काठमाडौँ– अन्य जनावरको मुटु मानिसलाई काम लाग्छ या लाग्दैन भन्ने बहस लामो समयको हो । तीन दशक लामो अध्ययनपछि अमेरिकामा यसै खालको एउटा परीक्षण सफल भएको छ ।
अणुवांशिक रूपमा परिमार्जित सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गरिएको छ । सात घण्टा लगाएर गरिएको यो दुर्लभ प्रत्यारोपणको तिन दिनपछि नयाँ मुटु पाएका डेभिड बेनेट पूर्ण रूपमा तन्दुरुस्त देखिएका छन् ।
बेनेटको जीवन रक्षाका लागि प्रत्यारोपण अन्तिम उपाय मानिएको थियो । तथापि यस प्रत्यारोपणले कति समय काम गर्ने छ या उनी कति समय बाँच्नेछन् भन्ने अनिश्चित नै छ ।
‘मर्नु या प्रत्यारोपण भन्दा अर्को विकल्प नै छैन’ बेनेटले शल्यक्रियाको एक दिनअघि भनेका थिए, ‘यो अनिश्चित नै हो भन्ने मलाई थाहा छ । तर, यो नै मेरो अन्तिम विकल्प हो । ’अमेरिकी नियामक संस्थाले मेरिल्यान्ड मेडिकल सेन्टर विश्व विद्यालयका चिकित्सकलाई यसका लागि विशेष अनुमति दिएको थियो ।
यो नभए बेनेटको मृत्यु निश्चित भएकाले अनुमति दिइएको हो ।
मेरिल्यान्डको यो मेडिकल टिमले गरेको प्रत्यारोपणलाई मानिसले वर्षौंदेखि गर्दै आएको अध्ययनमा यो एउटा नयाँ कोशेढुङ्गा पनि हुन सक्नेछ । सर्जन ब्राटली पी ग्रीफीथले युनिभर्सिटी अफ मेरिल्यान्ड स्कुलले जारी गरेको विज्ञप्तिमार्फत मानव अङ्गको समस्यालाई यसले केही कदसम्म हल गर्ने सम्भावना रहेको उल्लेख गरेका छन् । अमेरिकामा दैनिक १७ जना अङ्ग प्रत्यारोपण गर्नुपर्ने बिरामी देखिएका छन् । कुल १ लाख अमेरिकीमा नयाँ अङ्ग आवश्यक छ ।
गत वर्षको अक्टोबरमा न्युयोर्कका सर्जनहरूले सुँगुरको मिर्गौला सफलतापूर्वक मानिसमा प्रत्यारोपण गरेको जनाएका थिए । सो प्रत्यारोपणलाई त्यस समयसम्मकै परिष्कृत शल्यक्रियाको रूपमा व्याख्या गरिएको थियो । जबकि, त्यो समय अङ्ग पाउने व्यक्तिको मस्तिष्क सुकिसकेका कारण ठीक हुने कुनै सम्भावना नै थिएन ।
बेनेटलाई भने यस प्रत्यारोपणपछि जीवन सुरक्षित हुने आशा पलाएको छ । मुटुमा भएका थुप्रै समस्याका कारण ६ महिना लामो समय ओछ्यानमा परेपछि उनको शल्यक्रिया भएको हो । ‘मलाई अब ओछ्यानबाट उठेर सामान्य जीवन बाच्ने आस पलाएको छ ।’
यसपछि बेनेटको भविष्य र सुँगुरका अङ्ग मानिसलाई प्रत्यारोपण गर्दा यसको सफलताका बारे यकिन हुन केही समय अझ कुर्नुपर्ने हुन्छ । यो सफल मानिए सुँगुरको जिनलाई परिमार्जन गर्न भने आवश्यक हुन्छ । जसका कारण त्यसको अङ्ग मानिसमा राख्दा हाम्रो शरीरले ग्रहण गरोस् ।
ग्रीफ्टले बेनेटलाई ध्यानपूर्वक हेरिरहेको बताएका छन् । बेनेटका छोरा डेभिड बेनेट जुनियरले भने यस समयमा आफूहरू केही भन्नै नसक्ने अवस्थामा रहेको बताउँछन् । यसका बाबजुद उनी पनि के कुरामा सहमत भएका छन् भने अहिलेको यो कदम एकदम आवश्यक र महत्त्वपूर्ण हो ।
यसअघि मिर्गौला प्रत्यारोपण गरिएका बिरामीको सन्दर्भ भने फरक थियो । अङ्ग पाउने ती व्यक्तिको मस्तिष्क मृत अवस्थामा भएकाले कृत्तीम जीवन बाँची रहेका थिए । त्यसै समयमा विज्ञहरूले यसलाई अङ्ग प्रत्यारोपणको सन्दर्भमा सबैभन्दा महत्त्वपूर्ण कदमको रूपमा व्याख्या गरेका थिए ।
मानिसमा अन्य जनावरको अङ्गको पूरै स्वरूप प्रत्यारोपणको सुरुवात अक्टोबर महिनामा भएको त्यसै मिर्गौला प्रत्यारोपणबाट शुरु भए पनि त्यसभन्दा अघि पनि सुँगुरबाट मुटुको भल्भ मात्र झिकेर प्रयोग भइसकेको थियो ।
न्युयोर्क विश्व विद्यालयमा मिर्गौला प्रत्यारोपणको काम भने दुई घण्टामा सकिएको थियो । सर्जनले सुँगुरको मिर्गौलालाई पहिले ती मस्तिष्क मरिसकेका व्यक्तिको नसामा जडान गरेका थिए ।
यसपछि पम्प गरेर पहिले झैँ नै काम गर्ने या नगर्ने भनेर हेरेका थिए । यसको दुई दिनसम्म उनीहरूको मिर्गौलाको काम ध्यानपूर्वक हेरिरहेका थिए । शरीरको सबै भागले यस मिर्गौलालाई स्वीकार गर्दै सबै काम नियमित नै भइरहेको थियो । त्यो समयमा सर्जनहरूले केही अन्य ग्रन्थि पनि जडान गरेका थिए । मानिसका अन्य अङ्गले स्वीकार गर्न सजिलो होस् भन्ने हेतुले ती ग्रन्थि जडान गरिएका थिए ।
त्यस शल्यक्रियामा सङ्लग्न डा. मन्टोगोमेरी आफै पनि मुटु प्रत्यारोपण गरेर बाँचिरहेका छन् । उनले पनि मानिसको जीवनका लागि धेरै अङ्गको आवश्यकता रहेको बताउँदै आएका छन् । यो काम चुनौतीपूर्ण र असफल ठहरिए यसले विवाद निम्त्याउने कुरामा उनी सहमत छन् । प्रत्यारोपणको हालसम्मको प्रचलन भनेकै कोही बाच्नका लागि कोही मर्न पर्नेछ ।
‘४० प्रतिशत भन्दा धेरै बिरामी आफू बाच्नका लागि अन्य कोही मर्ने दिनको प्रतीक्षा गरेर बसेका छन् । जुन धेरै नै अप्रिय हो ’ डा. मन्टोगोमेरीले भने ‘हामीले यस अगाडि सुँगुरलाई खाने कुराको रूपमा प्रयोग गरेका थियो । यसपछि मुटुको भल्भलाई प्रयोग गर्न सफल भयौँ । यो एउटा नयाँ प्रयोग हो ।’ उनले पनि यस कामपछि नयाँ बाटो खुलेका प्रतिक्रिया दिएका थिए ।
त्यस प्रक्रियालाई अगाडि बढाउन पनि बिरामीका आफन्तले बाटो खुला गरेका थिए । साथमा अमेरिकी नियामक संस्थाले यस खालको परीक्षण जरुरी भएकाले अनुमति प्रदान गरेको थियो । डा. मन्टोगोमरीले सोही समयमा सुँगुरका अन्य अङ्ग मुटु, फोक्सो र कलेजो मानिसलाई काम लाग्न सक्ने प्रतिक्रिया दिएका थिए ।
बेलायतका मिर्गौला रोग विशेषज्ञ डा. मारयम खोस्राभीले जनावरको अङ्ग मानिसमा प्रत्यारोपण गर्ने कामको अध्ययन एक दशक अगाडि नै भए पनि अहिलेको विकास क्रम महत्त्वपूर्ण भएको बताउँदै अबको केही वर्षमा यस कामले फड्को मार्ने आशा गरेका बताउँछन् ।
अहिलेको समस्या समाधानका लागि सबैले अङ्ग दान गर्ने प्रचलन गरेमा त्यो पनि एउटा नयाँ आयाम भने हुन सक्ने छ ।
सुँगुरको अङ्ग मानिसलाई प्रत्यारोपण गर्ने यो अभियान यत्तिकै विकास भएको होइन । यसका लागि सुरुवातमा यस जनावरलाई मानिसका हरेक अङ्गले यसलाई सहजै स्वीकार गर्न आवश्यक थियो । यो सबै पूरा गर्न सुँगुरलाई पहिले नै अणुवांशिक रूपले परिमार्जन गरिएको थियो ।
सुँगुरको बच्चा तयार गर्ने क्रममा चिकित्सकले लामो समय मेहनत गरेका थिए । सुँगुरलाई यसरी परिमार्जन गरेमा मानिसका लागि उपयुक्त हुन्छ भनेर अध्ययन गरी सकेपछि यसै अनुसारको बच्चा जन्माउन पनि कठिन थियो ।
सन् २०१७ मा क्लोनीङ प्रविधिको प्रयोग गर्दै ३७ वटा सुँगुरका बच्चा जन्माइएका थिए । यसलाई नै मानिसको शरीरमा अङ्ग प्रत्यारोपणको पहिलो कदम ठानिएको थियो ।
यसरी बच्चा जन्मनुभन्दा पनि पहिले सन् २०१६ मा वैज्ञानिकले सुँगुरमा मानिसको सेल सुईमार्फत पठाउने गरेका थिए । युनिभर्सिटी अफ क्यालिफोर्नियाको टोलीले यो काम गरेको थियो । यसरी पठाइएका सुँगुरको प्रजनन प्रक्रियामा नै क्लोनीङ प्रविधि अपनाइएको हो ।
सन् १९९० को दशकमा पहिलो पटक जनावरको अङ्ग मानिसलाई काम लाग्न सक्छ या सक्दैन भनेर अध्ययन भएको थियो । यसपछि क्लिनिकल परीक्षण गर्नका लागि एउटा मात्र जोखिमको महसुस गरिएको थियो । यसरी परीक्षण गर्दा जनावरका अन्य भाइरस मानिसमा सर्ने जोखिम भएकाले सवैमा त्रास उत्पन्न भएको थियो । यसपछि नै परीक्षण रोकिएको थियो ।
यसपछि विज्ञानले नयाँ बाटो रोजेको हो, जनावरको शरीरमा मानिसको जिन पठाउने र यसलाई परिमार्जन गर्ने । ती जनावर नै धेरै कुरामा मानिसजस्तो भएपछि मात्र प्रत्यारोपणका लागि उपयुक्त ठहर भएका हुन् ।
रोग र चिकित्सा शास्त्रको यो सङ्घर्ष वर्षौं पुरानो हो । यो वर्षौं पुरानो सङ्घर्षमा ९० को दशकमा सुरु भएको जनावरको अङ्ग प्रत्यारोपणको सोचले अबका केही वर्षमा पूर्णता पाउने सम्भावना प्रबल छ । यो क्रम सुँगुरबाट भएको छ । शायद अन्य जनावरको पनि प्रयोग हुन सक्नेछ ।
–एजेन्सीहरूको सहयोगमा
प्रतिक्रिया