काठमाडौँ- आज दिनभर कांग्रेसको बैठक, प्रचण्ड–लिउ भेट, नेप्सेमा पहिरो, राष्ट्रपतिद्वारा राजदूत नियुक्त लगायतका विषय चर्चामा रहे ।
कांग्रेस बैठक
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिहरुले आगामी चूनावमा तालमेलका लागि मापदण्ड बनाउन सुझाव दिएका छन् । पार्टी कार्यालय सानेपामा आजदेखि सुरु भएको बैठकमा उनीहरुले चूनावमा गठबन्धनलाई निरन्रता दिदै तालमेलका लागि आवश्यक मापदण्ड बनाउन सुझाव दिएका हुन् । केहि सभापतिले भने कांग्रेस एक्लै चूनाव लड्दा उचित हुने धारणा राखेका थिए । त्यस्तै उनीहरुले चूनावमा टिकट वितरणलाई विधि र विधानसम्मत रुपमा लागू गर्नुपर्ने बताएका थिए । बैठकमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचनको प्रतिवेदन पेश गरिएको छ भने भातृ तथा शुभेच्छुक संस्थाको विधान टुङ्गो लगाउने विषय र तथा सरकारको काम कारबाहीको समीक्षा हुने प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो । स्थानीय तहमा केन्द्रीय सदस्यहरुको अनुभव र त्यसका आधारमा आगामी निर्वाचन गरिने रणनीतिका बारेमा बैठकमा छलफल हुने उहाले बताउनुभयो । त्यस्तै उहाले उपसभामुखको टुङ्गो लागेपछि संवैधानिक परिषद् सम्बन्धी विधेयकको विवाद समाधान हुने बताउनुभयो । केन्द्रीय समिति बैठकमा कांग्रेस नेता शेखर कोईरालाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रको आवश्यकता र औचित्य पुष्टी हुनेगरि तालमेल बारे पार्टीको धारणा निर्माण गर्नुपर्ने बताउनुभएको थियो । उहाले कांग्रेसको १४ औँ महाधिवेशनबाट नेतृत्व मात्र चयन भएको नीतिका विषयमा कुनै काम हुन नसकेकाले यथाशीघ्र नीति अधिवेशन गर्न आग्रह गर्नुभयो । कांग्रेसको केन्द्रीय समिति बैठक केहि बेर चल्ने बताइएको छ ।
केपी ओलीको भनाइ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार निष्प्राण भइसकेको टिप्पणी गर्नुभएको छ । ललितपुरमा आज सम्पादकहरुसंग छलफल गर्दै अध्यक्ष ओलीले देश र जनताका लागि सरकारले कुनै काम गर्न नसकेको भन्दै वर्तमान परमादेशी सरकारको कुनै अर्थ नै नरहेको र निष्प्राण भइसकेको टिप्पणी गर्नुभएको हो । ओलीले वर्तमान सरकार कसले चलाइरहेको छ भन्ने नै थाहा हुन नसकेको बताउनुभयो । सरकारलाई जसले चलाए पनि सेटिङ र मुलुकलाई अधोगतिमा लैजानेतर्फ केन्द्रित रहेको र गठबन्धन जोगाउने काम मात्रै भएको उहाले बताउनुभयो । उहाले गठबन्धन कै कारण जनतामा दलहरुप्रति र सरकारप्रति बितृष्णा जागेको र विश्वास कम हुदै गएको उल्लेख गर्नुभयो । जसले जे षडयन्त्र गरेपनि आफ्नै पार्टी जोगाउन नसक्नु आफ्नो पनि कमजोरी भएको उहाले स्वीकार गर्नुभयो । एमालेले चाहेको भए वर्तमान सरकारको गठबन्धन धेरै अघि नै टुट्ने भन्दै ओलीले एमालेका लागि गठबन्धन भन्दा मुलुकको सुशासन मुख्य बिषय भएको बताउनुभयो । एमालेले साँचो डिभोर्सका लागि नक्कली बिहे गर्न हतार नगर्ने ओलीको भनाई छ । संवैधानिक परिषद् विधेयकलाई सुटुक्क राष्ट्रियसभामा लाने काम सरकारले गरेको भन्दै उहाले यसको औचित्य पुष्टि गर्न चूनौति दिनुभयो । ओलीले सर्वोच्चमा मुद्धा हालेको बिषयलाई राष्ट्रियसभामा लगेर सरकारले दुईमुखे चरित्र देखिएको र यो स्वार्थप्ररित कुरा भएको तर्क गर्नुभयो ।
प्रचण्ड–लिउ भेट
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओबीच भेटवार्ता भएको छ । चारदिने नेपाल भ्रमणमा रहनुभएका सिपिसीका विदेश विभाग प्रमुख लिउले आज अपराह्न अध्यक्ष दाहाल निवास खुमलटार पुगेर भेटवार्ता गर्नुभएको हो । भेटवार्ताका क्रममा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको थियो । भेटवार्तामा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता कृष्णबहादुर महरा, वर्षमान पुन, देवप्रसाद गुरुङ र नेत्री पम्फा भुसाल पनि सहभागी रहनुभएको थियो । यसअघि लिउ लन्च सेरेमोनी अफ नेपाल स्माइलिङ चिल्ड्रेन प्रोजेक्ट’ कार्यक्रमको उद्घाटन गर्नेे क्रममा आज विहान काठमाडौं दरबार छेउको शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा पुग्नुभएको थियो । यस्तै उहाँले आज विहान नै सुन्दरीजलस्थित बीपी संग्राहालय भ्रमण गर्नुभएको थियो । ८ सदस्यी टोलीको नेतृत्व गर्दै लिउ हिजो विहान नेपाल आइपुग्नु भएको हो ।
गणपूरक संख्या सदनमा उपस्थित नहुँदा प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या सदनमा उपस्थित नहुँदा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । बैठकमा गणपूरक संख्या ७९ हुनुपर्नेमा ६१ मात्रै भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बुधबारसम्मका लागि बैठक स्थगित गर्नुभएको हो । आजको बैठकमा ६१ जना मात्रै सांसद उपस्थित रहेका थिए । एमाले सांसद भूपेन्द्र थापाले बैठकमा गणपूरक संख्या भएको भन्दै गणना माग गर्नुभएको थियो । त्यसलगत्तै सभामुख सापकोटाले गणना गर्दै बैठक स्थगित गरेका हुन् । यसअघि असार १२ गते पनि गणपूरक संख्या नपुग्दा बैठक स्थगित भएको छ । आजको बैठकमा रेल्वे विधेयक पेस गर्नेलगायतको कार्यसूची थियो । संसद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत अनुपस्थित रहनुभएको छ ।
‘नेपाल प्रहरी र प्रदेश प्रहरी संशोधन विधेयक, २०७९’ पारित
काठमाडौँ उपत्यकाको सुरक्षा प्रदेश प्रहरीसँगको समन्वयमा नेपाल प्रहरीले गर्ने गरी ‘नेपाल प्रहरी र प्रदेश प्रहरी संशोधन विधेयक, २०७९’ प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभा आज बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । त्यसअघि सो विधेयकमाथिको छलफलमा भाग लिँदै सांसदहरुले सङ्घीयता कार्यान्वयनका लागि सहकार्य र सहअस्तित्वलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभएको थियो । सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै गृहमन्त्री खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी शान्ति, सुरक्षार सुशासनका लागि भूमिका निर्वाह गर्ने सङ्गठन भएको बताउनुभयो । विधेयकमा प्रदेश प्रहरीलाई कमजोर पार्न नखोजिएको स्पष्ट पार्दै उहाँले आन्तरिक र बाह्य कारणले सुरक्षा चुनौती आउनसक्नेतर्फ सरकार सचेत रहेको पनि बताउनुभयो । नेपालको संघीय राजधानी काठमाडौं उपत्यकामा हुनसक्ने सुरक्षा चुनौती लाई मध्यनजर गर्दै नेपाल प्रहरीलाई नै जिम्मेवारी दिइएको उहाले बताउनुभयो । यस्तै उहाँले कठिनाइका बाबजुद पनि नेपाल प्रहरीले निभाइरहेको भुमिकाको प्रशंसा गर्नुभयो । नेपाल प्रहरी १६ र १८ वर्षमा पेन्सनमा जान सक्ने कुरा सकारात्मक रहेको र त्यसका लागि आवश्यक अध्ययन भइरहेको पनि उल्लेख गर्नुभयोे । प्रतिनिधि सभामा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको प्रस्ताव बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गर्नुभएको हो । यसैबीच कानुन न्याय तथा संसदीय मामीला मन्त्री गोविन्दप्रसाद कोइरालाले यौनजन्य हिंसाको पुनरावलोकन आवश्यक रहेको बताउनुभएको छ ।
हतियार किन्ने सरकारको निर्णयको विरोध
प्रतिपक्ष नेकपा एमालेले रकमान्तर गरेर नेपाल प्रहरीको लागि हतियार किन्ने सरकारको निर्णयको विरोध गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमालेका सांसद नवराज सिलवाले मुलुकको अर्थतन्त्र कमजोर भइरहेको अवस्थामा रकमान्तर गरेर नेपाल प्रहरीको लागि हतियार किन्ने निर्णय उचित नभएको बताउनुभयो । उहाले कमिसन र पैसाको लोभमा राष्ट्रको अर्थतन्त्र तहसनहस गर्ने योजना अनुरुप नै हतियार किन्ने तयारी गरेको आरोप लगाउनुभयो । हतियारको कमिसन ३०० प्रतिशतसम्म कोटा बढाएर खरिद गर्नु धोका भएको भन्दै उहाले गठबन्धन सरकार हतियार किन्ने निर्णयबाट फिर्ता हुनुपर्ने तर्क गर्नुभयो । सरकारले ११ सय ५० थान सर्टगन, १ हजार थान पेस्तोल र २५ सय थान सेल लगायतका हतियार र सेलहरू खरिद गर्ने तयारी गरेपनि एमालेले बिरोध जनाएको हो ।
राष्ट्रपतिद्वारा राजदूत नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्ट र अष्ट्रियाका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ । इजिप्टका लागि नेपालको आवासीय राजदूतमा सुशीलकुमार लम्साल र गणतन्त्र अष्ट्रियाका लागि आवासीय राजदूतमा भरतकुमार रेग्मी नियुक्त हुनुभएको हो । रेग्मी संयुक्त राष्ट्र संघ कार्यालय, भियनाको नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त हुनुभएको छ । मन्त्रिपरिषदले राजदूतमा सिफारिस गरेका व्यक्तिको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था रहेको छ ।
उड्डयनमन्त्री जीवनराम श्रेष्ठको भनाइ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धनका लागि कूटनीतिज्ञहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । हालै नियुक्त तथा प्रस्तावित विभिन्न देशका राजदूतहरुसँग मन्त्रालयले आज गरेको अन्तरक्रियामा मन्त्री श्रेष्ठले नेपालमा विदेशी पर्यटकको आगमन बढाउन कूटनीतिज्ञहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको हो । विदेशस्थित सबै नियोग परिचालन गरेर नेपालमा विदेशी पर्यटकको आगमन बढाउन सकिने उहाँले भनाइ राख्नुभयो । सबैको पहलमा विदेशी पर्यटक भित्र्याउन सके महामारीबाट थलिएको पर्यटन क्षेत्रले गति लिने विश्वास व्यक्त गर्नुभएको छ । राजदूतावास, स्थायी नियोग, महावाणिज्य दूतावास तथा अवैतनिक वाणिज्य दूतावासहरुले पर्यटक आकर्षित गर्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले राजदूतहरुले व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो ।
खानेपानी मन्त्रीको प्रष्टोक्ती
खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौंबासीलाई खानेपानीको अभाव हुन नदिने स्पष्ट पार्नुभएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा बन्न लागेको पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिकको शिलान्यास गर्दै आज मन्त्री चौधरीले बागमतीको पानीलाई सुन्दरीजलमा प्रशोधन गरेर ५–६ करोड लिटर पानी र भूमिगत सहतको पाँच करोड लिटर भन्दा बढि पानीको व्यवस्था गरेर काठमाडौंबासीलाई खानेपानीको अभाव हुन नदिने बताउनुभएको हो । उहाले मेलम्चीको बिकल्पको रुपमा अन्य स्थानबाट पनि काठमाडौं उपत्यकामा पानी ल्याउने विषयमा अध्ययन भइरहेको जानकारी दिनुभयो । मन्त्री चौधरीले बाढीबाट मेलम्चीको सुरुङलाई जोगाउनका लािग टनेल बन्द गरिएको भन्दै मनसुन सकिने बितिकै मेलम्चीको पानी ल्याउने बताउनुभयो । एसियाली विकास बैंकको टोलीले मेलम्ची खोलाको भौगर्भिक अवस्थाको अध्ययन गरिरहेको भन्दै मन्त्री चौधरीले सो अध्ययन प्रतिवेदन अनुसार आगामी आर्थिक वर्षदेखि पहिरो नियन्त्रणको काम अघि बढाउने दावी गर्नुभयो । यसअघि चैत्र २४ गते बसेको मन्त्रीपरिषद् बैठकले सुन्दरीजलको सुरुङ नजिक कृष्ण प्रसाद भट्टराईको शालिक बनाउने निर्णय गरेको छ ।
दर्ज्यानी चिन्ह प्रदान
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा हालै पदोन्नती हुनुभएका ५७ जना अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आज आयोजित एक समारोहकाबीच पदोन्नती भएका अधिकृतहरुलाई बधाई दिदैँ दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । सो समारोहमा दज्र्यानी चिन्हबाट सुशोभन हुनेहरुमा सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार महत, सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती हुनुभएका ५६ जना अधिकृतहरु र अवकाश पूर्व विशेष बढुवा हुनुभएका सशस्त्र प्रहरी नायव उपरीक्षक गणेशलाल श्रेष्ठ रहनुभएको छ । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
धनुषाका जिल्ला न्यायाधीश काजमा तानिए
न्यायपरिषदले धनुषाका जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईलाई सर्वोच्च अदालतमा काजमा तानेको छ । भट्टराइले गरेको एक फैसला विवादित भएपछि उहालाई कामकाजबाट अलग गर्दै सर्वोच्च अदालतमा तानिएको हो । २०७६ साल ६ गते कात्तिक ६ गते मा जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक मनोज साहको गोली हानी हत्या भएको थियो । हत्याका आरोपित दामोदरप्रसाद चौधरी लगायतमाथिको आरोप पुष्टि नहुने भन्दै न्यायाधीश भट्टराईको इजलासले आरोपितलाई सफाइ दिएको थियो । सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले उहाँलाई सर्वोच्च अदालतमा काजमा तानिएको बताउनुभएको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बसेको न्याय परिषद्को बैठकले विवादित फैसलाका सन्दर्भमा छानबिन गर्न न्यायाधीश भट्टराईलाई सर्वोच्च तान्ने निर्णय गरेको थियो ।
कोरोना अपडेट
नेपालमा थप १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ८ सय ३४ पिसिआर परिक्षणका क्रममा १ सय २९ जना र १ हजार १ सय ८६ एन्टीजेन परिक्षणका क्रममा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै थप ३७ जना निको भएका छन् । हाल नेपालमा ७ सय ७० सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
युवा संघको विरोध
नेकपा एमाले निकट युवा संघ नेपालले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गर्नुपर्ने भन्दै यातायात व्यवस्था कार्यालय एकान्तकुनामा धर्ना दिएको छ । यातायात कार्यालयमा सेवाग्राहीले सहज रुपमा सेवा नपाएको र बिचौलियाले कार्यालय चलाएको आरोप लगाउदै युवासंघले धर्ना दिएको हो । यातायात कार्यालयले समयमा नै सेवा दिन नसकेको र यसले आम नागरिक समस्यामा परेको उनीहरुले जनाएका छन् । युवा संघ नेपालका किरण पौडेलले हरेक बहानामा यातायात कार्यालयमा ढिलासुस्ती गर्ने गरेको र बाध्य भएर बिचौलियाको शरण लिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो । धर्नापछि युवासंघले लाइसेन्स वितरणमा अनियमिता, लापरबाही र ढिलासुस्ती अन्त्यको माग राखेर कार्यालयमा ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।
ब्राउन सुगर सहित ३ पक्राउ
कैलाली, गौरीगंगा नगरपालिका–९ शान्तिपुरमा पनि अवैध लागूऔषध ब्राउन सुगर सहित ३ पक्राउ परेका छन् । शान्तिपुरमा बस्ने मेघराज पौडेलको घरबाट ३५ ग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित घोडाघोडी नगरपालिका–२ शिवनगर बस्ने २८ वर्षीय हिक्मत बहादुर बम समेत ३ जनालाई आज दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले सो घर तलासी गर्दा ३५ ग्राम ब्राउन सुगर फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले सो घरबाट १० थान मोबाइल, लागूऔषध जोख्ने १ थान काटा, नगद ९५ हजार २ सय , नगद २ हजार १०० भारतीय रूपैयाँ, १ थान मोटरसाइकल, अन्य भन्सार छलिका मालसामान समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
लागूऔषध सहित पक्राउ
उता काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भारत मोतिहारी महावीर नगर रक्सौल वडा नम्बर १९ बस्ने २४ वर्षीय बिशाल कुमारलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ४ सय ९७ एम्पुल डाईजेपाम र ४ सय ९७ एम्पुल नुफिन सहित बरामद गरेको छ । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५०१६ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार बिशाललाई सो लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
घरको छतबाट खसेर मृत्यु
बर्दियाको गुलरिया नगरपालिका–९ गोडियनपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । गोडियनपुरका ४० वर्षीया मिना गोडियाको आफ्नै एक तले घरको छतबाट खसेर आज बिहान मृत्यु भएको हो । छतमा सुतेकोमा छतबाट खसेर गम्भीर घाइते भएकी उनको बर्दिया अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय मथुराबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
मूल्यवृद्धि ८.५६ प्रतिशत पुग्यो
चालु आर्थिक वर्षको ११ महिनामा समग्र मूल्यवृद्धि ८.५६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय अवस्था प्रतिवेदनअनुसार समीक्षा अवधिका समग्र उपभोक्ता मुद्रास्फीति ४.३७ प्रतिशतले वृद्धि भएको छ । यस्तै जेठ मसान्तसम्मको ११ महिनाको वित्तीय विवरणअनुसार करिब ३० अर्ब विदेशी विनिमय सञ्चिति थपिएको छ । वैशाख मसान्तसम्म ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति रहेकोमा जेठ मसान्तसम्म ११ खर्ब ७६ अर्ब पुगेको छ । त्यस्तै नेपाल राष्ट्र बैंकले गत जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत रहेको जनाएको हो । जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । चाुल आर्थिक वर्षको जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत मुद्रास्फिति ६.०९ प्रतिशत रहेको छ ।२०७८ जेठ महिनाको तुलनामा २०७९ जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, सुर्तीजन्य पदार्थ, मदिराजन्य पेय पदार्थ र दाल तथा गेडागुडी उपसमूहको म ूल्यवृद्धि क्रमशः २२.६० प्रतिशत, ११.२२ प्रतिशत, ९.७० प्रतिशत, ९.६८ प्रतिशत र ९.१३ प्रतिशत रहेको छ । साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु, मनोरञ्जन तथा संस्कृति र घरायसी उपयोगका वस्तुहरु उपसमूहका मुद्रास्फीति क्रमशः २५.७९ प्रतिशत, ११.६४ प्रतिशत, ८.३० प्रतिशत, ८.२१ प्रतिशत र ७.८४ प्रतिशत रहेको छ ।
अर्थतन्त्र सुधार्ने मौद्रिक नीति ल्याइने
नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने गरि आगामी आर्थिक बर्षको मौद्रिक नीति ल्याउने तयारी भइरहेको जानकारी दिनुभएको छ । सिंहदरबारमा आज बसेको अर्थ समिति बैठकमा गर्भनर अधिकारीले यसअघि कोरोना महामारीका बेला बिभिन्न कार्यक्रम ल्याएपनि अहिले अवस्था सहज भइसकेको अवस्थामा अर्थतन्त्रलाई सुधार गर्ने गरि मौद्रिक निति ल्याउने तयारी भइरहको बताउनुभएको हो । गभर्नर अधिकारीले पछिल्लो समय बढेको उच्च मुद्रास्फितिले सर्वसाधारणमा ठूलो मर्का परेकाले बैंकको व्याजदर बढाएरै यसका समाधानको बाटो खोज्नुपर्ने पनि बताउनुभयो । उहाले अहिले आयात उच्च हुँदा वैदेशिक मुद्रा संचितिमा दवाव परेको र शोधनान्तर घाटा पनि बढ्दै गएको जानकारी दिनुभयो । गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ऋण र रेमिट्यान्सको ठूलो हिस्सा आयातमै जानु गम्भीर बिषय भएको भन्दै यस बिषयमा केन्द्रीय बैंक गम्भीर रहेको बताउनुभयो । उहाले रेमिट्यान्सलाई औपचारिक रुपमा भित्राउनु पनि चूनौति हुँदै गएको जिकिर गर्नुभयो । कर्जा प्रवाहमा ठूला घरनाले फाइदा लिदा रिक्स बढ्पनि यसलाई तत्कालै रोक्न नसकिने उहाको भनाई छ । बैठकमा समितिका सभापति कृष्ण प्रसाद दाहालले सेयर धितो कर्जाको ४÷१२ सम्बन्धी व्यवस्था खारेज गर्नका लागि राष्ट्र बैंकले बिचार गर्नुपर्ने बताउनुभएको थियो । साथै उहाले बैंक तथा वित्तीय संस्थाहरुले प्रवाहित कर्जाको मुल्यांकन गर्दै सिमित व्यक्ति तथा घरनाले उपयोग भए÷नभएको एकिन गर्न पनि सुझाव दिनभएको थियो ।
नेप्सेमा पहिरो
कारोबारको पहिलो दिन आज शेयर बजार परिसूचक नेप्से भारी अंकले गिरावट आएको छ । नेप्से आज ७७ दशमलव १ अङ्कले घटेर १ हजार ९ सय १५ दशमलव ६१ विन्दुमा झरेको हो । दुई सय २७ वटा कम्पनीको ६३ लाख १३ हजार ६ सय ४१ कित्ता शेयर कुल २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार .२२ रुपैयाँमा कारोबार भएको छ । सबै समूहको शेयर ओरालो लागेकोमा विकास बैंक, जलविद्युत्, बीमा, उत्पादन र लघुवित्त समूहको शेयर उच्च अङ्कले घटेको छ । आज ग्रामीण विकास लघुवित्तको शेयर १० प्रतिशत तथा किसान लघुवित्त, हिमालयन पावर पार्टनर, माउन्टेन हाइड्रो नेपाल र ग्लोबल आईएमई समुन्नत स्किम कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।
चिनियाँ विदेश मन्त्रालयको आग्रह
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले संयुक्त राज्य अमेरिकालाई क्युवामाथिको एकपक्षीय प्रतिबन्ध पूर्ण रूपमा हटाउन आग्रह गर्नुभएको छ । अमेरिकाको विदेश मन्त्रालयले जुलाई ९ मा २८ क्युबाली अधिकारीहरूमाथि भिसा प्रतिबन्धको घोषणा गरेको बारे सोधिएको प्रश्नको जवाफ दिने क्रममा प्रवक्ता वाङ वेनबिनले सो टिप्पणी गर्नु भएको हो । वाङले दैनिक समाचार ब्रिफिङमा चीनले क्युवाली सरकार र त्यहाँका जनताले सामाजिक स्थायित्व कायम गर्न गरेको प्रयासलाई दृढतापूर्वक समर्थन गर्ने पनि बताउँनु भएको छ । संयुक्त राज्य अमेरिकाले क्युवाली अधिकारीहरू विरुद्ध लगाएको एकतर्फी प्रतिबन्धहरू, जसको अन्तरराष्ट्रिय कानुनमा कुनै आधार नभएको उहाँको टिप्पणी छ । लगातार २९ पटक संयुक्त राष्ट्रसंघको महासभाले संयुक्त राज्य अमेरिकालाई आर्थिक, व्यापारिक र वित्तीय नाकाबन्दी अन्त्य गर्न माग गर्दै प्रस्तावहरू पारित गरेको छ ।
मकाउमा आजदेखि सबै क्यासिनो बन्द
चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा आजदेखि सबै क्यासिनो बन्द भएका छन् ।विश्वको सबैभन्दा ठूलो क्यासिनो केन्द्रमा रुपमा रहेका मकाउमा कोरोनाभाइरसको प्रकोप बढ्दै गएपछि दुई वर्ष पछि पुन पहिलो पटक आज सबै क्यासिनोहरू बन्द गरिएको हो गैर–आवश्यक व्यवसायहरूमा समावेश गदै अधिकारीहरुले ३० वटा भन्दा बढी क्यासिनोहरू एक हप्ताको लागि बन्द गर्न आदेश दिएका हुन् । गत महिनामा जुन बाट यता पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ५ सय ६ जना कोरोनाबाट संक्रमित भएका छन् ।कोरोनाको महामारी बढेसगैँ यसअघि नै विद्यालय मनोरञ्जनका स्थल र सिनेमा हल सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । सन् २०२० पछिकै कोरोना संक्रमितको सख्ंया बढ्दो क्रममा रहेको छ । हाल १९ हजार जना अनिवार्य क्वारेन्टाइनमा बसेका छन् । मकाउका ९० प्रतिशत भन्दा बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । यद्यपि पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दो दरमा रहेको छ ।
श्रीलंका विजयी
श्रीलंकाले अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा एक इनिङ्स र ३९ रनको विजय भएको छ । यो सँगै दुई खेलको टेस्ट शृंखला १–१ को बराबरीमा सकिएको हो । श्रीलंकाको गालेमा आज दिउँसो भएको खेलमा नेश चण्डीमलले २०६ रन बनाउनुका साथै प्रभात जयसूर्याले १२ विकेट लिएपछि चौथो दिन श्रीलंकाले पहिलो इनिङ्समा १९० रनको अग्रता लिन सफल भएको थियो । त्यसपछि दोस्रो इनिङ्स थालेको अस्ट्रेलियाले १५१ रन बनाउँदा सबै विकेट गुमाएपछि श्रीलंकाले चौँथो दिनमै फराकिलो जित निकालेको हो । दोस्रो इनिङ्समा पाहुना टोली अस्ट्रेलियाका लागि मार्नुस लाबुसेनले सर्वाधिक ३२ रन बनाए । ओपनर उस्मान ख्वाजाले २९, डेबिड वार्नरले २४, क्यानरुन ग्रिनले २३ तथा एलेक्स क्यारी र कप्तान प्याट कमिन्सले १६ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । अस्ट्रेलियाका मिचेल स्टार्कले ४ विकेट लिए । मिचेल स्विपसनले तीन विकेट लिँदा नाथन लियोनले २ विकेट लिए । कमिन्सको नामा एक विकेट रह्यो । अस्ट्रेलियाले पहिलो इनिङ्समा ३६४ रन बनाएको थियो ।
प्रतिस्पर्धा जारी
.आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले .पहिलो खेलमा अहिले नामिबियाको प्रतिस्पर्धा गरिरहेको छ । स्कटल्याण्डको ओडीआइ क्रिकेट मैदानमा मा सुरु भएको खेलमा नेपालले नामिबियाविरुद्ध बलिङ गरिरहेको छ । नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । नामिबिया पनि नेपाललाई हराएर सिरिजमा पहिलो जित निकाल्न चाहन्छ । सिरिजको पहिलो खेलमा नामिबिया स्कटल्याण्डसँग पराजित भएको थियो । सिरिज अघि नेपालले तयारीका लागि क्यानडाको भ्रमण गरेको थियो । लिग टू को अंक तालिकामा नेपाल १६ खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । नामिबिया १५ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ । सिरिज अन्तर्गत नै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ ।
नामिबियाले दिएको २ सय २१ रनको लक्ष्यामा नेपालले जवाफी ब्याटिङ गर्दै
आइसीसी पुरुष क्रिकेट विश्व कप लिग २ अन्तर्गत नामिबियाले २ सय २१ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गर्दैछ । स्कटल्याण्डको आयरमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको नामिबिया ४७ ओभर ३ बलमा समेटिंदा २ सय २० रन बनाएको हो । नामिबियाका लागि जन निकोल लोफ्टी–इटनले ६० रन र दिवान ला ककले ४१ रन बनाए । नामिबियालाई सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछानेले ४, सोमपाल कामीले २ तथा करन केसी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।
प्रतिक्रिया