कसरी समृद्ध भयो सिंगापुर ? | Khabarhub Khabarhub

कसरी समृद्ध भयो सिंगापुर ?

समृद्धिको पाठ नेपालले किन नसिक्ने ?



नेपालमा लामो समयदेखि विकास र समृद्धिको बहस चलिरहेको छ। नेताहरुको भाषणमा देखिने समृद्धि व्यवहारमा लागू भने हुन सकेको छैन। कुनै समय नेपालभन्दा गरिब र एउटा माछा मारेर गुजारा गर्ने सिंगापुर नेपालका लागि गतिलो उदाहरण हुनसक्छ।

नेपालमा विकास र समृद्धिको कुरा गर्दा उदाहरण दिइने एक मुलुक हो, सिंगापुर। नेपाली नेता र सर्वसाधारणले अझै पनि सिंगापुरका राष्ट्रनायक ली कुआन यूलाई आफ्ना आदर्श मान्छन्।

समृद्धिको कुरा गर्दा नेपालमा चर्चा हुने मुलुक हो सिंगापुर, विभिन्न दलका नेताहरुले भाषणा गर्दा सिंगापुरको उदारण दिँदै नेपालले पनि छोटो समयमै सिंगापुरकोजस्तो समृद्धि ल्याउने बताउँदै आएका छन्। त्यसमा पनि प्रधानमन्त्री केपी ओलीले बेलाबखतमा सिंगापुरको प्रगतिसँग नेपालाई तुलना गर्दै आउने गरेका छन् र आधुनिक सिंगापुरका निर्माता ली कुआन यूको प्रशंसा गर्ने गरेका छन्।

आखिर के हो त सिंगापुरको समृद्धिको कहानी ? अनी को हुन् त सिङ्गापुरलाई समृद्ध दिलाउने नेता भनिएका ली कुआन यू ?

सिंगापुरको इतिहास

सन् १९६३ मा बेलायतबाट तथा १९६५ मा मलेसियाबाट स्वतन्त्र भएको सिंगापुर त्यतिबेला माछा मारेर खाने माझीहरुको ‘दरिद्र गाउँ’ले भरिएको थियो। त्यतिबेला सिंगापुरका १६ लाख जनसंख्यामध्ये करिब १५ लाख जनसंख्या गरीबीको निकृष्ट अवस्थामा थिए। गरीबी, अशिक्षा, बेरोजगारीको जर्जर अवस्थामा थियो।

यस्तो अवस्थाको सिंगापुर ५ दशकपछि यस्तो सम्पन्न हुन्छ भनेर सायदै कसैले कल्पना गरेका थिए होलान्। तर, सिंगापुर एउटै पुस्तामा तेश्रो विश्वबाट पहिलो विश्वमा आफूलाई परिवर्तन गर्न सफल भयो। यसको सम्पूर्ण श्रेय मुलुकका पहिलो तथा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्रीको कार्यकाल सम्हालेका नेता ली कुआन यूलाई जानेगर्छ। सन् १९२३ मा जन्मेका लीले सन् १९५९ मा सिङ्गापुर बेलायतबाट स्वतन्त्रता पाउनु अघिदेखि सन् १९९० सम्म सिंगापुरको नेतृत्व सम्हालेका थिए।

सन् १९५० को दशकसम्म बेलायती राजसंस्थाको अधिनमा उपनिवेशका रुपमा रहेको सिङ्गापुरमा बेलायतको नौसैनिक उपस्थित थियो। बेलायतको प्रतिनिधिका रुपमा त्यहाँ गभर्नरको नेतृत्वमा सरकार गठन हुने गथ्र्यो भने संसद् वा व्यवस्थापिकाका रुपमा संसद शैलीको परिषद् थियो। संसद्मा सिंगापुरका धनाढ्य व्यापारीको सहभागिता रहने गर्दथ्यो।

बेलायतमा कानुनको अध्ययन गरी अधिवक्ताका रुपमा कार्यरत रहेका ली त्यसबेलादेखि मूलधारको राजनीतिमा प्रवेश गरेका थिए। उनले केही वामपन्थी तथा कम्युनिष्टलाई सामेल गराएर पिपुल्स एक्सन पार्टी ‘पीएपी’ नामक राजनीतिक दल गठन गरेका थिए। सन् १९५५ मा भएको चुनावमा उनको दलले व्यवस्थापिकाको २३ सिटमध्ये केबल ३ सिट जित्यो। तर, त्यसलगत्तै स्वशासनको माग गर्दै वार्ताका लागि बेलायत पुगेको सिंगापुरको प्रतिनिधिमण्डलमा ली सहभागी भए। यद्यपि त्यो प्रतिनिधिमण्डलले त्यो वार्ताबाट स्वशासन दिलाउन सकेन।

सन् १९५८ मा लीले बेलायती कमनवेल्थको अधिनमा रही स्वशासनका लागि पुनः वार्ताको प्रयास गर्यो। नयाँ संविधान अनुसार सन् १९५९ मा भएको चुनावमा लीको पार्टीले भारी बहुमत ल्याएपछि उनी सिंगापुरको पहिलो प्रधानमन्त्री बन्न पुगे।

सन् १९६३ मा बेलायती राजसंस्था अन्तर्गत रहिआएको सिंगापुरको औपनिवेशिक हैसियत खारेज गर्दै उनले सिंगापुरलाई तत्कालीन समयमा संघीय शैलीमा रहेको मलेसियामा विलय गराए।

तर, त्यसलगत्तै चिनियाँ मूलका सिंगापुर र स्थानीय मले जातीय समुदायबीच हिंसा मच्चिएपछि लीले मलेसियाको संघबाट सिंगापुरलाई सार्वभौम सम्पन्न मुलुकको घोषणा गर्न भूमिका खेले। त्यसपछि सन् १९६६ पछि विभिन्न असन्तुष्टि व्यक्त गर्दै तत्कालीन समयमा सिंगापुरको सबैभन्दा ठूलो विपक्षी दल बरिसान सोसलिजले सिंगापुरको चुनाव बहिष्कार गरेपछि पीएपीले खुला रुपमा मुलुकको शासन चलाउन थाल्यो। त्यसपछि सिंगापुरमा क्रान्तिकारी परिवर्तनको लहर चल्यो।

खुला बजार

तत्कालीन समयमा त्यस क्षेत्रका सबैभन्दा शक्तिशाली दुई मुलुक साम्यवादी चीन र सन् ६० को दशकमा इण्डोनेसियामा बढ्दै गएको साम्यवाद विरोधी गतिविधिको चेपुवामा सिंगापुर पर्यो। त्यसपछि सिङ्गापुर लीले खुला बजारलाई आत्मसात गर्ने कदम चाले।

उनले सिंगापुरलाई व्यापार, प्रविधि तथा प्रतिभाको आकर्षणको केन्द्र बनाउन विदेशी लगानीलाई क्रमशः खुला गर्दै लगे। उनले सिङ्गापुरलाई तीब्र गतिमा औद्योगीकरणको दिशामा अघि बढाए। त्यसका लागि उनले सिङ्गापुरमा सानो तथा पारदर्शी कर प्रणालीको नीति अघि सारे। उनले त्यहाँ श्रमिकको हितलाई ध्यानमा राखेर लगानीकर्तालाई पनि उत्तिकै लाभ मिल्नेगरी विभिन्न कानुनको व्यवस्था गरे।

त्यहाँ अझै पनि ट्रेड युनियनले प्रदर्शन तथा हड्ताल गर्न नपाइने कानुन छ। यसले एकातिर लगानीकर्ताको लगानी पनि सुरक्षित भयो भने अर्कोतर्फ श्रमिकको पनि हित हुनगयो। सिङ्गापुर मात्रै होइन चीनलाई पनि खुला बजारमा सहभागी बनाउनका लागि उनले ३७ वर्षमा ३३ पटक चीनको भ्रमण गरेका थिए। चीनले सिंगापुरको शैलीमा आफ्नो मुलुकको विकासका लागि खुला बजार अर्थतन्त्र अपनाएको बताइन्छ।

बहुसांस्कृतिक केन्द्र

बहुसङ्ख्यक चिनियाँ जातीको बसोबास रहेको सिंगापुरमा जातीय तथा धार्मिक कलह उत्पन्न भएमा सिङ्गापुर धेरै समय अस्तित्वमा रहन नसक्ने देखेर उनले सिंगापुरमा बसोबास गर्दै आएका अन्य अल्पसङ्ख्यक जातिहरु मले तथा तामिल जातीलाई पनि समान अधिकार दिने तथा उनीहरुको भाषा तथा सँस्कृतिलाई राष्ट्रिय मान्यता दिने उनको नीतिलाई पनि सिंगापुरको विकास तथा समृद्धको आधार मान्ने गरिन्छ।

सिंगापुरमा बसोबास गर्दै आएका सबै जातीलाई एकताबद्ध गर्नका लागि लीले त्यहाँ अंग्रेजी भाषलाई दैनिक जनजीवनमा प्रयोग हुने भाषाको दर्जा दिए। अंग्रेजीलाई राष्ट्रिय भाषाको दर्जा दिएपछि सिंगापुरमा विदेशी लगानी, प्रतिभा तथा पर्यटकको आकर्षण पनि बढ्दै गयो।

जनमुखी कार्यक्रम

लीले हाउजिङ एण्ड डेभलोपमेन्ट बोर्डको गठन गरी घरवारविहीन सिंगापुरपुरे जनतालाई आवासको प्रबन्ध मिलाइदिएका थिए भने विभिन्न विश्वविद्यालय, अस्पताल तथा अन्य जनमुखी कार्यक्रम लागू गरेका थिए। यसबाट लीको लोकप्रियतासँगै सिंगापुरे जनताको जीवनस्तर पनि माथि उठ्दै गयो।

प्रतिभालाई प्राथमिकता

मेरिटोक्रेसी अर्थात् व्यक्तिलाई भन्दा प्रतिभालाई महत्व दिने लीको नीति सिंगापुरको समृद्धिको अर्को आधार हो। जुनसुकै सामाजिक, धार्मिक वा सांस्कृतिक पृष्ठभूमिबाट आएको जस्तोसुकै प्रतिभालाई प्रोत्साहन दिने लीको नीति सिंगापुर समृद्ध हुनुको महत्वपूर्ण कारण मानिन्छ। उनले सार्वजनिक शिक्षालाई उच्चस्तरीय बनाएर सबैको पहुँचमा पुर्योए। सिंगापुरले अझै पनि बौद्धिक सम्पत्तिलाई उच्च प्राथमिकता दिने गरेको छ।

अनुशासन

सिंगापुरको शासन तानाशाही शैलीको रहेको भन्दै विभिन्न क्षेत्रबाट आलोचना पनि हुने गरेको छ। त्यहाँ विभिन्न अनुशासन सम्बन्धी कानुन पनि रहेको छन्। सिङ्गापुरको दैनिक जीवनमा अनुशासनलाई निकै महत्व दिने गरिन्छ। सार्वजनिक नियमको सामान्य उल्घंन गरेमा मात्रै पनि त्यहाँ ठूलो मूल्य चुकाउनु पर्छ र कारवाहीको भागिदार हुनुपर्छ।

सानो सरकार

सिंगापुरको सरकारमा व्यावसायिक किसिमका मानिसको सहभागिता छ। सरकार पनि सानो तथा छरितो छ। सिंगापुरको सरकारमा जम्मा १६ मन्त्रालय छन्। त्यहाँका प्रधानमन्त्री तथा मन्त्रीलाई धेरै नै ठूलो रकम तलबका रुपमा दिने गरिन्छ। व्यावसायिक तवरबाट सरकार चल्न थालेपछि त्यहाँ सरकारको कार्य चुस्त तथा दिगो हुने गरेको छ।

व्यापारिक सम्भावनाको खोजी

लीले विश्वको सबैभन्दा धेरै व्यापारिक पानी जहाज आवतजावत गर्ने क्षेत्र मलाक्काको स्ट्रेटमा रहेको सिङ्गापुरले यसैबाट आर्थिक सम्पन्नताको आधार मानेर उनले सिंगापुरको बन्दरगाहलाई आधुनिकीकरण गरे। त्यसबाट सिंगापुरले मलाक्काको स्ट्रेट भएर जाने पानी जहाजको माध्यमबाट पनि आर्थिक लाभ लिन थाल्यो। सिंगापुरको बन्दरगाह अझै पनि विश्वको सबैभन्दा व्यस्त बन्दरगाह मानिन्छ।

लीका यस्ता नीति तथा कार्यक्रमको कठोर कार्यान्वयन तथा पालना पछि सिङ्गापुरले क्रान्तिकारी स्तरमा आर्थिक विकास गर्न थाल्यो। सन् १९९० मा लीले प्रधानमन्त्रीबाट राजीनामा दिँदासम्म सिंगापुर विश्वमा समृद्धिको नमूना रुपमा स्थापना भइसकेको थियो।

सन् १९९० सम्म सिङ्गापुर एसियामा जापानपछिको दोश्रो ठूलो आर्थिक केन्द्रको रुपमा विकास भएको थियो भने त्यतिबेला सिंगापुरको कुल ग्राहस्थ उत्पादन ३६ अर्ब अमेरिकी डलरभन्दा माथि पुगेको थियो। साक्षारता ९० प्रतिशतमाथि थियो। यसरी ली कुआन यूको नेतृत्वमा सिङ्गापुर ३७ वर्षको अवधिमै दरिद्र तेश्रो विश्वको मुलुकबाट पहिलो विश्वको मुलुकमा गणना भइसकेको थियो।

नेपालले के सिक्ने ?

जहानीया राणा शासनको अत्य गर्दै नेपालमा २००७ सालमा प्रजातन्त्र आएको थियो। सिंगापुर भन्दा १४ वर्ष अघि प्रजातन्त्र आएको नेपालको अवस्था अहिले पनि जर्जर रहेको छ। प्रजातन्त्र आएको ७ दशक भइसक्दा पनि नेपालको विकास हुन सकेको छैन।

राजनीतिक अस्थिरता, छोटो समयमा नै हुने सरकार परिवर्तनका कारण देशका विकास हुन नसकेको र सिंगापुरका लि कुआन यू जस्तै नेताको आवश्यकता नेपालमा रहेको चर्चा हुने गरेको छ। संविधान बनेर अहिले तुलनात्मक रुपमा पहिलेभन्दा केही स्थिरता आएको अवस्थामा देश विकास र समृद्धिमा ली कुवान् यू ले चालेको कदमबाट नेपाली नेता र देश चलाउनेले पनि केही पाठ सिक्ने हो भने छोटो अवधिमै नेपालले समृद्धि हासिल गर्न सक्छ कि ?

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ३ : ०० बजे

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार