अघि बढ्यो तीनकुने पुल निर्माण | Khabarhub Khabarhub

अघि बढ्यो तीनकुने पुल निर्माण


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  लामो समयसम्म अलपत्र  रहेको तीनकुनेस्थित बागमती पुलमा नयाँ ठेक्कामार्फत निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ ।

पहिलो पटक निर्माण सुरु भएको झन्डै आठ वर्षपछि पुनःनयाँ प्रक्रियामार्फत निर्माण अघि बढाइएको हो । निर्माण व्यवसायी आफैँले नै डिजाइन गर्ने गरी (डिजाइन एण्ड विल्ड) मार्फत निर्माणका लागि प्रक्रिया अघि बढाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । कूल ४२ महिनामा सम्पन्न गर्ने गरी यसको ठेक्का वाइ/पि/किरातेश्वर जेभीलाई दिइएको छ ।

गत महिना ठेक्का भएकामा अहिले पेश्की दिइएको र कम्पनीले काम सुरु गर्न लागेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए। सो ठेक्काको रकम रु २४ करोड ५९ लाख ६७ हजार रहेको छ । यसअघिको निर्माण कम्पनीले गरेका निर्माणमा केही भाग मात्रै स्वीकार गरिएको उनले बताए । उनले भने, “दुवैतिरको पिलर थोरै मात्रै बाँकी रहन्छ ।”

यसअघि पप्पु कन्सट्रक्सनले निर्माणको जिम्मेवारी लिएको थियो । कम्पनीले गुणस्तरीय काम नगरेपछि सडक विभागले ठेक्का तोडेको थियो । निर्माण कम्पनीबाट जमानत जफत गरिसकिएको सूचना अधिकारी जोशीले बताए। उनका अनुसार नयाँ निर्माणका लागिसमेत कम्पनीले रकम बेहोर्नुपर्ने हुन्छ ।

‘आर्स एन्ड ब्रिज’ प्रविधिबाट निर्माण गर्न लागिएको पुल यसअघि निर्माणको जिम्मेवारी पाएको पप्पु कन्स्ट्रक्सन प्रालीको लापरबाहीका कारण अलपत्र बनेको थियो । सो कम्पनीले डिजाइनभन्दा फरक गरी निर्माण गरेको र त्रुटि सच्याउनभन्दा नमानेकाले त्यसलाई तोडिएको थियो । सो कम्पनीसँगको ठेक्का तोडिएपछि नयाँ प्रक्रिया सुरु गरिएको हो ।

सडक विभागले विसं २०७१ मा तीनकुने पुल र बिजुलीबजारस्थित पुल एउटै समयमा सुरु गरेकामा बिजुलीबजारस्थित धोबीखोला पुल तीन वर्ष पहिलेदेखि नै सम्पन्न भएर सञ्चालनमा छ । तीनकुने पुल पप्पु कन्स्ट्रक्सनसँग रु २१ करोडमा ठेक्का भएको थियो । सो पुल निर्माण व्यवसायीको बेवास्ताका कारण अघि बढ्न सकेको थिएन । विसं २०७५ मा निर्माण सम्पन्न हुनुपर्ने पुल अहिले आएर पुनः निर्माण सुरु गरिएको हो ।

पहिले जसरी नै अहिले पनि निर्माण व्यवसायी आफैँले डिजाइन गर्ने गरी ‘डिजाइन एण्ड विल्ड’ मार्फत निर्माण अघि बढाइएको हो । यसअघि पुल निर्माणस्थलमा खानेपानी, विद्युत्लगायतका संरचना हटाउन समय लागे पनि अहिले त्यो समस्या हटिसकेको छ ।

पुरानो कम्पनीसँगको ठेक्का तोडेर नयाँ ठेक्कामा जान झन्डै एक वर्ष लागेको छ । यसअघि निर्माण व्यवसायीले लापरबाही गरेको भन्दै निर्माणको काम सुरु भएको केही समयमा नै रोकिएको थियो । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पुल निर्माणमा समस्या देखिएको भन्दै त्यसलाई अघि नबढाउन र निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन दिएको थियो । जगको काम हुँदा नै समस्या भएकाले त्यो अघि बढ्न सकेको थिएन । निर्माण कम्पनीले डिजाइनअनुसार काम नगरेको भन्दै सडक विभागले त्यसलाई सच्याउन भने पनि उसले अटेर गरेकाले ठेक्का तोडिएको थियो ।

यसअघि पनि पुल निर्माण कम्पनी आफैँले डिजाइन गर्ने ‘डिजाइन एण्ड विल्ड’ गरी भएको सम्झौता भएकामा अहिले पुनःसोही प्रक्रियाबाट निर्माण अघि बढाइएको हो । यसअघि निर्माणको काम गरेको कम्पनीसँग ठेक्का अन्त्य भएपछि मात्रै नयाँ प्रक्रियामा जान बाटो खुलेको आयोजनाले जनाएको छ ।

यसअघि पुलको निर्माणमा ढिलाइ भएको र भएका काम गुणस्तरीय नभएर सरकारले गत आर्थिक वर्षमा ठेक्का तोडेको थियो । विसं २०७१ पुसमा सडक विभागले सो कम्पनीसँग साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

आयोजनाले काठमाडौँको व्यस्त सडकमा भएको सवारी चाप कम गर्न र सहरको सुन्दरता बढाउन भन्दै ‘आर्स एन्ड ब्रिज’ निर्माण अघि बढाएको थियो । मुख्य सडकका दायाँबायाँ दुई–दुई पुल निर्माण गर्न एउटै निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो । बिजुली बजारस्थित पुल निर्माण सम्पन्न भएर प्रयोगमा आइसके पनि यो पुल निर्माण अघि बढ्न सकेको थिएन ।

नेपालमा नयाँ प्रविधिबाट सो पुल निर्माण गरिने गरी सम्झौता गरिएको थियो । अरू सामान्य पुलमा तल्लो भागमा भार भए पनि यसमा भार माथिल्लो भागमा पर्ने विभागले जनाएको छ । अरू पुलको तुलनामा यसको अवधि लामो हुने विभागले जनाएको छ ।

काठमाडौँ उपत्यकाको सवारी चाप बढिरहेको सडकमा माइतीघर–कोटेश्वर सडक छ । एक दशक पहिले छ लेनमा सडक विस्तार भएको थियो । सडक विस्तार भए पनि त्यहाँ पर्ने धोबीखोला र वाग्मती पुल साँघुरो भएकाले सवारी चाप कम नभएको भन्दै विभागले मुख्य पुलको दुवैतर्फ पुल निर्माणको योजना अघि सारेको हो ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  २ : ५६ बजे

गाजा पट्टीबाट दक्षिणी इजराइलमा करिब २० वटा रकेट प्रहार

जेरुसेलम – इजराइल रक्षा बल (आइडीएफ)ले सोमबार बिहान गाजा पट्टीबाट

आयकर ऐनको दफा ५७ मा रहस्यमय संशोधन, एनसेललाई उन्मुक्ति दिन खोजेको आशंका

काठमाडौं- सरकारले आयकर ऐनको दफा ५७ मा रहस्यमय तरिकाले संशोधन

नेताहरूको दाबी : भोलिसम्म कांग्रेस र एमालेको गठबन्धन सरकार बन्छ

काठमाडौं- नेताहरूले मङ्गलबारसम्म कांग्रेस र एमाले मिलेर गठबन्धन सरकार बन्ने

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं– सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी

आजका समाचार : सत्ता गठबन्धनमा हलचलदेखि एकै समूहबाट ३२ क्वीन्टल सुन तस्करीसम्म

मन्त्रीहरूलाई प्रधानमन्त्रीको ब्रिफिङ– यो गठबन्धन लामै समय जान्छ, तलमाथि हुँदैन