अन्तर्राष्ट्रिय

देश र विदेशमा उत्तिकै लोकप्रिय नाम

By मनोज घिमिरे

October 11, 2022

नेतृत्वको चयन प्रक्रिया परापूर्वकालदेखि नै फरक ढङ्गले हुँदै आएको थियो । परापूर्व कालमा नेतृत्व चयन युद्धको नीतिले या वंशजको आधारमा हुने गरेको थियो । नेपालकै परिप्रेक्ष्यमा दौडमा पहिलो हुने राजा हुने अचम्मको प्रावधानसमेत रहेको इतिहास छ ।

राज्यको शासन व्यवस्था र यसका विभिन्न स्वरूपको तय हुने क्रममा राजतन्त्रात्मक शासनकालमै निर्वाचित राजाको प्रचलन सुरु भएको हो । परापूर्व कालमा नै रोममा पोप र धार्मिक गुरुहरूको चयन निर्वाचनको आधारमा हुने प्रचलनको सुरुवात भएको थियो । तीनै धर्म गुरुहरूले नै त्यहाँको शासन सत्ता सम्हाल्ने गरेका थिए ।

१७ औ शताब्दीमा उत्तर अमेरिकी क्षेत्रका निर्वाचन मार्फत सत्ताको चयन प्रक्रिया सुरु भइसकेको थियो । यसरी विकास भएको निर्वचन प्रक्रियामा महिला सहभागिताको विषय भने धेरै पछि उठेको हो । बेलायतमा १९२८, फ्रान्समा १९४४, बेल्जियममा १९४९ तथा स्वीजरल्यान्डमा १९७१ देखि निर्वाचनमा महिला सहभागिता सुरु भएको हो ।

संसारमा प्रजातन्त्रको पर्याय मानिने अमेरिकामा पहिलो निर्वाचन १५ डिसेम्बर १७८८ देखि १० जनवरी १७८९ को बिचमा भएको थियो । त्यसै वर्ष तयार भएको नयाँ संविधान अनुसार नै सो निर्वाचन भएको थियो । सोही निर्वाचनमा जर्ज वासिङ्टनलाई पहिलो अमेरिकी राष्ट्रपतिको रूपमा निर्वाचित गरेको थियो । त्यस निर्वाचनले जोन एडम्स अमेरिकाको पहिलो उप-राष्ट्रपति भएका थिए ।

सन् १६९४ को टेरेनीकल एक्ट अनुसार इङ्गल्यान्डको पहिलो आम निर्वाचन १६९५ मा भएको हो । त्यस समयमा संसद्को आयु तीन वर्षको मात्र कायम गरिएको थियो । पहिलो निर्वाचनले विङ जुन्टोलाई इङ्लिस प्रधानमन्त्रीको रूपमा चयन गरेको थियो ।

मान्छेको सभ्यताको विकास क्रम र यसको सुरुवाती समयमा युद्धले स्थापित गरेका नेता नै नै शक्तिमान मानिन्थे । अहिले भने निर्वाचनले स्थापित गरेका नेतालाई नै उनीहरूको देशमा मात्र होइन, संसारमा नै रुचाइएका छन् । सन् २०२१ को नोभेम्बरमा अमेरिकाको रिसर्च कम्पनी मर्निङ कन्सल्टले संसारका लोकप्रिय नेताको सूची तयार गरेको थियो ।

मर्निङ कन्सल्टको सूचिमा मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन तथा फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोन जस्ता शक्ति राष्ट्रका नेतालाई पछि पारेका हुन् ।

मोदी लगातार दोस्रो पटक लोकप्रिय नेता चयन भएका हुन् । उनले ७० प्रतिशतको मन जितेका थिए । ६६ प्रतिशत एप्रुभल भोट पाएका मेक्सिकोका राष्ट्रपति मानुयल लोपेज ओब्राल्डर दोस्रो तथा ५८ प्रतिशत एप्रुभल भोट पाएका इटालीका प्रधानमन्त्री मारियो डारागी तेस्रो स्थानमा रहे । सो समयमा ५४ प्रतिशत एप्रुभल भोटिङ पाएकी जर्मन चान्सलर एन्जेला मार्केल चौथो स्थानमा रहेकी थिइन् ।

४७ प्रतिशत एप्रुभल भोटिङ पाएका अस्ट्रेलियाका प्रधानमन्त्री सो समयमा पाँचौँ स्थानमा थिए । ४४ प्रतिशत मतका साथ वाइडेन छैटौँ तथा ४३ प्रतिशत मतका साथ क्यानडाका जस्टिन ट्रेडेउ सातौँ स्थानमा छन् । त्यस समयमा ४२ प्रतिशत एप्रुभल भोट पाएका जापानका प्रधानमन्त्री फुमीओ किसिदा आठौँ तथा ४१ प्रतिशत मतमा साथ दक्षिण कोरियाका राष्ट्रपति मुन जाय नवौँ स्थानमा थिए ।

जोन्सनले भने ४० प्रतिशत एप्रुभल भोटसहित १० औ स्थानमा थिए । स्पेनका प्रधानमन्त्री पेड्रो साँचेज ३७ प्रतिशत एप्रुभल भोट सहित ११ औ तथा एमानुएल म्याक्रोन ३६ प्रतिसतका साथ १२ औ स्थानमा रहे । ब्राजिलका जायर बोल्सेनारोले भने ३५ प्रतिशत एप्रभल मतका साथ १३ औ स्थानमा थिए ।

सबैभन्दा आश्चर्य त संसारमा मन पराइएका धेरै नेताहरू यसै वर्ष आफ्नै देशमा भने मन पराइएनन् । अथवा निर्वाचनमा पराजयको सामना गरे । बेलायती प्रधानमन्त्री जोन्सनले हारको सामान त गरेनन् । तथापि जन विरोधका बिचमा नै पद त्याग गरे ।

उनको दलले नयाँ नेता समेत चयन गरिसकेको छ । ब्राजिलका बोल्सेनारो आफ्नै देशमा निर्वाचनमा असफल साबित भएका छन् । लुइस इनासियो डी सिल्भासँगको भिडन्तमा उनी पछि परेका हुन् । आसन्न विश्वकप फुटबल २०२२ लाई समेत राजनीतिक रङ्ग दिने प्रयास गरेका बोल्सेनारो अन्ततः असफल साबित भएका छन् ।

त्यसो त मर्निङ कन्सल्टले पत्याएका अन्य नेता पनि आफ्नै देशमा भने अलोकप्रिय भएका छन् । फ्रान्सेली राष्ट्रपति म्याक्रोनलाई त्यहाँका जनताले सन् २०२२ मै अर्को पाँच वर्षे कार्यकालका लागि नेता चयन गरेका छन् । सन् २०१७ मा फ्रान्सेस हल्यान्डलाई प्रतिस्थापन गर्दै राष्ट्रपति भएका म्याक्रोनले पाँच वर्ष पछि फेरी त्यहाँको जनताको मन पन जित्न सफल भए ।

पूर्व बैंकर समेत रहेका उनी ३९ वर्षको उमेरमै देशको बागडोर सम्हाल्न सफल भएका थिए । सन् २०१८ देखि स्पेनको नेतृत्व गर्ने अवसर पाएका साँचेजकै हकमा त्यहाँको अर्को कार्यकालको निम्ति जनमतको परीक्षण हुन बाकी नै छ ।

जापानका १०० औ प्रधानमन्त्री कासिदा पनि सन् २०२१ मै निर्वाचित भएका हुन् । उनलाई आधुनिक विश्वका सबै चुनौती सामना गर्न सक्षम नेताको रूपमा व्याख्या गरिएको छ । जलवायु परिवर्तन, आर्थिक मन्दी तथा रुस युक्रेन युद्धका कारण सुरु भएको थप ऊर्जा संकट कासिदो मात्र होइन संसारका सबै देशका नेताहरूका लागि ठुलो चुनौती बनेको छ ।

क्यानडाका २३ औ प्रधानमन्त्री जस्टिन ट्रेडेउलाई भने घरभित्र पनि अत्यन्त लोकप्रिय नेताको रूपमा लिइन्छ । उनको पेसागत पृष्ठभूमि भने शिक्षण र कानुन व्यवसायी भएका कारण उनी आम मानिसको समस्यासँग साक्षात्कार गर्न सक्ने व्यक्तिको रूपमा परिचित छन् ।

क्यानडालाई संसारका सबैभन्दा सुन्दर स्थान बनाउने मुद्दा बोकेका उनी ४ नोभेम्बर २०१५ देखि लगातार सत्तामा छन् । २१ अक्टोबर २०१९ मा भएको निर्वाचनमा प्राप्त सफलता सहित लगातार दोस्रो कार्यकालका लागि क्यानडाको नेतृत्व गर्ने अवसर पाएका उनलाई त्यहाँको लोकप्रिय नेताको रूपमा लिइन्छ ।

अमेरिकी राष्ट्रपति जो वाइडेनका लागि दोस्रो कार्यकालको निर्वाचन हुने बाँकी रहेकाले उनको देश भित्रको लोकप्रियता मापन गर्न अझ केही वर्ष कुनु पर्ने हुन सक्छ । त्यसो त अफगानिस्तान बाट अमेरिकी नेतृत्वको सेना फर्किएको केही समयमै तालीवनाले कब्जा गरे पछि उनको नेतृत्व नै असफल भएको आरोप लगाउनको पनि कमी थिएन । अलकायदा नेता अल जहावरी माथिको सफल अपरेसन पछि भने वाइडेन प्रशासनको खुलेर समर्थन गर्नेको सङ्ख्या ह्वातै बढेको जनाइन्छ ।

त्यसो त स्कट मरिसन आफ्नै देशका नागरिकको नागरिकको दोस्रो कार्यकालको मत जित्न भने असफल रहे । यस वर्षको मे मा भएको निर्वाचनमा उनलाई सफलता हता लागेन । मे महिनामा भएको निर्वाचनमा एन्जोनी अल्बानजेले नेतृत्वमा रहेको लेबटल पार्टीले मरिसन नेतृत्वको दललाई हराएको हो ।

जर्मन चान्सलर मार्केलले भने स्वेच्छाले पद त्यागेकी छिन् । लामो समय लोकप्रिय नेतृत्वको छवि बनाएकी उनले बढ्दो उमेरमा कारण यस वर्ष देखि आफ्नो जिम्मेवारीलाई निरन्तरता नदिने निर्णय गरेकी हुन् ।

संसारमा धेरै यस्ता नेता छन्, जो विदेशमा र संसारका सामु राम्रो ठानिए पनि आफ्नै देशमा भने रुचाइँदैनन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने यस्ता नेताको रूपमा देखा परेका छन्, जुन घरेलु रूपमा र अन्तर्राष्ट्रिय क्षेत्रमा उत्तिकै लोकप्रिय नेताको रूपमा स्थापित छन् ।

घरेलु निर्वाचन र बाह्य सर्वेक्षणले बारम्बार लोकप्रिय साबित गरेकाले नै मोदीलाई २१ औ शताब्दीको प्रभावशाली नेता समेत मानिएको हो ।

(श्रोत : ब्रीटानिकास, जापान टाइम्स)