पर्यटकीय पूर्वाधारमा फड्को मार्दै रूपन्देही | Khabarhub Khabarhub

पर्यटकीय पूर्वाधारमा फड्को मार्दै रूपन्देही


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

भैरहवा– भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मावलम्बीको केन्द्र विन्दु हो । लुम्बिनीलाई केन्द्र बनाएर रूपन्देही जिल्लामा पर्यटकीय गन्तव्यको विकास भएका छन् । बुद्धको जन्मस्थल लुम्बिनीबाहेक रूपन्देही जिल्लामा घुम्न अन्य बौद्ध सम्पदास्थलमा बुद्धमावली देवदह र बुद्ध युगको पुरातात्विकस्थल सैनामैना पर्छन् । 

रूपन्देहीमा बौद्ध धर्मसँग सम्बन्धित मात्र नभई ऐतिहासिक, सांस्कृतिक र प्राकृतिकस्थल पनि उल्लेख्य रुपमा रहेका छन् । थारू संस्कृति र विरह गीत, बुटवलको जितगढी किल्ला, सैनामैनाको पर्रोहा धाम, सिद्धबाबा जस्ता धार्मिकस्थल रहेका छन् । प्राकृतिक सम्पदामा गैडहवा ताल, गजेडी ताल, दानो खोला, तेलार खोला लगायतका सुन्दर सिमसार क्षेत्र रूपन्देहीमा छन् । 

नुवाकोट दरवार शिवालिक क्षेत्रमा हल्का हावापानी भएका अन्य रमणीयस्थल पनि छन् । मणिमुकुन्द सेन उद्यानसहित शैक्षिक पार्कहरू रहेका छन् । यति मात्र हैन रूपन्देही तानसेन, पोखरा र मुस्ताङ जस्ता लोकप्रिय हिमाली पर्यटकीय गन्तव्यको प्रवेशद्वारको रूपमा पनि रूपन्देहीलाई मानिन्छ ।

प्राकृतिक रूपले पूर्ण रहेको नेपालमा भारतको गर्मी छल्न प्राय पर्यटक आउने गरेका छन् । पर्यटकको स्वागत, सस्तो मूल्य, वैधानिक जुवाघर (क्यासिनो), स्तरिय होटल, मनोरञ्जनात्मक गतिविधिको कारण पर्यटक भैरहवा तथा यस आसपासमा आकर्षित हुने गरेका छन् ।

 प्राकृतिक, धार्मिक एवं सांस्कृतिक रुपमा धनी रहेको रूपन्देहीमा पछिल्लो समय पर्यटकीय पूर्वाधारहरूको विकासले फड्को मारेको छ । सरकारी क्षेत्रबाट मात्र नभई यहाँका निजी क्षेत्रले पर्यटकीय पूर्वाधारमा लगानी बढेका छन् । जसका कारण यस क्षेत्रको पर्यटकीय सम्भावना अझै बढेर गएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणपछि पर्यटकीय पूर्वाधारमा लगानी बढेको हो । 

बेलहियामा अध्यागमन कार्यालय, पर्यटक सूचना केन्द्र, फराकिलो बाटो, स्तरीय यातायातका साधन, स्तरीय होटलको घुइँचो, पर्यटक भुलाउने स्थल यस क्षेत्रको पहिचान बनेका छन् । पछिल्लो समय भारतीय पर्यटकलाई लक्षित गरी रूपन्देहीमा फनपार्क, क्यासिनो, रात्रिकालीन बजार सञ्चालनको क्रम बढेको छ । 

रूपन्देहीमा ८९ वटा पर्यटकस्तरीय होटल रहेका छन् । यस्तै एक सय ५० भन्दा बढी अन्य होटल रहेका छन् । सिद्धार्थनगर होटल एशोसिएशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठका अनुसार रूपन्देही एकै पटकमा छ हजार बढी पर्यटकलाई धान्न सक्ने क्षमता राख्छ । ‘अहिले यस क्षेत्रको बजार, पर्यटन भारतीय पर्यटकले धानिरहेका छन् ।’ उनले भने, ‘भैरहवा र बुटवल धेरै व्यापार, पर्यटन र मनोरञ्जन गतिविधि गर्ने मुख्य दुई सहर भई सकेका छन् ।’

भैरहवा आसपासका छ वटा क्यासिनो सञ्चालनमा रहेका छ । भैरहवामै दुई वटा वाटरपार्कमा गार्मी मौसममा भारतीय पर्यटकको घुइँचो लाग्ने गरेको छ । यहाँको लुम्बिनी एम्युजमेन्ट पार्कमा एकैदिन दुई हजार पाँच सय बढीलाई सेवा दिएको छ । भैरहवाकै होटल बोधी रेडसनमा रहेको वाटर पार्कले पनि भारतीयलाई लोभ्याउने गरेको छ । 

लुम्बिनी विकास कोषका सूचना शाखाको तथ्याङ्कअनुसार लुम्बिनीमा अगस्ट महिनामा ११ हजार तीन सय ४२ जनाले मायादेवी मन्दिर अवलोकन गरेका छन् । अङ्ग्रेजी वर्षको आठ महिनामा मात्रै लुम्बिनीमा एक लाख १७ हजार सात सय ४८ जनाले अवलोकन गरेको विकास कोषका सूचना अधिकारी हरिध्वज राईले जानकारी दिए । 

निजी क्षेत्र मात्र हैन सरकारीस्तरबाट पनि पर्यटन पूर्वाधारमा लगानी बढाइएको छ । पर्यटकीय गन्तव्य पहिचान, पर्यटकीय स्थलमा पूर्वाधार निर्माणलगायत कार्यले प्राथमिकता पाइरहेका छन् । पर्यटन डिभिजन कार्यालय रूपन्देहीले आव २०७८/०७९ मा रूपन्देहीमा २७ करोड ८९ लाखमा कूल दुई सय १७ पर्यटन पूर्वाधारको योजना बनाएको थियो । निर्वाचन लगायतको कारण १६ करोड ६३ लाख बराबरको एक सय ७० योजना मात्र सम्पन्न गर्न सकिएको कार्यालयका सूचना अधिकारी विनोद पौडेलले जानकारी दिए । यसमा विशेष गरी यस क्षेत्रका धार्मिक एवं पर्यटकीय पूर्वाधारको विकास गरिएको उनको भनाइ छ । 

पर्यटन डिभिजन कार्यालय रूपन्देहीले साविक लुम्बिनी अञ्चलका ६ जिल्लामा काम अगाडि बढाएको छ । सूचना अधिकारी पौडेलले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षमा पनि रूपन्देहीमा मात्र नौ करोड ८५ लाख बराबरको ७१ योजनालाई अगाडि बढाइँदै छ । 

पर्यटन डिभिजन कार्यालयले रूपन्देहीका महिलवारमा ‘बहुसास्ंकृतिक’ सांस्कृतिक ग्रामको अवधारण अगाडि बढाएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको मोतीनगरलाई र पश्चिम नवलपरासी सुनवल नगरपालिकाको केरवानीलाई संयुक्त रुपमा अवध सांस्कृतिक ग्रामको रुपमा अगाडि बढाइएको पौडेलले जानकारी दिए । पहाडी जिल्ला गुल्मीको रिडी क्षेत्र र रुरु क्षेत्र तथा अर्घाखाँचीको सन्धीखर्क नगरपालिकामा खस-आर्य सांस्कृतिक ग्राम निर्माणको काम अघि बढेका छन् । पाल्पाको जन्तीलुङ मरामकोटमा मगर सांस्कृतिक ग्रामको अवधारणा अगाडि बढाइएको उनले बताए । 

यसबाहेक बुटवलमा रहेको जिपलाइन, निर्माणाधीन अवस्थामा रहेको केबलकारले पनि पर्यटकलाई आकर्षित गर्नेछ । रूपन्देहीको पर्यटकीय पूर्वाधारमा सरकारी साथै निजी क्षेत्रले गरेको लगानीको कारण कोभिडका कारण थला परेको पर्यटकीय चहलपहल बढाएको छ । 

–राधेश्याम विश्वकर्मा रासस

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ५ : २४ बजे

छुम्बी लामा बने क्यानको प्रवक्ता

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय सदस्य छुम्बी लामालाई

विकास र समृद्धिका लागि समाजवादी व्यवस्था कार्यान्वयन गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का नवनिर्वाचित अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

बुटवल उपमहानगरको बजेट पारित

लुम्बिनी – बुटवल उपमहानगरपालिकाको पन्ध्रौँ अधिवेशनले आगामी आर्थिक वर्षको बजेट

पत्रकार महासंघको निर्वाचन पुनः स्थगित

काठमाडौं – नेपाल पत्रकार महासंघको निर्वाचन अन्तिम समयमा आएर पुनः

एसिया कप खेल्ने एपिएफका खेलाडीको बिदाइ

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले महिला टी–२० एसिया कपमा