स्वास्थ्य–जोखिममा हेलिकप्टरकै सहारा | Khabarhub Khabarhub

स्वास्थ्य–जोखिममा हेलिकप्टरकै सहारा


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक–खानीखोला गाउँपालिका–४ बाँसघारीकी ४० वर्षीया ग्याञ्जमाया लोप्चन गत बिहीबार भीरबाट लडेर सख्त घाइते भए । घाँस काट्न जाँदा लडेर बेहोस् पनि भएपछि तत्काल उपचारका लागि हेलिकप्टरमार्फत उनलाई काठमाडौँ लगियो । महाभारत पर्वत शृङ्खला (डाँडापारी) पारी अवस्थित उक्त गाउँकी लोप्चनको टाउकोमा ठूलै चोट लागेकाले तत्कालै हेलिकप्टरको व्यवस्था गरी उपचारका लागि काठमाडौँ पठाइएको स्थानीयवासी जीवन घिसिङले जानकारी दिए । उनका अनुसार लोप्चनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

‘सख्त बिरामीको उपचारका लागि गाउँमै सम्भव नहुँदा काठमाडौं पठायौँ’ घिसिङले भने । यसअघि गत साउन अन्तिमहप्ता सोही वडास्थित डाँडागाउँका ७० वर्षीया सुन्तामाया जिम्वालाई उपचारका लागि हेलिकप्टरमार्फत धुलिखेल अस्पताल पु¥याइएको थियो । टाउको दुख्ने र हात झम्झमाउने रोगबाट पीडित उनलाई पनि गाउँको कच्ची सडकबाट एम्बुलेन्समा लैजान सम्भव नहुँदा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता भएको थियो । त्यतिबेला उनका आफन्तले रु ७० हजार भाडा तिरेर धुलिखेल पुर्‍याएका थिए ।

गतसालको साउनमा पनि सोही वडास्थित जगथलीको एक गर्भवती महिलालाई पनि हेलिकोप्टरमार्फत नै उद्धार गरिएको थियो । केही दिनदेखिको व्यथाले च्यापेपछि उनलाई अस्पताल लैजाने अन्य विकल्प नभएपछि हेलिकप्टर मगाइएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले बताए ।

‘सख्त प्रकृतिका बिरामी, आकस्मिक उपचार पर्दा तथा वर्षायामका बेला हेलिकप्टरबाहेक अन्य विकल्प छैन’ उनले भने । उता गत भदौमा डाँडापारी अवस्थित महाभारत गाउँपालिका–५ बुढाखानीको २१ वर्षीया गर्भवती अनुशा तामाङको स्वास्थ्यमा समस्या देखिएपछि उपचारार्थ हेलिकप्टरबाट काठमाडौँ पठाइएको थियो । वडाध्यक्ष रवीन मोक्तानका अनुसार लामो ‘व्यथा’ तथा दिसापिसाब रोकिएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभइ स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि हेलिकप्टरको व्यवस्था गरी थापाथलीको प्रसूति गृह लगिएको थियो ।

त्यसबेला वर्षाले कच्ची सडकको विभिन्न स्थानमा क्षति पुर्‍याए पछि सदरमुकामस्थित अस्पतालमा पुर्‍याउन सम्भव नभएका कारण हेलिकप्टर मगाउनु परेको थियोे । ‘निःशुल्क हवाई उद्धार निर्देशिका–२०७७ अनुसार अनुशालाई सेवा उपलब्ध गराइएको थियो’ गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भन्ने । हालसम्म छ गर्भवती तथा सुत्केरीको स्वास्थ्य जोखिममा परेकाले हेलिकप्टरको सहारा लिएको उनले बताए ।

अध्यक्ष जिम्बले भने, ‘लामो कच्ची सडकमा वर्षायाममा बिरामीलाई लैजान कठिन हुने भएकाले डाँडापारीका जनताले आकस्मिक उपचारका लागि हेलिकप्टरकै भरपर्नुपर्छ, अब अस्पताल बन्दैछ केही सुविधा होला कि !’

गतसाल पनि तीन दिनदेखि झाडापखालाले ग्रस्त खानीखोला गाउँपालिका–६ को १७ वर्षीया रञ्जिता थोकरलाई उपचारार्थ अस्पताल लैजान हेलिकप्टरलाई गाउँमै बोलाइए पनि रित्तै फर्काउनु पर्‍याे । विडम्बना, हेलिकप्टर गाउँ पुग्दै गर्दा उहाँको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममै मृत्यु भइसकेको थियो । रञ्जितालाई थप उपचारका लागि काठमाडौँ लैजान परिवार र जनप्रतिनिधिले निर्णय गरे पनि उनी बाँचेनन् ।

वर्षायाममा ग्रामीण भेगका सडक भत्किने र पहिरोले अवरुद्ध पर्दा जिल्लाको दक्षिणी क्षेत्र महाभारत डाँडापारीका बासिन्दाले बिरामी पर्दा हेलिकप्टरको भर पर्नुपर्ने हुन्छ । हेलिकप्टरको भाडा तिर्न नसक्नेले उपचारबाट वञ्चित हुनुपर्ने बाध्यता पनि देखिएको छ । डाँडापारीस्थित टाढाको विकट क्षेत्रका बासिन्दालाई उपचारका लागि अस्पताल पुर्‍याउन थुप्रै रकम लाग्ने भए पनि सडक अवरुद्ध हुँदा हेलिकप्टर निकै सजिलो साधन भएको छ । ‘पहिले पनि समयमै उपचार नपाउँदा केही गर्भवती तथा सुत्केरी महिला र बिरामीको गाउँमै मृत्यु हुन्थ्यो, अहिले स्थानीय तहको सहयोगमा स्वास्थ्य जोखिम भएकालाई केही सहज भएको छ’ अध्यक्ष जिम्बाले भने ।

भौगोलिक विकट्ता तथा मनसुनमा कच्ची सडक अवरुद्ध हुँदा काभ्रेपलाञ्चोकको डाँडापारी क्षेत्रका दुई गाउँपालिका खानीखोला र महाभारतमा हवाई उद्धार गर्नुपर्ने बाध्यता रहँदै आएको छ । हेलिकोप्टरबाट बिरामी÷गर्भवतीको उपचारारर्थ उद्धार गरिए पनि जिल्ला सदरमुकामका अस्पताल लैजान हेलिकप्टर अवतरण गर्न थप व्यवस्थापन गर्नुपर्ने हुँदा काठमाडौं नै लैजानुपर्ने अर्को बाध्यतासमेत रहँदै आएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  २ : ४५ बजे

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । 

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

लमजुङ– मध्यपहाडी लोकमार्गअन्तर्गत मध्यनेपाल नगरपालिका–१० स्थित बिमिरे भञ्ज्याङमा सुक्खा पहिरो

कर्णाली विकास बैंक घोटाला : संस्थापक अध्यक्षसहित तीनजनालाई थुनामा राख्न आदेश

नेपालगञ्ज– नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा

रजनीकान्तको भावुक खुलासा– ‘सहपाठीले भारी बोकाएर अपमान गर्‍याे’

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफ्नो बहुप्रतिक्षित फिल्म ‘कुली’ को

चाँडै पुटिनसँग भेट हुने ट्रम्पको विश्वास

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले रुसी राष्ट्रपति भ्लाडिमिर