दिनभर आज: यी हुन् तपाईंले छुटाउने नहुने आजका मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउने नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 8 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यी हुन् आज दिनभरका शीर्ष समाचारहरूः

निर्वाचन आयोगले काठमाडौँ उपत्यकामा अनलाइनबाट मतदाता नामावली संकलन गर्ने

निर्वाचन आयोगले काठमाडौं, ललितपुर र भक्तपुरमा अनलाइनबाट फोटोसहितको मतदाता नामावली संकलन गर्ने भएको छ ।

आयोगले अनलाइन प्रणालीबाट फोटोसहितको नामावली संकलन गर्ने प्रणाली तयार पारेको र परीक्षणका रुपमा उपत्यकाको ३ जिल्लामा भोलिदेखि शुरु गर्ने निर्णय भएको जनाएको हो ।

हालसम्म फोटोसहितको नामावली दर्ता नगरेका नेपाली नागरिकले निर्वाचन आयोगको वेबसाइटमा गई व्यक्तिगत विवरण भरी उपत्यकाको ३ जिल्लाको निर्वाचन कार्यालयमा पेश गर्न सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

त्यसपछि अनलाइन फाराममा उल्लेखित संकेत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्न जानुपर्ने आयोगले जनाएको छ ।

अर्थ मन्त्रालयबाट कागजात माग गर्ने निर्णय

आगामी आर्थिक वर्षका लागि बजेट निर्माण गर्ने क्रममा अर्थ मन्त्रालयमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले विचौलिया प्रवेश गराई करका दर हेरफेर सम्बन्धमा छानबिन गर्न प्रतिनिधिसभाले गठन गरेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयबाट कागजात मगाउने निर्णय गरेको छ ।

समितिको सिहंदरबारमा आज बसेको पहिलो बैठकले अर्थ मन्त्रालयबाट बजेटबारे भएका घटनासँग सम्बन्धित कागजात मगाउने निर्णय गरेको हो ।

समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको अध्यक्षतामा संघीय संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकले अर्थ मन्त्रालयलाई पत्र पठाउने निर्णय गरेको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

यद्यपि समितिको सभापति कसलाई बनाउने भन्ने विषयमा भने आजको बैठकमा निर्णय हुन सकेन । समिति सभापति सर्वसम्मतले चयन गर्ने भनेर अर्को बैठक भोलि दिउँसो २ बजेका लागि बोलाइएको छ ।

तत्कालीन शर्मालाई जेठ १४ मा नयाँ आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्ने क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेको छ ।

सो घटनामाथि छानबिन गर्न प्रतिनिधिसभाले संसदीय विशेष समिति गठन गरेको थियो । आफूमाथि छानबिन गर्न संसदीय समिति बनेपछि शर्माले पदबाट राजीनामा दिएका थिए ।

चार विधेयकमाथि प्रस्ताव पारित

राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सामाजिक सुरक्षा लगाएतका बिभिन्न चार विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ ।

राष्ट्रिय सभाको आज बसेको दोश्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेको सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक र नेपाल प्रहरी र प्रदेश प्रहरी पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई पारित गरेको हो ।

बैठकले कानूनमन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले पेश गरेको फौजदारी कसुर तथा फौजदारी कार्यविधि संशोधन सम्बन्धी केही कानून संशोधन बनेको विधेयक, २०७९ तथा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ ।

त्यसअघि आज नै बसेको राष्ट्रियसभाको पहिलो बैठकले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन विधेयक २०७९ लाई पारित गरेको थियो ।

बैठकमा ती विद्येयक माथि संसोधन प्रस्ताव राख्न चाहाने सासंदहरुले भोलि दिउँसो २ बजेसम्म विद्येयक शाखामा संशोधनको प्रस्ताव दर्ता गराउन सकिने राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।

राष्ट्रिय सभाको अर्को बैठक आउँदो बिहीबारका लागि बोलाइएको छ ।

हाम्रो बहस पार्टीको रुपान्तरण र पुर्नगठनमा केन्द्रित छः बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफुहरुको बहस पार्टीको रुपान्तरण र पुनर्गठनमा केन्द्रित रहेको बताएका छन् ।

काठमाडौंमा आफूपक्षीय केन्द्रीय समितिको आज बसेको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले पार्टीलाई देशव्यापी बनाउनका लागि रुपान्तरण र पुनर्गठनमा बहस गर्न खोजेको बताएका हुन् ।

डा. भट्टराईले पछिल्लो समय अध्यक्ष उपेन्द्र यादवले एकपक्षीय निर्णय गर्दै हिँडेको र पार्टीभित्र कुनै छलफल नै नगरी वीरगञ्जमा बैठक बोलाएको आरोप लगाए ।

उनले वैधानिक ढंगबाट बैठक राख्न र सल्लाह गरेर विधिसम्मत बैठक राख्न यादवलाई सुझाव दिए । यस्तै भट्टराईले आफ्नो मनसाय पार्टी विभाजन नभएको बरु संगठनलाई बलियो बनाएर अघि बढाउनु मात्रै रहेको तर्क गरे ।

वैकल्पिक शक्ति र समावेशी पार्टी बनाउने परिकल्पनामाथि गम्भीर आघात पुगेको र पार्टीमा नै कालो बादल देखापरेकाले त्यसैलाई निवारण गर्नका लागि बैठक बोलाइएको उनले दाबी गरे ।

त्यस्तै जसपा नेता महेन्द्र राय यादवले पार्टीको विधि विधान नमानेर एकलौटी गर्दा आफूहरुलाई चित्त दुखेको धारणा राखे । उनले पार्टीभित्र आफ्नो कुरा राख्न नपाएपछि विस्तारित बैठक बोलाउनुपरेको भन्दै आफूहरुले पार्टी विभाजन नगर्ने स्पष्ट पारे ।

बैठकमा संघीय परिषद् अध्यक्ष भट्टराईले राजनीतिक प्रतिवेदन समेत पेश गरेका छन् । पार्टीभित्र विवाद बढिरहेका बेला उपेन्द्र यादव पक्षले आज र भोलि वीरगञ्जमा केन्द्रीय कार्यकारिणी समिति बोलाएका थिए भने भट्टराई पक्षले पनि काठमाडौंमा केन्द्रीय समतिको विस्तारित बैठक बोलाएको हो ।

नेपाल एक चीन नीतिमा दृढ छः माधव नेपाल

नेकपा एकीकृत समाजवादीले नेपाल एक चीन नीतिमा दृढ रहेको र चीनको अन्तरिक मामिलामा बाह्य हस्तक्षेपको पक्षमा नरहेको स्पष्ट पारेको छ ।

काठमाडौंमा आजथ नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वले गरेको भेटवार्ताका क्रममा समाजवादीका नेताहरुले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कुनै नीति नरहेको बताएका हुन् ।

भेटवार्तापछि एकीकृत समाजवादीका अध्यक्ष माधब कुमार नेपालले नेपाल र चीनबीचको सम्बन्धलाई घनिष्ट बनाउनेदेखि दुई पार्टीबीचको सम्बन्धलाई बलियो बनाउने बिषयमा छलफल भएको जानकारी दिए । उनले चिनियाँ पक्षले पनि नेपालसँगको सम्बन्ध सुमधुर पार्ने प्रतिवद्धता जनाएको बताए ।

चिनियाँ टोलीले नेपालका पार्टीहरु मिलेर अघि बढुन् भन्ने सुभेच्छा प्रकट गरेको अध्यक्ष नेपालले बताए ।

यसअघि लिउले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । भक्तपुरको बालकोटमा आज विहानद भएको भेटवार्ताका क्रममा दुई पक्षीय सम्बन्धका बारेमा चर्चा भएको थियो ।

लिउ नेपाल चीनको अत्यन्त नजिकको मित्र राष्ट्र भएको र नेपालको विकासको साझेदार रहेको भन्दै यसलाई निरन्तरता दिन चाहेको बताएको एमाले नेता डा. राजन भट्टराईले जानकारी दिए ।

नेपालबाट चीन विरोधी कुनै पनि गतिविधि नहुने समेत ओलीले बताएको भट्टराईले जानकारी दिए ।

नेपालले आफ्नो नीति र निर्णय स्वतन्त्र रुपमा गर्ने र चीनले पनि स्वतन्त्र रुपमा आफ्नो नीति बनाउने भएकाले यसअघि जस्तो सम्बन्ध थियो, त्यही रुपमा नै अघि बढ्ने विषयमा सघन कुराकानी भएको भट्टराईले जानकारी दिए ।

नेता लिउ चार दिने भ्रमणका लागि गत आइतबार नेपाल आएका थिए ।

नेकपा एमालले बहिष्कार गर्‍यो सार्वजनिक लेखा समितिको बैठक

नेकपा एमालले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षीलाई दिनुपर्ने भन्दै समितिको आजको बैठक बहिष्कार गरेको छ ।

सिंहदरबारमा आज बसेको बैठकमा एमालेका सांसदहरुले वर्तमान सरकार गठन भएको एक बर्ष पुग्दा पनि समितिको सभापति सत्तापक्षले नै राखेको भन्दै बैठक बहिष्कार गरेको हो ।

बैठकमा सभापति भरत कुमार शाहले समितिको वार्षिक प्रतिवेदन पारित गर्न प्रस्ताव गरेका थिए ।

एमाले सांसद विशाल भट्टराई र गोकुल बास्कोटा लगायतले सभापतिले राजीनामा दिनुपर्ने र प्रतिपक्षीबाट नयाँ सभापति चयन हुनुपर्ने बताएका थिए ।

लेखा समितिको नेतृत्व विपक्षी दलले पाउने परम्परा रहेकाले वर्तमान सभापतिले मार्गप्रसस्त गर्नुपर्ने उनीहरुको भनाइ थियो ।

सभापति शाहले वार्षिक प्रतिवेदन पारित गरेर सभापतिको विषयमा छलफल गर्न आग्रह गर्दा प्रतिपक्षी सांसलहरुले सभापति फेरिएपछि मात्रै लेखा समितिको कामकारबाहीमा भाग लिने भन्दै बैठक बहिष्कार गरेका थिए ।

त्यसपछि बैठकले बहुमतका आधारमा समितिको २२ औँ वार्षिक प्रतिवेदन पारित गरेको समिति सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।

बैठकमा अन्य सांसदहरुले सभापति परिवर्तन गर्ने विषयको भिन्दै प्रक्रिया रहेको भन्दै समितिमा यस्ता विषय नउठाउन विपक्षी संसदहरुलाई सुझाव दिएका थिए ।

समितिका हालका सभापति भरत कुमार शाह कांग्रेसका छन् ।

सत्ता टिकाउन विधेयक दर्ता गरेको प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद देवेन्द्र दाहालले सत्ता र गठबन्धन टिकाउनका लागि नै संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रियसभामा दर्ता गरेको आरोप लगाएका छन् ।

राष्ट्रिय सभाको बैठकको विशेष समयमा बोल्दै दाहालले सरकारमा रहेका दलहरु आफैले यसअघि विरोध गरेको विधेयक राष्ट्रियसभामा दर्ता गरेको र यो सत्ता र गठबन्धन टिकाउनका लागि मात्रै भएको आरोप लगाएका हुन् ।

सो विधेयकको सम्बन्धमा सभामुख अग्निप्रसाद सापकोटाले विगतमा सर्वोच्च अदालतमा मुद्दा हालेको भन्दै राष्ट्रिय सभाका अध्यक्षले सभामा छलफल गराउनु पूर्व सभामुखको धारणा बुझ्नुपर्ने जिकिर गरे ।

त्यस्तै उनले प्रतिनिधिसभा र राष्ट्रियसभामा धेरै विधेयकहरु अडिएकाले विधेयकलाई हेर्ने अनुगमन, सुपरीवेक्षण र सुझाव समिति बनाउनुपर्ने प्रस्ताव गरे ।

दाहालले सरकारको बेवास्ताका कारण संसदमा विधेयक र कानुनहरु अलपत्र परेकाले यसका कारण जनतालाई समस्या भएको तर्क गरे ।

राष्ट्रियसभामा उपसभामुख र उपाध्यक्ष पद खाली हुनु लज्जास्पदः गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्ष लामो समयदेखि खाली हुनु लाजमर्दो कुरा भएको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा गौतमले उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्ष चयन गर्न सरकार राजनीतिक दल र संसदको ध्यान नपुगेको र यो लाजमर्दो कुरा भएको बताएका हुन् । उनले संविधानमा उपाध्यक्ष र उपसभामुख महिला राख्ने व्यवस्था कै कारण चयनमा ढिलाइ भएको दाबी गर्दै पुरुष अनिवार्य भनेको भए पाँच दिनमा नै नियुक्ति हुने तर्क गरे ।

दुई पदमा निर्वाचन गराउन माग गर्दै महिला सांसदहरुले आन्दोलन गर्नुपर्ने उनको सुझाव छ ।

त्यस्तै गौतमले राष्ट्रियसभा उपाध्यक्ष पदमा नियुक्तिका लागि पहल लिन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ध्यानाकर्षण समेत गराए ।

सभामुख अग्निप्रसाद सापकोटाद्वारा पाँच विधेयक प्रमाणित

सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न मितिमा पारित भएको पाँचवटा विधेयक प्रमाणित गरेका छन् ।

राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेका पाँँचवटा विधेयकलाई सभामुख सापकोटाले आज प्रमाणीकरण गरेका हुन् ।

सभामुखले प्रमाणीकरण गरेका विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र कानुनी रुप लिने संवैधानिक व्यवस्था छ ।

सभामुख सापकोटाले लोक सेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७९ /०८० को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक र नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणित गरेका हुन् ।

सो विधेयकलाई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइनेछ ।

एनआरएनएको प्रतिनिधि मण्डल र राष्ट्रियसभाका अध्यक्षबीच भेटवार्ता

गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रतिनिधि मण्डलले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गरेको छ ।

भेटमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा. बद्रि केसीलगायतका प्रतिनिधिले सरकारले संशोधनसहित प्रतिनिधिसभामा पेश गर्न लागेको नागरिकता ऐनबारे छलफल गरेका थिए ।

अध्यक्ष तिमिल्सिनाले गैरआवासीय नेपाली नागरिकका विषयमा संविधानमा प्रावधान भएको विषयबाट पछि हट्न नसिकने र यदि यसमा केही सुधार गर्नुपर्ने विषय प्रतिनिधिसभाले नै गर्ने बताए ।

साथै, उनले नागरिकता ऐन राष्ट्रिय सभामा पेश भएपछि संशोधित ऐनमाथि छलफल गरेर चाँडै नै प्रक्रिया पूरा गरिदिने जानकारी गराए ।

सो कार्यक्रममा उपाध्यक्ष महेशकुमार श्रेष्ठ, युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा र सचिवालयका अधिकृत कुनाल मिश्रा लगायतको उपस्थिति थियो ।

कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक विदा

कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले आज एक सूचना जारी गर्दै विदा दिने जनाएको हो ।

साउने संक्रान्ति तथा देउडा पर्वको अवसर पारेर सार्वजनिक विदा दिइएको मन्त्रालयले जनाएको छ । साउन १ गते प्रदेशभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक संघ संस्थामा विदा लागू हुने मन्त्रालयका सूचना अधिकारी रोशन शाहीले जानकारी दिए ।

प्रदेश सरकारको २०७८ चैत्र २९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गते बिदा दिने निर्णय गरेको थियो ।

त्रिभुवन विश्वविद्यालय अनेरास्ववियूका विद्यार्थीहरूको आमरण अनसन

त्रिभुवन विश्वविद्यालय, उपकुलपतिको कार्यालय अगाडि एकीकृत समाजवादी निकट अनेरास्ववियूका विद्यार्थीहरुले आमरण अनसन सुरु गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयभित्र विकृति, विसङ्गति बढेको भन्दै १४ बुँदै मागसहित उनीहरुले आजदेखि आमरण अनसन सुरु गरेका हुन् ।

एम.फिल र पीएचडीलाई नियमित बनाउन, स्रोत, साधन र प्राध्यापक त्रिविको प्रयोग गर्ने, विदार्थीबाट चर्को शुल्क असुल्ने कार्य गर्ने रोक्नुपर्ने, स्ववीयू निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्ने, सेमेष्टर प्रणालीलाई व्यवस्थित बनाउनुपर्ने लगायतको माग गरेका छन् ।

अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले १४ बुँदा माग पूरा नभएसम्म अनसन जारी राख्ने बताए ।

तत्कालीन सचिव झाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको साविक सलेमपुर गाविसका तत्कालीन सचिव ध्रुव नारायण झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनले सर्वाजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

दायर गरिएको मुद्दामा झासँग ७ लाख ५१ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । झाले विभिन्न योजना कार्यान्वयन एवं सेवा प्रवाहमा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा झाले ७ लाख ५१ हजार रुपैयाँ विभिन्न व्यक्तिको नाममा निकासा गरी सरकारी रकम हिनामिना गरेको पुष्टि हुन आएको अख्तियारले आज एक विज्ञप्ति जारी गरी जनाएको हो ।

यस्तै आयोगले ललितपुरको हरिहरभवनस्थित पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालय कार्यालयका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्रीसहित सात जनाविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुले ४७ लाख ३७ हजार ६२९ रुपैयाँ गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आज दायर गरिएको मुद्दामा प्रत्येकसँग ४७ लाख ३७ हजार ६२९ रुपैयाँ बिगो दाबी गरिएको छ ।

नेपालमा थप १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ८ सय ५ पीसीआर परीक्षणका क्रममा १ सय ४४ जना र १ हजार ३ सय २१ एन्टीजेन परीक्षणका क्रममा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ४१ संक्रमित निको भएका छन् ।

पछिल्लो विवरणअनुसार हाल नेपालमा ८ सय ७३ सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कर्जाको ब्याजदर ३ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षको जेठ महिनामा सोही अवधिमा कर्जाको ब्याजदर ३ प्रतिशत विन्दुले बढेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको मासिक प्रतिवेदनले कर्जाको ब्याजदर औसत ३ दशमलव ८ प्रतिशत विन्दुले बढेको देखाएको हो ।

राष्ट्र बैंकका अनुसार जेठसम्म कर्जाको भारित औसत ब्याजदर ११.५४ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो ब्याजदर ८.४६ प्रतिशत थियो । पछिल्लो ६ महिनायता बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह ठप्प पारेको अवस्था छ ।

राष्ट्र बैंकले अझै कर्जाको ब्याजदर बढ्न सक्ने संकेत गरेको छ । यस्तै, गत वर्षको तुलनामा चालु आर्थिक वर्षको एघार महिनासम्मका निक्षेपको ब्याजदर पनि औसतमा दशमव .६२ प्रतिशत विन्दुले बढेको छ ।

जसअनुसार २०७९ जेठमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.३४ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो दर ४.७२ प्रतिशत रहेको थियो ।

शेयर बजारमा झिनो अंकको सुधार

शेयर बजार परिसूचक नेप्से आज झिनो अंकले सुधार आएको छ ।

नेप्से आज ११ दशमलव ६८ अङ्कले बढेर १ हजार ९ सय २७ दशमलव २८ विन्दुमा पुगेको हो । आज सबै समूहको शेयर सामान्य बढेको छ । दुई सय २६ वटा कम्पनीका ४९ लाख ६७ हजार ५ सय ६१ कित्ता शेयर कुल १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९ सय ७८ रुपैयाँमा कारोबार भएको छ ।

आज सप्तकोशी विकास बैंकको शेयर झन्डै साढे नौ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि नयाँ सारथी लघुवित्तको शेयर साढे चार प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज अरुण काबेली, गोर्खा फाइनान्स, शिवम् सिमेन्ट, युनाइटेड इदी मर्दी र हिमालयन डिस्टिलरी क्रमश अगाडि रहेका छन् ।

चोभार सुख्खा बन्दरगाहबाट पहिलोपटक नेपाली वस्तु निकासी

काठमाडौँको चोभार सुख्खा बन्दरगाहबाट पहिलो पटक नेपाली वस्तु निकासी भएको छ । .

बन्दरगाहबाट एक ट्रक ऊन फेल्ट आज डेनमार्क निकासी गरिएको बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।

गत चैत २२ मा बन्दरगाह सञ्चालनमा आएपछि बन्दरगाहबाट पहिलो पटक वस्तु निकासी भएको प्रमुख भन्सार प्रशासक धनबहादुर बडुवालले जानकारी दिए ।

हालसम्म बन्दरगाह सञ्चालनमा आएपछि १५ वटा कन्टेनरमा ७ करोड ३९ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको पनि बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ९ : ०५ बजे

नदी कटान रोकथाम गर्न ‘कम्पोजिट’ पर्खाल निर्माण

म्याग्दी– नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका–४

रामबहादुरको मुहारमा फर्किएको खुसी…

गोरखा- गुम्दा गाउँका ८८ वर्षीय रामबहादुर गुरुङले एक दशकपछि पुनः

ढकमक्क गुलमोहर, पर्यटक आकर्षित

झापा- बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क

गलकोट अस्पतालमा ‘ब्लड बैंक’ सेवा

बागलुङ– बागलुङको गलकोट अस्पतालमा ‘ब्लड बैंक’ (रक्तसञ्चार सेवा) सञ्चालनमा आएको

तनहुँको बुल्दीखोलामा पुल निर्माण

तनहुँ– तनहुँको व्यास नगरपालिका– १ र २ जोड्ने कराङकाठबाट बसपार्क