नेपालमा अमेरिकाविरुद्ध खुलेआम लबिङ गर्दै चीन | Khabarhub Khabarhub

नेपालमा अमेरिकाविरुद्ध खुलेआम लबिङ गर्दै चीन



काठमाडौँ – नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख लिउ चियान्चाओले नेपाल–चीन सम्बन्ध भन्दा अमेरिकासँगको सम्बन्धमा निरुत्साहित गर्नेगरी ‘लबिङ’ गरिरहेको पाइएको छ। उनको भ्रमणको एजेण्डा कूटनीतिक मर्यादाविपरित नेपाल–चीन सम्बन्ध बनाउँनेभन्दा अमेरिकासँगको नेपालको सम्बन्ध बिगार्न र अमेरिकाविरुद्ध भड्काउन प्रेरित गर्ने खालको रहेको पाइएको हो।

परराष्ट्रमन्त्री नारायण खड्काले आइतबार होटल मेरियटमा गरेको रात्रीभोजमा सिधै अमेरिकाको एमसीसी, एसपीपी र इन्डो प्यासेफिकबारे चासो राखेका छन्। चीनले खुलेर नेपालको अमेरिकासँगको सम्बन्धबारे गैरकूटनीतिक दबाब श्रृजना समेत गरेका छन्।

खबरहबले रात्रीभोजमा सहभागी अधिकांस कांग्रेस नेताहरुसंग कुराकानी गर्दा उनीहरुले विदेश विभाग प्रमुख चियान्चाओले अमेरिकासँगको नेपालको सम्बन्धकै विरोधमा अधिकांश समय खर्च गरेको पुष्टि गरे। सहभागी एक नेताले खबरहबलाई बताएअनुसार उनले एमसीसी किन पास गरेको ? चीनले पनि त सहायता दिन सक्थ्यो तर किन लिन चाँसो नदिएको लगायत विषयमा अनावश्यक दबाबपूर्ण सवाल उठाएका थिए।

उनले एसपीपीमा नेपालको सहभागिता भएको छ कि छैन ? अमेरिकाले क्षेत्रैभरी गरिरहेको चीनविरोधी गतिविधिबारे नेपाली नेताहरु जानकार छन् की छैनन ? इन्डो प्यासेफिक अन्तर्गत नेपाल जानु भनेको चीन विरोधी गतिविधिमा लाग्नु हो लगायत तर्क गरेका पनि थिए।

कांग्रेस नेताहरुले नेपाललाई अनुदान चाहिने र एमसीसी चीन विरोधी नरहेको, कांग्रेसकै पालाबाट चीनसँग सम्बन्ध सुरु भएको लगायत उनलाई फकाउँने प्रयास गरेका थिए। चियान्चाओले चीन दिनसक्ने देश रहेको लगायत अप्रत्यक्ष धम्काई अमेरिकासँगको सम्बन्ध थप नलैजान भनेपछि कांग्रेस नेताहरु चकित परेका थिए।

कांग्रेस महामन्त्री गगन थापा, नेता शेखर कोइराला, परराष्ट्रमन्त्री खड्का, डिना उपाध्याय लगायतले पटक पटक आश्वस्त पार्दै बीआरआईमा पनि सहभागी हुने, अनुदान लिने तर कुनै पनि सैन्य संगठनमा नपस्ने लगायतका कुरा राखेका थिए। तर, पनि उनले अमेरिकासँगको नेपालको सम्बन्धलाई लिएर चेतावनीपूर्ण कुरा गरेका थिए। भोजमा लगातार अमेरिकाको मात्र विरोध गरिरहेपछि कांग्रेस नेताहरुले घुमाउरो शैलीमा चीनलाई हानी हुने कुनै काम हुँदैन भनेका थिए। साथै चीनले पनि नेपालका राजनीतिक दलहरूलाई अनावश्यक सल्लाह र सुझाव दिएर भड्काउन नहुने सुझाव दिएका थिए।

त्यस्तै माओवादीले उनको सम्मानमा आयोजना गरेको सोल्टी होटलको रात्रिभोजमा समेत अमेरिका विरोधी तर्क गरिरहेका थिए। चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लुओ चियान्चाओलगायत सात जना चिनियाँ र पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, ऊर्जामन्त्री पम्फा भुसाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, दलका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख कृष्णबहादुर महरा, पूर्व सञ्चारमन्त्री राम कार्कीलगायत २५ जना सहभागिता रहेको भोजमा उनले एसपीपी रद्द गरेको भन्दै प्रचण्डको प्रशंसा पनि गरेका थिए।

उनले त्यहाँ पनि एमसीसी पास गर्नैपर्ने के बाध्यता आइलाग्यो ? इन्डो प्यासेफिक लगायत अमेरिकाको नीति चीन विरोधी गतिविधिमा अमेरिका लागेकाले सावधान हुन भन्दै माओवादी नेताहरुलाई उक्साएका थिए।

उनले नेपाल कुनै पनि सैन्य एलायन्समा जान नहुने तथा अमेरिकासँगको सम्बन्ध बढाउँदा ख्याल गर्न पनि आग्रह गरेका थिए। रात्रीभोजमा सहभागी केही माओवादी नेताहरुले आफुहरु अन्तरआत्मादेखि नै अमेरिकालाई घृणा गर्ने भन्दै उनकै कुरामा सहमति जनाएका थिए। उनीहरुले माओवादीले नै नेपाली राजनीति र सत्ताको साँचो लिएको निर्णायक दल भएकाले कुनै पनि चीनविरोधी गतिविधि र अमेरिकाको बढी संलग्नता रोकिने भन्दै आश्वस्त पारेका थिए।

भोजमा सहभागी माओवादी नेताहरुले भने पछिल्लो समय पनि माओवादी पार्टी बृहत् वाम एकता र एलायन्सको पक्षमा सधै रहेको र अन्य वामपन्थी दलहरु पनि तयार भए हात मिलाउन जुनसुकै बेला तयार रहेको बताएका थिए।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत नेताहरुसँगको औपचारिक भेटमा पनि उनले एमसीसी, एसपीपी र इन्डो प्यासेफिकमा चासो राखेका थिए। साथै एसपीपीमा नजाने निर्णयको स्वागत गर्दै अमेरिकाले चीनविरुद्ध थप गतिविधि गर्न सक्ने भन्दै सचेत रहन आग्रहसमेत गरेका थिए।

त्यस्तै मंगलबार एमालेका शीर्ष नेतासँगको भेटमा समेत उनले त्यही चासो दोहोर्याएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुसँगको भेटमा उनले सो चाँसो दोहोर्याएका हुन् ।

यस्तै चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेतृत्वको प्रतिनिधि मण्डलले एकिकृत समाजवादीका नेताहरुसँगको भेटमा समेत अधिकांश समय अमेरिकाको आलोचनामै खर्चिएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुसँग मंगलबार नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा भएको भेटवार्तामा उनले एसपीपी रोकेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।

एक घण्टा भन्दा लामो छलफलमा उनले वाम एकतामा जोड दिँदै अप्रत्यक्ष रुपमा एकताका लागि दबाबसमेत दिएका थिए । भेटमा उनको भनाई उद्धृत गर्दै एक नेताले खबरहबसँग भने, ‘एकतामा नै बल हुन्छ, त्यसैबाट देशको र कम्युनिष्ट आन्दोलनको पनि हित हुन्छ।’

यता, एसपीपीविरुद्धको प्रायोजित प्रचारमा पनि चीनको हात रहेको सरकारी निष्कर्ष छ। सरकारले अमेरिकाले पठाउँदै नपठाएको पत्र भनी कसरी आयो ? भन्ने विषयमा समेत छानबिन गरिरहेको छ।

गोप्य स्रोतअनुसार प्रारम्भिक रुपमा चीननिटक केही व्यक्तिलाई दस्तावेज चुहाएको निष्कर्ष निकाल्दै चीन सरकारको संलग्नता रहेको नरहेको बारेको वास्तविक जानकारी पत्ता लगाउँने प्रयास भइरहेको छ। यसबारे सरकारमा सहभागी मन्त्रीसँग चाँसो राख्दा उनले पनि यस विषयमा वास्तविकता स्वीकार गरेका छन्।

उनले खबरहबसँग भने, ‘सुरुमा त हामीलाई थाहै भएन। तर, विस्तारै एसपीपी विवाद पछाडि चीनको हात रहेको र अर्गनाइज क्याम्पियन भएको महसुस गरेपछि अहिले विषयवस्तुको अध्ययन गरिरहेका छौं।’ उनले एमसीसीकै विरोधी जमात अहिले एसपीपी लगायत अमेरिकी संलग्नताको विरोधमा रहेकोले पनि चीनले नै उक्साएकोमा कुनै द्विविधा नरहेको स्पष्ट पारे।

एमसीसी रोक्न चीनले नेपालमा प्रदर्शन नै चर्काएको थियो। हालै अवकाशप्राप्त एक प्रहरी अधिकारीका अनुसार चीनले नेपालमा हिंसा नै भड्काएर भएपनि एमसीसी रोक्न चाहेको थियो। जुन सुचना प्रहरीले प्रधानमन्त्री कार्यालयमा पठाएको थियो। नेपाल प्रहरीले एमसीसी पारित गर्ने समयमा केही चिनियाँ कम्पनीहरुमा छापासमेत मारेको थियो।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ११ : १९ बजे

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको