भरतपुरले सिकाएको पाठ : मतगणनास्थलमा सिसि क्यामरा र फलामको बार | Khabarhub Khabarhub

भरतपुरले सिकाएको पाठ : मतगणनास्थलमा सिसि क्यामरा र फलामको बार


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनका बेला भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको थियो । भरतपुर-१९ को मतगणनाका क्रममा माओवादी केन्द्रका कार्यकर्ता द्रोण सिवाकोटी र मधु न्यौपानेले १४ जेठ २०७४ मा मतपत्र च्यातेका थिए । त्यसपछि उक्त वडामा पुनः मतदान भयो । 

मतपत्र च्यात्ने सिवाकोटी र न्यौपानेलाई अदालतले एक-एक लाख रुपैयाँ जरिवानासमेत तिरायो । पुनः मतदानपछि माओवादी केन्द्रकी रेणु दाहाल ४३ हजार १२७ मत ल्याएर मेयरमा विजयी भएकी थिइन् । निकटतम प्रतिद्वन्द्वी एमालेका देवी ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए ।

मतपत्र च्यातिएको विषय राष्ट्रियस्तरमा आलोचनाको विषय बनेको थियो । उक्त घटनापछि निर्वाचन आयोगले मतपत्रको सुरक्षाका लागि मतगणनास्थलमा तार जालीको व्यवस्था गर्‍यो । २०७४ मै भएको प्रतिनिधिसभाको निर्वाचनमा मतगणनाका क्रममा चितवनसहित विभिन्न जिल्लामा तारजालीले घेरेर मतगणना गरिएको थियो । 

भरतपुरमा मतपत्र च्यातिएको घटनाबाट पाठ सिक्दै निर्वाचन आयोगले यसपटक देशभरका मतगणनास्थलमा सिसि क्यामरा अनिवार्य गरेको छ । सोहीअनुसार भरतपुर महानगरपालिकाको मतगणनास्थलमा आठवटा सिसि क्यामरा र जालीसहितको फलामको बार लगाइएको छ । 

यसपटक चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणना हुँदै छ । २०७४ सालमा प्रदर्शनी केन्द्रबाट नजिकै रहेको कभर्ड हलमा मतगणना गरिएको थियो । अहिले प्रदर्शनी केन्द्रको ‘सी’ ब्लकमा मतपत्रको सुरक्षार्थ व्यवस्थापकीय कार्य भइरहेको छ । भोलि मतदान सकिएपछि महानगरको सबै मतपत्र यहाँ ल्याइने छ ।

मतगणनास्थलमा दलका प्रतिनिधि बस्ने ठाउँ छाडेर तारजालीसहितको फलामको बार राखिएको छ । प्रतिनिधिले मतगणना गरेको हेर्न मिल्ने गरी जालीसहितको फलामको बार बनाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिए । 

मतगणनास्थलमा आठवटा सिसी क्यामरा जडान गरिएको उनले बताए । ‘मतगणनास्थलमा विद्युत र इन्टरनेटको व्यवस्था गरिसकेका छौँ । मतगणना स्थल पूरै कभरेज हुने गरी आठवटा सिसी क्यामरा जडान गरेका छौँ । मतदान सकिएर बेलुका मतपेटिका ल्याइसकेपछि प्रदर्शनी केन्द्रमा कर्मचारी, दलका प्रतिनिधि र पत्रकार बाहेक कसैलाई पनि छिर्न दिदैनौँ’, उनले भने ।

मतगणना हुने ब्लकको उत्तरतर्फको प्यासेजमा मतपत्र ल्याएर राखिने उनले बताए । मतपत्र राखिएको प्यासेजको पछाडिपट्टि शौचालय छ । मतगणना गर्ने कर्मचारीले मात्रै उक्त शौचालय प्रयोग गर्ने उनले जानकारी दिए ।

‘मतगणना गर्ने कर्मचारीले मतपत्र राखिएको ठाउँभन्दा पछाडिको शौचालय प्रयोग गर्नुहुन्छ । कर्मचारी कता गए, के गरे भनेर दलका प्रतिनिधिले सिसी टिभी हेरेर थाहा पाउन सक्नुहुन्छ’, उनले भने । दलका प्रतिनिधिका लागि मतगणनास्थल बाहिर छुट्टै शौचालयको व्यवस्था गरिएको छ ।

मतगणना हुने ब्लकको पश्चिमतिरको छुट्टै एउटा कोठामा पत्रकारहरूलाई बस्ने ठाउँको व्यवस्था गरिएको छ । पत्रकारले मुख्य गेटबाट फोटो र भिडियो लिन सक्ने उनले बताए । भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार ७५२ मतदाता छन् । 

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ३ : ०९ बजे

भारत अर्को विश्वव्यापी एआई शिखर सम्मेलन आयोजना गर्न तयार : मोदी

पेरिस – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फाउन्डेसन

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो

रूकुम पश्चिम – रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ

पश्चिम नवलपरासीमा वर्षौंदेखि ५० खानेपानी योजना अधुरै

नवलपरासी – पश्चिम नवलपरासीमा वर्षौंदेखि निर्माण सुरु भएका ५० वटा

सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि पास गर्छौं : मन्त्री गुरूङ

काठमाडौं – सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी

माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीननाथ शर्मा

कास्की – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी