तरकारी जोन कार्यक्रमबाट नवलपुरका किसान लाभान्वित | Khabarhub Khabarhub

तरकारी जोन कार्यक्रमबाट नवलपुरका किसान लाभान्वित


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कावासोती– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत नवलपरासीको नवलपुरपूर्वमा सञ्चालित तरकारी जोन कार्यक्रमले यहाँका किसान लाभान्वित भएका छन् । नवलपुरका तीन स्थानीय तहका १६ वटा वडालाई समेटी उक्त कार्यक्रम सञ्चालन हुँदै आएको छ । कावासोती नगरपालिका–४, ९, १० १२, १५ , १६ र १७ , मध्यबिन्दु नगरपालिका–१, २, ३, ६, ९ र हुप्सेकोट गाउँपालिका– १, २ ,३ ४ वटा वडालाई समेटेर तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको थियो । 

उक्त कार्यक्रम आर्थिक वर्ष २०७६/७७ देखि सुरु भएको हो । परियोजना सुरु हुनुपूर्व यी क्षेत्रमा तरकारी खेती ५१२ हेक्टर जमिनमा गरिने गरिएकामा हाल क्षेत्रफल विस्तार भएर ६६० हेक्टर पुगेको छ । तीन  स्थानीय तहका ९९ समूह, छ सहकारी र ५२ उद्यमी गरेर १५७ तरकारी जोनमा आवद्ध छन्  भने दुई हजार ३५५ घरधुरी संलग्न छन् । नवलपुर कृषिमा अब्बल मानिन्छ । यहाँ व्यावसायिकरूपले  तरकारी खेती गर्ने किसानको सङ्ख्या बाक्लै छ । परियोजना सुरु हुनु अघि नै  धेरै किसान तरकारी खेतीमा लागेकामा परियोजना लागू भएपछि किसान थप  हौसिएका छन् । धेरै नयाँ किसानसमेत तरकारी खेतीमा आकर्षित भएका छन् । परियोजनाबाट प्राप्त सहयोग र परामर्शले तरकारी खेती गर्ने किसानलाई ठूलो राहत मिलेको छ ।

जोनमा आबद्ध हुप्सेकोट १ जुकेपानीको लेकबेँसी किसान समूहका किसान शङ्कर थापाले उक्त परियोजना लागू भएपछि मलचिङ, स्प्रे टङ्की, जोख्ने काँटालगायत सामग्री पाउँदा किसान निकै उत्साहित भएको बताए । ‘परियोजनाबारे जानकारी नहुँदा पालिकामा मात्रै निर्भर रहनुपरेको र  पालिकाबाट सानो सहयोग हुने गरेकामा परियोजनामा आवद्ध भएपछि किसानलाई आवश्यक सामग्री अनुदानमा पाउँदा लागत घटेको छ,’ उनले जोड दिए , ‘परियोजनाले विभिन्न सहयोग गरिरहेको छ, प्राविधिक ज्ञानसमेत प्रदान गर्ने गरेको छ, यसले धेरै सहज बनाउनाका साथै पेशागत बनाउन उत्पे्ररित पनि गरेको छ ।’

जुकेपानीकै सुनौलो महिला किसान समूहकी अध्यक्ष कृष्णमाया राना मगरले तरकारी जोन कार्यक्रमबाट  किसानलाई धेरै कुरामा सहज भएको बताए । विशेष गरेर कृषि  सामग्रीमा ५० प्रतिशत अनुदान कार्यक्रमले किसान बढी लाभान्वित भएको उनको भनाइ थियो। निर्वाहमुखी खेती गरिँदै  आएकामा अहिले व्यावसायिक खेतीतर्फ किसान आकर्षित भएको उनको भनाइ थियो । हुप्सेकोटको जुकेपानी क्षेत्रमा अधिकांश किसान काँक्राखेती गर्छन् । जुकेपानीबाट मात्रै एकै याममा रु  १० करोड बराबरको  काँक्रा बिक्री गरिएको छ । त्यसबाहेक गोलभेडा, आलु, बोडी, रामतोरिया, करेलालगायत खेती गर्ने गरिएको छ । 

यस्तै कावासोती १७ का किसान जोगबहादुर महतोले पनि परियोजना किसानका लागि निकै फलदायी भएको बताए । परियोजनाबाट प्राप्त बीउबिजन राम्रो हुने भएकाले उत्पादन पनि राम्रो भएको र अनुदानमा सामग्री पाउँदा किसानलाई धेरै राहत मिलेको उनको भनाइ थियो ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई नवलपरासी पूर्वको कार्यालयका कर्मचारी  किसान समस्या समाधान गर्न लागिपरिरहेका छन् ।

कार्यालय प्रमुख विष्णुप्रसाद शर्माले  परियोजना लागू भएका तीन पालिकाका १६ वटा वडामा तरकारी जोनअन्तर्गत कार्यालयले गर्ने सहयोगमा क्षेत्र विस्तारका लागि बीउबिजन उपलब्ध गराउनाका साथै उत्पादन सामग्रीमा  ५० प्रतिशत  र सिँचाइमा ८५ प्रतिशतसम्म अनुदान दिइएको जानकारी दिए ।  तरकारी खेतीले छोटो समयमा उत्पादन दिने र आम्दानी गर्न सकिने पेशा भएका कारण अहिले युवासमेत तरकारी खेतीतर्फ आकर्षित भएका र कतिपय वैदेशिक रोजगारीमा जाने युवालाई गाउँमै रोक्न सफल भएकोसमेत उनले बताए । 

उक्त परियोजनाअन्तर्गत जिल्लामा विशेष गरेर काँक्रा र गोलभेडा खेतीलाई प्राथमिकता दिइएको छ । त्यसबाहेक आलु, बोडी, रामतोरिया करेला, घिरौँला, खुर्सानीलगायत तरकारी खेती यहाँ गरिन्छ । परियोजना नहुँदा किसानले उत्पादन सामग्री सबै आफ्नै खर्चमा किन्नुपर्दा लागत बढी लाग्ने गरेको थियो । अहिले अनुदानमा सामग्री पाएपछि भने उत्पादन लागत घट्दा नाफा बढी भएको सम्बद्ध किसानले बताए।

-रासस

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  २ : ५४ बजे

आध्यात्मिक जागरण र विश्व बन्धुत्वको सन्देश फैलाउन ‘खुला सत्सङ्ग’

ललितपुर – आध्यात्मिक जागरणका लागि सन्देश फैलाउने उद्देश्यसहित आज यहाँ

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः अध्यक्ष केसी

कैलाली – राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प

अमेरिकामा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु

वासिङ्टन – अमेरिकाका दुई राज्य मिसौरी र केन्टुकीमा आएको आँधीका

कृषिमा यान्त्रिकीकरणः समय र खर्चको बचत

गलकोट – अहिले खेतबारीमा गहुँ चुट्न किसानलाई भ्याइनभ्याइ छ ।

नापतौलमा अनियमितता गर्नेलाई कारबाही

जनकपुरधाम – गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको