भारतीय खेलकुदकी शीर्ष महिलाबारे धेरै बहस हुनसक्छ। पिटी उषा, केरी कोम, साइना नेवाल, पिटी सिन्धु या अन्य कोही। यसै बहसको बीचमा उपस्थित एक व्यक्तित्व मिताली राज। गत साता सन्न्यासको घोषणा गरेकी मिताली राजलाई चिन्नेका लागि उनी भारतीय क्रिकेटकी सबैभन्दा प्रतिष्ठित खेलाडी हुन्। साथै भारतीय खेलकुदकी त्यत्तिकै प्रभावकारी व्यक्तित्व पनि।
२३ वर्षे अन्तर्राष्ट्रिय खेल जीवनमा सबै किसिमको क्रिकेटका लागि उनले ३ सय ३३ पटक भारतको प्रतिनिधित्व गरेकी थिइन्। भारतलाई दुई पटक विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गराउने पहिलो कप्तानको रूपमा कीर्तिमान कायम गरेकी उनले १० हजार ८ सय ६८ रन प्रहार गरेकी थिइन्।
मिताली राजको विशेषता र भारतीय खेलकुदमा रहेको प्रभावलाई पुष्टि गर्न तथ्याङ्कमा आधारित विषय मात्र पर्याप्त हुँदैन। पुरुष क्रिकेटको लोकप्रियताका सामु सबै खेल छायामा पर्ने गरेको भारतमा महिला क्रिकेटलाई कुना कुनामा लैजान मिताली राजको भूमिका महत्त्वपूर्ण थियो। मिताली त्यहीँ व्यक्ति हुन्, जसका कारण अहिले भारतका हरेक महिलाले निलो राष्ट्रिय जर्सी भिरेर क्रिकेट मैदानमा उत्रनुलाई नै आफ्नो लक्ष्य बनाउन थालेका छन्।
‘एउटा किशोरीले भारतीय निलो रङ्गको जर्सी भिर्न पाउनुलाई नै सबैभन्दा ठूलो गर्वको विषय ठान्न थालेका छन्। यो नै मेरो जीवनको सबैभन्दा ठुलो उपलब्धि हो,’ सन्यासको घोषणा पछि ३९ वर्षीया राजले आफ्नै सामाजिक सञ्जालमा उल्लेख गरेकी छन्।
‘यो लामो यात्रा सनसनीपूर्ण रहेको थियो। यस बीचमा केही आरोहअवरोह पनि आए। यसै आरोह र अवरोहका बीचमा मैले धेरै कुराको ज्ञान पनि पाए। मेरो जीवनको यो अवधि रोमाञ्चक, सनसनीपूर्ण र चुनौतीपूर्ण थियो।’
अनुशासन त उनको जीवनको पर्याय थियो। उनलाई यसरी खेलकुदमा लैजाने काम भने उनको अल्छीपनाले गरेको थियो। अल्छी भएकै कारण जाँगरिलो बनाउन मितालीलाई अभिभावकले खेलकुदमा प्रवेश गराएका थिए।
छोरी ढिलासम्म सुत्ने गरेका कारण इन्डियन एयर फोर्समा रहेका बाबु धुरज राजले जोन क्रिकेट एकेडेमीमा पठाएका थिए। छोरा त्यहाँ भएका कारण छोरासँग उनले छोरीलाई पनि पठाएका हुन्।
एकेडेमीमा पनि उनले लामो समय सीमा रेखामा बसेर गृहकार्य गरेर बसेकी हुन्थिन्। यसै बीचमा उनले ब्याट उचालेर अलि कति खेल्ने प्रयास गरेकी थिइन्। उनको यसै सीप देखेर एकेडेमीका प्रशिक्षक ज्योति प्रकाशले अर्का प्रशिक्षक सम्पथ कुमार कहाँ सिफारिस गरेका थिए।
त्यस क्षेत्रका दुई महिला टोलीलाई प्रशिक्षण दिइरहेका कुमारले पनि मिताली राजलाई सिकाउने प्रस्तावलाई सकारात्मक रूपमा लिएका थिए। यस भन्दा अगाडि शास्त्रीय नृत्यमा चासो दिएकी राजको क्रिकेटका चासो बढ्दै गएपछि तीव्र रूपमा प्रगति गर्दै गइन्।
बिहान चार घण्टाको दरले सुरु भएको उनको प्रशिक्षण दैनिक ६ घण्टासम्म हुने गरेको थियो। ब्याटिङमा राम्रा रहेका कुमारले सुरुवाती दिनमा ब्याटको बीच भागलाई प्रयोग गर्न तथा स्टम्प जोगाएर खेल्न सिकेका थिए। उनले भित्ताको छेउमा या गल्लीमा पनि ब्याटिङ गर्न सिकाए। एकदम साँघुरो स्थानको त्यो सिकाइ लक्ष्य ब्याट हातमा समाउने तरिका परफेक्ट बनाउनका लागि थियो।
‘ब्याटिङ गर्दा बलले भित्तामा छोएमा सरले मलाई लट्ठीले हिर्काउनु हुन्थ्यो’, सन् २०१६ को क्रिकेट मन्थलीको अन्तरवार्तामा उनले भनेकी छन्।
पारिवारिक समारोहमा उपस्थित हुनसमेत समय नभएपछि उनलाई परिवारले नै क्रिकेट केटाको खेल भएकाले त्यो त्याग्न भन्न थालिसकेका थिए।
केही समयमा नै उनले आफूलाई प्राविधिक रूपले सबैभन्दा उत्कृष्ट भारतीय ब्याट्सम्यनको रूपमा स्थापित गरेकी थिइन्। भारतीय वरीयता मात्र होइन, विश्व वरीयतामा समेत उनको स्थान लगातार बढ्न थालेको थियो।
१३ वर्षको उमेरमै उनी आन्ध्र प्रदेशको प्रान्तीय टोलीका लागि छनोट भएकी थिइन्। सन् १९९९ मा १६ वर्षको उमेरमा उनले भारतीय राष्ट्रिय टोलीको जर्सी लगाउने मौका पाएकी छिन्। इंग्ल्यान्डको मेन्ट्यस केन्युमा आयरल्यान्डसँगको एक दिवसीय डेब्युमा राजले अविजित १ सय १४ रन प्रहार गरेर धमाकादार अन्तर्राष्ट्रिय खेल जीवनको सुरुवात गरेकी थिइन्।
औसत ५०.६८ को दरले ७ हजार ८ सय ५ रन एक दिवसीय रन प्रहार गरेकी उनले लगातार सात अर्धसतक प्रहार गरेकी छिन्। जुन महिला क्रिकेटको हकमा एउटा कीर्तिमान हो। भारतीय ब्याटिङ लाइनअपकी एउटा महत्त्वपूर्ण अङ्ग भएकी उनी सन् २००५ मा कप्तान भएकी थिइन्। सोही वर्ष भारतले उनकै नेतृत्वमा विश्वकपमा फाइनलसम्मको यात्रा तय गरेको थियो।
उनले यो उपलब्धि दिलाउँदासम्म भारतीय क्रिकेट एमच्योर नै थियो। त्यस समयसम्म पनि एकातिर भारतीय पुरुष क्रिकेटरको नाम, फेम, पैसा र सुविधा सबै कुरा पर्याप्त थियो भने महिला क्रिकेटरको अवस्था फरक थियो। महिला क्रिकेटरलाई सेलीब्रेटीको रूपमा स्वीकार समेत गरिँदैन थियो। त्यो समयसम्म पनि प्रशिक्षणको सुविधा तथा घरेलुस्तरमा महिला क्रिकेटको संरचना खराब नै थियो।
मिताली राजको नेतृत्वमा भारतीय क्रिकेटले एउटा लडाइँ नै लडेको थियो। राजले आवाज उठाउन थालेपछि भारतीय महिला क्रिकेटरले राम्रो सुविधा पाउन थाले। राम्रो प्रशिक्षणको अवस्था पाए। साथै नियमित रूपमा राम्रा टोलीसँग खेल्ने अवसर पनि पाए।
राजले २३ वर्षे अन्तर्राष्ट्रिय खेल जीवनमा १२ टेस्ट खेल खेलेकी छन्। सन् २००२ मा टाउन्टाउनमा भएको इंग्ल्यान्डविरुद्धको खेलमा उनले २ सय १४ रनको शानदार पारी खेलेकी थिइन्। त्यसै पारीका कारण भारतको जित मात्र भएन कि त्यो रन महिला टेस्टमा सबैभन्दा ठुलो व्यक्तिगत स्कोरको कीर्तिमानको रूपमा पनि रहन पुग्यो।
यस पछिका चार वर्षमा पाँच टेस्ट खेलेकी उनले त्यस्तो उल्लेख्य प्रदर्शन भने गरिनन्। एक पटक उनलाई तपाईंको मनपर्ने पुरुष क्रिकेटर को ? भन्ने प्रश्नमा भनेकी थिइन, ‘तपाईंले कहिल्यै पुरुष क्रिकेटरलाई तपाईंको मनपर्ने महिला क्रिकेटरको भनेर सोध्नु भएको छ ?’
२० वर्षे खेल जीवनमा राजले सधैँ महिला क्रिकेटरको आवाजलाई बुलन्द पारिन्। धेरै खेलाडीका लागि उनी ब्याटिङ कलाका मात्र होइन जीवन र समाजलाई हेर्ने दृष्टिकोणका कारण पनि आदर्श पात्र बनिन्।
सन् २०१५ मा भारतीय क्रिकेट बोर्ड अन्तरगत महिला क्रिकेटर रहन थाले। बीसीसीआई भारतको सबै भन्दा धनी खेल संस्था हुनुका बाबजुद सन् २०१६ पछि मात्र महिला क्रिकेटरसँग प्रायोजक सम्झौता भएको थियो। सन् २०१७ मा दोस्रो पटक राजको नेतृत्वमा भारतले विश्वकपमा फाइनलसम्मको यात्रा तय गरेको थियो।
खेलको प्रत्यक्ष प्रसारण भएकै कारण हरेक भारतीय महिला क्रिकेटर त्यस समाजको रोल मोडलको रूपमा स्थापित भएका थिए। लर्ड्समा भएको फाइनलमा भारत ८ रनले पराजित भएको थियो। भारतले उपाधि त जितेन, तर सबैको मन जित्न सफल भयो।
तीनै महान् क्रिकेटर मिथिला राजले संन्यास लिए पछि भारतीय क्रिकेट कता जाने हो प्रतीक्षाको विषय छ। तर, अहिले भारतीय क्रिकेटरको स्टारडम, पाएको प्रायोजन र अभिभावकले आफ्नो छोरीलाई क्रिकेटर बनाउने रुचि जाग्नुमा ती मिथिला राजको प्रेरणादायी जीवन एउटा कारण हो।
धेरै वर्षको खेल इतिहास बोकेको भारतमा थुप्रै प्रेरणादायी महिला खेल व्यक्तित्वको पनि जन्म भएको छ। यी सुचीमा ब्याडमिन्टनकी पिभू सिन्धु र साइना नेवाल, बक्सिङकी मेरी कोम, आर्चरीकी दीपिका कुमारी र चेसकी खुनेरु हम्पी लगायत छन्।
यी महान् खेलाडीको सूचीमा रहेकी राज सदैव भारतीय खेल जगतमा एउटा प्रेरणाको श्रोत हुने छिन्।
स्रोतः बीबीसी, क्रिडनडटकम
प्रतिक्रिया