ब्रेकिङ स्टोरी

दिनभरका समाचार: अर्थमन्त्री शर्माको राजीनामा माग, मूल्यवृद्धिको विरोधमा प्रदर्शन

By खबरहब

June 14, 2022

काठमाडौँ– नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताका विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको स्पष्टीकरण चित्त नबुझेपछि एमालेले यस बिषयमा संसदीय समिति गठनको माग गरेको हो । बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री शर्मामाथि छानबिन समितिको माग गर्दै संसदीय समिति गठन नभएसम्म संसद् चल्न नसक्ने बताए ।

विभिन्न व्यापारिक घरानालाई फाइदा हुने गरी करको दर हेरफेर भएको आरोप उनले लगाए । उनले कर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गर्नु राष्ट्रघात र ठूलो वित्तीय अपराध भएको जिकिर गरे । त्यसअघि बैठकमा अर्थमन्त्री शर्माले बजेट तथा आर्थिक विधेयक तर्जुमा प्रक्रिया अन्तर्गत नै रहेर बनाइएको दाबी गरेका थिए ।

एमालेद्धारा अर्थमन्त्री शर्माको राजीनामा माग

प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको सुरुमै एमाले उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले करको दर हेरफेरका बिषयमा प्रश्न उठेपछि नैतिक रुपमा अर्थमन्त्री पदमा बस्न नमिल्ने भन्दै राजीनामा दिनुपर्ने बताएका छन् ।

गम्भीर विषयको गम्भीरताका साथ प्रश्न खडा गरिसकेपछि अर्थमन्त्रीले आएर संसदमा यसका बारेमा प्रस्ट नपार्नु आपत्तिजनक कुरा भएको उनले बताए । उनले करको विषय ज्यादै गोपनीयता र राष्ट्रिय सुरक्षा जस्तै विषय भएकाले सो बिषयमा छानबिन हुनुपर्ने माग गरे । पाण्डेले करका दरमाथिको छलफल चलिरहेको बेलामा मन्त्रीलाई बाहेक कसैलाई फोन राख्ने अधिकार नभएको र सचिवका टेलिफोन दराजमा राखेर छलफल गर्ने चलन रहेको धारणा राखे ।

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शुरु

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आजबाट शुरु भएको छ । पार्टी कार्यालय तीनकुनेमा बसेको बैठकमा सचिवालयले तयार गरेको निर्वाचन सम्बन्धी समीक्षा प्रतिवेदन पेस गरिएको छ ।

बैठकमा पार्टी अध्यक्ष माधव नेपाल र सम्मानीत नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनपछिको अवस्था र रणनीतिक योजनाका बारेमा धारणा राखेका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

बैठकले अबको राजनीतिक कार्यदिशाबारे धारणा तय गर्ने उनले बताए । बैठकपछि नेकपा समाजवादीका सम्मानित नेता झलनाथ खनालले ५ दलको बीचमा सम्मानजनक तालमेल नभएका कारण निर्वाचनमा अपेक्षित परिणाम आउन नसकेको बताए ।

मुलुकको हित विपरीतको काम नगर्न प्रधानमन्त्रीलाई एमाले नेता रावलको सुझाव

नेकपा एमालेका नेता भीम रावलले मुलुकको हित विपरीत काम नगर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई सुझाव दिएका छन् । संसद भवनमा आज सञ्चारकर्मीसँग कुरा गर्दै रावलले स्वेच्छाचारी ढंगले मुलुकको हित विपरीतको काम गर्न खोजेको भन्दै यस्तो काम बन्द गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् ।

रावलले सैनिक शक्ति राष्ट्रको पछि लाग्ने जनादेश प्रधानमन्त्रीलाई नभएको भन्दै श्रीमती आरजु राणालाई समेत भारतसँग उर्जा जिएससँग वार्ता गर्न लगाएको आरोप लगाए । अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को मस्यौदामा नेपाललाई हस्ताक्षर गर्न दबाब दिएको र यो नेपाललाई एउटा कुनै देशको सैनिक अखडाको रुपमा परिणत गर्ने षडयन्त्र भएको उनले बताए ।

आयोगले मतदाता नामावली संकलन असार १ गतेदेखि सञ्चालन गर्ने

निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ । आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लक्षित गरी आयोगले नामावली संकलन तथा अद्यावधिक कार्य अघि बढाउन लागेको हो ।

कुनै पेशा, व्यवसाय वा अन्य कुनै कारणले एक जिल्लामा बसोबास गरिरहेका नागरिकले उसको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाबाट दर्ता गर्न सक्ने व्यवस्था गरेको आयोगले जनाएको छ ।

भारतबाट ८० लाख मेट्रिक टन मल असारसम्म आइपुग्ने कृषि मन्त्री यादवको भनाइ

कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले भारतबाट ८० लाख मेट्रिक टन मल असारसम्म आइपुग्ने र मल अभाव नहुने बताएका छन् । प्रतिनिधिसभा बैठकमा कृषि मन्त्रालयको विनियोजन बजेटमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले १४ हजार मेट्रिक टन मल मौज्दात रहेको र असारसम्ममा ८० लाख मेट्रिक टन मल आइपुग्ने बताएका हुन् ।

उनले स्वदेशमै रासायनिक मल कारखाना स्थापनाका लागि बजेट छुट्याइएको र लगानी बोर्डमा समेत छलफल अघि बढेको समेत दाबी गरे ।

पुस्तक छपाइ नियमित रुपमा हुन थालेको छ: मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुस्तक छपाइ नियमित रुपमा हुन थालेको दाबी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गतको छलफलका क्रममा सांसद्हरुले राखेका जिज्ञासामाथि जवाफ दिँदै उनले रुस र युक्रेन युद्धका कारण कागज आपूर्तिमा प्रभाव पर्दा छपाइमा केही ढिलाइ हुन गए तापनि मन्त्रालयको नियमित अनुगमन तथा निर्देशनका कारण पुस्तक छपाइ नियमित रुपमा हुन थालेको बताए ।

मन्त्री पौडेलले सरकारले शिक्षामा विनियोजन गरेको बजेट पर्याप्त नभए पनि चालु आर्थिक वर्षकोभन्दा केही वृद्धि भएको बताए । उनले सार्वजनिक शिक्षाको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध रहेको र नीति तथा बजेट र कार्यक्रममा विद्यालय शिक्षा, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम र सीप विकास र उच्च शिक्षा सुधारमा जोड दिइएको जानकारी दिए ।

एमालेको अनुशासन आयोगले सातै प्रदेशमा प्रशिक्षण चलाउने

नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सबै प्रदेशमा प्रशिक्षण चलाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष केशव बडालले बताए ।

पार्टीभित्र देखापरेका अनुशासनहीनतालाई वैचारिक रुपमा परास्त गर्ने मूल उद्देश्यका साथ साउन महिनाको दोस्रो साताबाट अन्तिम सातासम्म प्रदेश स्तरीय प्रशिक्षण गर्ने उनले जानकारी दिए ।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्छः लिङदेनल

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने बताएका छन् । काठमाडौंमा दोलखा–काठमाडौं उपत्यका सम्पर्क समाजको आज दोश्रो अधिवेशन उद्घाटन गर्दै लिङदेनले देशमा देखिएको बेथिति अन्त्य गर्न प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली हुनुपर्ने बताए ।

उनले पूर्ण समानुपातिक संसदीय प्रणाली हुनुपर्ने र यसले गर्दा सांसद हुन मतदाता किन्नुपर्ने र प्रधानमन्त्री हुन सांसद किन्नुपर्ने अवस्थाको अन्त्य हुने तर्क गरे । अहिले देश अहिलेसम्मकै अप्ठेरो परिस्थितिबाट ग्रुजिरहेको भन्दै नागरिकहरुले ठीक ढंगले निर्णय लिन नसके देशले ठूलो क्षति व्यहोर्नुपर्ने उनले बताए ।

राष्ट्रियसभाको बैठक विहीबार बस्ने

राष्ट्रियसभाको बैठक विहीबार बस्ने भएको छ । राष्ट्रियसभाको बैठक भोलि बस्ने भनिएता पनि विशेष कारणले आगामी असार २ गते बस्ने भएको हो ।

सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमद्वारा आज सूचना जारी गर्दै राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले असार २ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको उल्लेख गरिएको छ ।

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वलीविरुद्ध अभद्र व्यवहारमा जाहेरी

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीविरुद्ध मीना भण्डारी बस्नेतले अभद्र व्यवहारमा जाहेरी दिएकी छन् । मिनाले अपराह्न इलाका प्रहरी कार्यालय तुलसीपुरमा वलीविरुद्ध जाहेरी दिएकी हुन् ।

जाहेरीमा उनले आफूलाई मिनाले घरमै आएर हातपात गरेको बताएकी छन् । जाहेरीमा मिनाले आफ्नो ६ वर्षीया छोरीलाई समेत छुट्याउन आएको बेला हातपात गरेको उल्लेख गरेकी छन् । उता, दाङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले स्वास्थ्य राज्यमन्त्री वलीविरुद्धको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने बताए ।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वलीलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरेको छ ।

मूल्यवृद्धिको विरोधमा नेपाल कम्युनिष्ट पार्टी(बहुमत)द्धारा प्रर्दशन

विभिन्न वस्तुमा भएको मूल्यवृद्धिको विरोधमा नेपाल कम्युनिष्ट पार्टी(बहुमत)ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थ लगायत उपभोग्य वस्तुमा भएको चर्को मूल्यवृद्धिको विरुद्धमा नेकपा बहुमतले आज काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले बढ्दो महङ्गी नियन्त्रण गर, पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धि फिर्ता गर, एमसीसी मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद लेखिएका प्लाकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले जनतालाई समस्या पर्ने गरी मूल्यवृद्धि गर्दा पनि राज्यमा बस्नेहरु मौन रहेको आरोप लगाएका थिए ।

भवन पुननिर्माण हुनुपर्ने भन्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुको प्रदर्शन

विनाशकारी भूकम्पबाट पूर्ण रुपमा क्षति भएको भवन पुननिर्माण हुनुपर्ने भन्दै काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

उनीहरुले सडकमै बसेर पढ्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । भूकम्पबाट क्षति भएको लामो समय हुँदा पनि पुननिर्माणमा चासो नदेखाएको भन्दै विद्यार्थीहरुले सडकमै बसेर पढेर ध्यानाकर्षण गराएका हुन् । उनीहरुले भवन पुननिर्माण गर, हामी पढ्न चाहन्छौ, भ्युटावर चाहिँ बन्ने त्रिचन्द किन नबन्ने, इतिहास ढल्दैछ सरकार मौन छ, शिक्षा मन्त्रालय हराएको सूचना लगाएतका प्लेकार्डसहित बोकेर प्रदर्शन गरेका थिए ।

१ सय ४ वर्षको इतिहास रहेको त्रिचन्द्र क्याम्पसको पुननिर्माणमा सरकारको ध्यान नगएको भन्दै प्रदर्शन गर्नुपरेको विद्यार्थीहरूले गुनासो गरेका छन् ।