जलवायु परिवर्तन र हाम्रा मुद्दाहरू | Khabarhub Khabarhub

सन्दर्भ : कोप २७ सम्मेलन 

जलवायु परिवर्तन र हाम्रा मुद्दाहरू

‘जलवायु परिवर्तनमा मानव क्रियाकलाप मुख्य कारण हो’



काठमाडौँ– जलवायु परिवर्तन र यसको प्रभावबारे बहस गर्न यही नोभेम्बर ६ देखि १८ सम्म इजिप्टमा कोप–२७ सम्मेलन हुँदैछ। सन् २०२१ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म बेलायतस्थित स्कटल्याण्डको ग्लास्कोमा कोपको २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । यसमा नेपालको उच्चस्तरीय प्रतिनिधि मण्डलले भाग लिएको र नेपालको तर्फबाट मूल १० एजेन्डा प्रस्तुत भएको थियो।

जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघीय महासन्धिका पक्ष देशहरुको २५ औँ सम्मेलन भने अघिल्लो मंसिरमा चिलीको सान्टियागोमा भएको थियो । त्यसको पूर्व सन्ध्यामा भुटानको थिम्पुमा अति कम विकसित देश भनौँ एलडीसीका देशहरूले वातावरण, वन, जलवायु परिवर्तन सम्बन्धित मन्त्री, उच्च अधिकारी एवं विज्ञहरूले हरित ग्याँसको उत्सर्जन कम गर्ने नीति र कार्यक्रम बनाउन सबैलाई ध्यानाकर्षण गराएका थिए।

यसमा मूल विषय विश्वको तापक्रम सरदर १ः५ डिसे भन्दा बढ्न नदिने थियो। साँच्चै अहिले विश्वव्यापी रूपमा बढेको जैविक विविधताको ह्रासका कारण संयुक्त राष्ट्र संघीय दिगो विकासका लक्ष्यहरू अलपत्र पर्न सक्ने आशंका छ । यसमा नेपाल अछुतो हुन्न।

अहिले सबैतिर सिमसार भनौँ नदी,  वन, जलाशयको अतिक्रमण बढेको छ। ध्वनि, वायु एवं जल प्रदूषणका कारण कडा रोगको उच्च जोखिममा छौँ, हामी। कोरोना नसेलाउँदै हामीलाई देशैभरि डेंगू रोगले सतायो। मानव आवत जावत, सवारी चाप समेतका कारण मुस्ताङ र डोल्पा लगायतका हिमालीक्षेत्र समेत यसबाट प्रभावित बन्न पुग्यो ।

मानव सभ्यताको इतिहास ५५ करोड वर्ष पुरानो भइसकेको छ। जब मानवले बस्ती बसाउँदै आयो । उसले आफूलाई नदी, जलाशय, खोलानालाकै छेउ रुचायो । अहिले पनि वर्षाले मेलम्ची लगायत कति स्थानहरूको पुनरुत्थान भइसकेको छैन । कति सखाप भयो बस्ती।

इन्दस नदीको वरपर हिन्द, मिश्र, रोम, मेसोपेटामिया सबै मानव सभ्यता सिमसार, नदी वरपरबाटै सुरु भएको हो । प्रसिद्ध सहर न्यूयोर्क, लण्डन, संघाइ, ढाका, दिल्ली, क्वालालम्पुर र हाम्रै राजधानी काठमाडौँ सहर बस्ती बस्नु पूर्व यहाँ रहेको पानीलाई चोभारको डाँडो काटी पानी बाहिर पठाई सहर बसालिएको हो।

काठमाडौँ उपत्यका मात्र होइन हाम्रा मुख्य सहर भद्रपुर, चन्द्रगढी, दमौली, पोखरा, विदुर, जोमसोम, नारायणघाट, बुटवल, बेनी, महेन्द्रनगर सबै नदी खोला नजिकै छन्। कार्बन उत्सर्जनको प्रमुख कारक मानिस नै हो । तर वन, नदीहरूले मानव उत्सर्जित कार्बनलाई सोसेर लिन्छ। माटोभित्र ३० प्रतिशत कार्बन सञ्चित छ। जल, जमिन, वनलाई खलल पुर्‍याउँदा जलवायु परिवर्तन र त्यसको नकारात्मक असर पर्छ।

हिजोआज देशमा माटो छोप्ने डोजरे विकास बढेको छ। माटो गलेको छ, बाढी, पहिरो बढेको र सवारी दुर्घटना पनि बढेका छन्। प्रकृतिले कार्बन लिन्छ, अक्सिजन दिन्छ। तर मानवको अभिन्न अंग प्रकृतिको चरम दोहन बढेको छ। चुरेक्षेत्रको बालुवा, डुङ्गा निकासी गर्ने गरी सरकारले ल्याएको बजेटमा व्यापक विरोध समेत भयो। हाल सबैतिर पानी प्रदूषित भई जलचर नपाइनुमा मानव निर्मित प्रदूषण कार्बन उत्सर्जन नै हो।

नेपालको अधिकतम तापक्रम हरेक वर्ष औसत ०.०६ डीसेले बढेको छ। अन्य क्षेत्रको तुलनामा हिमाली क्षेत्रमा यसको दर बढी छ। विश्व जनसंख्याको ०.४ प्रतिशतमात्र नेपालमा बस्छन् । विश्वको कुल हरित गृह ग्याँसको करिब ०.०२५ प्रतिशत मात्र नेपालले उत्सर्जन गर्छ तथापि वायुमण्डलमा नेपाल उच्च जोखिममा छ।

विगत एक शताब्दीमा नेपालको उच्च भूभाग हिमालीक्षेत्र सगरमाथाको हिमभाग ३३० फिट गलेको छ। सयौँ तालहरु फुट्ने सम्भावना छन्। नेपालको वार्षिक वर्षा क्रममा व्यापक हेरफेर भएको छ । लामो समय खडेरी पनि छ, तीव्र वर्षा पनि छ।

अहिले रात र दिन दुबैमा चिसो कम छ। १०० मिमि भन्दा बढी पानी पर्ने दिन बढ्दै छ। हावाहुरीको ताण्डव नृत्य छ, भूस्खलनले मलिलो माटो खेर गएको छ। जलवायु परिवर्तनकै कारण कृषि, जलस्रोत, वन, जैविक विविधता, मानव स्वास्थ्य, पर्यटन र समग्र पूर्वाधारमै प्रभाव पारेको छ।

तराई, पहाड र हिमाली क्षेत्रमा सबैतिर परेको असर र प्रभावको यकिन तथ्य समेत हामीकहाँ छैन। जलवायु परिवर्तन बारेको चेतना, अनुकूलनका अभ्यास र नवीकरणीय ऊर्जाको प्रयोग र प्रवर्द्धन गर्न जानेनौं हामीले। सन् २००९ देखि मात्र मुलुकले जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय एजेण्डामा प्रवेश गरेको हो।

अन्तरिम योजना २०६४ ले मात्रै वातावरण व्यवस्थापन एवं जलवायु परिवर्तनको विषयलाई प्रत्यक्ष सम्बोधन गरेको हो। दिगो विकास एजेन्डा २०५९ र सहस्राब्दी विकास लक्ष्य २०५८ ले भने केही सम्बोधन गरेको थियो। वायुमण्डलमा जल वायु परिवर्तन नियमित प्रक्रिया भए पनि उद्योग र यातायातमा खनिज इन्धनको अधिक प्रयोगले यसको प्रक्रिया थप बढेको हो।

आगलागी, चट्याङ्ग र प्रतिकूल मौसममा बाँच्न बाध्य भएका छौँ हामी। मनसुन बिदा गरिसक्दा गत वर्ष कार्तिकको पहिलो हप्तामै भएको अतिवृष्टिले पाकेको धान मात्रै करिब ८ अर्ब बराबरको क्षति पुर्‍याएको आँकडा आयो भने एक सयभन्दा बढी मानिसको मृत्यु भयो।

प्रकृतिको यो वितण्डाले देशमा खाद्य संकट थपिने, महँगी वृद्धि हुने, भोकमरीको समस्या थपिने, देश संकटमा पर्न सक्ने आँकलन गरिएको र त्यसको लक्षण अहिले स्पष्टै देखियो। संसारमै सजिव प्राणीको अस्तित्व संकटमा भएको आँकलन त संसारले झन्डै ३१ वर्षअघि नै गरेको थियो। जलवायु परिवर्तनबारे चासो राख्दै २ दशकअघि विभिन्न देशका प्रतिनिधिहरु, सरकार प्रमुखहरुको भेला भएको हो।

जलवायु परिवर्तनसंग सम्बन्धित संयुक्त राष्ट्र संघीय महासन्धि अन्तर्गत पक्ष राष्ट्रबीच छलफल भई सन् १९९२ को जुनमा १७२ राष्ट्रका प्रतिनिधि एवं सरकार प्रमुखको पहिलो औपचारिक बैठक ब्राजिलको रियो द जेनेरियोमा बसेको थियो भने यसअघि नै स्वीडेनको राजधानी स्टकहोममा यसबारे बहस भएको थियो। यसपछि बिस्तारै अन्तर्राष्ट्रियकरण हुँदै आएको यो विषय अहिले सबैलाई पेचिलो बन्दै आएको छ।

कार्बन उत्सर्जनमा नेपालजस्ता देशहरुको भूमिका कम भए पनि हिमालीक्षेत्र ओगटिएका हामीजस्ता देशलाई जलवायु परिवर्तनको समस्याले विषय जटिल बनाउँदै छ। स्टकहोममा नेपालको उपस्थिति नभए पनि रियोमा उपस्थित भएदेखि नै नेपालले आफ्ना समस्याहरु विश्वस्तरमा राखेको हो र पनि यसको प्रभाव न्यूनीकरण भएको छैन, बरु बढेको छ।

जलवायु परिवर्तनमा मानव क्रियाकलाप मुख्य कारण हो। हरित गृह ग्याँसको उत्सर्जनमा वृद्धि हुँदा वायुमण्डल तात्ने हुनाले स्थान विशेष रूपमा जलवायु परिवर्तनबाट प्रभावित हुन्छ र अतिवृष्टि, अनावृष्टि, ऋतुकालको छिटो परिवर्तन हुन्छ। बेमौसममा गुराँस फुलेको देखियो। बेमौसमका खानेकुरा खान खुब सोख हुन्छ हामीलाई तर कति घातक छ, चासो छैन, कति बिरामी भइयो थाहा छैन। प्रत्यक्ष प्रभाव पर्ने त हामी जस्ता गरिब, विकासोन्मुख, भूपरिवेष्टित र पर्वतीय मुलुकमै हो। हाम्रो इकोसिस्टममा परेको प्रभावबाट पनि सहजै अनुमान गर्न सकिन्छ।

हामीकहाँ जलवायु परिवर्तनले आर्थिक र समग्र सामाजिक विकासका क्षेत्रमा परेको प्रभाव बारे यकिन गर्ने भनौँ वैज्ञानिक संयन्त्रको कमी छ, जोखिम क्षेत्रको पहिचानमा समस्या छ। हरित गृह ग्याँस उत्सर्जन न्यून गर्ने संयन्त्रको विकास हुन सकेको छैन। साथै उपल्लो र तल्लो तटीय भूभागमा परेको र पर्न सक्ने प्रतिकूल प्रभावलाई न्यून गर्ने रणनीति नै तय भएन।

विकास निर्माण, बसाइ सराइ, औद्योगिकीकरण, सहरीकरण जस्ता पूर्वाधारहरू विकासका लागि हुन् विनाशका लागि होइनन्। प्राकृतिक क्षेत्रले भरिपूर्ण हाम्रो मुलुकले जलवायु परिवर्तनबाट हुन सक्ने लाभलाई लिन सक्नु पर्छ हानिलाई होइन। जलवायु परिवर्तन सम्बन्धी स्थलगत कार्यक्रमहरू गर्दा अत्यधिक खर्च स्थानीय त्यहीँकै लागि गर्नु बेस हुन्छ। प्राकृतिक स्रोतको व्यवस्थापन जलवायु मैत्री हुनुपर्छ।

पूर्वाधार विकासलाई जलवायु समयानुकूल बनाउन जरुरी छ। स्वच्छ र नवीकरणीय ऊर्जा विकास, कार्बन व्यापारमा कटौती र दिगो विकास तर्फ अग्रसर हुन जरुरी छ। स्रोत व्यवस्थापन गर्दा भोलिको पुस्तालाई बिर्सनु हुन्न।

क्रसरको धूलोले खोलाको पानी प्रदूषित छ, किनाराका बस्तीहरू मारमा छन्। ढुंगाखानीको कारण पानीको मुहान सुकेको छ, वन क्षेत्र अतिक्रमण भएको र धूवाँ धूलोका कारण दम र छातीको रोग बढेको  छ।  बत्तीमुनि अँध्यारो  काठमाडौँकै मुटु मुख्य नदीहरूमा जीवन छैन। यहाँको अव्यवस्थित सहरीकरण, सिमेन्टका ठूला खम्वाहरु, तिनबाट निस्कने फोहोरको के कुरा गर्ने, काठमाडौँको स्रोतभूमिको पानी प्रदूषित  छ।

हिउँदमा मात्र होइन वर्षायाममा पनि यहाँका नदीहरूमा पानी होइन ढल मात्र बग्छन्। सडक, सिमेन्ट, ढल आदिको कारण आकाशबाट परेको पानी पनि जमिनले सोस्न सक्ने अवस्था छैन, जमिनमुनिको पानी पनि विषाक्त बनिसकेको छ। साँच्चै हामीले बाँझो, छोडेको जमिन, पर्ती, बाढी पहिरोग्रस्त, भिरालो जमिनमा लाभदायक रुख बिरुवा रोप्न सकिन्छ।

वर्षाको पानी संकलन, मुहानको भरपूर संरक्षण, पर्यावरणीय सरसफाइ, डढेलो नियन्त्रण, वन क्षयीकरणमा रोक, नदी किनारामा बस्ती विकासमा रोक, फोहोर मैलालाई स्रोतको रूपमा व्यवस्थापन गर्ने, प्रकोप नियन्त्रणका लागि पूर्व तयारी र समग्रमा इच्छा शक्ति नै आजको आवश्यकता हो।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १२ : ३२ बजे

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु 

दोलखा– दोलखाको भिमेश्वर नगरपालिका-१ बाट बिहे लिएर सिन्धुपाल्चोक जाँदै गरेको

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात

बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई गर्‍यो देश निकाला

अफ्रिका– बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई देशबाट बाहिर जान आदेश

पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

फुङ्लिङ– ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट