विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

आज भदौ २६ २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर ११, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

बेलायती महरानी एलिजावेथको ‘अन्तिम यात्रा’ सुरु

हालै निधन भएकी बेलायती महारानी एलिजावेथ द्वितीयको पार्थिव शरीर स्कटल्याण्डस्थित बालमोरल दरबारबाट राजकीय अन्त्येष्टिका निम्ति आज एडिनबरास्थित होलिरुडहाउसको दरबारतर्फ ल्याइँदै छ ।

महारानीले विश्राम गर्ने ग्रीष्मकालीन दरबारबाट छ जनाले कटुसको काठबाट बनाइएको ‘कफिन’ मा उनको अन्तिम यात्रा प्रारम्भ गर्नेछन् । शवयात्राको मार्गमा पुष्पहारसहितका बेलायतवासीले आफ्नी रानीलाई पङ्तिबद्ध भएर श्रद्धाञ्जलि अर्पण गर्ने अपेक्षा गरिएको छ ।

आइतबार बिहान बालमोरल दरबारको मुख्यद्वारमा हातले बनाइएको महारानीको तस्बिर, एउटा सानो भालु खेलौना र फूलको थुप्रोले उनीप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो । महारानीका ज्येष्ठ सुपुत्र चाल्र्स तृतीयलाई औपचारिकरूपमा राजा घोषणा गरिएको भोलिपल्ट उनको लण्डनतर्फको शवयात्रा प्रारम्भ हुन लागेको हो ।

शुक्रबार नवनरेश चाल्र्सले राजसिंहासन सम्हाल्दै दिवङ्गत महारानीले देश र जनताका निम्ति गरेको सेवा एवम् जिम्मेवारी आफूले पनि पूर्ण इमानदारी एवम् निष्ठाका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

साथै उनले आफ्नी आमाका प्रेरणादायी पथलाई अनुशरण गर्ने दृढता व्यक्त गर्दै राष्ट्रका नाममा गरेको सम्बोधनमा बेलायतको महान् विरासत र सार्वभौमसत्ताको कर्तव्यबारे आफूलाई अवगत भएको जनाएका थिए । उनले उक्त गहन जिम्मेवारी इमानदारी एवम् सजगताका साथ निर्वाह गर्ने प्रतिबद्धता दोहोर्‍याएका थिए ।

आज उनलाई संयुक्त अधिराज्यका अन्य राष्ट्रहरु स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डको राजा घोषणा गरिएको छ । मातृवियोगमा रहेका नवनरेश चाल्र्सले शुक्रबारदेखि नै राजकीय कर्तव्यहरू निर्वाह गर्न थालिसकेका छन् ।

उनले बकिङघम राजादरबारमा प्रधानमन्त्री लिज ट्रस, राष्ट्रमण्डलका महासचिवलगायत राज्य सञ्चालनका सहयोगीहरूसँग भेटवार्ता गरेका छन् ।

सोमबार महारानीको पार्थिव शरीर होलिरूड हाउसबाट सेन्ट गिल्स गिर्जाघर पु¥याइने छ । मङ्गबारसम्म त्यहीँ राखेपछि विमानबाट उनको शव लण्डन ल्याइनेछ । बुधबार बकिङघम राजप्रासदबाट शव संसद् भवनमा लगिने छ । असोज ३ गते वेस्टमिनिस्टर गिर्जाघरमा समाधिस्थ नगरेसम्म महारानीको पार्थिव शरीर त्यही रहनेछ ।

यता नवनरेश चार्ल्स तृतीयलाई अष्ट्रेलिया र न्युजिल्याण्डको पनि राजा घोषित गरिएको छ । बेलायतसहित १४ वटा मुलुकको राष्ट्रप्रमुख रहेका चार्ल्सलाई औपचारिक रुपमा अष्ट्रेलिया र न्युजिल्याण्डको राजा घोषित गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

न्युजिल्याण्डको राजधानी वेलिङ्टनस्थित संसद् भवनमा चार्ल्सलाई राजा घोषित गरिएको हो । नयाँ राजा घोषणा समारोहलाई सम्बोधन गर्दै न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले अब महारानी एलिजावेथ द्वितीयका छोरा ‘श्री ५ महाराज चार्ल्स तृतीय हाम्रा सार्वभौम’ रहेको बताएकी हुन् ।

प्रधानमन्त्री आर्डेनले महारानीको निधनबाट न्युजिल्याण्ड ‘परिवर्तनको समयमा प्रवेश गरेको’ समेत टिप्पणी गरिन् ।

‘राजा चार्ल्सले अविच्छिन्न रुपमा हाम्रो राष्ट्रप्रति स्नेह दर्शाउनुभएको छ ।’ प्रधानमन्त्री अर्डेनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ, ‘यस सम्बन्धलाई हाम्रा जनताले धेरै महत्व दिएका छन् । मलाई शंका छैन, यो अझ गहिरो हुनेछ ।’

यता अष्ट्रेलियामा भने बेलायती राजाका प्रतिनिधि गभर्नर जनरल डेभिड हर्लीले चार्ल्सलाई अष्ट्रेलियाका नयाँ राजा घोषणा गरेका छन् । राजधानी क्यानबेरास्थित संसद् भवनमा चार्ल्सलाई नयाँ राजा घोषित गरिएको हो ।

घोषणा समारोहमा २१ तोप पड्काए नयाँ राजालाई सलामी दिइएको थियो ।

यसअघि अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सेप्टेम्बर २२ मा महारानीको निधनमा शोक मनाइने एवम् त्यसदिन सार्वजनिक विदा दिइने घोषणा गरेका थिए ।

प्रधानमन्त्री अल्बानिजले आफू बिहीबार लण्डन प्रस्थान गर्ने र सेप्टेम्बर १९ मा आयोजना हुने महारानीको अन्त्येष्टीमा सहभागी भई सेप्टेम्बर २१ मा स्वदेश फर्कने समेत जानकारी दिएको रोयटर्सले जनाएको छ ।

पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प

पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प गएको छ । पूर्वी पपुवा न्यु गिनीमा आइतबार ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ ।

भूकम्पपछि सुनामीको चेतावनी दिइएको पनि सर्वेक्षणले जनाएको छ । भूकम्पको केन्द्रबिन्दुबाट १ हजार किलोमिटर क्षेत्रभित्र सुनामी छालहरू आउन सक्ने यूएसजीएसलले चेतावनी दिएको छ ।

भूकम्पले ठूलो क्षति पु¥याएको अनुमान गरिएको छ । भूकम्प कैनान्तु सहरबाट करिब ६७ किलोमिटर टाढा ६१ किलोमिटर (३८ माइल) को गहिराइमा गएको थियो ।

इराकमा भएको हवाई आक्रमणमा ११ आईएस लडाकु मारिए

इराकमा भएको हवाई आक्रमणमा परी आतङ्कवादी संगठन इस्लामिक स्टेट (आईएस) का ११ लडाकु मारिएका छन् । हवाई आक्रमणमा स्थानीय कमाण्डरसहित ११ आईएस लडाकु मारिएको इराकी सेनाले जनाएको छ ।

इराकको पश्चिमी प्रान्त अन्बारको अल–जलैयत क्षेत्रमा भएको हवाई आक्रमणमा परी एक स्थानीय नेतासहित सात आतङ्ककारीको मृत्यु भएको र आतङ्ककारी लुकेको एक स्थान ध्वस्त भएको सेना जारी गरेको विज्ञप्तिमा जानकारी दिएको छ ।

यस्तै इराकको पूर्वी प्रान्त दियालामा आईएसका लडाकुहरु लुकेर बसेको स्थानलाई लक्षित गरी भएको दुईवटा हवाई आक्रमणमा परी आतङ्ककारी मारिएका बताइएको छ ।

आइएस लुकेको ठाउँमा खोजी गर्ने क्रममा सशस्त्र बलहरुसँगको भिडन्तमा अर्को एक आईएस लडाकू मारिएका छन् । सेनाले तीनवटा मोटरसाइकल, विस्फोटक पदार्थ नष्ट गरेको जनाएको छ ।

युक्रेनी सेनाको प्रत्याक्रमण जारी, रुसी सेनाबाट इजियम सहर फिर्ता

युक्रेनी सेनाले रुसी कब्जामा रहेका भूभागलाई मुक्त गर्न प्रत्याक्रमणलाई जारी राखेको छ । प्रत्याक्रमणका क्रममा युक्रेनी सेनाले ठूलो भूभाग रुसी फौजको कब्जाबाट मुक्त गरेको बताइएको छ । हालै युक्रेनी सेनाको कारवाहीपछि रुसी फौज इजियम–खारकिभ मोर्चाबाट पछि हटेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

हाल इजियम सहर युक्रेनी सेनाको कब्जामा गएको बताइएको छ । रुसी सेनाका लागि यो गत मार्च महिनामा राजधानी किभबाट रुसी फौज फिर्ता भएयताको सबैभन्दा खराब हार भएको अर्थमा टिप्पणी गरिएको छ ।

युक्रेनी पक्षले भने यसलाई ६ महिनाभन्दा लामो समययता जारी युद्धमा ‘नयाँ मोड’ को संज्ञा दिएको छ ।

युक्रेनी सेनाको प्रत्याक्रमणबाट जोगिएर भागेका रुसी सैनिकहरुले ठूलो परिमाणमा गोलीगठ्ठाको सञ्चिती र अन्य सैनिक उपकरणहरु त्यसै छाडेको जनाइएको छ ।

इजियम सहरलाई युक्रेनमा आक्रमण गरिरहेका रुसी फौजले बन्दोबस्तीको आधार शिविरका रुपमा प्रयोग गर्दै आएका थिए ।

यता रुसको सरकारसञ्चालित रुसको तास समाचार संस्थाले रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै जनाएअनुसार मन्त्रालयले सैनिकहरुलाई त्यस क्षेत्रबाट पछि हट्न निर्देशन दिएको छ । रुसी रक्षा मन्त्रालयले ती सैनिकहरुलाई अन्य स्थानमा तैनाथ हुन निर्देशन दिएको जनाइएको छ ।

खारकिभमा रुसले नियुक्त गरेका प्रशासनका प्रमुखले स्थानीय बासिन्दाहरुलाई रुसतर्फ भागेर ‘ज्यान जोगाउन’ निर्देशन दिएका छन् । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै त्यस क्षेत्रमा रोयटर्सले भने रुसतर्फ जाने सडकमा लामो जाम रहेको जनाएको छ ।

इमरान खान सवार विमान दुर्घटनाबाट जोगियो

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सवार विमान दुर्घटनाबाट जोगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

¥यालीलाई सम्बोधन गर्न विशेष विमानबाट पञ्जाब प्रान्तको गुजरानवाला जाने क्रममा खान सवार विमान मध्य आकाशबाट फर्काएर आकस्मिक अवतरण गराइएको थियो ।

खराब मौसमका कारण खानको विमान उडेको केही समयपछि पुनः इस्लामावाद फर्किएको थियो । विमानमा प्राविधिक समस्या देखिएको डेली पाकिस्तानले जनाएको छ ।

तर, विमानमा प्राविधिक त्रुटि देखिएको भन्ने विवरण गलत भएको पीटीआई नेता खानले बताएका छन् । उक्त पत्रिकाका अनुसार विमान चालकले कन्ट्रोल टावरमा सम्पर्क गरेपछि सुरक्षित ढंगले विमान अवतरण गरेका थिए । आकस्मिक अवतरणपछि खान आफ्नो पूर्वनिर्धारित कार्यक्रममा सहभागी भएका थिए ।

गुजरानवालाको र्‍यालीमा बोल्दै अध्यक्ष खानले वर्तमान सरकारका कारण देशको अर्थतन्त्र खस्किएको आरोप लगाए ।

सेप्टेम्बर ११ : अमेरिकी इतिहासको कालो दिन

आज सेप्टेम्बर ११ अर्थात अमेरिकी इतिहासको कालो दिन हो । सन् २००१ को सेप्टेम्बर ११ मा आङ्कवादी संगठन अल कायदाका आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई नियन्त्रणमा लिएर आत्मघाती हमला गराएका थिए ।

विश्वको सर्वशक्तिमान मुलुक अमेरिकी भूमिमा गराइएको यस हमलाले विश्वलाई नै आश्चर्यचकित एवम् स्तब्ध पारेको थियो ।

विशेष तालिमप्राप्त ती आतङ्कवादीको समूहले चार वटा व्यवसायिक विमानलाई अपहरण गरी न्युयोर्क सहर र राजधानी वासिंगटन, डिसीका महत्वपूर्ण भवनमा ठोक्काएका थिए । दुई विमानलाई न्युयोर्कस्थित विश्व व्यापार केन्द्रको जुम्ल्याहा भवनमा जोतिएको थियो ।

स्थानीय समयअनुसार बिहान ८ बजेर ४६ मिनेटमा पहिलो टावरमा विस्फोट गराइएको थियो । १६ मिनेटपछि दोस्रो टावरमा पनि विमान लगेर जोताइएको थियो ।

विस्फोटपछि टावरमा घन्टौँसम्म आागो लागेको थियो । ११० तले दुवै भवन ढलेर भग्नावशेषमा परिणत भएका थिए ।

९ बजेर ३७ मिनेटमा तेस्रो विमानलाई अमेरिकी रक्षामन्त्रालय रहेको भवन पेन्टागनमा जोतिएको थियो भने वासिंगटन डिसीतर्फ बढिरहेको अर्को विमान पेन्सालभेनियाको बीच आकाशबाट नै खसेको थियो ।

विमानमा रहेका अपहरणकारी र यात्रुबीच विमानभित्र भनाभन हँदा विमान बीच आकाशबाट जमिनमा खसेको हो ।

ती सबै हमलामा १९ आक्रमणकारीसहित २ हजार ९ सय ९६ जनाको मृत्यु भएको थियो । आक्रमणमा अर्बौ डलर क्षति भएको थियो । साउदी अरबमा जन्मेका ओसामा बिन लादेनको नेतृत्वमा रहेको आतङ्कवादी सञ्जाल अलकायदालाई सो हमलाका लागि जिम्मेवार ठहर गरिएको थियो ।

आक्रमणमा संलग्न अन्य १५ जना पनि साउदी अरबका थिए भने दुई जना युएई, एक जना इजिप्सियन र अर्का लेबनानका थिए । हमलाको तीन सातापछि अमेरिकाले अफगानिस्तानमा आतङ्कवादविरुद्धको युद्ध अन्तर्गत आक्रमण सुरु गरेको थियो ।

बिन लादेनलाई पत्ता लगाउन र अल कायदाको सञ्जाल ध्वस्त पार्न भन्दै तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुस प्रशासनले अफगानिस्तानमा आक्रमण सुरु गरेका थियो ।

आक्रमणकारीलाई अफगानिस्तानमा त्यसबेला शासन गरिरहेको तालिबानले संरक्षण गरेको अमेरिकी आरोप थियो । अमेरिकी आक्रमणपछि अफगानिस्तानमा तालिबानको शासन पतन भएको थियो ।

अमेरिकी नेतृत्वको सो हमलामा अन्तर्राष्ट्रिय गठबन्धन सेनाले सहयोग गरेको थियो । सन् २०११ मा पाकिस्तानमा अमेरिकी सेनाको कारवाहीमा बिन लादेनको मृत्यु भएको थियो ।

आतङ्कवादविरुद्धको दुई दशक लामो युद्धका क्रममा अफगानिस्तानमा तैनाथ अमेरिकी सेना भने गत वर्षको अगस्ट महिनामा स्वदेश फर्केको थियो ।

अमेरिकी सेना स्वदेश फर्किन नपाउदै तालिबानले अफगानिस्तानलाई पुनः कब्जा गरेको थियो । अहिले तालिबानले अफगानिस्तानमा अन्तरिम सरकार घोषणा गरिसकेको छ ।

२० वर्ष लामो लडाईँमा तालिबानसहित अल कायदा र आईएस जस्ता अतिवादी समूहका केही नेतालाई निशाना बनाउन सफल भए पनि अमेरिकाले खासै उपलब्धी पाउन नसकेको टिप्पणी गरिन्छ ।

अफगानिस्तानमा भएको युद्वमा २४ सय अमेरिकी सेनाको मृत्यु भएको छ । त्यस्तै युद्धमा ६९ हजार अफगानीको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ८ : १४ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका