कथा : प्रेमयुद्ध | Khabarhub Khabarhub

भ्यालेन्टाइन डे

कथा : प्रेमयुद्ध



भरत गाउँकै एक विद्यालयमा पढ्थ्यो । सानैदेखि देश विदेशका घटनामाथि चासो राख्ने बानी भएकाले ऊ साँझ हुनेबित्तिकै रेडियोमा समाचार सुन्न बाजेसँगै बस्थ्यो ।

‘यो रेडियो नेपाल हो… अब सुन्नुहोस मुख्य खबर रोल्पामा भएको माओवादी र प्रहरीको भिडन्तमा २ प्रहरी मारिए ।’ भरतको मुटुको धड्कन एक्कासि बढ्छ । ‘अब सुन्नुहोस् पूरा खबर रोल्पामा भएको भिडन्तमा २ जना प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा… रहेका छन् ।’ उसको मुटुको धड्कन केही कम हुन्छ ।

लामो सास फेर्दै ‘मेरो बुवालाई चाहिँ केही नभएको रहेछ ।’ बुवाले यो पुलिसको जागिर छोडेको भए पनि हुने, उसले मनमनै सोच्यो, बुवालाई जागिर छोड्नु भनेर चिठी लेखौँ कि, अझ चिठी पुग्ने हो कि होइन । बाटोमै कतै माओवादीको हातमा परेर चिठी खोलिदिए झनै फसाद होला ।

‘यो रेडियो नेपाल हो ….माओवादीको गोली लागेर बैतडीको सदरमुकाम गोठलापानीमा ड्युटीमा रहेका प्रहरीको मृत्यु’ ओहो हाम्रै जिल्लामा माओवादी आइसकेका रहेछन् । भरतका बुवा प्रहरी सेवाबाट अवकाश त पाइसकेका थिए । तर, पनि उसलाई जनयुद्धकै समयमा प्रहरीमा काम गरेका बुवालाई केही गर्ने पो हुन कि भन्ने डर लागिरहन्थ्यो ।

‘बास पाइन्छ होला हजुर’ साँझको झिसमिस अँध्यारोमा आवाज आयो घरको आँगनमा आगो तापेर बसेको भरत झसंग भयो को आए भनेर । कतै माओवादी त आएनन् । ‘म मानबहादुर चन्द, बजार समान लिन गएका थियौँ राति भयो बास बस्न पाइन्छ कि ।’ बाहिर बोलेको आवाज सुनेर भरतका बाजे भित्रबाट आए ‘जदौ राजा साप, कहाँबाट आउनुभो ? पूरै परिवारसँगै हुनुहुन्छ त, चिसो छ आगो ताप्नुस्।’ ए बाजेले चिनेकै रहेछन् भरतको मन हलुको भयो ।

‘हजुर झुक्किनुभो बाहुनको घर पल्लो हो म दिलुवा कामी…’ भरतका बाजेको यो कुरा भुइँमा झर्न नपाउँदै मानबहादुरले भने– ‘होइन हजुर बाहुनको घरमा अरू पाहुना पनि आएका रहेछन् त्यै भएर म त्यहाँ गइनँ आज यतै बस्नेगरी आएको।’ तपाईंले अप्ठ्यारो मान्नुपर्दैन ।

भरत अचम्ममा प¥यो छिमेकका बाहुनले घरको आँगनमा जाँदा पनि छोइछिटो गर्छन् । यी कुन गाउँका रहेछन्, हाम्रो घरमै बस्न आएका छन् । भरतका बाजे पनि अकमम्कमा परेका थिए । ‘राजासाप हाम्रोमा बस्ने व्यवस्था पनि यस्तै छ, हजुरलाई अप्ठ्यारो पो हुने हो कि, फेरि खाना…को समस्या हुने हो ।’ तपाईं चिन्तै नगर्नुस् मचाहिँ खान खान्नँ, भोक पनि छैन । छोरी र २ नाति छन् यिनीहरूलाई खाना तपाईं नै बनाइदिनुस् । मानबहादुरको यो कुरा सुनेर भरतका बाजे अकमक्कमा परे पनि हुन्छ हजुर भन्नुभयो ।

यति भनेर बाजे भित्र पसे, बाजेकै पछिपछि भरत पनि भित्र गयो। ‘यिनका घरमा २-३ वर्ष पहिले गएको थिएँ । यस्ता थिएनन् एक्कासि कसरी बदलिए, पहिले त हाम्रा गाउँका बाहुनभन्दा बढी छोइछिटो गर्थे। बुहारी अलि खान थपेर पकाउ ३ जना पाहुना आएका छन्’ हुन्छ बाजे ।

त्यतिकैमा मानबहादुरकी छोरी पनि भान्छामा पसिन्, ‘भाउजू म पनि सघाऊँ कि खाना पकाउन, म जानकी पल्लो गाउँकी, बजार गएका थियौँ घर पुग्न सकिएन आज यतै बस्छौँ ।’ ए हो, पर्दैन नानी म पकाइहाल्छु बस्नुस् । जानकी भरत बसेकै चटाईमा बसिन् । जानकीले बस्नेबित्तिकै सोधिन्, ‘आरामै हुनुहुन्छ ।’ भरतले भन्यो– ‘अँ ठिक छु अनि तपाईं’ म नि ठिक छु । अनि भाउजू आरामै हुनुहुन्छ? म त तपाईंलाई बजार आउँदा जाँदा देखिरहन्छु तपाईंले चिन्नुभएन ।

भाउजूले नाइँ नानी मैलेत चिनिन त आजै पहिलोचोटि देखेजस्तो लाग्यो । भरतलाई खुल्दुली लाग्यो कतै मलाई पनि पहिले देखेको थिएँ भन्ने पो हो कि भनेर तर उनी भाउजूसँगै नै बोल्न थालिन् ‘था छ भाउजू अचेल हाम्रो गाउँमा त माओवादी आएका छन् नि ।’ हो र नानी डर लाग्दैन। नाइँ भाउजू सुरुमा डर लाग्थो कस्ता होलान् भनेर अचेल त केही डर लाग्दैन हामी जस्तै त हुन्। तर, गाउँमा बसेको दिन पालोपालो खान खुवाउनुपर्छ ।

भाउजू झनै उत्सुक भएर सोध्न थालिन् हो र हामी त हाम्रो गाउँमा पनि आउने हुन कि भनेर डराएका पो थियौँ । होइन भाउजू त्यस्तो केही गर्दैनन् सुरुमा बुवालाई अली डराए हप्काए । ‘किन नानी’ भाउजूले सोधिन्। केही होइन जानकीले भनिन्– बुवालाई पल्लो घरको कपडा सिलाउनेको घरमा खाना खान लगाए । बुवाले मान्नुभएन पछि धम्की दिएपछि खाइहाले अचेल त बुवा केही मान्नुहुन्न । भाउजूले आश्चर्यमा परेजस्तै गरी सोधिन् तपाईं बाहुन हो र ? नाइँ हामी चन्द है ।

भाउजूले प्रश्नमाथि प्रश्न गर्न थालिन् तपाईं हाम्रो घरमा आज खाना खाने हो ? को–को आउनुभएको छ ? जानकीले भनिन् किन नखानु खान्छु नि, अचेल त हामी केही मान्दैनौँ । भाउजूले हास्दै भनिन् हाम्रा गाउँमा पनि यस्तै भए हुने यहाँका बाहुन त खानु त परैको कुरा छोइए पनि छिटा हाल्छन् । ती माओवादी यहाँ पनि आइदिए हुने ।

जानकीले भनिन ‘आइहाल्छन् भाउजू सबै ठाउँमा आइरहेका छन् ।’ छेउमै बसेको भरतलाई पनि जानकीसँग बोल्न मन लागिरहेको थियो । तर, लजालु स्वभावको भरत बोल्न सकिरहेको थिएन । एकैछिन कोठामा सबै शान्त हुन्छन् । यही मैकामा भरत बोल्न खोज्छ । खोकी नलागेर पनि खोक्दै जानकीतर्फ फर्केर भन्छ, ‘माओवादीले गाउँमा अरू के–के गर्छन् ।’ त्यस्तो केही गर्दैनन् आउँछन् आफ्ना कुरा सुनाउँछन्, युद्धमा सबै होमिनुपर्छ भन्छन् ।

युवाहरूलाई आफैँसँग हिँड भन्छन् । जानकीको कुरा सुनेर भरतलाई माओवादी कस्ता हुँदा रैछन् भन्ने झनै कैतुहलता हुन्छ । उसले माओवादीका बाबुराम हिँड्दाहिँड्दै बम बनाउँछन्, भेष बदलेर गाउँमा घुमिरहन्छन् भन्ने सुनेको थियो ।

जानकीले फेरि भनिन् ‘अचेल त मलाई पनि माओवादी राम्रै लाग्छन् । म पनि माओवादी बनौँ भनेर सोच्छु ।’ जानकीको माओवादी बन्ने कुरा सुनेर भरतको मनमा कैतुहलता झनै थपिन्छ । हाम्रो गाउँमा कति छोईछिटो गर्छन् । घरको आँगनमै गए पनि छोईछिटो गर्छन्, स्कुलमा पनि त्यस्तै छ । खाजा आए पनि भाँडा धोएर घोप्टो पार्नुपर्छ । यी माओवादी त हाम्रो गाउँमा आइदिए नि हुने ।

एकाएक भरतलाई माओवादी राम्रा हुन् भन्ने लाग्न थाल्छ, माओवादी त हाम्रै लागि पो रहेछन् । हामीलाई चाहिँ केही गर्दैनन् होला । भरतलाई माओवादीप्रतिको मोह बढे पनि आफैँ माओवादी भएको ठाउँमा जाने हिक्मत थिएन । भरत विद्यालयबाट घर फर्किंदै गर्दा घर नजिकैको चिया पसलमा २ जनाले रोके । ‘तिमी कति कक्षामा पढ्छौ ।’ भरतले भन्यो म १२ कक्षामा पढ्छु । ‘यो चिठी लगेर तिम्रो विद्यालयको प्राचार्यलाई दिनु । अनि यो नखोल्नु, हामी माओवादी है ।’ अलि डराए जस्तो गरेर भरतले सानो स्वरमा हुन्छ मात्रै भन्छ ।

माओवादी त हामीजस्तै पो हुँदा रैछन् । कति बेला आएका रैछन्, के के गरेका रैछन् । अँ यिनीहरूले मलाई मात्रै किन बोलाएर चिठी दिन लगाए । अँ कतै त्यो अस्ति हाम्रो घरमा आएकी जानकी पनि यिनीहरूसँगै त लागेकी छैन । जानकी आएको भए हाम्रो घरमा पक्कै आएकी होली। घर गएर सोध्नुपर्छ ।

घर पुगेर भरतले आफ्नो बाजेलाई सोध्छ ‘बाजे आज हाम्रो घरमा माओवादी आए ।’ अँ आएका थिए २ जना दिउँसो खाना यतै खाएर गए ।’ भरतले सिधै जानकीको बारेमा सोध्न सक्दैन । ‘बाजे कस्ता थिए। कपडा कस्तो लगाएका थिए ।’ २ जना केटा थिए । ३०÷३२ वर्षका जस्ता ।’ ए मैले भेटेकै मान्छे पो रहेछन्, भरत अलि निराश भएरभित्र पस्छ ।

भरतलाई मनमा झनै खुल्दुली बढ्छ । आज आएका माओवादीसँग जानकीको पक्कै केही न केही सम्बन्ध छ नत्र यिनीहरू किन हाम्रै घरमा आए, किन मलाई नै चिठी स्कुलमा दिनको लागि बोलाए । केही खुल्दुली कम गर्न भरत आफ्ना बुवालाई सोध्छ ‘बुवा पसलमा भेटिएका २ जना माओवादीले मलाई चिठी स्कुलमा दिनु भनेर दिएका छन् ।’ हो र यो त समस्याको कुरा भो स्कुलमा चिठी लगेर गए तँलाई पनि माओवादी भनिदेलान् ।

भरतका बुवा नेपाल प्रहरीबाट अवकाश पाएका थिए । उनी जनयुद्धकै बीचमा अवकाश पाएर घर आएका थिए । माओवादीले चिन्ने पो हुन् कि भनेर उनी सधैँ सतर्क रहन्थे। ‘भोलि स्कुलमा गएर चिठी दिनु, कसले दिएको हो भने २ जना बाटोमा भेटेको थिएँ । उनीहरूले दिएका हुन् भन्नु अरू केही नभन्नु ।’

दोस्रो दिन बुवाले भनेअनुसार भरतले स्कुलमा चिठी दिन्छ । ‘यो चिठी त माओवादीको पो रहेछ हाम्रो स्कुलमा आउने रे कार्यक्रम गर्न । त्यही जानकारी दिन चिठी दिएका रहेछन् ।’ प्रिन्सिपलको यो कुरा सुनेर भरतले ‘हो र माओवादीको पो रहेछ।’ भरत थाहा नपाएको जस्तै गरी प्रतिउत्तर गर्छ ।

पीपलको छायामा केही मान्छेको बीचबाट आवाज आउँछ ‘भरत म जानकी’ विद्यालयबाट घर जाँदै गरेको भरत झसंग हुन्छ । ‘के छ आरामै हुनुहुन्छ, घरमा सबै ठिक छन् ।’ म ठिक छु तपाईं आरामै हुनुहुन्छ । ‘म पनि ठिक छु ।’

पहिलो दिन घरमै आउँदा पनि केही बोल्न नसकेको भरतलाई आज मनका कैतुहलता मेटाउन जानकीसँग धेरै कुरा गर्नु थियो । ‘लौ सँगै जाऊँ तपाईंको घरसम्म’ घरसम्मको बाटो १५ मिनेटको मात्रै छ मैले धेरै कुरा गर्नुपर्नेछ के गर्ने होला भन्ने भरत दोधारमा पर्छ । ’हतार के छ र विस्तारै जाऊँ नभए आज नि यतै बसौँ ।’ होइन त्यो दिन त राति परेको थियो आज त धेरै टाइम छ नि घर पुगिहाल्छु ।

जानकीको यो कुराले भरत निराश भए पनि उसले थोरै समयमा पनि केही कुरा सोध्ने निर्णय ग¥यो । ‘सुन्नुस् न अस्ति हाम्रो गाउँमा नि माओवादी आए नि…। म त तपाईं नि आउनुभएको छ भनी सोचेको थिएँ । ‘म किन माओवादीसँग आउला म थोरै माओवादी हो । मैले त त्यो दिन त्यतिकै भनेको माओवादी बन्छु भनेर ।’ हो र ..म अस्तिदेखि तपाईंलाई भेट्न खोजिराथेँ तर तपाईंको गाउँमा आउने आँट नै आएन । तपाईं सामान किन्न बजार कहिले आउनुहुन्छ भनी सोचिराथेँ ।

हो र म पनि आउने भनेको घरबाट आउन दिएनन् आज घरबाट अरू कोही आउने नभएर आएकी । कुरा गर्दागर्दै छुट्टिने ठाउँ आइपुग्छन् । १५ मिनेटको बाटो ५ मिनेटमै सकिए जस्तो लाग्छ भरतलाई । मलाई त अहिलेबाटो कटेको थाहै भएन एकैछिनमा छुट्टिने ठाउँमा पो पुगेछौँ ।

जानकीको यो कुरा सुनेर भरतलाई कुरा गर्न खोजेको तर छुट्टिने ठाउँ आइपुगेकोमा जानकीलाई पनि खिन्नता भएको महसुस गरेजस्तो लाग्छ। ‘यसो गरौँ न आज घर पुगिहालिन्छ म जान्छु, ढिलो पनि भइरहेको छ । म अब १ हप्तामा फेरि आउँछु तपाईंको घरमै बस्ने गरी ।’ अनि जानकी साथीहरू सँगै हिँड्न थाल्छे । भरत भने त्यही रोकिन्छ । जानकी २-४ पाइला अगाडि हिँड्दै फर्केर भरतलाई हेर्न थाल्छिन् । पहाडको डाँडा कट्ने बेलासम्म यस्तै हेराहेर चल्छ अनि भरत घर जान्छ ।

भरतलाई १ हप्ता निकै लामो लाग्छ। कहिले १ हप्ता पुग्छ होला भनी छटपटाइरहन्छ । भरतलाई जानकीसँगको मायामा परिसकेको अनुभूति हुन्छ । अझ झस्किन्छ उता जानकीको मनमा के पो छ । नभन्दै १ हप्तापछि साँझको समयमा जानकी बास बस्न पुग्छे त्यो दिन बुवासँग नभएर आफ्नै भाउजूसँग आएकी थिइन् ।

‘आज पल्लो घरमा बसौ भन्दै हुनुहुन्थ्यो भाउजू मैले हाम्रो सबै कुरा भाउजूलाई सुनाएँ अनि मान्नुभो आउनलाई ।’ हो र भाउजूले केही भन्नुभएन ? अनि हाम्रोबारे के भन्नुभयो नि ? जानकी लजाउँदै ‘आफैँ बुज्नुस् न मैले के भनेँ हुला ।’ खै मलाई के थाहा… अनि भाउजू हाम्रो जातको बारेमा थाहा पाएका छन् ।’

भनिसकेँ मैले अचेल हाम्रो गाउँका सबै क्रान्तिकारी भएका छन् केही मान्दैनन् । हाम्रो गाउँमा अझै यस्तो अवस्था छ, २ घण्टाको दूरीमा रहेको गाउँमा यस्तो होला र जानकीको कुरामा ढुक्क हुन नसकेको भरतले सोध्छ ‘भाउजू त हाम्रै उमेरका जस्तै हुनुहुन्छ उहाँले माने पनि घरका बूढापाखाले मान्दैनन् कि ?’ तपाईं ढुक्क हुनस् न अचेल त हाम्रो गाउँमा जनअदालत छ, मैले त्यहाँ गएर हाम्रो बारेमा भनेँ भने कसैले रोक्न सक्दैनन् ।

भरत र जानकी जनयुद्धको मौकामा आफ्नो प्रेमयुद्धलाई सफल बनाउने योजना बनाइरहेका थिए । जानकीको दृढविश्वास देखेर भरत आफू किन कमजोर हुने भनेर आफूलाई दृढ बनाउने प्रयास गर्छ । भरत मनमनै हाम्रो गाउँमा पनि यस्तो परिवर्तन कहिले आउला भनेर सोचिरहन्छ । ‘तपाईंको कोठामा कोही त आउँदैनन् ।’

नाइँ खाना खाने बेलासम्म बस्नुस् न कोही आउँदैनन् आए नि के भो हामीले के नै गरेका छौँ । जानकी अली भावुक भएजस्तो भएर भन्छिन् अँ साँची तपाईं बिहेका कुरामा पुगिहाल्नुभो तपाईं मलाई माया चाहिँ गर्नु हुन्छ कि नाइँ म त सोध्नै बिर्सेंछु । भरत हास्दै अब यति कुरा अगाडि पुगेपछि पनि म तिमीलाई माया गर्छु भनिरहनुपर्छ र आफैँ बुझे भइगो नि । अनि बिहे चाहिँ कहिले गर्नुहुन्छ नि, जानकीले अर्को प्रश्न गर्छिन् । अब १२ को परीक्षा आउँदै छ । परीक्षा दिएर शहर जान्छु अनि तिमीलाई लान्छु नि हे हे .. .।

मजाक होइन है म सिरियस हुँदै छु, जानकी अलि रिसाए जस्तो गर्छे । नरिसाउन आजसम्म म के होला कसो होला भनेर तनावमा थिएँ । आज त म निकै खुसी भएँ तिम्रो कुरा सुनेर अब तिमी पनि ढुक्क है ।

मैले त १० कक्षासम्म मात्रै पढेँ अगाडि पढ्न गाउँमा स्कुल थिएन। तपाईं पनि १२ कक्षापछि पढ्ने होइन । म पढ्छु नि, पढ्न पनि शहर नै जानुपर्ने त हो मेरो गाउँमा पनि १२ सम्म त हो पढाइ हुने । उतिबेलै भान्साबाट आवाज आउँछ ‘बाबु खाना खान आऊँ पाकिसक्यो ।’ जानकी र भरत भान्सातिर लाग्छन् ।

जनयुद्धको राप बढ्दै थियो । एक दिन भरतको गाउँमा पनि एक समूह माओवादी रातिको समयमा आइपुग्छन् । ढोका खोल है भन्ने आवाजले झस्किएर भरत पनि उठ्छ । बन्दुक सहित ६-७ जना माओवादी घरभित्र पस्छन् संगै छिमेकी बाहुन पनि थिए । के भएको रहेछ भरतले बुझ्नै सकेन । एक्कासि भरतको बुवाको टाउकोमा बन्दुक तेर्छिन्छ । तिमी त पुलिस रहेछौ । भरतका बुवाले डराउँदै भने– ‘हो हजुर तर म अवकाश पाएर आइसकेँ म कुनै पनि युद्धमा सहभागी भएको थिएन ।’

हामीलाई सबै थाहा छ टाउकोमा राखेको बन्दुक तल झार्दै ती माओवादीले भन्छन् ‘हाम्रो सुराकी नगर्नू, चुपचाप लागेर बस्नू ।’ भरतको बुवाले टाउको हल्लाउँदै हुन्छ भन्छन् । अनि उनीहरू आफ्नो बाटो लागे।

बिहान भरतले थाहा पाउँछ छोईछिटो गर्ने भएकाले छिमेकका बाहुनलाई माओवादीले आफूसँग लगेका रहेछन् । भरत मनमनै सोच्छ अब यहाँ पनि परिवर्तन हुन्छ । नभन्दै गाउँमा रातारात परिवर्तन आइसकेको थियो । गाउँको पसलमा चिया, खाजा खाँदा पनि अब पहिले जस्तो भरतले गिलास धुन नपर्ने भइसकेको थियो ।

जनयुद्धमा दैनिकजसो मान्छे मरिरहेको खबर दुःखी हुने भरतलाई भने त्यही जनयुद्धले जोडिदिएको जानकीको सम्झनाले भने केही पीडा कम भएको महसुस हुन्थ्यो । जानकी र आफ्नो सम्बन्धबारे साथीहरूलाई भन्न डराउने भरत अब भने खुलस्त भएर साथीहरूलाई भन्न थालिसकेको थियो ।

भरत गाउँको पढाइ सकेर शहर जाने तयारीमा थियो । बजार आउँदा जाँदा जानकीसँग भेट भइरहन्थ्यो । अब दुवै एक हुने धेरै समय छैन भनेर खुसी थिए । ‘यो रेडियो नेपाल हो… माओवादी र सरकारबीच शान्ति सम्झौता सम्पन्न भएको छ । अब नेपालमा सदाका लागि द्वन्द्व अन्त्य भएको छ ।’ रेडियोको छेउमै बसेका भरतका बाजे ओहो कति राम्रो काम भएछ । अब कोही मर्नुपर्दैन भनेर सबैलाई खुसीको खबर सुनाउन थाले भरतले पनि खुसीमा खुसी साट्यो । अब देशमा शान्ति भयो लौ नातिलाई पनि शहरमा पढ्न ढुक्कसँग पठाइन्छ ।

भरतको शहर जाने समय नजिकिँदै गयो । भरतले एकचोटि जानुभन्दा अगाडि जानकीलाई भेट्ने योजना बनायो । जानकी पहिले जस्तै बजार आउने बेला भरतले जानकीलाई भेट्यो । ‘सुन न म अब १-२ दिनमा शहर जाँदै छु । म अब शहरबाट ६ महिनामा आएर तिमीलाई लान्छु नि ।’

भरतको कुरामा जानकीले खासै प्रतिक्रिया जनाइनन् टाउको मात्रै हल्लाई । ‘अब त तिमीसँग मोबाइल पनि छ । म नि शहर गएर एउटा मोबाइल किन्छु अनि फोनमै कुरा गरौँला है ।’ जानकीले हुन्छ भनिन् र अगाडि बढिन् । भरत जानकीलाई पहाडको डाँडा ढल्किँदासम्म हेरिरह्यो तर जानकी एकपटक पनि पछाडि फर्किनन् । भरत झसंग भयो के भएको रहेछ आज खासै बोलिनन् सायद सञ्चो थिएन कि ?

भरत शहर पुग्यो । शहरमा नयाँ ठाउँमा भरतलाई गाउँको झनै याद आउँन थाल्यो । त्योभन्दा बढी जानकीको । उनले जानकीलाई बाचा गरेअनुसार मोबाइल किन्ने निर्णय ग¥यो । ‘हेलो म भरत, जानकी बोलेको ।’ हो म जानकी बोल्दैछु । आरामै हुनुहुन्छ । ….म पनि ठिक छु ।
दैनिकजसो भरत र जानकीको फोनमा कुरा हुन्थो तर जानकी अँ अँ.. हुन्छ..मात्र भनिरहन्थिन्, पहिले जस्तो उत्साह जानकीको कुरामा देखिँदैनथ्यो । एकदिन जानकीले अबदेखि फोन नगर्नु भनिन् । भरत छाँगाबाट खसेजस्तै भयो । के भयो किन यस्तो भनेकी ।

‘मेरो बिहे अर्कै केटासँग गर्दैछन् घरमा तपाईं र मेरो बारेमा कुरा नै गर्न चाहँदैनन् । ‘अनि पहिले त गाउँमा परिवर्तन भइसक्यो भन्थ्यौ त के भो ?’ जानकीले भन्छिन् त्यो त डरले पो रहेछ अहिले त पहिले जस्तै भइसके नि । अनि तिमी मबिना बाँच्न सक्छौँ र ? भरतले प्रतिप्रश्न गर्छ । ‘बाँच्न त सक्दिनँ तर तपाईंसँग बिहे गरे तपाईंलाई नै मारिदिने कुरा गर्छन् । मलाई डर लाग्छ प्लिज मलाई बिर्सिदेऊ ।’ यति भन्दै फोन काटियो । त्यसपछि भरतले धेरैचोटि फोन लगाउने प्रयास गर्‍यो तर कहिल्यै फोन लागेन ।

भरत शहरमा बस्न सकेन १ हप्ताको बिदा लिएर गाउँ आयो । गाउँमा पुग्नुअगाडि भरतको पुरानो साथी भेटिन्छ । ‘के हो तेरो हुनेवालीको त बिहे भयो त ।’ भरतको आँखाअगाडि अँध्यारो हुन्छ । आफूलाई सम्हाल्न निकै कोसिस गर्छ ।

जसोतसो सम्हालिँदै अगाडि बढ्छ । पहिलोपटक माओवादी भेटेको पसलमा पुग्छ । साहुजी एक कप चिया पाऊँ न । पसलेले चिया भुइँमा राखिदिन्छन् । भुइँबाट उठाएर चिया पिएर उठ्न खोज्छ । पसलेले भन्छन् ‘भाइ त्यो तिमीले खाएको गिलास धोएर जाऊँ ।’ कुनै प्रतिउत्तर नगरी गिलास धोएर भरत घर लाग्छ ।

भरत मनमनै सोच्छ ‘जनयुद्ध सँगै आएका सबै परिवर्तन जनयुद्ध सँगै सकिएछ ।’

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ६ : ४५ बजे

साउदी प्रो लिग : अल हिलाललाई उपाधि

काठमाडौं– साउदी प्रो लिगको उपाधि अल हिलालले जितेको छ ।

स्पेनिस ला लिगा : रियल मड्रिडको फराकिलो जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा उपाधि पक्का गरिसकेको रियल मड्रिडले

सहयोगीलाई रुष्ट बनाउँदै इजरायल

सन् २०२४ को अन्त्यमा अमेरिकामा राष्ट्रपति पदको निर्वाचन हुँदैछ। सो

एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक आज पनि

शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि