विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

आज जेठ ३१, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुन १४, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

सुरक्षा फौजको कारवाहीमा भारत प्रशासित कश्मीरमा १ सय विद्रोहीको मृत्यु

यस वर्षको सुरुवातदेखि सरकारी फौजको कारवाहीमा परी भारत प्रशासित काश्मिरमा १०० विद्रोहीको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।

प्रहरीले जारी गरेको संक्षिप्‍त वक्तव्यमा भनिएको छ, ‘यस वर्ष पाँच महिना १२ दिनमा विभिन्न सशस्त्र भिडन्तमा १०० जना आतङ्ककारी मारिएका छन् ।’ प्रहरीका अनुसार गत वर्षको सोही अवधिमा मारिएका आतङ्ककारीको सङ्ख्याभन्दा यो सङ्ख्या दोब्बर हो ।

हालै गत आइतबार प्रहरीले गरेको कारवाहीका क्रममा चार विद्रोहीको ज्यान गएको जनाएको थियो । भारत नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगर शहरमा एक जना विद्रोहीको गोली लागी ज्यान गएको छ भने दक्षिणी पुलवामा जिल्लामा अन्य तीन जनाको मृत्यु भएको छ ।

बेइजिङमा कोरोना सङ्क्रमण रोकिएन

बेइजिङमा पछिल्लो तीन सातामा उच्च संख्यामा दैनिक कोभिड सङ्क्रमित देखिएका छन् ।सङ्क्रमित बढेसँगै राजधानीमा पुनः केही प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । तर, बेइजिङमा साङ्घाईमा जस्तो कडाइ नगरिने जनाइएको छ ।

कठोर प्रतिबन्धपछि साङ्घाईमा केही साताअघि खुकुलो बनाइएको थियो । बेइजिङमा सोमबार एकै दिन ७४ जनामा संक्रमण देखिएको थियो । यो २२ मे पछिकै सबैभन्दा धेरै संख्या हो ।उपप्रधानमन्त्री तथा महामारी नियन्त्रणसम्बन्धी देशका उच्च अधिकारी सुन चुनलानले महामारीलाई सक्दो चाँडो नियन्त्रण गर्न बेइजिङबासीलाई अनुरोध गरेका सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।

फेरि सङ्क्रमण बढेसँगै प्रमुख चिनियाँ सहरहरूमा यसअघि लगाइएका प्रतिबन्ध पुनः लगाउने तयारी भएको छ । सोमबार पुनः सञ्चालनको योजनामा रहेका बेइजिङका विद्यालय खुल्न ढिलाई गरिएको थियो भने सम्पूर्ण खेलकुद प्रतियोगिता रोकिएका थिए ।चीनले अंगीकार गर्दै आएको कोभिड शून्य नीतिका कारण देशले आर्थिक तथा सामाजिक मूल्य चुकाउनु परेको विज्ञहरूले बताउँदै आएका छन् । पूर्वी बेइजिङको चायोयाङ जिल्लामा सोमबारदेखि तीन दिने सामूहिक कोभिड परीक्षण भइरहेको छ ।

कोलम्बियन फौजको कारवाहीमा फार्कका नेताको मृत्यु

ल्याटिन अमेरिकी मुलुक कोलम्बियाको सेनाले कारवाही गर्दा पूर्व छापामार समूहको असन्तुष्ट गुट रिभोलुसनरी आर्म्ड फोर्सेस अफ कोलम्बिया (फार्क) का नेताको मृत्यु भएको छ । मुलुकको दक्षिणपश्चिममा गरिएको सैनिक कारवाहीमा फार्कका नेता मारिएको त्यहाँका राष्ट्रपति इभान डुकले जानकारी दिएका हुन् ।

फार्ककका नेता ‘मेइम्बु’ भनिने लेइडर जोहानी नोस्क्यु बोटोटो मुलुकको दक्षिणपश्चिम क्षेत्रस्थित काकुवा प्रान्तमा पर्ने सुआरेज नगरपालिकाको ग्रामीण इलाकामा रहेको एउटा घरमा अन्य विद्रोहीहरूसँग आफ्नो जन्मदिन मनाइरहँदा सैनिक कारवाहीमा मारिएको जनाइएको छ । उनले जन्मदिन मनाइरहँदा सैन्य गुप्तचरले भेटेका थिए । दाहिने हातमा भएको ट्याटुले उनको पहिचान गरिएको समेत राष्ट्रपति डुकले जनाएका छन् ।

‘मेइम्बुलाई अत्यधिक ‘खतरनाक’ लडाकु नेता मानिन्थ्यो र उनको टाउको इनाम दुई लाख ५० हजार अमेरिकी डलर राखिएको थियो । ‘यो निस्सन्देह फार्क असन्तुष्टहरू विरुद्ध गरिएको सबैभन्दा महत्त्वपूर्ण कारवाहप् मध्ये एक हो, र हामी अगाडि बढ्न जारी राख्नेछौं, हामी दुष्टका प्रतीकहरू जहाँ भए पनि खेलिरहनेछौं । यो कानूनको विजय हो’ डुकले जनाएका छन् । फार्क छापामार समूह २०१६ मा निशस्त्र भएर मूलधारको राजनीतिमा सहभागि भएको थियो । यद्यपि सो समूहका केही विद्रोहीहरूले भने छापामार युद्धलाई निरन्तरता दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बुर्किना फासोमा बन्दुकधारीको आक्रमणमा ५० जनाको मृत्यु

पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोमा बन्दुकधारीको आक्रमणमा परी ५० जनाभन्दा धेरैको मृत्यु भएको छ । बुर्किना फासोको उत्तरमा रहेको सेनो प्रान्तको सेटेङ्गा क्षेत्रमा बन्दुकधारीले आक्रमण गरेको सरकारका प्रवक्तालाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

पश्चिम अफ्रिकामा लामो सयमदेखि हिंसा मच्चाइरहेका इस्लामिक अतिवादी समूहले सो हमला गरेको अधिकारीहरूले बताएका छन् । सन्दिग्ध अतिवादीले सेनो प्रान्तको सेटेङ्गामा नागरिकहरूलाई निशाना बनाएको सरकारी प्रवक्ता वेन्डकौनी जोएल लियोनेल बिल्गोले पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । विशेष गरी उत्तरी बुर्किना फासोमा अल–कायदा र इस्लामिक स्टेट समूहसँग जोडिएका आक्रमणहरू बढिरहेका छन् । सन् २०२१ को जुनमा सोल्हान सहरमा भएको आक्रमणमा जिहादीहरूले कम्तिमा १६० जना मारेका थिए ।

त्यसयता बुर्किना फासोमा लडाकु समूहले सैनिक एवम् सार्वजनिक निशानामा लक्षित गरी आक्रमणहरुलाई निरन्तरता दिइरहेको जनाइएको छ । सरकारले विद्रोहीविरुद्धको लडाइमा एकताबद्ध हुन जनतालाई आग्रह गरेको छ ।

क्यानाडाका प्रधानमन्त्रीलाई दोस्रोपटक कोरोना सङ्क्रमण

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उनलाई दोस्रो पटक कोरोना भाइरसको सङ्क्रमण भएको जनाइएको छ । प्रधानमन्त्री ट्रुडोले आफूलाई दोस्रो पटक कोरोना भाइरस सङ्क्रमण भएको सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिएका हुन् । उनले आफूलाई कोरोना भाइरसको सङ्क्रमण भए पनि त्यस्तो कुनै स्वास्थ्य समस्या भने नदेखिएको बताएका छन् ।

उनले ट्विटमा लेखेका छन्– ‘मैले कोरोना भाइरसका विरुद्धको सबै मात्रा खोप लगाएको छु, त्यसैले मलाई कुनै असर देखिएको छैन । त्यसैले तपाईँहरू पनि सबैले यो खोप लगाउनुहोला ।’गत हप्तामात्र उने अमेरिकाको लस एन्जलस सहरको भ्रमण गरेका थिए । त्यस क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसहित अरु पनि केही अमेरिकी अधिकारीसँग भेटवार्ता गरेका थिए ।

क्यानाडाको प्रधानमन्त्री कार्यालयका अनुसार उनी आइतबार अमेरिकाबाट स्वदेश फर्किएका थिए र सोमबार पूर्व निर्धारित बैठकमा सहभागी भएका थिए । उनलाई कुनै स्वास्थ्य समस्या नदेखिएको भए पनि हाल घरमै एकान्तमा रहने कार्यालयको काम गर्ने जनाइएको छ ।

युक्रेनमा आक्रमण थालेको १ सय दिनमा रुसले इन्धन बेचेर ९८ अर्ब डलर कमायो

युक्रेनमाथि आक्रमण थालेको प्रारम्भिक १ सय दिनमा रुसले इन्धन बेचेर ९८ अर्ब कमाइ गरेको सार्वजनिक भएको छ । फिनल्याण्डस्थित सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयर (सीआरईए) ले सार्वजनिक गरेको शोध प्रतिवेदनअनुसार युक्रेनमा युद्ध सुरु भएयता रुसले कूल ९८ अर्ब डलरको जीवाश्म युद्ध निर्यात गरेको छ ।

यो अवधिमा युरोपेली युनियन इयूले सबैभन्दा धेरै रुसी उर्जा आयात गरेको प्रतिवेदनमा उल्लेख छ । युक्रेन आक्रमणको प्रारम्भीक १ सय दिनमा रुसले युरोपेली युनियनलाई आफ्नो निर्यातको ६१ प्रतिशत इन्धन आपूर्ति गरेको प्रतिवेदनमा उल्लेख छ । यसअनुसार युरोपेली युनियनले रुसबाट ६० अर्ब डलर बराबरको इन्धन आयात गरेको छ ।

रुसले युक्रेनमा आक्रमण थाल्नुअघि रुसले युरोपमा कूल खपतको ४० प्रतिशत तेल र २७ प्रतिशत ग्यास आपूर्ति गर्दै आएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ । यद्यपि हालै युरोपेली युनियनले आधिकांश रुसी तेल आयात कटौती गर्ने एवम् यही वर्षको अन्त्यसम्म रुसी ग्यासको आयातलाई दुई तिहाइले घटाउने कदम चालेको छ ।

भारतमा ६५ सय कोरोना सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट ६५ सयभन्दा बढी सङ्क्रमित देखा परेका छन् । सरकारी अधिकारीहरूले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा छ हजार ५९४ जना नयाँ सङ्क्रमित भएका हुन् । यो सङ्ख्या अघिल्लो दिनको भन्दा १८ प्रतिशत कम भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । अघिल्लो दिन सोमबार सार्वजनिक गरेको विवरणमा आठ हजार ८४ जना नयाँ सङ्क्रमित भएको देखिएका थिए ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने ५० हजार ५४८ रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । सङ्घीय स्वास्थ्य मन्त्रालयले पछिल्लो एक दिनमा चार हजार ३५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको जानकारी दिएको छ । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरूको कुल सङ्ख्या चार करोड २६ लाख ६१ हजार ३७० पुगेको छ ।

चीनलाई उछिन्दै अमेरिका बन्यो भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार

आर्थिक वर्ष सन् २०२१–२२ मा चीनलाई उछिन्दै अमेरिका भारतको सबैभन्दा ठूलो साझेदार बनेको छ । भारतीय व्यापार मन्त्रालयले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार आर्थिक वर्ष सन् २०२१–२२ मा अमेरिका र भारतबीच १ खर्ब १३ अर्ब ४२ करोड डलर बराबरको द्विपक्षीय व्यापार भएको छ ।

अघिल्लो आर्थिक वर्षमा भारत र अमेरिकाबीच ८० अर्ब ५१ करोड डलर बराबरको द्विपक्षीय व्यापार भएको भारतीय व्यापार मन्त्रालयलाई उद्धृत गर्दै भारतीय आर्थिक समाचार पोर्टल इकोनोमिक टाइम्सले जनाएको छ । यसको तुलनामा भारतले चीनसँग आव २०२१–२२ मा १ खर्ब १५ अर्ब ४२ करोड बराबरको व्यापार गरेको छ । अघिल्लो वर्षमा चीन र भारतबीच ८६ अर्ब ४० करोड बराबरको द्विपक्षीय व्यापार भएको जनाइएको छ ।

आर्थिक वर्ष २०२१–२२ मा भारतले अमेरिकातर्फ ७६ अर्ब ११ करोडको निर्यात गरेको छ । त्यस्तै, अमेरिकाबाट भारतले ४३ अर्ब ३१ करोड डलरको सामान आयात गरेको जनाइएको छ ।

सुडानको डार्फरमा हिंसा रोकिएन

अफ्रिकी मुलुक सुडानको डार्फर क्षेत्रमा पछिल्लो एक हप्तामा झण्डै १०० मानिस मारिएका छन् । संयुक्त राष्ट्रसङ्घीय निकायले सार्वजनिक गरेको विवरणअनुसार सुडानको पश्चिमी डार्फर क्षेत्रमा हिंसात्मक आक्रमणमा १ सय भन्दा धेरै मानिस मारिएका हुन् । डार्फरको कुल्बुसमा लामो समयदेखि हिंसात्मक घटना हुँदै गएकाले त्यसैमा परेर उनीहरुको मृत्यु भएको राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी निकायले जनाएको छ ।

स्थानीय अरब लडाकुले विभिन्न गाउँमा आक्रमण गर्दै आएका छन् । निरन्तर आक्रमणका कारण हजारौँ मानिस विस्थापित पनि भएको जनाइएको छ । राष्ट्रसङ्घीय अधिकारीले हिंसात्मक घटना निरन्तर भइरहेकाले मानवीय क्षति पनि भइरहेको बताएका छन् । उनीहरुले हिंसा अन्त्य गर्नेगरी तत्काल समस्या समाधानका उपाय खोज्न पनि सरोकारवालालाई आग्रह गरेका छन् । जनताको जीवन रक्षाका लागि स्थानीय अगुवा, अधिकारप्राप्त व्यक्ति, सुरक्षाकर्मीलगायत सबैले ध्यान दिनुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् ।

डार्फर क्षेत्रमा सन् २००३ देखि गृह युद्ध भइरहेको छ । तत्कालिन राष्ट्रपति ओमर अल बशिर विरुद्ध सुरु भएको द्वन्द्व अहिले पनि चलिरहेको छ । राष्ट्रपति बशिरलाई भने सन् २०१९ को अप्रिलमा अपदस्थ गरिएको थियो । त्यसपछि भएका विभिन्न सहमती तथा सम्झौता पालना नभएकाले द्वन्द्व चलिरहेको बताइएको छ ।

श्रीलङ्कामा शुक्रबार पनि सार्वजनिक बिदा

श्रीलङ्काले कृषि प्रवर्द्धनका लागि भन्दै शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । देशको कृषि उत्पादन बढाउन र कृषिकर्मलाई प्रोत्साहन गर्न मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई शुक्रबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई हप्तामा चार दिनमात्र काम गर्नुपर्ने व्यवस्था गर्नका साथै वैदेशिक रोजगारीमा जानचाहनेहरूका लागि पाँचवर्षसम्म बेतलबी बिदा दिने निर्णय पनि गरेको छ ।

तीन दिन कार्यालयमा काम नगर्ने गरी सार्वजनिक क्षेत्रका कर्मचारीलाई देशमा उत्पादन बढाउने कृषि कर्ममा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले शुक्रबार पनि सार्वजनिक बिदाको व्यवस्था गरिएको’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले हालै आफ्नो देशले चरम खाद्यान्न अभावको सामना गरिरहेको बताएका थिए । स्थानीय विज्ञहरूले पनि अत्यावश्यक खाद्यवस्तुको उत्पादन कम भएकाले आगामी सेप्टेम्बरदेखि चामल र अन्य खाद्यवस्तुको अभाव हुने चेतावनी दिएका छन् ।

 

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ७ : ५९ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने