काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा दोलखा–काठमाडौं उपत्यका सम्पर्क समाजको दोश्रो अधिवेशन उद्घाटन गर्दै लिङदेनले देशमा देखिएको बेथिति अन्त्य गर्न प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली हुनुपर्ने बताएका हुन् । उनले पूर्ण समानुपातिक संसदीय प्रणाली हुनुपर्ने र यसले गर्दा सांसद हुन मतदाता किन्नुपर्ने र प्रधानमन्त्री हुन सांसद किन्नुपर्ने अवस्थाको अन्त्य हुने तर्क गरे । अहिले देश अहिलेसम्मकै अप्ठेरो परिस्थितिबाट गुज्रीरहेको भन्दै नागरिकहरूले ठिक ढंगले निर्णय लिन नसके देशले ठूलो क्षति बेहोर्नुपर्ने उनले बताए । उनले देशलाई दुर्घटनाबाट बचाउन र देशलाई असफल राष्ट्र हुनबाट जोगाउन सबै नागरिकले योगदान गर्नुपर्ने बेला आएको तर्क गरे ।
उनले अहिले नेतृत्वले स्थापित गरेको प्रणाली नै गलत भएको धारणा राखेका थिए ।
प्रतिक्रिया