काठमाडौं – आजको व्यस्त जीवनशैलीले मानिसलाई धेरै रोगको सिकार बनाई रहेको छ। यति मात्रै होइन, व्यस्त जीवनशैलीको नकारात्मक असरले पुरै जीवनशैली तनावयुक्त हुन थालेको छ।
व्यस्त जीवनशैली बाहेक सम्बन्ध बिच्छेद, एक्लोपना, विभिन्न कुराको तनाव, जागिर जाने डर जस्ता अनेक कारणले प्यानिक अट्याक हुने सम्भावना अत्याधिक बढेको चिकित्सकले बताएका छन्। सम्बन्ध बिच्छेदको कारणले प्यानिक अट्याकको सिकार बन्न पुगिन् झापाकी सुजता सिरमल। उनको २०७८ सालको असर १६ गते मागी बिहे भयो।
‘सबै कुरा चलेकै थियो, मामाले खोजिदिएको केटा असल नै लाग्यो। एक महिनाको कुराकानीमा नै ओके भनेकी थिएँ’, उनले भनिन्, ‘धुमधामले बिहे त भयो। तर, त्यो खुसी धेरै टिक्न सकेन।’
पारिवारिक रुपमा बुझाई स्पष्ट नहुँदा पनि प्यानिक अट्याकका समस्या बढेको डाक्टरको भनाइ छ। खास गरेर घर परिवारमा एक अर्काको समस्या अरुले सामान्य रुपमा लिँदा पनि घरकै सदस्यलाई गम्भीर समस्या पर्ने गरेको हुन्छ।
बुझाई धेरैको छ।
असारमा बिहे भयो। भदौसम्ममा नै खोजेको जीवनसाथी नपाएको उनले थाहा पाइसकेकी थिइन। ‘भदौ १२ गते राति श्रीमानको मोबाइलमा फोन आयो। म निदाएकी थिएँ। फोनले निन्द्रा खुल्यो। फोनमा भएको कुराकानी नसुने झै गरेँ। साथी बिरामी भएछ भनेर श्रीमान उठेर जानु भयो। फोनमा बोलेको सुनेको थिए, आवाज त केटीको थियो’, उनले भनिन्, ‘त्यो दिन छागाबाट झरे जस्तै भएँ। जे शंका गरेको थिएँ त्यो हुने भयो। विस्तारै शंकाको दायरा बढ्न थाल्यो। मैले सहन नसक्ने गतिविधि बढ्न थाल्यो। अन्नत मैले असोजको पहिलो हप्ता नै डिभार्स मागेँ। खुसी भएर डिभोर्स पनि दिनुभयो।’
त्यसपछि उनीहरुको घर परिवारमा सोचेजस्तो भएन। एकले अर्कोलाई आशंका, अविश्वास सबै बढ्दै गयो। जसका पछाडि प्यानिक अट्याक झन् गम्भीर भएर आयो।
‘मलाई त्यो दिन अदालतबाट बाहिर निस्कदै गरेको याद छ। त्यो पछि अर्कोदिन मात्रै अस्पतालको इमर्जेन्सीमा पुगेको रैछु। मलाई के भएर अस्पताल ल्याएको भनेर पनि सोध्न सकिन’, उनले भनिन्, ‘तीन दिनपछि डाक्टरको मुखबाट सुने प्यानिक अट्याकको समस्याले यस्तो भएको रहेछ। पीडा सहन नसकेर डिभोर्स मागेँ। तर, त्यो डिभोर्सले झन् धेरै पीडा दिएछ।’
यो त प्रतिनिधिमुलक घटना मात्रै हो। पछिल्लो समय हरेक दिन यस्ता समस्या हरेक घरमा भइरहेका छन्। कतिपय सहज देखिन्छन्। कतिपय असहज भएर दुर्घटना भएर निम्तन्छन्।
किन हुन्छ प्यानिक अट्याक ?
अमेरिकाको नेशनल इन्स्टिच्यूट अफ मेन्टल हेल्थमा भएको एक अध्ययनअनुसार प्यानिक अट्याक एक प्रकारको एन्जाइटी डिसअर्डर हो। जसमा कहिलेकाहीँ कुनै प्रकारको डर अथवा फोबिया पनि अट्याकको कारण बन्न सक्छ।
यसबाहेक चिन्ता, उदासीनता, निरासा जस्ता कारणले पनि प्यानिक अट्याक हुन सक्छ। यी समस्यालाई मानिसले मनमा लिन्छन् र तर्सन थाल्छन्। यस्तो अट्याक उनीहरुका लागि वार्निङ सिग्नल हो। प्यानिक अट्याक आउने त्यस्तो विशेष कारण कुनै पनि हुँदैन। तर, यो एन्जाइटीसँग सम्बन्धित हुन्छ।
प्यानिक अट्याक हुने अवस्था
सुतेको समयमा, आराम गरिरहेको समयमा, ड्राइभिङ गर्दा, घुम्न गएको समयमा अथवा अफिसमा काम गरिहेको समयमा पनि प्यानिक अट्याक हुन्छ।
आफ्नो प्रेमीसँगको ब्रेकअपका कारण, सम्बन्ध विच्छेद, आफ्नो नजिक र प्रिय मानिसको मृत्युले आहत अथवा निरास हुनाले पनि प्यानिक अट्याक हुन्छ।
प्यानिक अट्याक जागिर छुट्नाले अथवा छुट्ने डरका कारण पनि हुन्छ। यस्तै दीर्घ रोगले ग्रस्त भएको कारण, महत्वपूर्ण डिल अथवा प्रोजेक्ट रद्ध भएको कारण पनि प्यानिक अट्याक हुन्छ।
जिन्दगीमा भएको कुनै नराम्रो घटनाको कारणले प्यानिक अट्याक बढ्छ। कुनै स्थितिमा मेडिकल कारणले पनि प्यानिक अट्याक आउन सक्छ।
प्यानिक अट्याक हुँदा के गर्ने ?
प्यानिक अट्याक भएको व्यक्तिलाई तुरुन्त खुला ठाउँमा राख्नु पर्छ। उसले लगाएको लुगा खुकुलो गरिदिनु पर्छ। जसले उसलाई सास फेर्न सहज होस्। लामो सास फेर्न लगाउनु पर्छ।
यसो गर्दा प्यानिक अट्याक नियन्त्रण हुन्छ। यसको लागि विस्तारै–विस्तारै एकदेखि पाँचसम्म गन्दै सासभित्र लिने केही समय सास रोकेर राख्ने र विस्तारै–विस्तारै सास छोड्ने गर्नुपर्छ।
केही सेकेन्डको लागि सास रोक्नु पर्छ। टाउकोलाई कहिले थिच्ने र कहिले बायाँतिर घुमाउने गर्नुपर्छ। डाक्टरका अनुसार व्यक्तिको हात समातेर सान्त्वना दिनु पर्छ। १०-१५ मिनेटसम्म पनि पीडितलाई राहत अनुभव भएन भने जतिसक्दो चाँडो डाक्टरकहाँ लैजानु पर्छ। अट्याक भएको समयमा पीडितले आफ्नो ध्यान कुनै एक वस्तुमा केन्द्रित गर्ने कोसिस गर्नु पर्छ। त्यो वस्तुको रंग, डिजाइन र प्याट्रनको बारेमा सोच्नु पर्छ।
लामो सास जस्तै मसल्स रिल्याक्सेशन टेक्निकले पनि प्यानिक अट्याकलाई नियन्त्रण गर्न सहयोग पुर्याउँछ। प्यानिक अट्याक पीडित व्यक्तिलाई चिसो पानी अथवा जीवनजल पिउन दिनु पर्छ। यसले शरीरलाई राहत प्रदान गर्नुको साथै केही समयपछि मुटुको धड्कन सामान्य हुन थाल्छ।
प्यानिक अट्याक हुनबाट बच्न के गर्ने ?
प्यानिक अट्याक भयो भनेर आत्तिने अथवा डराउनुभन्दा पनि यो हृदयाघात होइन भन्ने कुरालाई बुझ्नु आवश्यक छ। प्यानिक अट्याक अस्थायी हो। जुन केही समयपछि हट्छ र सामान्य स्थितिमा आउँछ। आत्तिनुभन्दा यो अट्याकलाई कम गर्ने तरिकामा आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ।
कहिलेकाहीँ प्यानिक अट्याक दुर्घटना, निराशा, हैरानी, उत्तेजना र हारेको महसुस गर्नाले हुने गर्छ। यस्तो अवस्थामा आफ्नो ध्यान ती कुराबाट हटाउने प्रयास गर्नुपर्छ। यस्ता तनावलाई नियन्त्रण गर्नको लागि आँखा बन्द गरेर आफ्नो ध्यान सासमा केन्द्रित गर्नु पर्छ।
डायबिटीजको रोगीले आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउनु पर्छ। समयमा खानपान गर्नुपर्छ। धेरै समय भोकै रहनाले सुगरको स्तर कम हुन्छ, जसको कारण प्यानिक अट्याकका खतरा बढ्न सक्छ।
ब्लड प्रेसर र मुटुको रोगीलाई छटपट हुनासाथ मुटुको धड्कन तीव्र गतिमा बढ्न थाल्छ, पसिना आउने, रिगंटा लाग्ने जस्ता कुराहरु प्यानिक अट्याकका लक्षण हुन्। पीडितको वरपरका व्यक्तिले पनि यी लक्षणहरुलाई ध्यान दिनु पर्छ।
यदि तपाईंको परिवारको सदस्य अथवा साथी–भाइ यस अट्याकबाट पीडित छ भने उसँग धैर्यताका साथ प्रस्तुत हुनुपर्छ। उसलाई कराउने अथवा गाली गर्नु हुँदैन। उसको तनावको स्तरलाई बुझनुपर्छ। तपाईं वरपरका कोही व्यक्तिलाई प्यानिक अट्याक आएको छ भने यस्तो स्थितिमा आत्तिनुभन्दा धैर्यताका साथ काम गर्नुपर्छ, पीडितलाई सहयोग गर्नुपर्छ।
प्रतिक्रिया