विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

आज भदौ २८ २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर १३, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

अर्मेनिया र अजरबैजानका सैनिकबीच फेरि झडप

ककेशिया पर्वतमालामा अवस्थित दुई मुलुकहरु अजरबैजान र अर्मेनियाका सैनिकबीच फेरि झडप भएको छ । नागोर्नो काराबाख क्षेत्रको सावैभौमिकताका विषयमा दशकौँ यता जारी तनाव साम्य नभइसकेको अवस्थामा दुई मुलुकका सैनिकबीच झडप भएको रुसी समाचार संस्थाहरुले जनाएका छन् ।

‘अजरबैजानी सशस्त्र बलका धेरै स्थानहरु, आवास क्षेत्र र सैनिक गढहरुमा अर्मेनियाली सैनिक दस्ताबाट मोर्टारसहित विभिन्न स्तरका हतियारले गोलाबारी भएको छ ।’ रुसको इन्टरफ्याक्स समाचार संस्थाले अजरबैजानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

‘परिणामस्वरुप मानवीय एवम् सैनिक पूर्वाधारमा क्षति पुगेको छ ।’

अजरबैजानी पक्षले अर्मेनियली सेनाले सोमबार राती सीमाक्षेत्रमा गुप्तचरी गतिविधि गरेको, हतियार तैनाथ गरेको र धराप थाप्ने काम गरेको आरोप लगाएको छ ।

यता अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अर्मेनियाली पक्षले भने ‘ठूलो स्तरमा अजरबैजानी पक्षले उत्तेजना बढाएको परिणामस्वरुप तीव्र गोली हानाहान जारी रहेको’ जनाएको छ ।

‘अर्मेनियाको सशस्त्र बलले सोही स्तरको प्रतिक्रिया थालेको छ ।’ अर्मेनियाको रक्षामन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

अर्मेनिया सरकारले अजरबैजानसँगको तनाव साम्य पार्न रुस सरकार, सामूहिक सुरक्षा सन्धी संगठन र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई आह्वान गरेको इन्टरफ्याक्सले उल्लेख गरेको छ ।

यसका लागि अर्मेनियाली प्रधानमन्त्री निकोल पाशिन्यानले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका साथै फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोँ र अमेरिकी विदेशमन्त्री एन्थोली ब्लिन्केनसँग पनि वार्ता गरेको बताइएको छ ।

अमेरिकी विदेशमन्त्री ब्लिन्केनले तत्काल तनाव अन्त्य गर्न आह्वान गरेका छन् ।

मुसलमान बहुल अजरबैजानको सार्वभौमिकतामा रहेको नागोर्नो काराबाख क्षेत्रमा ईसाइ धर्म मान्ने अर्मेनियालीहरुको बाहुल्यता रहेको छ ।

यही भूभागको सार्वभौमिकताको विषयलाई लिएर बेलाबेला दुई मुलुकबीच तनाव उत्पन्न हुने गरेको छ । यसअघि सन् २०२० मा यी दुई मुलुकबीच ठूलोस्तरमा युद्ध भएको थियो ।

नागोर्नो काराबाखको ठूलो भूभागमा अर्त्साख गणतन्त्र नामक अर्मेनियाली पृथकतावादीको शासन रहेको छ । यद्यपि यस गणतन्त्रलाई अन्तर्राष्ट्रिय मान्यता भने दिइएको छैन ।

६ हजार वर्गकिलोमिटर भूभाग रुसी फौजबाट फिर्ता लिएको जेलेन्स्कीको दाबी

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले यस महिना रुसी सेनाविरुद्धको प्रतिआक्रमणमा ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लिएको छ ।

“सेप्टेम्बरको सुरुदेखि,हाम्रा सैनिकहरूले पूर्व र दक्षिणमा ६ हजार वर्ग किलोमिटर युक्रेनी क्षेत्रलाई मुक्त गरिसकेका छन्। हामी अझ अगाडि बढिरहेका छौं’, जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनमा भने ।

युक्रेनले उत्तरपूर्वी खार्किभ क्षेत्रमा इज्युम, कुपियान्स्क र बालाक्लिया सहरसहित दर्जनौं क्षेत्रहरू पुनः कब्जा गरेको छ ।

पछिल्लो २४ घण्टामा सुरक्षाकर्मीहरूले रुसले कब्जा गरेका २० बस्तीहरू फिर्ता गराएको र ती क्षेत्र अहिले पूर्ण नियन्त्रणमा रहेका युक्रेनी सेनाका एक अधिकारीले बताएका छन् ।

यता युक्रेनको द्वन्द्व प्रभावित पूर्वी र दक्षिणी क्षेत्रहरूबाट गत महिना ७३ हजार भन्दा बढी मानिस विस्थापित भएका युक्रेनी अधिकारीले जनाएका छन् ।

युक्रेनको अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रको पुनर्मिलन मन्त्रालयले दिएको जानकारीअनुसार मुलुकको पूर्वी एवम् दक्षिणी क्षेत्रबाट गत महिनामात्र ७३ हजार मानिसहरु विस्थापित भएका हुन् ।

पूर्वी डोनेट्स्क क्षेत्रबाट एक महिनामा करिब १६ हजार नागरिकहरु विस्थापित भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसका साथै दक्षिणी युक्रेनको खेरसन र जापोरिज्जिया क्षेत्रका रुस नियन्त्रित क्षेत्रबाट ५० हजार मानिसलाई युक्रेन नियन्त्रित क्षेत्रमा सारिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले अनिवार्य निकासीलाई अन्य द्वन्द्वग्रस्त क्षेत्रहरूमा विस्तार गर्न सकिने बताएकी छिन् ।

भारतको सेक्यन्दराबादमा आगलागी, ८ जनाको मृत्यु

भारतको दक्षिणी राज्य तेलङ्गानाको सेक्यन्दराबाद शहरस्थित एउटा होटलमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा अरु सात जना घाइते भएका छन् ।

सोमबार राति भएको आगलागीमा परी घाइते भएकाको स्थानीय अस्पतालमा भर्ना गरिएको तथा केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् ।

दुई वटा तलामा विद्युतीय मोटरसाइकलको प्रदर्शनी कक्ष रहेको बहुतले उक्त होटलमा आगो लाग्दा त्यहाँ राखिएका सबै मोटरसाइकल जलेका छन् । आगलागीको कारण खुलेको छैन ।

स्थानीय वारूणयन्त्रका एक जना अधिकारीले आठ वटा शव होटलको भवनबाट निकालेको र सात जना घाइतेलाई अस्पताल भर्ना गरिएको बताएका छन् । होटल भवनमा मानिस भएनभएको खोजी गरिएको र आगो पूर्णरूपमा निभाइएको उनले बताए ।

न्युजिल्याण्डमा झण्डै २ हजार कोरोना सङ्क्रमित थपिए

कोरोना लहरको प्रारम्भीक चरणमा महामारीको सफल व्यवस्थापन गरेर चर्चा कमाएको न्युजिल्याण्डमा कोभिड १९ बाट पछिल्लो २४ घण्टामा करिब दुई हजार जना सङ्क्रमित भएका छन् ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोभिडबाट पछिल्लो २४ घण्टामा एक हजार नौ सय ४१ जना सङ्क्रमित भएका हुन् ।

मन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार सङ्क्रमण गएका केही हप्ताको तुलनामा अहिले कम हुदै गएको छ । साथै पछिल्लो २४ घण्टामा ४६ जना सङ्क्रमितको मृत्यु भएको पनि बताइएको छ ।

जुलाई महिनाको सुरुको हप्तामा त्यहाँ दैनिक दश हजार जनामा सङ्क्रमण हुने गरेको थियो । तर पछिल्लो समयमा यो सङख्या घट्दै गएको र अहिले आएर दैनिक करिब दुई हजार जनामा मात्र यो सङ्क्रमण भएको पाइएको बताइएको छ ।

त्यहाँ कोभिड १९ महामारी सुरु भएदेखि अहिलेसम्म १७ लाख भन्दा बढीमा यो सङ्क्रमण भएको बताइएको छ । यो सङ्क्रमणबाट हुने मृत्युदरमा भने कमी आएको बताइएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यो सङ्क्रमणबाट हालसम्म एक हजार ९६२ जनाको मात्र मृत्यु भएको छ ।

युक्रेनमा कोभिड १९ बढ्ने डब्लूएचओको अनुमान

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अक्टोबरमा युक्रेनमा कोभिड १९ मा वृद्धि चरम अवस्थामा पुग्ने र सम्भवतः अस्पतालहरूलाई उनीहरूको क्षमताको थ्रेसहोल्डको नजिक ल्याउने जनाएको छ ।

‘हामी अहिले युक्रेनमा कोभिड १९ संक्रमणका घटनामा वृद्धि देखिरहेका छौँ । अक्टोबरको सुरुमा संक्रमण शिखरमा पुग्न सक्छ र अस्पतालहरूले आफ्नो क्षमताको थ्रेसहोल्डमा पुग्न सक्ने हामीले प्रक्षेपण गर्छौं’, तेल अवीवमा डब्लूएचओको युरोपका लागि क्षेत्रीय समितिको सम्मेलनमा डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले भने ।

युक्रेनमा रुसी सेनाको अवरोधतर्फ संकेत गर्दै महानिर्देशक गेब्रेयससले भने, ‘अक्सिजनको अभाव हुने अनुमान गरिएको छ किनभने प्रमुख आपूर्ति स्रोतहरू देशको ओगटेको भागहरूमा छन् ।’

कोभिड १९ र गर्भावस्था, प्रसव, चोटपटक र आघातका जटिलताहरूबाट उत्पन्न हुने अन्य गम्भीर रोगहरू भएका बिरामीहरूका लागि अक्सिजन आवश्यक छ ।

मोदीले पुटिनलाई उज्बेकिस्तानमा भेट्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उज्बेकिस्तानको समरकन्द सहरमा अयोजना हुन लागेको साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुने भएका छन् ।

सोही शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पुटिनसँगै प्रधानमन्त्री मोदीले उज्बेक राष्ट्रपति शावकत मिर्जियोयेभसँग पनि द्विपक्षीय बैठक गर्ने सम्भावना रहेको स्रोतलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उज्बेक राष्ट्रपति शावकत मिर्जियोयेभसँग प्रधानमन्त्री मोदीको द्विपक्षीय भेट लगभग तय भइसकेको जनाइएको छ ।

ती भेटहरू समरकन्दमा एससीओ शिखर सम्मेलनको क्रममा हुने स्रोतले एएनआईलाई बताएको छ । युक्रेनमा जारी सङ्कट सुरु भएयता रुसी राष्ट्रपति र मोदीबीचको यो पहिलो भेटवार्ता हुन लागेको हो ।

युक्रेनमा रुसी आक्रमण सुरु भएयता दुई नेताबीच फोनवार्ता भने भएको थियो । सेप्टेम्बर १४ बाट उज्बेकिस्तानको समरकन्दमा सुरु हुने शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीले अन्य द्विपक्षीय भेटघाट पनि गर्ने समाचारमा जनाइएको छ ।

सम्मेलनमा रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच पनि एससीओ शिखर सम्मेलनका क्रममा भेट हुने सम्भावना छ ।

उज्बेकिस्तानका लागि भारतीय राजदूत मनिष प्रभातले यसअघि प्रधानमन्त्री नरेन्द्र मोदी शिखर सम्मेलनमा सहभागी हुने र धेरै नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने बताएका थिए ।

कोभिड महामारीका कारण दुई वर्षपछि एससीओ सदस्य राष्ट्रका नेताहरुको बैठक बस्न लागेको हो । केही द्विपक्षीय बैठकहरू एससीओको क्रममा हुने सम्भावना रहेको छ ।

साउदी अरबमा ४ करोड ७० लाख चक्की लागूऔषध सहित ८ जना पक्राउ

साउदी अरबमा ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध एम्फेटामाइनसहित आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ६ जना सिरियाली नागरिएक एवम् दुई जना पाकिस्तानी रहेको साउदी अरबको सरकार सञ्चालित साउदी प्रेस एजेन्सीले जनाएको छ ।

साउदी अरबको लागूऔषध नियन्त्रण महानिर्देशनालयका अनुसार रियादस्थित एक गोदाममा छापा मार्दा ४ करोड ६९ लाख १६ हजार ४ सय ८० चक्की एम्फेटामाइन बरामद भएको हो । यसलाई साउदी अरबमा लागूऔषध विरुद्धको कारवाहीमा सबैभन्दा ठूलो सफलताको रुपमा हेरिएको छ ।

पिठोको थुप्रोमा लुकाएर तस्करहरुले उक्त परिमाणको लागूऔषध रियादस्थित सुख्खा बन्दरगाह कटाउन सफल भएको जनाइएको छ ।

खाडी मुलुकहरुमा एम्फेटामाइनको ठूलो स्तरमा कारोबार हुने गरेको बताइन्छ । खासगरी धनाढ्य वर्गका युवाहरुले यसको प्रयोग गर्ने गरेको पाइएको छ ।

रानीले लाउने पहिरन लगाएर प्रदर्शनमा सहभागी भएको आरोपमा थाइल्याण्डमा अभियन्तालाई २ वर्षको जेल सजाय

रानीले लाउने पहिरन लगाएको भन्दै थाइल्याण्डमा एकजना अभियन्तालाई दुई वर्षको जेल सजाय सुनाइएको छ ।

सन् २०२० मा थाइल्याण्डमा भएको प्रदर्शनका क्रममा थाई रानीले लगाउने गुलाबी रंगको पहिरन लगाएको भन्दै २५ वर्षे अभियन्ता जातुपोर्न ‘न्यू’ साएउएङलाई अदालतले दुई वर्षको जेल सजाय सुनाएको हो ।

उनीमाथि सन् २०२० मा राजधानी बैंककमा आयोजित प्रदर्शनका क्रममा रानीले लगाउने पहिरन लगाएको आरोप लागेको थियो ।

यद्यपि उनले यस्तो आरोपको खण्डन गरेकी छिन् । उनले आफूले परम्परागत थाई पहिरन मात्रै लगाएको उनको भनाइ छ । थाइल्याण्डमा राजा, राजपरिवार एवम् राजसंस्थाको आलोचना गर्नेमाथि कठोर सजायको प्रावधान रहेको छ ।

सन् २०१९ मा राजा महा वजिरलङ्कोर्नले थाई शासन सम्हालेयता अभियन्ताहरुलाई चुप लगाउन यस्तो कानूनको प्रयोग हुँदै आएको बताइएको छ ।

सन् २०२० को नोभेम्बर महिनायता २१० जना अभियन्ता एवम् प्रदर्शनकारीहरु यस्तो कानूनअनुसार कारवाहीमा परेको बीबीसीले जनाएको छ ।

रानीले लगाएजस्तो पहिरन लगाउने अभियन्तालाई जेल सजाय सुनाउने अदालतको फैसलाप्रति थाई मानव अधिकारवादीहरुले चर्को आलोचना गरेका छन् । यसअघि अदालतले उनलाई तीन वर्ष सजाय सुनाएकोमा पछि दुई वर्षमा घटाएको बीबीसीले जनाएको छ ।

सन् २०२० को प्रदर्शनमा उनी गुलाबी रंगको परम्परागत पहिरनमा सहभागी भएकी थिइन्, जहाँ उनी रातो कार्पेटमा हिँडेकी थिइन् भने कसैले उनको टाउकोमाथि छाता ओढाएको थियो ।

थाई रानी सुथिदा पनि प्रायः औपचारिक कार्यक्रमहरुमा रेशम कपडाबाट बनेको यस्तै पहिरनमा उपस्थित हुने गरेकी छिन् । यस्ता औपचारिक कार्यक्रमहरुमा पनि रानीको टाउकोमाथि छाता ओढाइने गरिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ८ : ०४ बजे

कलाकार लक्ष्मी श्रेष्ठको निधन

काठमाडौं – कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। । चर्चित

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको

आधुनिक सीपसहित पुरानै पेशामा फर्किए बाजुराका कुमाल समुदाय

धनगढी – बाजुरा बाह्विसका कुमाल जाति फेरि माटोका भाँडा बनाउने

ट्रम्प र पुटिनको वार्ता निष्कर्षविहीन भएपछि रुसद्वारा युक्रेनमाथि भीषण आक्रमण

किभ – रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको

शल्यक्रिया गरेको केही समयमा मृत्यु, आफन्त आन्दोलित

दाङ – दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि