भगवान रामको शरणमा एउटा निरिह ‘नास्तिक’ « Khabarhub

भगवान रामको शरणमा एउटा निरिह ‘नास्तिक’



नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको राजनीतिक जीवन, प्रशिक्षण र उनले बोकेका राजनीतिक दर्शनसँग भगवान रामको कहीं कतै तादात्म्य देखिंदैन। कम्युनिष्टहरूलाई धर्म या ईश्वरप्रति विश्वास पनि हुँदैन ।

कम्युनिष्टहरू चेतना या चैतन्यलाई पनि सर्वोच्च मान्दैनन् । कम्युनिष्टका दृष्टिमा चेतना पनि पदार्थकै विकसित रूप हो । कार्ल मार्क्स र लेनिनले मानव मष्तिष्कलाई पदार्थको अति सुसंगठित रूप बताएका छन् । यसर्थ परम चैतन्य स्वरूपमा रहेका परमात्माको अस्तित्वमा कम्युनिष्टहरू विश्वास गर्दैनन् ।

पुराना चिन्तक चारवाखले आत्मा, परमात्मा केही नहुने मात्र हैन, पुनर्जन्मसमेत नहुने सिद्धान्त अघि सारेका थिए । मार्क्सको दर्शन यिनै चारवाखको दार्शनिक धरातलमा टेकेर विकसित भएको हो । मार्क्सले धर्मलाई ‘अफिम’ भनेका छन् । अर्थात धार्मिक मानिस भनेका अफिममा लठ्ठीएका मानिस सरह हुन् भन्ने मार्क्सको सोच थियो ।

कम्युनिष्टका यिनै विश्व गुरुको आदर्श पछ्याएर नेपालका कम्युनिष्टहरूले करिब सात दशकसम्म धर्म र अध्यात्म विरुद्ध जनतामा भ्रम फैलाए । यसरी भ्रम फैलाउने मध्ये केपी ओली पनि एक थिए ।

मोहनचन्द्र विरुद्ध सुराकी

एमाले अध्यक्ष ओली कुन हदसम्म धर्म विरोधी थिए भन्ने पुष्टि गर्ने एउटा घटना यहाँ स्मरणीय छ । यो त्यसबेलाको प्रसङ्ग हो, जब टाउको कटुवा आन्दोलन झापा विद्रोहका अगुवा केपी ओली, मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली सबै जेलमा थिए । मोहनचन्द्र अधिकारी उतिबेलादेखि नै गीता पाठ गर्थे । द्वन्द्वात्मक भौतिकवादको चङ्गुलमा फँसेर उनी खै कसरी कुन संयोगले त्यो आवेगात्मक ‘क्रान्तिकारी रोमान्सवाद’ को शिकार भए, बुझ्न सकिएन । तर, उनमा अध्यात्मप्रति लगाव थियो ।

मोहनचन्द्र जेलमा पुजा पाठ गर्थे । प्रार्थनाका संस्कृत मन्त्र पनि उच्चारण गर्थे । एउटा कम्युनिष्ट बन्दीले पूजापाठ गर्नु धर्मलाई अफिम मान्ने कम्युनिष्ट वृत्तमा आपत्तिजनक ठहरिन्थ्यो नै । केपी ओली नै थिए, जसले ‘एमसी कमरेड जेलमा पूजापाठमा लागेर भडकिंदैछन्’ भन्ने पोल नेकपा (माले) को हाइ कमाण्डसम्म खोलिदिए । त्यसपछि पार्टीले मोहनचन्द्र अधिकारीमाथि कारवाही नै चलायो ।

अचेल मोहनचन्द्र कम्युनिष्ट राजनीतिमा खासै सक्रिय छैनन् । उनी दिनहुँ गीता पाठ गर्छन् । एकपटक पङ्क्तिकारले भेटदा उनले भनेका थिए, ‘म आध्यात्मिक साधनामा लिन छु । सविकल्प समाधिको चरणमा पुगिसकेँ, अब निर्विकल्प समाधिमा जाने साधना गरिरहेको छु ।’

मोहनचन्द्रले जेलमा पुजा पाठ गरे भनेर पार्टीमा ‘सुराकी’ गर्ने तिनै ओली चुनावको मुखमा भगवान राम र धर्मको आगोमा राजनीतिको रोटी सेक्ने दाउमा छन् । राजनीतिमा हरेक मोर्चामा पराजित एउटा ‘नास्तिक’ यसरी रामको शरणमा पर्नुका पछाडि विभिन्न कारणहरू छन् ।

ओलीको ‘रामनामी’ विरोधाभास

कम्युनिष्टहरूले न त कहिल्यै ध्यान गरे, न कहिल्यै प्रार्थना । कम्युनिष्टका गुरु मार्क्सले न त कहिल्यै धर्म र अध्यात्मलाई अँगाले, न कहिल्यै अफिम खाए । जसलाई धर्म र अफिम दुवैको स्वाद थाहा थिएन, उनैले धर्मलाई अफिमसँग दाँज्नु ‘अवस्तुवादी’ थियो ।

ओलीको पनि विरोधाभास के हो भने उनले विगतमा न त धर्म र अध्यात्मलाई अँगाले, न यसको पक्षमा कार्यकर्तालाई प्रशिक्षण दिए । बरु, धर्म र अध्यात्मको खिलाफमा उनी लागे । अतः रामको भजन नगाउने, भक्तिको महत्वबोध नगर्ने, प्रार्थनाको पाटो नबुझ्ने र परम चैतन्य निर्विकार र निराकार परमसत्ता खोजमा नलाग्ने नास्तिक ओलीले राम जन्मभूमिप्रति अतिरञ्जित लगाव, चासो र ‘लवीङ’ देखाउनु पनि हास्यास्पद हो ।

मार्क्स र लेनिनका भौतिकवादमा आधारित सिद्धान्त प्रतिपादन हुँदाताका परमाणुका तिन आयाम इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन मात्र खोजी भएको थियो । त्यसयता क्वान्टम फिजिक्स, आइन्स्टाइनको सापेक्षतावादक सिद्धान्त, अनिश्चितताको सिद्धान्त, क्वार्क, हिग्स बोसान (गड पार्टिकल) हुँदै पदार्थको उर्जा स्वरूपको पहिचानसम्मको आइपुग्दा भौतिकवादले जडवादी सिद्धान्तलाई करिब करिब खण्डन गरिसकेको छ ।पदार्थको मुलमा चेतनाको स्वभावसँग मिल्ने अनिश्चित, अदृश्य र डिजिटल रेकर्डसमेत गर्न नसकिने असीमित उर्जा रहेको तथ्य प्रमाणित भइसकेको छ । यसैले त तेश्रो पार्टीकललाई भौतिकवादीहरूले समेत ईश्वरी तत्व (गड पार्टिकल) भने, जुन सिद्धान्त पिटर हिग्स नामक वैज्ञानिकले धेरै वर्षअघि प्रतिपादन गरेका थिए । परमाणुभित्रको थर्ड पार्टीकल’ सिद्धान्तको पुष्टि हालै मात्र भएको हो, जसले परमाणुभित्र ईश्वरीय स्वभावसँग मिल्ने तत्वको उद्घाटित गरिदियो ।

नेपालका कम्युनिष्टहरू अझै पनि मार्क्स, लेनिन र एंगेल्सका पुरानै ठेलीको स्कुलिङबारे निर्देशित छन्, जसलाई बितेका पचास वर्षमा भएको विज्ञान प्रविधिको चरम विकास आध्यात्मिक तत्व बोधकै दिशातर्फ अग्रसर भइरहेको हेक्का छैन । हरेक चिजलाई ‘चिजबादी’ दृष्टिले हेर्ने कम्युनिष्टहरू यस्ता ‘चिज’ हुन्, जसका लागि पदार्थबादी दृष्टिकोण नै सत्य हो । ओलीको स्कुलीङको दार्शनिक आधार पनि यही हो, जो अचेल रामजानकी मन्दिरको उद्घाटन गर्दै हिंडछन् । यही हो, कम्युनिष्टहरूको ‘प्याराडक्स’ अर्थात विरोधाभास ।

जात र धर्मको चुनावी उपयोग

विश्वमा कम्युनिष्ट शासन धराशायी हुँदै गएपछि नेपालका कम्युनिष्टहरूले रक्षात्मक अवस्थामा एकाएक आफूलाई लोकतान्त्रिक धरातलमा ‘सेफ ल्यान्डिङ’ गरे । कम्युनिष्ट दर्शनबाट बिचलित भएका नेपालका कम्युनिस्टहरूसँग लोकतान्त्रिक अभ्यासका लागि आफ्नो कुनै दर्शन त भएन, तर कम्युनिष्ट ब्रान्डलाई भजाउन उनीहरूले वर्णशंकर नीति र कार्यक्रम अघि सारे । यो वर्णशंकर नीतिकै प्रतिफल धर्मप्रतिको आफ्नो शास्त्रीय कम्युनिष्ट सोचमा परिवर्तन ल्याउन पनि उनीहरु बाध्य भए । अर्थात उनीहरूले ‘धर्म अफिम हो’ भन्न छाड्नुपर्ने परिस्थिति बन्यो ।

यसैकारण नेपालका कम्युनिष्टहरू हिजोआज धर्म र अध्यात्मप्रति दोहोरो मापदण्ड अपनाउँछन् । दार्शनिक र वैचारिक रुपमा उनीहरु धर्म र अध्यात्ममा विश्वास गर्दैनन् । पुजा, आराधना, भक्ति, प्रार्थना, ध्यान, समाधि, सतसँग, धर्म, अर्थ, काम, मोक्ष, पुर्नजन्म, प्रारब्ध, प्रेम, करुणाप्रति आभ्यन्तरिक लगाव उनीहरूमा देखिदैन अथवा आभ्यन्तरिक लगाव भए पनि त्यसलाई कम्युनिष्ट शास्त्रीय चिन्तनको पर्दाको ढाकिदिन्छन् ।
अर्कोतिर धार्मिक र आध्यात्मिक चेतका मानिसलाई रिझाएर राजनीतिको धन्दा पनि चलाउन उनीहरु पछि पर्दैनन् ।

यसैकारण क्रिश्चियनहरूको जेरुसेलम र मुस्लिमहरूको मक्का मदिना वैश्वीक केन्द्र भएझैँ नेपाल विश्वकै हिन्दुहरूको केन्द्र बन्नसक्ने सम्भावनालाई लत्याएर कम्युनिष्टहरूले नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाए । हिन्दु धार्मिक केन्द्रको पहिचानबाट भारतलगायत विश्वभरिका हिन्दुहरूको आकर्षणको थलोको रुपमा नेपाललाई विकसित गर्ने सम्भावनालाई निमोठेर धर्म निरपेक्षताको आयातित नारा ‘इन्जेक्ट’ गर्दा एमाले अध्यक्ष ओलीले पनि संविधानसभामा थपडी बजाएकै थिए ।

नेपालका कम्युनिष्टहरू २०४७ को परिवर्तनपछि जब चुनावी राजनीतिमा आए, त्यसपछि उनीहरुले बर्गको कुरा गर्न छाडेर भोट बैंकका रुपमा रहेका जातीय र धार्मिक समुदायमा पनि हिमचिम बढाए । कम्युनिष्टहरूको त एउटै अन्तर्राष्ट्रिय जाती हुनु पर्ने हो, तर नेपालका कम्युनिष्टहरूले ‘जातीय राज्य’ को नारा दिए । नेपालका हरेक कम्युनिष्ट घटकका अधिवेशन या सम्मेलनको उद्घाटन शत्रमा ‘हाम्रो एउटै अन्तर्राष्ट्रिय जाती हुनेछ’ भन्ने गीत गाउने गरिन्छ । तर, यिनै कम्युनिष्टहरूले नेपालमा जातीय पहिचानको नारा उराले ।

धर्मलाई अफिम भनेर लामो समय जनतामा भ्रम छरेका कम्युनिष्ट नेताहरु चुनावी राजनीतिमा आएपछि भागवत पुराण सप्ताहमा भाग लिन थाले । माओबादी अध्यक्ष प्रचण्डको ‘भैंसी पुजा काण्ड’ त जगजाहेरै छ । कम्युनिष्ट नेताहरु धार्मिक बाबाहरुसँग भेटन, पार्टी कार्यालयको शिलान्यासमा पुजाआजा गर्नसमेत पछि परेनन् ।

डा. बाबुराम भट्टराई माता पितालाई लिएर मनकामना दर्शनमा गए । कुनैबेला कार्यकर्तालाई जनवादी प्रगतीशील विवाहका लागि प्रेरणा दिने कम्युनिष्ट नेताका छोराछोरी सुनैसुनले सजिएर बकाइदा धार्मिक कर्मकाण्डसहितको विवाह अनुष्ठानमा सहभागी भएको र संस्कार विधि अनुसार कन्यादान, गोडुधुवा, पुजा आदि गरेको देखियो ।

धार्मिक समुदायको भोट तान्न विभिन्न धर्मका मानिसलाई छानीछानी पार्टीमा स्थापित गराए । धर्म र अध्यात्मको विकासका लागि हैन, भोटको राजनीति चम्काउन कम्युनिष्ट नेताहरु विभिन्न धार्मिक कार्यक्रममा गएर सोही बमोजिमको भेषभुषा र भाषामा भाषण गर्नसमेत पछि परेनन् ।
धर्म निरपेक्षताले हिन्दुत्वमा आधारित नेपालको मौलिक धार्मिक पहिचानलाई ओझेलमा पारिदियो भने क्रिश्चीयन धर्मको विस्तार र धर्म परिवर्तनको बाटो खोलिदियो ।

सम्भवतः यसका लागि कम्युनिष्टहरूले ‘शुभलाभ’ पनि मनग्गै पाएको हुनुपर्छ, जसले गर्दा धर्मलाई अफिम भन्ने कम्युनिष्ट नेताहरुले आफुलाई क्रिश्चीयन अनुयायी बनाए, धर्म पास्टर र पादरीसँग हिमचिम बढाए । यो सबैमा धार्मिक र आध्यात्मिक हैन, तुच्छ राजनीतिक उद्देश्य थियो ।

देखिदैन, धार्मिक आचरण

कार्लमार्क्स स्वयंले धर्मलाई ‘कमजोर, हीनत्वबोधले ग्रस्त, गरीब र अभावमा पिरोलिएका मानिसको भ्रामक आड भरोसा’ बताएका छन् । अर्थात जब मानिस कमजोर हुन्छ, तब उसले अलौकिक र अदृश्य शक्तिको पुकार गर्न थाल्छ । माक्र्सका अनुसार मानिसले कुनै अलौकिक शक्तिको प्रार्थना गर्नुको साटो मानिसबीचमै रहेका विभेद र शोषणविरुद्ध लडनुपर्छ, त्यो नै असली मुक्ति हो ।

मार्क्सले नबुझेको चाहिँ धर्म र अध्यात्मको मर्मलाई हो । धार्मिक कर्मकाण्ड र संस्कार पनि सांसारिक आयाम नै हो । तर, अध्यात्म भनेको नितान्त आभ्यन्तरिक आयाम हो । जो मानिस आध्यात्मिक रुपमा जागृत छ, यसले अपनाउने धर्म पनि लोक कल्याणकारी हुन्छ । कम्युनिष्टहरू आध्यात्मिक रुपमा जागृत नभएकै कारण चुनावमा दुई तिहाइ बहुमत ल्याएर पनि काम, क्रोध, लोभ, मोह, इश्र्या, राग, द्वेष, चौर्य चोर्ने प्रवृत्ति, परिग्रह सम्पत्ति थुपार्ने वृत्तिमा हिंसाबाट मुक्त हुन सकेनन् ।

असत्य बारम्बार बोलेर जनतालाई भ्रमित तुल्याई चुनावमा दुई तिहाइ ल्याए पनि धार्मिक आचरणको अभावमा कम्युनिष्ट शासन मानवमा व्याप्त दुःखका संवेदना र विषय वासना भोगमा चुर्लुम्म डुब्यो । भ्रष्टाचार, नेकपा भित्रको विवाद, अभद्र गालीगलौज, घात प्रतिघात र विभाजनको मुख्य कारण नै धार्मिक संस्कार र आचरणको अभाव नै हो ।

यस्तो अधार्मिक आचरण प्रदर्शनको पहिलो नम्बरमा केपी ओली नै दरिए, जसको मुखबाट सदा कटु वाणी मात्र निस्कियो । धार्मिक मान्छेको विशुद्धि चक्र जागृत भएको हुन्छ । बुद्धको बोलीले नै अंगुलीमाल पग्लिएका थिए । ओशोको बोलीमै सारा साधक लट्ठ हुन्छन् । बोलीमा नम्रता, शिष्टता र मधुरता धार्मिक मानिसको गुण हो, जुन ओलीमा पटक्कै देखिदैन । पक्कै, ओलीको बोलीमा ताली उनीहरूले बजाउँछन्, जो उनीजस्तै छन् ।

हारेको नास्तिक प्रभुको शरणमा

‘कमजोर मानिस धर्मको शरणमा जान्छन्’ भन्ने मार्क्सको भनाइ सत्य पूर्ण असत्य चाहिँ हैन । पक्कै, चारैतिर असफलता पाएपछि जब मानिसले सम्भावनाको कुनै किरण देख्दैन, तब उसले अज्ञात शक्तिलाई पुकार्छ । यो पुकारका पछाडि उसको अभ्यन्तरमा रहेको आध्यात्मिक चेतकै भूमिका छ ।

अवश्य, केपी ओली पनि यतिबेला कमजोर छन् । एउटा नेताका रुपमा उनले गएको चुनावयता असफलता नै असफलता हासिल गरेका छन् । प्रधानमन्त्रीका रुपमा नेकपाको दुई तिहाइको बहुमतको सरकार जोगाउन सकेनन् । पार्टी अध्यक्षका रुपमा नेकपालाई एकढिक्का राख्न सकेनन् । एमालेलाई पनि दुई चिरा हुनबाट रोक्न सकेनन् । दुई पटक संसद् विघटन गरे, त्यसमा सफल भएनन् । विकासका हावादारी नारा दिए । चुच्चे रेल, मोनो रेल, पानीजहाज र मेट्रो सिटीका नारा दिए । हावाबाट बिजुली उत्पादन र घरघरमा ग्यासका हौवा चलाए । फलतः गफका कारण ओलीको छवि करिब करिब ‘राष्ट्रिय हास्य अभिनेता’ जस्तो भएको छ । उनको भाषण मानिसहरू यस कारण चाख मानेर सुन्छन् कि त्यसमा हास्य रस छ ।

चुनाव सङ्घारमा आइसकेको छ । एमालेसँग कुनै चुनावी नारा छैन । एउटा हारेको सिपाही फेरी चुनावी महासमरमा होमिँदैछ, जोसँग युद्ध लड्ने नैतिक आधार र भौतिक क्षमतासमेत छैन । ‘कम्युनिष्टको सरकार बनाउँ’ भन्ने नारा दिँदा जनताले पत्यार गर्दैनन्, किनकी दुई तिहाइको कम्युनिष्ट सरकार धान्न ओलीले सकेनन् । सत्ताको घिउ पचाउन नसक्नेले फेरी कुन मुखले घिउ माग्दै जनताको घरघर पुग्ने ?

समृद्धि, सुशासन र स्थायित्वको नारा त ओलीले हनुमन्तेमै बगाइसके। राष्ट्रियताको नाराको अब कुनै औचित्य नै छैन । एमसीसीमा ‘राष्ट्रघात’ देख्नेहरुले ओलीबाट यो नारा खोसिसके । लोकतन्त्रको नारा दिन ओलीलाई सुहाउँदैन, किनकी सत्तामा हुँदा उनले लोकतान्त्रिक मर्म र संवैधानिक सर्वोच्चतामाथि बारम्बार धावा बोलेकै हुन् । सुशासनको नारा फजुल हुने, किनकी ओलीको शासनमा ओम्नीदेखि यतिसम्म, तेत्तीस किलो सुनदेखि सत्तरी करोड घोटालासम्मका काण्ड छताछुल्ल भएकै हुन् ।

पराजित र चुनावी नाराबिहिन एउटा नास्तिक ओलीका लागि भगवान रामको आडमा राजनीति गर्नु बाध्यता हुनसक्छ । तर, भगवानको नाममा राजनीति पनि उसलाई गर्न सुहाउँछ, जो वास्तवमै आस्तिक छ ।

भारतमा भारतीय जनता पार्टीले पनि हिन्दु धर्मकै आडमा राजनीति गरिरहेको छ । हालैको विधानसभा निर्वाचनमा उत्तरप्रदेशबाट योगी आदित्यनाथ पुनः विजयी भएका छन् । उत्तर प्रदेशका ब्राम्हण र हिन्दु मतदाताले भाजपालाई नै जिताए । अल्पसङ्ख्यकहरूको समानताको जातीय राजनीति गर्ने समाजवादीहरुको जोर चलेन । कांग्रेस त धर्म निरपेक्ष भइहाल्यो, अखिलेश यादवहरूले पनि हिन्दु धार्मिक जगमा आधारित भाजपालाई परास्त गर्न सकेनन् ।

भाजपाले हिन्दुत्वका आडमा राजनीति गर्न सुहाउँछ । किनकी, भाजपाका हरेक नेताकार्यकर्तामा हिन्दुत्वलाई जीवनशैली र आचरण बनाउँछन् । योगी आदित्यनाथ गोरखपुर मठका मठाधीश हुन्, जो भगवा वस्त्र लगाउँछन् । गोहत्याको विरोध गर्छन् । प्रधानमन्त्री नरेन्द्र मोदी हरेक बिहान उठेर योग प्राणायाम गर्छन् । दशैँमा नौ दिनसम्म मोदी निरहार र मौन व्रत बस्छन् । मोदीको कुनै महिना त्यस्ता छैनन्, जब उनी भारतका हिन्दु पिठहरुको दर्शनमा नगएको । विभिन्न मन्दिरहरूमा गएर उनी धार्मिक विधि अनुसार पुजा अर्चना गर्छन् । मोदीको पोशाकमा धार्मिक आभा झल्कन्छ, खानपानमा सात्विकपन।

मोदीको धार्मिक र आध्यात्मिक आचरणका कारण हिन्दु धर्मावलम्बीमा उनीप्रति विश्वास जगाएको छ । धर्म र अध्यात्मप्रति मोदीको आभ्यन्तरिक विश्वासलाई जनताले पनि विश्वास गरेका हुन् ।

यदि ओलीले साँच्चै हिन्दुत्वका आडमा चुनावी राजनीति गर्न खोजेका हुन् या मोदी र योगी आदित्यनाथ झैँ नेपालका हिन्दुहरूको नेता हुन चाहेका हुन् भने पहिला उनले हिन्दु धार्मिक र आध्यात्मिक संस्कार र आचरण निर्वाह गर्नुपर्छ । प्रार्थना, ध्यान गर्नुपर्छ । परम सत्यको खोजमा आफूमा मुमुक्षा भाव जगाउनुपर्छ । पदार्थवादी सोच त्यागेर चैतन्यबादी सोचको विकास गर्नुपर्छ । परमसत्ता अस्तित्व स्वीकार गर्नुपर्छ ।
यसो गर्न नसक्ने हो भने, हिन्दुका पुजनीय भगवान रामको जन्म जहाँसुकै भए पनि एउटा नास्तिकले चासो राख्नुको के अर्थ ? जसलाई भगवानप्रति विश्वास नै छैन, उसका लागि भगवानको जन्म पनि त फजुल होला । जब भगवानको जन्म नै हुँदैन भने उसको जन्मभूमिको बखेडा झिक्ने किन ?

हाल्दैछन्, धार्मिक सम्बन्धमा भाँजो

रामको जन्मभूमि भारतको अयोध्या नै हो भन्नेमा नेपालका पनि अधिकांश हिन्दु सहमत छन् । ओलीले उनीहरूको संवेदनामा खेल्ने काम बन्द गर्नुपर्छ । हालै मात्र भारतको अयोध्यास्थित राम जन्मभूमिदेखि नेपालको जनकपुरसम्म ६ लेनको सडक निर्माणको सम्झौता भएको छ । भारतको अयोध्या र नेपालको जनकपुर भनेको दुबै देशबीचको धार्मिक सम्बन्धको बलियो कडी हो ।

भारत र नेपाल धार्मिक रुपमा आपसमा जोडिएका छन् । दुई देशबीचको धार्मिक, आध्यात्मिक र सांस्कृतिक सदभाव बिथोल्ने गरी अप्रमाणित, मनगढन्त र किंवदन्तीका कथाहरू फलाकेर यदि ओलीले ‘अयोध्या कार्ड’ बाट चुनावी लाभ लिन खोजेका हुन् भने त्यो उनको व्यर्थको कसरत मात्र हुनेछ ।

ओलीमा एकखालको अन्ध राष्ट्रवादी चतुरता देखिन्छ । यस्तो राष्ट्रवाद, जुन साँचो राष्ट्रवाद हैन । लामो समयदेखि खोक्रो राष्ट्रवादको मुख्य आधार ‘भारत विरोध’ लाई बनाइयो, अर्थात हाम्रो राष्ट्रियता भारतको विरोधमा निर्भर रह्यो । तर यथार्थ के हो भने गौतम बुद्ध, भगवान राम, सीता, जनक, बाबा गोरखनाथदेखि हालका बाबा रामदेवसम्मको धार्मिक र आध्यात्मिक सम्बन्ध दुबै देशसँग जोडिएको छ । दुवै देशबीचको सामाजिक सम्बन्ध झन प्रगाढ छ । पारिवारिक, आर्थिक, धार्मिक, पर्यटकीय र मानव संसाधनकै सम्बन्ध झन गहिरो छ ।

अहिले करिब ५० लाखभन्दा बढी नेपाली भारतमा कार्यरत छन् । भारतीयहरू पनि नेपालमा रोजगारीका लागि आउँछन् । पशुपतिनाथदेखि विश्वनाथसम्म, मुक्तिनाथदेखि केदारनाथसम्म, देवघाटदेखि हरिद्वारसम्म, रैनादेविदेखि ऋषिकेशसम्म, पाथीभरादेखि वैश्णोदेवी माता मन्दिरसम्म नेपाल र भारतको धार्मिक सम्बन्ध अटुट छ ।

ओलीको राष्ट्रवादले सदा यो सम्बन्धमा तिक्तता घोल्ने काम गर्दै आयो । ओलीले भारतलाई चिढ्याउने खालका अभिव्यक्ति दिदै आए ।
प्रधानमन्त्री हुँदा संसद्मा बोल्ने क्रममा ओलीले भारतको राष्ट्रिय प्रतिक मुनी लेख्ने गरिएको वाक्यबारे टिप्पणी गर्दै भने, ‘भारतको एउटा प्रतीक चिन्ह छ, भारत भनेर चिनिने अशोकाले स्थापना गरेको चारमुखे सिंह । त्यसको मुनि सत्यमेव जयते लेखिएको हुन्छ । सत्यमेव जयते भारतको चिन्ह मुनी छ, विश्वास चाहिँ म गर्छु । म सोध्नेवाला छु, भारतलाई सत्यमेव जयते कि सिंहमेव जयते ?’

यति मात्र हैन, सोही सम्बोधनमा उनले ‘भारतबाट आएको कोरोना भाइरस अलि कडा परेछ’ भनेर भारतलाई चिढ्याए । उनले भनेका थिए, ‘अहिलेसम्म हेर्दा बुहानबाट संक्रमित भएर आएको अलि नरम देखिएको थियो, इटालीबाट आएको पनि नरमै देखिएको थियो, दुबइबाट आएको पनि नरमै देखिएको थियो, तर भारतबाट आएको चाहिँ अलि कडा भाइरस परेछ ।’

जब तत्कालीन नेकपाका नेताहरूले ओलीको स्वेच्छाचारी रवैयाको विरोध गर्न थाले, तब ओलीले त्यसको दोष पनि भारतमाथि नै थोपरे । उनले मदन भण्डारीको जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रममा भनेका थिए, ‘७८ वर्षदेखि खोसिएको जमिन फिर्ता ल्याउन खोज्दा मलाई हटाउन खोजिएको छ । दिल्लीका सञ्चार माध्यमहरूलाई सुन्नुस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँ कहाँ के के भइरहेको छ । यहाँका होटलमा भइरहेका गतिविधिहरू त्यसले पनि देखाउँछ । दुतावासको सक्रियता त्यसले पनि बताइरहेको छ ।’

आफूलाई हटाउन भारत लागेको भन्ने कुरा सांकेतिक रुपमा भनेपछि ओलीप्रति भारतीय पक्ष चिढिनु स्वभाविकै थियो । यसै मेसोमा मात्र नभएर उनले बिना आधार र प्रमाण रामको जन्मभूमि अयोध्या नेपालकै ठोरीमा पर्छ भनेर भारतलाई चिढ्याए । उनले भने, ‘हामी अहिले पनि ठानीरहेका छौं, हामीले भारतका राजकुमार रामलाई सीता दियौं । भारतका हैन, अयोध्याका रामलाई सीता दिएका हौं । अयोध्या भनेको वीरगञ्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो । अहिले खडा गरिएको अयोध्या हैन ।’

ओलीको उक्त भनाइको भारतको सत्तारुढ दल भाजपाका प्रवक्ता र धर्म गुरुहरूले चर्को आलोचना गरे । अहिले चुनावको मुखमा आएर फेरी ओलीले यस्तै आवेगी राष्ट्रवादको आडमा राम जन्मभूमि र अयोध्या कार्ड फालेको छन्, जसले एमाले र ओली स्वयंको हित गर्दैन ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ४ : ४४ बजे

मतदाता भन्छन्– ‘नयाँ भन्दैमा असल र पुरानो भन्दैमा सबै खराब हुँदैनन्’

काठमाडौं- जीवनको हरेक पहिलो अनुभव उत्साहप्रद र कौतुहल हुन्छ ।

अमेरिकामा नेपाली परिवारभित्र विभत्स हत्या: श्रीमती र छोरी मार्नेमाथि गोली प्रहार, एक शिशु सुरक्षित

काठमाडौं – अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा एक नेपाली परिवारभित्र विभत्स

पुर्ख्यौली कालिगड पेसा संरक्षणमा जुट्दै युवा

भोजपुर– आफ्नै ठाउँमा स्वरोजगार सृजना गर्दै पुर्ख्यौली पेसाको संरक्षणमा युवा

‘भ्रष्टाचारमुक्त शासन र निष्पक्ष निर्वाचन हाम्रो प्राथमिकता’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपालको लोकतन्त्र र स्वतन्त्रताको यात्रा

मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा, यात्री धनुषा प्रस्थान

महोत्तरी– मिथिला मध्यमा परिक्रमाका यात्रीले महोत्तरी जिल्लाको यात्रा पूरा गरेका