क्रिकेट र फुटबल छाडेर रग्बी खेलाडी हुँदै प्रशिक्षक | Khabarhub Khabarhub

क्रिकेट र फुटबल छाडेर रग्बी खेलाडी हुँदै प्रशिक्षक

गोर्खाली रग्बी क्लबका प्रशिक्षक नवीन गिरीको संघर्षको कथा



काठमाडौँ – कक्षा १२ पश्चात रमाइलोका लागि रग्बी सुरु गरेका नबिन गिरीले यसै खेललाई कर्मथलो बनाउने सोचेका थिएनन् । तर, रग्बी खेलमा संलग्न भएसँगै विस्तारै यो नवीनको पहिचान बन्दै गयो ।

अध्ययनका लागि जापान गएका नवीनलाई रग्बीले पछ्याउँदै आयो । जापानको ए डिभिजन रग्बी क्लब टोकियो क्रुसेडरमा पनि खेल्ने अवसर प्राप्त भयो । नबिन राष्ट्रिय रग्बी टोलीका पूर्व कप्तानका रुपमा पनि चिनिन्छन् ।

नबिन केहि हप्ता अघि सम्पन्न अन्कुरम राष्ट्रिय अण्डर २० सेभेन्स रग्बी प्रतियोगिताको उपाधी विजेता टोली गोर्खाली रग्बी क्लबका प्रशिक्षक पनि हुन् । यो सफलताले हिजोआज रग्बी खेल नबिनको चाहना मात्रै होइन, परिचय नै बनेको छ । उनको रग्बी खेलप्रतिको बुझाई, सोचाई, खेलाई र वर्तमान परिचयको बारेमा उनकै भोगाईमाः

रग्बी खेलाई र बुझाई
म पहिला फुटबल र क्रिकेट खेल्थे । रग्बी खेल्न सुरु गर्दा म करिब १७–१८ वर्षको उमेरको थिएँ । प्लस टु सकाएर बसेको थिए । प्लस टु पछि लामो नै बिदा पाँए । बिहानको समयमा रग्बी खेल्न सुरु गरे । त्यसमाथि दशरथ रंगशालाको तालिमको मज्जा नै बेग्लै हुन्थ्यो ।

अहिलेको राष्ट्रिय रग्बी टोलीका कप्तान कृष्ण थापा क्षेत्रीसँगसँगै रमाइलो गर्नुको लागि रग्बी खेलेको थिए । अहिले प्रोफेस्नल रग्बी खेलाडी नै हुन पुगे ।

नसोचेको कुरा भयो भन्नु पर्छ । नेपालमा रग्बी नयाँ खेल पनि थियो । यसलाई नै प्रोफेसन बनाँउछु भनेर सोचेको थिइन् । तर, भाग्यले यतातर्फ ल्यायो ।

जापान पुगेर रग्बी खेल्दा
म जापान पढ्नको निम्ति गएको थिएँ । पढ्दै नै थिएँ । मेरो कक्षामा एक साथी पनि रग्बी खेलाडी नै रहेछ । उसले मलाई सरले खेल्नुको लागि बोलाएको छ भनेर भन्यो ।

पीएसआई सेभेन्सको लागि त्यो मेरो ट्रायलको निम्तो थियो । छनोट पनि भएँ । सोहि क्लबसँग खेल्दै गर्दा क्रुसेडरलाई ईमेल गरेको थिए ।

ट्रायलको लागि गएँ । कडा प्रतिस्पर्धा थियो । छनोट हुन सफल भएँ र क्रुसेडरसँगको यात्रा सुरु भयो ।

पहिलो पटक अन्तर्राष्ट्रिय टोलीसँग खेल्दा
पहिलो पटपक अन्तर्राष्ट्रिय टोलीसँग रग्बी खेल्दा डर लागिरहेको थियो । टोलीमा आफुभन्दा अनुभवी खेलाडीहरु थिए । क्रुसेडरमा विदेशी खेलाडीहरु धेरै थिए । न्युजिल्याण्डका र इङ्ल्याण्डका अधिकांश खेलाडी थिए ।

राष्ट्रिय टोलीबाट खेलेका धेरै खेलाडीको उपस्थिति थियो । म नेपालबाट । आफुलाई आउँदैन कि भन्ने सुरुमा त आत्मविश्वासमा पनि कमि आयो । खेल्दा मेरो बिग्रिने पो हो की भन्ने पनि डर लागथ्यो ।

फेरी म सुरुमा नै सेट टीममा परेकोले पनि अलिक डराएको थिए । तर सो डरले मेरो खेललाई राम्रो बनाउन पनि धेरै मद्दत गर्यो। त्यसकारण त्यस डरलाई मैले सकारात्मक रुपमा नै लिए।

रग्बीमा आफ्नो स्थान
रग्बीमा मेरो पोजिसन भनेको स्क्रम हो । १५ जनाको टोलीमा, म ९ नम्बरको जर्सी लगाएर खेल्छु । स्क्रम हुँदा बल हान्ने खेलाडीको पोजिसनमा खेल्ने गर्छु ।

यो स्थान चुनौतीपूर्ण हुने गर्दछ । यसमा खेल्दा अगाडि र पछाडि दुवै तर्फ ध्यान दिनुपर्छ । रग्बीमा सुरुवात देखि  नै यो स्थानमा खेल्दै आएकोले यो स्थान सहज लाग्दछ ।

टोलीलाई प्रत्यक्ष रुपमा अंक नदिलाए पनि, अप्रत्यक्ष रुपमा अंक बनाउनको लागि स्क्रम राम्रो पोजिसन हो । अर्को म विङ्गर पोजिसनमा पनि खेल्ने गर्दछु ।

नेपालमा रग्बीको अवस्था
म लगायत मेरा साथीहरुले सुरु गर्दा नेपालमा रग्बी सुरुवाती चरणमा थियो । दक्षिण एसियामा भुटानबाहेक सबै देशमा रग्बी खेलिन्छ । हामीले सुरु गर्दा हामी र बंगलादेश सुरुवाती चरणमा नै थियौँ ।

अहिले नेपालमा रग्बी थोरै अपग्रेड भएको छ । संघीय रुपमा र प्राविधिक रुपमा रग्बीमा विकास भएको छ । साथै नेपाल विद्यालय रग्बी संघमा एक सयभन्दाबढी विद्यालय आबद्ध भईसकेका छन् ।

यसले भावी दिनमा हामीलाई अत्याधिक रुपमा सहयोग पुग्नेछ । हरेक देशको राष्ट्रिय टोली अब्बल हुन, त्यस देशको जग बलियो हुनुपर्छ । जुनियर टोली बलियो भएमात्र सिनियर टोली राम्रो हुने गर्छ ।

हामीले ढिला सुरु गरेका थियौँ । थुप्रै चुनौतीहरुको सामना पनि गर्नु पर्यो। तर, अहिले अवस्था फरक भईसकेको छ । जुनियर टोलीहरुले सानो उमेरमा नै रग्बीको जग बलियो बनाउने अवसर पाएका छन् ।

नयाँ खेलाडीलाई अपग्रेड हुनु पनि सहज हुन्छ । फलस्वरुप टोलीको क्षमतासहित टोली पनि बलियो बन्दछ । साथै प्रतिस्पर्धा गर्न पनि सजिलो हुन्छ ।

रग्बीको भौतिक पूर्वाधारलाई पनि हेर्ने हो भने निर्माणाधीन अवस्थामा रहेको छ । अरु देशको तुलनामा नेपालको अवस्था धेरै राम्रो नभए पनि सिक्न योग्य भई जग बसाल्न भने पक्कै सहज हुने किसिमको छ । साथै पुर्वाधारको विकास तीव्र गतिमा भइरहेको छ ।

साफ गेम्स् र एसियन गेम्समा पदकको सपना
म लगायत सम्पूर्ण राष्ट्रिय टोलीका रग्बी खेलाडी र नेपाल रग्बी संघको साफ तथा एसियन गेम्समा पदक ल्याउने सपना रहेको छ । यस सपनाको लागि मुख्य कुरा भनेको मेहनत नै हो।

सबै जनाको संयुक्त मेहनत र समन्वयले त्यो दिन धेरै टाढा छैन जस्तो महसुस हुन्छ । साफ गेम्समा हाम्रो राम्रो पदक ल्याउनेसम्भावना रहेको छ ।दक्षिण एसियामा श्रीलंका रग्बीमा बलियो टोली हो । त्यसपछि दोस्रो भारत हो । त्यसबाहेक अन्य देशहरु लगभग एउटै स्तरमा छन् ।

हामीसँग आधारभुत ज्ञान, भौतिक पुर्वाधार र सक्षम खेलाडीहरु पनि छन् । अब मात्र प्रतियोगीताहरुमा कस्तो चुनौतीको सामना गर्नुपर्छ भन्ने कुराको तयारीमा लाग्नु पर्दछ ।

उपाधि जित्दाको खुशी
कोभिड–१९ ले विभिन्न खेलकुद जस्तै रग्बीलाई पनि प्रभावित बनाएको थियो । यो प्रतियोगिताले सबै खेलाडीलाई सक्रिय बनायो । यसले खेलाडीहरुलाई ९ औँ राष्ट्रिय खेलकुदको लागि तयार हुने अवसर प्रदान गरेको छ ।

गोर्खाली रग्बी क्लबलाई उपाधी जित्न चुनौतीपूर्ण नै रह्यो । अधिकांश खेलाडीहरु देशको विभिन्न जिल्लामा भएकोले एकीकृत रुपमा टोली तयार गर्न नै करिब ३–४ दिन लाग्यो । अधिकांश खेलाडीहरु आर्मी र पुलिस स्कुलको भएकोले भने खेलाडीलाई फर्ममा ल्याउन त्यति चुनौतीपूर्ण रहेन ।

प्रतियोगितामा प्राय सबै टोली नै बलिया थिए । तर, फाईनलमा मकवानपुर रग्बी क्लबसँग भने अलिक चुनौतीपूर्ण रहेको थियो । सायद फाइनलको प्रेसरले पनि होला ।

अन्त्यमा उपाधि जित्दा एकदमै खुशी लाग्यो । उपाधि जित्दा खेलभरीको थकान र पीडा बिर्सियौँ ।

गोर्खालीलाई जिताउन प्रयोग गरेको स्ट्राटिजी
मैँले मेरो टोलीलाई राम्ररी बुझेको थिएँ। अधिकांश प्रतियोगितामा करिब एक देखि दुई महिनाको समय हुन्थ्यो । यसपटक निकै थोरै तयारी समय थियो ।

पासिङ र समन्वयमा अलिक अभाव महशुश गरेकोले, त्यसलाई नै केन्द्रमा राखेर टोलीलाई तालिम गराए । प्राय खेलिरहने खेलाडी नै भएकोले होला, प्लान र स्ट्राटिजिलाई मज्जाले टिप्न सके । फलस्वरुप उपाधी जित्न सफल भए । तयारीको लागि पर्याप्त भएको भए, नतिजा यो भन्दा पनि राम्रो हुने थियो ।

हालसम्म राष्ट्रिय टोलीको प्रतिस्पर्धाहरुमा गोर्खाली क्लबबाट करिब ७० प्रतिशत खेलाडी सहभागी हुन सफल भएका छन् । यो संख्या आउँदो दिन पनि बढ्ने आशा छ ।

खेलाडी र प्रशिक्षण गर्दाको फरक
धेरै फरक महशुश भयो । खेलाडी भएर खेल्दा मैदानमा दवाव महशुश हुन्छ भने प्रशिक्षण गर्दा खेलाडीको प्रदर्शनको बारेमा ध्यान केन्द्रित हुने रहेछ । जिम्मेवारी पनि बढ्छ ।

नयाँ खेलाडीहरुलाई मार्गदर्शन मात्र नभई निखार्नु पर्ने हुन्छ । यस जिम्मेवारीको विभिन्न चुनौतीहरु हुने गर्दछन् ।

खेलाडी प्रशिक्षक बन्दाको फाइदा
नेपालमा रग्बी खेलाडीहरु लेभल १, २, ३ आदि गर्दै प्रशिक्षकमा परिणत हुँदै गर्दा रग्बीको विकासमा सहज भएको छ । प्रशिक्षकले आफूले गरेको विभिन्न कमी कमजोरीलाई आगामी पुस्तामा कसरी निराकरण गर्ने वा न्यूनिकरण गर्ने भन्ने विषयमा विशेष ध्यान दिने गर्छन् ।

साथै खेलाडीले नयाँ पुस्तालाई चुनौतीको सामना गर्दै आफ्नो क्षमता निखार्न गर्न गरेको शुत्रहरु पनि छलफल गर्ने गर्छन् । यसले नयाँ पुस्ता र अनुभवी खेलाडी दुवैलाई सिक्नको लागि राम्रो वातावरण सिर्जना भएको छ ।

नेपाली रग्बी खेलाडीको नयाँ पुस्ता
प्राविधिक रुपमा हेर्ने हो भने जुनियर टोलीको खेलाडीहरु एकदमै क्षमतावान छन् । सुरुवाती दिनमा हामी बल समातेर कुद्ने मात्र गथ्यौँ ।

तर, अहिलेको खेलाडीमा भने टीमवर्क र दक्षता देख्न सकिन्छ । यसकारण भावी दिनमा राष्ट्रिय टोलीले राम्रो खेलाडी पाउने पनि कल्पना गर्न सकिन्छ ।

नेपालमा रग्बीको छवी रिस्की
फुटबलमा पनि त लड्दा घाउ हुन्छ । रगत आउँछ । जति फुटबल सुरक्षित छ । रग्बी पनि उतिकै सुरक्षित छ । हेर्दा रग्बी रिस्की नै देखिन्छ । खेलाडी लडिरहेको हुन्छ । ढलिरहेको हुन्छ । बाहिरबाट हेर्दा डरलाग्दो नै देखिन्छ ।

तर, खेल्दा भने सबै सावधानी अपनाएर प्राविधिक पक्षलाई ध्यान दिएर खेलाइने गरिन्छ । नियममा बाँधेर खेल्ने हुँदा देख्दा जति रिस्की देखिन्छ । वास्तवमा त्यस्तो रिस्की हुँदैन् ।

रग्बी तुलनात्मक रुपले केन्द्रविन्दुमा पर्न संघर्षरत
हालको अवस्थामा नेपालमा कुनै पनि खेल सहज रुपमा अगाडि आउन सक्ने वातावरण छैन । नेपालमा बास्केटबल र भलिबललाई हेर्ने हो भने पनि खेल्दै आएको वर्षौँ भएपनि केन्द्रविन्दुमा बनिसकेको छैन ।

बाहिरबाट हेर्दा फुटबल र क्रिकेट नै आकर्षण बनेको जस्तो देख्छ । तर, त्यस खेलको पीडा पनि छुटै छ । यस्तो अवस्थामा नेपालमा रग्बी केन्द्रविन्दुमा नपर्नु असामान्य विषय भन्न मिल्दैँन । जति अरु खेलहरु स्थापित हुनु, व्यवसायिक हुन दुःख गर्दैछन् । रग्बीको पनि प्रयास जारी नै छ ।

नेपालमा रग्बी सरल रुपमा अगाडि बढेको करिब १० वर्ष भयो । यो अवधिमा रग्बीले गति पक्कै लिएको छ । अबको १० वर्षमा अवस्था कस्तो हुन्छ । त्यो भने हेर्न बाँकी नै रहेको छ ।

रग्बी विकासको तुलना
तुलनात्मक रुपमा अन्य देशभन्दा नेपालमा विद्यालयस्तरबाट धेरै खेलाडीहरु छन् । विकास पनि राम्रो भइरहेको छ । यो विकासक्रममा नेपाललाई कोभिड–१९ ले अलिकति सुस्त बनायो ।

एकनासमा तीव्र रुपमा विकास भइरहेको खेल, कोभिड–१९ का कारण सुस्त नै भयो । तर, पुन रग्बीले गति लिँदैछ ।

रग्बीबाट आत्मनिर्भर हुन समय लाग्छ

नेपालको लोकप्रिय खेलहरुमा नै पूर्णरुपले खेलमा केन्द्रित भएर खेलाडीको जीवनयापन गर्न चुनौतीपूर्ण छ । जबकि रग्बी त भर्खर फस्टाउँदै छ ।

पूर्ण रुपले रग्बी खेलाडी रग्बीमा नै लागेर आर्थिक रुपमा सब्बल बन्न सक्ने वातावरण भने बनिसकेको छैन । यद्यपि, जुन गतिमा रग्बीको विकास हुँदैछ त्यो दिन पनि छिटै आउने प्रबल सम्भावना रहेको छ ।

नेपालमा रग्बीका चुनौती
सर्वप्रथम त मानिसहरुको रग्बीप्रतिको दृष्टिकोण नै मुख्य चुनौती हो । पहिलो छवि नै डरलाग्दो छ । मैदानमा खेलाडीहरु लडिरहेको हुन्छन् । अनि झट्ट हेर्दा, आमाबुबा आफ्नो छोराछोरीलाई खेल्न पाठाउन अलिक डराउने अवस्था छ ।

नेपालमा रग्बीको विकास गर्न मिडियाको सहयोग पनि आवश्यक देखिन्छ । अर्को भनेको प्रतियोगितालाई विभिन्न जिल्लामा लगेर संचालन गर्न सके रग्बीलाई विकास गर्न पनि सजिलो हुन्छ । मान्छेहरुले यसलाई देख्दा पनि यसप्रतिको लगाव बढ्दै जान्छ । ज्ञान पनि बढ्छ ।

अर्को प्रायोजक ल्याउन पनि समस्या हुने गर्दछ । किनभने कति मान्छेलाई रग्बी भनेको नै थाहा छैन । काठमाडौँ उपत्यका, पोखरा आदि जिल्लामा मात्र मान्छे रग्बीबारे अवगत छन् । खेललाई नबुझेका कारण पनि प्रायोजक ल्याउन कठिनाइ हुने गर्दछ ।

उमेरहद नभएको रग्बी
अन्तर्राष्ट्रिय स्तरमा नै रग्बीको लागि कुनै उमेरहद छैन । जबसम्म तपाईं फिट हुनु हुन्छ , तबसम्म रग्बी खेल्नु सक्नु हुन्छ । तपाईंले ३० वर्षपछि पनि १९ वर्षको खेलाडीलाई टक्कर दिनु सक्नु हुन्छ भने पक्कै पनि रग्बी तपाईंको लागि हो । उमेरले रग्बी खेल्नुबाट कसैलाई छेक्दैँन तर फिटनेसले छेक्न सक्छ ।

त्यसकारण फिट भए रग्बी अवश्य तपाईंको लागि उपयुक्त खेल हुनेछ । क्षमताको प्रतिस्पर्धा हुन्छ । जसले राम्रो खेल्छ, उ अगाडि बढ्छ । यसले तपाईंलाई शारीरिक मात्र नभई मानसिक रुपमा पनि स्वस्थ बनाउँछ । तपाईं केवल इच्छा जनाउनुहोस, सिकाउन हामी तयार छौँ ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ८ : ०६ बजे

फेरि फिल्ममा अभिनय गर्दै ऋषि धमला

काठमाडौं– विभिन्न विषयमा चर्चामा आइरहने पत्रकार ऋषि धमला पुनः फिल्ममा

मुलुकलाई आत्मनिर्भर बनाउन कृषिलाई प्राथमिकता दिन माधव नेपालको सुझाव

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको

एमाले सांसद ढकालविरुद्ध परेको रिट दरपीठ

काठमाडौं– नेकपा एमालेका सांसद एकनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा परेको रिट

खोटाङमा आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु

खोटाङ- जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर जलेर

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारलाई इन्टरनेटमा सहुलियत

प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारहरूलाई