको हो । मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्र लिएर जानु  पर्ने आयोगले जनाएको छ । 

निर्वाचन आयोगले देशभरका सबै मतगणनास्थलमा सीसीटीभी राख्ने
निर्वाचन आयोगले देशभरका सबै मतगणनास्थलमा सीसीटीभी क्यामेराबाट निगरानी गर्न असम्भव हुने भएपछि भीडीओ रेकर्ड राख्ने भएको छ । आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई ७ सय ५३ स्थानीय तहलाई मतगणना स्थलमा सीसीटीभी क्यामेरा राख्ने व्यवस्थाका लागि परिपत्र गरेको थियो । त्यस अनुसार स्थानीय तहले व्यवस्थापन गर्न नसक्दा आधाभन्दा कम स्थानीय तहमा मात्रै सीसीटीभीबाट मतगणनाको निगरानी गरिने भएको हो । 

मतदानका लागि काठमाडौँ छाड्ने सर्वसाधारणको नाकाहरूमा भीड
स्थानीय तहको निर्वाचनमा मताधिकार प्रयोग गर्नका लागि काठमाडौँ छाड्ने सर्वसाधारणको काठमाडौंको बिभिन्न नाकाहरूमा भीड लागेको छ । वैशाख ३० गते हुने निर्वाचनमा मतदान गर्नका लागि उपत्यकाबाहिर जाने सर्वसाधारणको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ । उपत्यका छाड्नेहरूले सहज रुपमा सवारी साधन नपाएको गुनासो गरेका छन् । गाडी र यात्रुको चापका कारण बिभिन्न नाकामा ट्राफिक जाम भएको छ । निर्वाचनका लागि सर्वसाधारणहरूलाई सम्बन्धित दल र उम्मेदवारले गाडीको समेत व्यवस्था गरिदिएका छन् । पछिल्ला ४ दिनमा मात्रै करिब २ लाख २० हजारभन्दा बढी व्यक्तिले सडकमार्ग हुँदै उपत्यका छाडेका छन् । 

प्यूठानमा मौन अवधिमा भोट माग्दै हिँडेका दुई समूहबीच झडप
प्यूठानको सरुमारानी गाउँपालिकामा सत्तारुढ गठबन्धन र एमालेका समर्थकबीच भएको झडपमा ४ जना घाइते भएका छन् । घाइते हुनेमा शंकर विश्वकर्मा, टेकेन्द्र मर्स्याङ्ग्री, गुमान सिंह लम्तरी र रमेश राना रहेका छन् । घाइते मध्ये रमेशलाई थप उपचारका लागि बुटवल लगिएको छ । ३ जनाको सरुमारानीमा नै उपचार भइरहेको छ । गाउँमा भोट माग्दै हिँडेका दुई समूहबीच मौन अवधिमा भोट मागेको विषयमा विवाद भएपछि झडप भएको प्रहरीले जनाएको छ । 

उम्मेदवार सासुको मृत्युपछि बुहारीले पाइन् टिकट
नेपाली कांग्रेसले कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा उपमेयरको उम्मेदवारको मृत्यु भएपछि उनको बुहारीलाई उम्मेदवार बनाएको छ । कांग्रेसले उपप्रमुख पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्युपछि कुर्मीकी जेठी बुहारी रिताकुमारी कुर्मीलाई उम्मेदवार बनाएको हो । हृदयघातबाट सुभावतीको मृत्यु भएपछि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्थगन गरेको थियो । आयोगले ३ जेठमा निर्वाचन हुने गरी नयाँ निर्वाचन कार्यक्रम जारी गरेको छ । आयोगको नयाँ निर्वाचन कार्यतालिका अनुसार कांग्रेसले रितालाई उपमेयरको उम्मेदवार दर्ता गराएको हो । उता दाङमा पनि वडाध्यक्षका उम्मेदवार बाबुको मृत्यु भएपछि छोरालाई उम्मेदवार बनाइएको छ ।

पैसा राखेर नमूना मतपत्र वितरण गर्ने माओवादी कार्यकर्ता पक्राउ
सिरहामा मतदातालाई पैसा बाँडेको आरोपमा नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मतदाताको घरमै पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँ बाँड्दै गरेको अवस्थामा गोलबजार नगरपालिका–२ गुरूधामका नेकपा माओवादी केन्द्रका कार्यकर्ता ५५ वर्षीय प्रेम लामा पक्राउ परेका हुन् । उनको साथबाट मतपत्र र  ५४ हजार रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । लामालाई मतपत्र र रकमसहित स्थानीयले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएको र आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय  गोलबजारका प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए । 

मतदातालाई बाँड्दै गरेको १२ कार्टुन मदिरा बरामद्
कपिलवस्तु नगरपालिका–३ सानो बर्गदहवाबाट मतदातालाई बाँड्न लागिएको मदिरा प्रहरीले बरामद गरेको छ । लु. १ज २४१० नम्बरको भ्यानमा राखिएको मदिरा स्थानीयलाई बाँड्न लागेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले बाँड्न लागेको मदिरा सहितको भ्यान र व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ । १२ कार्टुन मदिरासहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी जेसी शाहले बताए ।  निवर्तमान वडा अध्यक्ष तथा क्रिकेट एसोसिएसन कपिलवस्तुका अध्यक्ष समेत रहेका वडा नम्बर ३ का उम्मेदवार प्रकाश गैरेमाथि मदिरा बाँड्न लगाएको आरोप छ ।

हुम्लाको अदानचुलीका निर्वाचन अधिकृतलाई हटाउन तीन दलको माग
हुम्लाको अदानचुली गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत यामप्रसाद बास्कोटालाई हटाउन जिल्लास्थित तीन दलले माग गरेका छन् । निर्वाचन अधिकृतले निर्वाचन आचारसंहिता विपरीत सर्वदलीय सहमतिबिना एकलौटी कार्य गरेको भन्दै हटाउन माग गरेका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन अधिकृतलाई हटाउन माग गर्दै विज्ञप्ति जारी गरेका छन् । गाउँपालिकामा कार्यरत उम्मेदवारको आफन्तलाई निर्वाचन कर्मचारीका रुपमा नियुक्त गरेको, निर्वाचनअघि सक्कल मतपत्र एउटा दललाई मात्र वितरण गरेको, सर्वदलीय सहमति नहुँदै सूचना प्रसारण गरेको, एमालेबाट गाउँपालिकाका अध्यक्षको उम्मेदवार बनेका दल फडेराको घरमा बसेर खानपिन गरेको आरोप दलहरूले लगाएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा २१ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ७० पीसीआर परीक्षणका क्रममा १८ जना र ७ सय १८ एन्टीजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज १६ जना कोरोना संक्रमित निको भएका छन् । हाल नेपालमा १ सय ८७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय भारत्तोलन खेलाडी सञ्जु चौधरीको आज गृहजिल्लामा अन्त्येष्टि
मंगलबार काठमाडौंमा मृत भेटिएकी राष्ट्रिय भारत्तोलन खेलाडी तथा १३ औँ दक्षिण एसियाली खेलकुदको स्वर्ण विजेता सञ्जु चौधरीको आज गृहजिल्ला बाँकेमा धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिअघि सन्जुको पार्थिव शरीरलाई बाँकेको राप्तीसोनारी–३ बेलासपूरस्थित सञ्जुको घरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले चौधरीको घरमै पुगेर राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय वायु सेनाको विमान
निर्माण सम्पन्न भई उद्घाटनको तयारीमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा आज भारतीय वायु सेनाको विमानले उडान भरेको छ ।  भारतीय वायु सेनाको आइएल ७६ विमान सुरक्षा अधिकारीसहित सुरक्षा सामग्री, सवारीसाधन र बन्दोबस्तीका सामान लिएर भैरहवा विमानस्थलमा अवतरण गरेको हो । २ जेठमा (बुद्ध जयन्ती)मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण गर्न लागेकाले उनकै सुरक्षामा आवश्यक सामग्री लिएर आज विमान आएको हो । 

बझाङमा १४ वर्षीया किशोरी बलात्कृत
बझाङमा किशोरी बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन् । १४ वर्षीया किशोरी बलत्कार आरोपमा छबिसपाथिभेरा गाउँपालिका–५ बस्ने २६ वर्षीय कृष्ण धामीलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँस्थित मौरी खोला जलबिद्युत आयोजना पावर हाउसको भवनमा ती किशोरीलाई धामीले बलात्कार गरेको प्रहरीले जनाएको छ । सो सुचना पाएपछि प्रहरी चौकी छबिसपाथिभेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  १० : ११ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले