लमजुङ– बेँसीसहर नगरपालिकालाई पशु पूर्णखोपयुक्त पालिका घोषणा गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङद्धारा बुधबार आयोजित कार्यक्रममा बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले पशु पूर्णखोपयुक्त पालिका घोषणा गरेका हुन् ।
भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा. रूपेश श्रेष्ठले बेँसीशहरको ३२ हजार नौ सय ७० पशुहरूमा विभिन्न प्रकारका खोप लगाइएको बताए । बेँसीसहर नगरपालिकामा मात्रै ३७ हजार नौ सय ६३ पशुपालन हुँदै आएको तथ्यांक छ ।
जसमध्ये ८६ दशमलव आठ प्रतिशत पशुमा विभिन्न प्रकारको खोप लगाइसकिएको छ । बेँसीशहरमा एक हजार सात सय ५५ गाई गोरु, चार हजार तीन सय ९ भैंसी, २४ हजार सात सय २७ भेडा बाख्रा, नौ सय ४९ बुंगुर, एक हजार दुई सय ३० कुकुर बिरालोलाई खोप लगाएको कार्यालयको तथ्यांक छ ।
अघिल्लो आर्थिक वर्षबाट जिल्लाका दुई स्थानीय तहमा पशु पूर्ण खोप कार्यक्रम सञ्चालन भएकोमा बेँसीसहर नगरपालिकामा अघिल्लो र चालु आर्थिक वर्षमा यो कार्यक्रम सञ्चालन भएको हो । गत आर्थिक वर्षमा बेँसीशहरसँगै मध्यनेपाल नगरपालिकामा पनि यो कार्यक्रम सञ्चालन भएको थियो । मध्यनेपाल नगरपालिकालाई ३२ असारमा पशु पूर्णखोपयुक्त पालिका घोषणा गर्न तयारी भएको छ ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षबाट सुन्दरबजार नगरपालिकामा पनि कार्यक्रम कार्यन्वयनमा ल्याएको हो । सुन्दरबजार नगरपालिकालाई पनि केही दिनमा मिति तय गरी पशु पूर्ण खोप पालिका घोषणा गर्ने कार्यालयको तयारी छ ।
प्रतिक्रिया