‘चाँडै ठूला पर्दामा आफ्नो प्रस्तुति दिन सक्छु’ | Khabarhub Khabarhub

‘चाँडै ठूला पर्दामा आफ्नो प्रस्तुति दिन सक्छु’

भाइरल शब्द जटिल लाग्छ, अप्रिय अनुभव गर्नुपरेको छैन !


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

प्रियना आचार्य पछिल्लो समय चर्चामा आउँदै गरेकी कलाकार हुन् । थियटरबाट अभिनयमा भिजेकी प्रियना पछिल्लो म्युजिक भिडियोमा हुँदै विभिन्न विज्ञापनमा पनि सक्रिय हुन थालेकी छन् । ठूला पर्दामा अभिनय गर्न इच्छाशक्ति राखेर विभिन्न म्युजिक भिडियोमा देखिन थालेकी उनी कलाकारितामा आफ्नो बेग्लै परिचय बनाउने बताउँछिन् । केही समयअघि सर्वनाम थियटरमा प्रस्तुत भएको नाटक ‘विकास भर्सेज निकास’बाट ‘मुन्नी’नामको पात्रको अभिनयले चर्चामा आएकी उनी त्यसयता आफ्नो परिचय थप ओजिलो बनाउँदै आएकी छन् । केही दिन अघि सम्पन्न ‘डान्सिङ विथ द स्टार्स’ रियालिटी शोमा रनर अप भएपछि पनि उनको चर्चा झन् बढ्दो छ । प्रस्तुत छ, खबरहबले उनै कलाकार प्रियना आचार्यसँग गरेको संक्षिप्त कुराकानीको सम्पादित अंशः

‘मुन्नी’ सुन्ने बित्तिकै कस्तो महसुस हुन्छ ?
अहिले त मलाई मुन्नी शब्द सामान्य लाग्न थालेको छ । कसैले प्रियना भनेर सम्बोधन गर्दा अचम्म लागेर आउँछ ।

अहिले प्रियना भन्दा पनि मुन्नीमार्फत बढी परिचित भइरहँदा कुनै बेला आफ्नो वास्तविक नामबाटै चिनियोस भन्ने अपेक्षा रह्यो कि रहेन ?
म ‘मुन्नी’ लाई एउटा नाटयश्वरीको प्रसादका रुपमा अपनाएकी छु । कलाकारिता क्षेत्रमा मैले प्रवेश गरेपछि मलाइ जसरी दर्शकहरुले रुचाउनु भए पनि म प्रियना आचार्य नै भएको हुनाले खासै फरक परेको छैन । अब बिस्तारै म्युजिक भिडियो मार्फत दर्शकहरुले प्रियना भनेर चिन्दै जानु भएको छ ।

सर्वनाम थियटरमा रामबाबु रेग्मीको निर्देशनमा रहेको ‘विकास भर्सेस निकास’मा ‘मुन्नी’ पात्रलाई निभाउँदै गर्दा यसरी मुन्निलाई अत्यधिक रुपमा रुचाइन्छ भन्ने अपेक्षा राख्नु भएको थियो ?
त्यस समयमा मलाइ एउटा नाटक गर्न पाउने अवसर नै धेरै ठुलो लागेको थियो । थियटर क्लास लिने क्रममा बिस्तारै नाटकको एउटा हिस्स बन्न पाउँदा खुसी लागेको थियो । मुन्नी एकै रातमा यसरी प्रचार पायो कि मैले केही कुरा सोच्ने मौका पनि पाइन । केही कुराको अपेक्षा नराखेको हुनाले यो यात्रा नै मिठो हुन पुग्यो ।

मुन्निको प्रचार पश्चात् आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनमा कस्तो फरकपन महसुस गर्नुभयो ?
आफ्नो पहिचान सँगसँगै दायित्वहरू पनि जोडिएर आउँछन् । मुन्निको रुपमा परिचित हुनु अघि प्रियाना कसैको छोरी अथवा साथीसम्म मात्र सीमित थिइन् । तर मुन्निलाई सबै दर्शकहरुले अपनाउनु भयो । अत्यधिक माया दिनु भयो । त्यो मायाको योग्य हुन मैले आफूमा बिस्तारै परिपक्वता विकास गर्ने प्रयत्न गर्दै छु । विभिन्न ठाउँमा कसरी प्रस्तुत हुने र कसरी कुरा गर्ने जस्ता साना तर महत्त्वपूर्ण पक्षहरु आफ्नो व्यक्तिगत जीवनमा छोटो समयमै धेरै विकास भएको अनुभूति गर्छु ।

रियालिटी शो ‘डान्सिंग विट स्टार’मा सेकेन्ड रनर अपको उपाधि जित्न सफल हुनु भएको छ । अनुभव कस्तो रह्यो ?
जब मलाई वाइल्ड कार्ड इन्ट्रीको लागि कुरा आएको थियो । म त्यति बेला विभिन्न नित्य क्लासमा पनि उपस्थिति जनाउँदै आइरहेकी थिए । एउटा कलाकार भइसकेपछि सम्पूर्ण विधामा पोख्त हुन जरुरी छ भन्ने विश्वास गर्थे । मलाई व्यक्तिगत रुपमा यी कुराहरुमा निखारिन बाँकी छ भन्ने लाग्थ्यो । तर सामन्य रुपमा अभ्यास गर्दै जानु र आज प्रस्तुति देखाएर भोलि नै परिणाम आउने क्रममा अलि तिब्र गतिमा अघि बढिने रहेछ । त्यसैले मैले डान्सिंग विथ स्टारमा सहभागिता नजनाएको भए र २ वर्ष लगाएर गरेको अभ्यास त्यति प्रभावकारी रहँदैनथ्यो । र, छोटो समयको अवधिमा रियालिटी सोमार्फत आफ्नो नृत्यलाई विकास गर्न सकेकोमा खुसी लाग्छ ।

आफूमा अब्बलता भए पनि यो क्षेत्रमा अलि बढी नै सम्झौता गर्नु पर्छ भन्ने कति कलाकारहरूको गुनासो सुनिन्छ, तपाईँ आफैले यस्ता अनुभव कतिको गर्नु परेको छ ?
यस क्षेत्रमा प्रवेश गरेको धेरै त भएको छैन । तर म्युजिक भिडियो गर्ने क्रममा कति समय त्यसको लागि पूर्वाभ्यास गर्नु पर्ने हुन्छ । आफू पूर्वाभ्यासको लागि उपस्थित भए पनि अन्तिममा आफूलाई जानकारी नभई भिडियोमा अरू कसैको सहभागितामा गीत सार्वजनिक पनि गरिएको छ । अन्त्यमा भिडियो मार्फत यो कुरा थाहा पाउँदा मन खिन्न भएर आउँछ । उहाँहरुले विभिन्न कारणले यस्तो परिवर्तन ल्याउन पर्‍यो भनेर छोटो जानकारी गराउँदा राम्रो हुन्थ्यो ।

कलाकारिता क्षेत्रमा महिलाहरूलाई कतिको गाह्रो छ ? आफूले भोगेका एक दुई वटा अनुभव के कस्ता छन् ?
क्षेत्रमा भन्दा पनि व्यक्तिगत रूपमा हामी सबैको मनभित्र कति आन्तरिक द्वन्दहरु हुन्छन् । जुन हामी परिवारहरूलाई पनि सुनाउन सकिरहेका हुँदैनौँ । वास्तवमा मैले त्यस्ता अप्रिय अनुभव अहिलेसम्म गर्नु परेको त छैन । तर कति कठिन अनुभव हाम्रो महिला सहकर्मीबाट सुन्दै आएका छौँ । महिलाहरुको कति फाइदा उठाउन खोजिएको अनगिन्ती अनुभवहरू पनि सुन्दै आएका छौ । यी कुराहरु अनुचित हुन् । हामी सबैले एउटा व्यावसायिकता आचरण कायम गर्न जरुरी छ । जब हामी भित्रैबाट परिवर्तन ल्याउने अठोट लिन्छौ तब सकारात्मक भावनाका साथ हामी अघि बढ्न सक्छौ ।

भाइरल भएसँगै कति मिडिया र फिल्म मेकर्सको ध्यानाकर्षण पनि त्यतै तिर तानिएको देख्दा लामो समयदेखि मिहिनेत गर्दै आउनु भएको कलाकारलाई कतिको असर गर्छ ?
मलाइ भाइरल भन्ने शब्द अत्यन्तै जटिल विषय लाग्छ । एक प्रकारले ‘मुन्नी’ पात्र पनि भाइरल नै भएको थियो । विभिन्न सामाजिक प्लेटफर्महरुले गर्दा अहिले नयाँ प्रतिभाहरूलाई एक हिसाबले सजिलो माध्यमबाट नै प्रतिस्थापित हुने गर्नु भएको छ । जसका कारण अहिलेको माहोलमा प्रतिष्पर्धा पनि अत्यन्तै बढ्दै गएको छ । र, वास्तवमा भाइरल हुने व्यक्तित्वलाई पनि गाह्रो छ । क्षणिक समयको लागि सबै उहाँको पछि लाग्नु हुन्छ भने छोटो समयपछि उहाँको ठाउँमा अरू कोही देख्छौ । उहाँहरूले यस्तो चर्चा पाइरहँदा आफूले यस क्षेत्रमा केही गर्न सक्ने उज्ज्वल भविष्यको आशा बुनिसक्नु भएको हुन्छ । तर त्यो वास्तविकता हुँदैन । मलाइ लाग्छ अग्रज मेकर्सहरुले भाइरल भएको विषयवस्तुलाई प्राथमिकता दिनु भन्दा पनि त्यसको प्रस्तुतिलाई मान्यता दिन जरुरी छ । क्षणिक चर्चाको लागि मात्र नभएर एउटा योग्य कलाकारलाई अवसर दिए एउटा कुशल प्रतिभाको कदर हुन्थ्यो ।

मुन्निको आफ्नै फ्यान फलोविंग भइरहँदा आफूले खेलेको म्युजिक भिडियोको चर्चा गर्न सामाजिक सञ्जालमा पनि उत्तिकै संलग्नता हुन कतिको जरुरी लाग्छ ?
सामान्यता यस क्षेत्रमा लागिसकेपछि ‘फेस भ्यालु’ को कुरा पनि आउँछ । जस्तै महानायक राजेश हमाल सर कै कुरा गर्दा पनि कति निर्देशकहरुले भन्नु हुन्छ पहिले उहाँको पोस्टरमा अनुहार हेर्न मात्र पनि दर्शकहरू हल सम्म पुग्नुहुन्थ्यो । यो भनेको कलाकारले कमाएको ठुलो उपलब्धि हो । अहिले पनि कुनै नयाँ कलाकारको काम भन्दा पनि राजेश हमाल सरको कामलाई सजिलै अपनाउन सक्छौ किनभने उहाँले गर्नु हुने काम राम्रो नै हुन्छ भन्ने चेतना बसिसकेको छ । त्यसै गरी अहिले धेरै दर्शकहरू पुग्नुहुने सामाजिक सञ्जाल भनेको टीकटक हो । र, कलाकार भएपछि जहाँ दर्शक हुनुहुन्छ हामी त्यही पुग्न सक्नु पर्छ जस्तो लाग्छ । मैले पनि थियटर गर्ने समयमा भर्खर मात्र टिकटक चलिरहेको थियो । र, निर्माताहरुले टिकटकमा प्रोमोसन गर्ने कलाकार खोज्न सुरु गर्नु भएको छ भनेर एक निर्देशकले मलाइ अब टिकटकमा सक्रिय रूपमा देखिन थाल्नु पर्छ भन्ने सल्लाह दिनु भयो । तर यी कुराहरु समेट्दै गर्दा सामाजिक सञ्जालमा सक्रिय हुनु अनिवार्य नभएता पनि अहिलेको समयमा महत्वपूर्ण रहेको छ ।

नाटकबाट सुरु गर्नु भएको यात्रामा अहिले म्युजिक भिडियोमा सक्रिय हुँदै गर्दा कस्तो भिन्नता पाइरहनु भएको छ ?
क्षेत्र एउटै भए पनि अभिनय गर्ने शैली फरक हुन्छ भनेझैँ नाटक, चलचित्र, म्युजिक भिडियो र विज्ञापनमा गर्ने अभिनय भिन्न हुन्छ । सबैतिर आबद्ध हुने कलाकारलाई ती पक्षहरूको स्थिरता कायम राख्न चुनौती नै रहन्छ । म पनि ती पक्षहरूलाई राम्रोसँग स्थापित गर्न प्रयास गर्दै छु ।

तपाइलाई दर्शकले ठुलो पर्दामा कहिले देख्न पाउँछन् ?
अधिकांश ठुलो पर्दाको नायक नायिकाहरूलाई देखेर उहाँहरु जस्तै बन्ने चाहनाले नै सायद कलाकारिताको प्यास उब्जिएको हुन्छ । अहिले म आफै कलाकार भइरहँदा पनि मैले सिनेमा हेर्दै गर्दा त्यो पात्रमा आफूलाई कल्पना गरिरहेकी हुन्छु । आज पनि त्यो बाल्यकालको प्रियना जसमा चलचित्रमा अभिनय गर्ने उर्जा थियो । आज पनि म भित्र रहेको छ । मेकर्सहरुसँग कुरा भइरहेको पनि छ । तर आगामी दिनमा चाँडै आफूले ठुलो पर्दामा प्रस्तुति देखाउन पाउँ भन्ने आशा गर्छु ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ११ : १३ बजे

विद्यालय शिक्षा र उच्च शिक्षाबीचको खाडल अन्त्य गरिने

काठमाडाैं– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा र

नवीन सुब्बा : लामो आयुका फिल्म बनाउने निर्देशक

काठमाडौं– कम तर लामो आयु फिल्म बनाउने निर्देशक हुन्– नवीन

‘राष्ट्र बैंक र मौद्रिक नीतिलाई दोष दिँदा अलिक अप्ठेरो हुन्छ’

हामी यतिखेर नयाँ बजेट घोषणा र मौद्रिक नीति समीक्षाको सम्मुखमा

गजुरे स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

दमौली– तनहुँको व्यास नगरपालिका–९ स्थित गजुरे स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

उमेशराज जोशी र भीमप्रसाद ढकाल एआईजीमा बढुवा

काठमाडौं- सरकारले प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी र भीमप्रसाद ढकाललाई