विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज असार २९, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई १३, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

श्रीलंकाली राष्ट्रपति देश छाडेर भागे

श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षे देश छोडेर भागेका छन् । सर्वसाधारणको विरोधपछि ७३ वर्षका राष्ट्रपति राजापाक्षे देश छोडेर भागेका हुन् । उनी स्थानीय समय अनुसार राति ३ बजेतिर माल्दिभ्सको राजधानी माले पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

राजपाक्षेको बिदाईले श्रीलङ्कामा दशकौँसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य भएको मिडियाले उल्लेख गरेका छन् । गत शनिबार राष्ट्रपति निवासमा प्रदर्शनकारीले आक्रमण गरेपछि राजापाक्षे लुकेर बसेका थिए । उनका भाइ पूर्व अर्थमन्त्री बसिल राजापाक्षे पनि देश छाडेको बीबीसीले खबर लेखेको छ ।

उनी अमेरिका जानेक्रममा रहेको समाचारमा उल्लेख छ । आर्थिक संकट चुलिँदै गएपछि त्यहाँ प्रदर्शनकारीको आक्रोश राजापाक्षे परिवारमाथि पोखिएको छ । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार माल्दिभ्सको भेलाना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । माल्दिभियाली सञ्चारमाध्यमलाई उद्धृत गर्दै राष्ट्रपति गोटाबाया राजापाक्षे आफ्नी पत्नी र एक अंगरक्षकसँग एन्टोनोभ–३२ सैन्य विमानमा माल्दिभ्स गएको प्रधानमन्त्रीको कार्यालय स्रोतलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

राजपाक्षले सोमबार आफ्नो राजीनामा पत्रमा हस्ताक्षर गरेका र उक्त राजीनामा पत्र सभामुखलाई बुझाइने र राष्ट्रपतिको राजीनामाको औपचारिक घोषणा संसदबाट गरिने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए ।

यसैबीच श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले बुधबार आपतकालीन अवस्थाको घोषणा गरेका छन् । माल्दिभ्समा राष्ट्रपति गोटाबाया राजपाक्ष गएको खबरपछि सम्भावित हिंसात्मक गतिविधिलाई मध्यनजर गर्दै देशको पश्चिमी प्रान्तमा कर्फ्यु लगाइएको छ ।

प्रधानमन्त्री विक्रेमेसिङ्घेको निवासबाहिर तैनाथ सुरक्षाकर्मीहरूले अश्रु ग्यास प्रयोग गरी प्रदर्शनकारीलाई तितरबितर पारेको समाचारहरूमा जनाइएको छ । विक्रेमेसिङ्घेले दङ्गा मच्चाउनेहरूलाई गिरफ्तार गर्ने ठाडो आदेश पनि दिएको श्रीलङ्काको डेली मिरर पत्रिकाले जनाएको छ ।

श्रीलङ्काको विदेश मन्त्रालयका एक पूर्व सल्लाहकारले भने, ‘हामी प्रधानमन्त्रीको पनि राजीनामा चाहन्छौँ किनकि राष्ट्रपतिले राजीनामा दिएमा हाम्रो संविधानअनुसार प्रधानमन्त्री कार्यवाहक राष्ट्रपति बन्ने छन् । नागरिकले उनीहरू दुवै असफल भएको देखिसकेका छन् । उनीहरू दुवै पदच्युत हुनुको विकल्प छैन ।’

अराजकता कायमै

यसैबीच राजधानी कोलम्बोको टेम्पल ट्रीमा झडप हुँदा कम्तीमा १० जना घाइते भएका छन् । उनीहरूलाई अस्पताल भर्ना गरिएको जनाइएको छ । तीमध्ये छ जनालाई कोलम्बो नेसनल अस्पताल मा भर्ना गरिएको डेली मिररले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ। दुई जना घाइते उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

देशको बिग्रँदै गएको आर्थिक अवस्थाले तनाव बढाएको छ र पछिल्ला केही हप्ताहरूमा इन्धन पसलहरूमा सर्वसाधारण र प्रहरीबीच थुप्रै भिडन्त भएका समाचार सार्वजनिक भएका छन् । शनिबार हजारौं मानिस विरोध प्रदर्शन गर्दै फोर्टस्थित राष्ट्रपति भवनमा प्रवेश गरेका थिए । यसअघि शनिबार सभामुख महिन्दा यापा आबेवर्देनाले पत्रकार सम्मेलनमा राष्ट्रपतिले जुलाई १३ मा आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि विरोध प्रदर्शनका बीच आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले आफूहरू नआएसम्म घर कब्जा गरिरहने स्पष्ट पारेका छन् ।

श्रीलङ्का सन् १९४८ मा स्वतन्त्र भएपछि सबैभन्दा खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । तेल आपूर्ति अभावले विद्यालय र सरकारी कार्यालयहरू अर्को सूचना नभएसम्म बन्द छन्। घरेलु कृषि उत्पादनमा कमी, विदेशी मुद्रा सञ्चितिको कमी र स्थानीय मुद्राको अवमूल्यनले अभाव बढाएको छ । विनिमय सञ्चिति र स्थानीय मुद्राको अवमूल्यनले यो अभाव बढाएको हो ।

यसैबीच, श्रीलंकामा देशव्यापी आपतकाल  घोषणा गरिएको छ । कार्यवाहक राष्ट्रपतिको रूपमा श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले राष्ट्रव्यापी संकटकाल घोषणा गरेका हुन् । राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेको केही घण्टा पछि सम्भावित हिंसाबीच संकटकाल  घोषणा गरिएको हो । राष्ट्रपति गोटाबायाको राजीनामा माग गर्दै राजधानी कोलम्बोमा बिहानैदेखि प्रदर्शन भइरहेका छन् ।

बढ्दो विरोध प्रदर्शनलाई नियन्त्रण गर्न कोलम्बोलगायत पश्चिमी प्रान्तमा अनिश्चितकालीन कर्फ्यु पनि लगाइएको छ । यसैबीच, प्रधानमन्त्रीले हिंसात्मक कार्य गर्नेलाई पक्राउ गर्न सुरक्षा निकायलाई निर्देशन दिएको उनको कार्यालयले जनाएको छ । राष्ट्रपति राजापाक्षेसँगै प्रधानमन्त्रीले पनि राजीनामा दिनुपर्ने माग गर्दै प्रधानमन्त्रीको कार्यालय प्रवेश गर्न खोज्ने भीड तितरबितर पार्न सुरक्षा बलहरूले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेका छन् ।

अहिले प्रदर्शनकारीको संसद् र प्रधानमन्त्रीको कार्यालयतर्फ बढेको प्राप्त विवरणमा जनाइएको छ ।

आबेको अन्त्येष्टि

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको अन्त्येष्टि गरिएको छ । जापानका लोकप्रिय नेता आबेको शुक्रबार चुनावी सभामा भाषण गरिरहेका बेला एक व्यक्तिले गोली प्रहार गरेपछि निधन भएको थियो । गोली प्रहार गरेको व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ४१ वर्षका ती व्यक्तिले घरेलु बन्दुक प्रयोग गरेको पाइएको छ ।

टोकियो टावरमा रहेको जोजोजी मन्दिरमा उनको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिका क्रममा उनकी श्रीमती अकी, जापानका प्रधानमन्त्री फुमियो किशिदा, केही सांसदहरू र विदेशी प्रतिनिधि तथा व्यवसायीका अगुवालगायत सहभागी भएका थिए । सन् १९५४ मा जन्मिएका आबेको ६७ वर्षको उमेरमा निधन भएको हो ।

देशको पश्चिमी क्षेत्रमा पर्ने नारा भन्ने सहरमा चुनावी मन्तव्य दिइरहेका बेला उनको हत्या भएको हो । लिवरल डेमोक्रेटिक पार्टीका शीर्ष नेता समेत रहेका आबेले आफ्नो पार्टीलाई जिताउनका लागि चुनावी सभाहरूमा सम्बोधन गर्दै आएका थिए । आबेको निधन भएपनि पूर्व निर्धारित निर्वाचन भने गत आइतबार नै भएको छ ।

दुःखमा जनतालाई नजिकबाट साथ दिने नेताको छवि बनाएका आबले आफ्नो कार्यकाल बाँकी रहँदै राजीनामा दिएका थिए । आफ्नो अस्वस्थताका कारण पर्याप्त काम गर्न नसकेको भन्दै उनले राजीनामा दिएका थिए ।

उनी सन् १९९३ देखि निरन्तर नौ पटक सांसद भएका थिए । उनले पार्टीमा सामाजिक मामिला विभागको निर्देशक र महासचिवको जिम्मेवारी निर्वाह गरेका थिए सरकारी भूमिकामा मन्त्रिपरिषद्को उप प्रमुख सचिव र प्रमुख सचिव भएर काम गरेका थिए । मन्त्रिपरिषद्मा भने २००५ मा उनले पहिलो पटक सहभागी हुने मौका पाएका थिए ।

उनी पहिलो पटक सन् २००६ मा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । त्यति बेला उनी जापानकै सबैभन्दा कम उमेरका प्रधानमन्त्री बनेका थिए । अस्वस्थताका कारण उनको त्यो कार्यकाल २००७ सम्म मात्रै रह्यो । त्यतिबेला उनलाई आन्द्राको समस्या थियो । त्यसपछि निको भएर फेरि राजनीतिमा फर्केका उनले आफ्नो पार्टीलाई अत्यधिक मतका साथ विजयी गराएपछि सन् २०१२ देखि २०२० सम्म निरन्तर जापानको प्रधानमन्त्री बने ।

उनले पछिल्लो पटक पनि कार्यकाल बाँकी रहेकै बेला अस्वस्थताका कारण सन् २०२० को अगस्ट २४ मा प्रधानमन्त्री पद स्वेच्छाले त्यागेका थिए । आबेले आफ्ना विश्वास पात्र तथा निकटतम सहयोगी योशिहिदे सुगालाई आफ्नो उत्तराधिकारी बनाएका थिए ।

 मलेसियामा दुई हजार ३४५ जनामा कोभिड १९ पुष्टि

मलेसियामा दुई हजार ३४५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यसैसँगै कोरोना शुरुभएबाट हालसम्म कोभिड संक्रमितको संख्या ४६ लाख ७३६ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

त्यहाँ तीन जना बाहिरबाट आएका व्यक्तिमा कोरोना देखिएको हो भने, तीन हजार ३४२ जना स्थानीय व्यक्ति नै रहेका मन्त्रालयले जारी गरेको तथ्यांकले जनाएको छ । त्यस्तै कोरोना संक्रमणको कारण तीन जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको कारण मलेसियामा हालसम्म ३५ हजार ८१९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार गएको २४ घण्टामा दुई हजार ३८४ जना कोरोना मुक्त भएका छन् । कोरोना महामारी शुरु भएयता हालसम्म ४५ लाख २९ हजार २०१ जनालाई कोरोना संक्रमण निको भएको पनि मन्त्रालयले थप जानकारी दिएको छ ।

खाद्यान्नसम्बन्धी वार्ता

रुसी र युक्रेनी अधिकारीहरूले इस्तानबुलमा खाद्यान्नसम्बन्धी वार्ता गर्ने भएका छन् । रुस र युक्रेनबीचको युद्धका कारण खाद्यान्नको मूल्य विश्वव्यापी बढिरहेका बेला बुधबार दुई देशका प्रतिनिधिले टर्कीको इस्तानबुलमा वार्ता गर्न लागेका हुन् । रुसले आफ्नो लाखौँ टन खाद्यान्न चोरेको किभले मस्कोमाथि आरोप लगाउँदै आएको छ ।

गहुँ र अन्य अन्नका लागि युक्रेन विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता हो । तर, ब्ल्याक सीमा रूसी युद्धपोतले युक्रेनी ढुवानी अवरुद्ध गरेको छ । अत्यावश्यक खाद्यान्न व्यापार पुनः सुरु गर्ने प्रयास स्वरुप टर्कीले वार्ता आयोजना गरेको हो । वार्तामा संयुक्त राष्ट्र संघको प्रतिनिधिमण्डल पनि सहभागी हुनेछन् ।

पछिल्ला समयमा युक्रेनविरुद्ध बढी आक्रामक भएको छ । पूर्वी युक्रेनको दोनेत्स्क क्षेत्रलाई रुसी सेनाले निशाना बनाएका छन् । पूर्वी युक्रेनको खेर्सानमा युक्रेनले रुसी हतियार भण्डारलाई ध्वस्त पारेको छ ।

इरानले रुसलाई सयौँ ड्रोन उपलब्ध गराउने योजना बनाएको अमेरिकाको आरोप

इरानले युक्रेन युद्धका लागि रुसलाई सयौँ ड्रोनहरू उपलब्ध गराउने योजना बनाएको अमेरिकाले आरोप लगाएको छ । इरानले रुसी सेनालाई ड्रोन प्रयोग गर्न तालिम दिने तयारी गरिरहेको ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले आरोप लगाएका हुन् ।

इरानले रुसी सेनालाई ड्रोन उपलब्ध गराइसकेको भन्ने विषयमा अझै स्पष्ट भइनसकेको उनले बताए । इरानले अमेरिकाको दाबीलाई पुष्टि र अस्वीकार नगरी युद्धअघि रुससँग प्राविधिक सहयोग भएको जनाएको छ । इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता नासेर कनानी चाफीको भनाई उद्धृत गर्दै इरानको फार्स समाचार एजेन्सीले लेखेको छ, ‘अहिले यो सम्बन्धमा कुनै विशेष विकास भएको छैन ।’

युक्रेन र रुस दुवैको युद्धमा ड्रोनले महत्वपूर्ण भूमिका खेलेको छ । गत हप्ता मात्र युक्रेनले आफ्नो युद्धलाई सहयोग गर्न हजारौँ ड्रोन उपलब्ध गराउन अपिल गरेको थियो ।

भारतमा शिव सेनाले मुर्मूलाई सघाउने

भारतमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा शिव सेनाले राष्ट्रपतिकी उम्मेदवार द्रौपदी मुर्मूलाई सघाउने भएको छ । प्रभावशाली राजनीतिज्ञ उद्धव ठाकरेले नेतृत्व गरेको पार्टीले भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरेको हो ।

भारतमा आगामी जुलाई १८ मा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने तय भइसकेको छ । विद्रोही र सङ्घर्षपूर्ण जीवन बिताएका र महिलालाई राष्ट्रपति बनाउने अवसर भएकाले द्रौपदीलाई समर्थन गर्ने निर्णय भएको नेताहरूले जानकारी दिएका छन् । यसअघिको निर्वाचनमा पनि आफूहरूले महिला उम्मेदवारलाई नै समर्थन गरेको उनीहरूको भनाइ छ ।

राष्ट्रपतिका उम्मेदवारहरू मध्ये मुर्मूलाई समर्थन गर्ने विषयमा पार्टीमा कुनै मतान्तर नरहेको र सर्वसम्मत निर्णय भएको नेताहरूले जानकारी दिएका छन् । मुम्बईमा मङ्गलबार भएको बैठकमा शिव सेनाका सबै सांसदहरुले समेत मुर्मूलाई नै समर्थन गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ८ : ०४ बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र