काठमाडौँ : बुधबार श्रीलंकाली नागरिकहरु आफ्ना राष्ट्रपति गोताबाया राजापाक्षेले देश छाडेर भागेको समाचारसँगै ब्युँझे । चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभावका कारण सरकारविरुद्ध प्रदर्शनमा उत्रेका प्रदर्शनकारीले सरकारी निवास नै कब्जा गरेपछि राष्ट्रपति राजपाक्षे श्रीलका छाडेर मालदिभ्स पुगेका थिए । हाल उनी मालदिभ्सबाट सिंगापुर पुगिसकेका छन् ।
राजीनामा दिने बाचा पूरा नगरी देश छाडेर फरार भएपछि धेरै प्रदर्शनकारी आक्रोशित देखिन्थे । राजधानी कोलम्बोमा रहेको प्रदर्शनकारीको पकड क्षेत्र मानिने गल्ले फेस ग्रिनमा उपस्थित हजारौँ प्रदर्शनकारीमध्ये केही राष्ट्रपति भागेकोमा सन्तोष गरिरहेका थिए भने केही प्रदर्शनकारी राष्ट्रपतिले देश छाडेर भागेर दण्डबाट जोगिएको टिप्पणी गरिरहेका थिए ।
दिन विस्तारै ढल्दै थियो । गल्ले फेस ग्रिनमा प्रदर्शनकारीको उपस्थिती पनि बाक्लो हुँदै गइरहेको थियो । प्रदर्शनकारी अभियन्ता एवम् नेताहरुले चर्काचर्का भाषण दिइरहेका थिए । ‘हामीलाई यो मन परेको छैन । हामी उनलाई यहीँ राख्न चाहन्छौँ । हामीलाई हाम्रो पैसा फिर्ता चाहिन्छ ! र हामी सबै राजपाक्षेहरुलाई खेतमा काम गराउनका लागि खुला जेलमा हाल्न चाहन्छौँ’ प्रदर्शनकारी जीपी निमलले भने ।
प्रदर्शनकारीको संख्या बढ्दै गएसँगै एकैछिन अघि शान्त रहेको गल्ले फेस ग्रिन एकैछिनमा तनावको स्थिती पैदा भयो । नजिकैको फ्लावर रोडमा रहेको प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री रनिल विक्रमासिंघे मुलुकको कायममुकायम राष्ट्रपति घोषित भएको र उनले मुलुकमा अमन चैन कायम राख्न भन्दै आपतकाल र कफ्र्यूको घोषणा गरेकाले प्रदर्शनकारीहरु अझ क्रुद्ध बन्न पुगे । यससँगै प्रदर्शनकारीको आक्रोश प्रधानमन्त्रीतर्फ सोझियो । उनीहरुले प्रधानमन्त्रीले पनि राजीनामा दिनुपर्ने माग गर्दै प्रदर्शन गर्न थाले ।
त्यसपछि हजारौँ प्रदर्शनकारीहरु प्रधानमन्त्री कार्यालयको हाताभित्र प्रवेश गर्न धकेलाधकेल गरिरहेका थिए । उनीहरुको टाउकोमाथि होचो उचाइमा सैनिक हेलिकोप्टरहरु उडिरहेका थिए । प्रदर्शनकारीको आक्रोश अझ बढ्न पुग्यो ।
आक्रोशित प्रदर्शनकारीहरु प्रधानमन्त्री कार्यालयको हाताभित्र जबरजस्ती प्रवेश गर्न खोजिरहेका बेला सैनिक र दंगा नियन्त्रण प्रहरीको डफ्फा देखा परे । बेलाबेला यी सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेपनि प्रदर्शनकारीलाई रोक्न भने सकेनन् ।
प्रदर्शनकारीहरुले प्रधानमन्त्री कार्यालयको हातामा रहेको पर्खाल चढ्न थाले । प्रदर्शनकारीको एक हुलले हाताको कालो गेटमाथि चढेर त्यसलाई यताउता हल्लाउन खोजेका थिए । प्रदर्शनकारीले त्यसरी गेट हल्लाएपछि एकैछिनमा उक्त गेट भत्कियो । अरु प्रदर्शनकारीले होहल्ला गरेर खुशीयाली मनाए । त्यसपछि प्रधानमन्त्री कार्यालयको हाताभित्रबाट सुरक्षाकर्मीको डफ्फा उनीहरुको सामुन्ने उभियो ।
सुरक्षाकर्मीको उपस्थितीका बावजुद प्रदर्शनकारीहरु डराएको वा कुनै किसिमबाट प्रभावित भएको देखिँदैनथे । उनीहरु प्रधानमन्त्री कार्यालयको हाताभित्र प्रवेश गर्न चाहन्थे । त्यसपछि सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गर्न थाले । घटनास्थल एकैछिनमा धुवाँको मुस्लोमा गुटमुटियो । केही प्रदर्शनकारीले आफूतर्फ प्रहार गरिएको अश्रुग्यासलाई नाङ्गो हात वा ट्राफिकमा राखिने ‘कोन’ले उठाएर सुरक्षाकर्मीतर्फ नै प्रहार गर्न थाले ।
प्रहरीले प्रहार गरेको अश्रुग्यासको खोकाले एउटा मानिसको काँधमा लाग्यो । एक्कासी उनी भुईँमा ढले । सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गर्दा प्रदर्शनकारीहरु केही पछि हटेजस्तो गर्थे । तर हरेक पटक उनीहरु प्रधानमन्त्री कार्यालयको हाताभित्र प्रवेश गर्ने दृढताका साथ फर्किन्थे ।
‘जे सुकै होस् हामी अघि बढ्नुपर्छ’ सिंहाली भाषामा उनीहरु नारा लगाइरहेका थिए । प्रदर्शनकै बीच अर्को नारा सुनियो ‘उनीहरु हामीलाई विभाजित बनाउँदैछन् तर हामी अघि बढ्नुपर्छ ।’
घटनास्थल नजिकैको छिमेकमा बसोबास गर्ने केही स्थानीयहरुले प्रदर्शनकारीका लागि पानीको पाइपको बन्दोबस्त गरिदिएका थिए । प्रदर्शनकारीलाई पानी बाँड्न ट्रकको पनि बन्दोबस्त गरिएको थियो । प्रदर्शनकारीले त्यही पानी पिए, त्यही पानीले मुख धोए र पानीका बोतल सुरक्षाकर्मीलाई पनि दिए ।
गेटमा अझै पनि प्रदर्शनकारीहरु हाताभित्र प्रवेश गर्ने प्रयासमा थिए । त्यसपछि प्रदर्शनकारीको एउटा हुल हाताभित्र प्रवेश गर्यो । सुरक्षाकर्मीको सुरक्षा रेखा मिचिएर हो वा सुरक्षाकर्मीलाई पछि हट्न निर्देशन आएका कारण हो, स्पष्ट नभएपछि सुरक्षाकर्मीले प्रदर्शनलाई नियन्त्रण नै गर्न सकेनन् ।
त्यसपछि ‘अरागलय’ (संहाली भाषामा संघर्ष) भन्दै अरु धेरै प्रदर्शनकारीहरु पनि प्रधानमन्त्री कार्यालयको हाताभित्र प्रवेश गर्न सफल भए । उनीहरुको आक्रोश खुशी र अविश्वासमा परिणत भइसकेको थियो ।
त्यसपछि प्रदर्शनकारीको हुलले प्रधानमन्त्री कार्यालयको आँगन नाघ्दै कार्यालय रहेको सेतो भवनभित्र प्रवेश गर्न थाले । त्यसपछि प्रदर्शनकारीको एक हुल प्रधानमन्त्री कार्यालयको दोश्रो तल्लाको बार्दलीसम्म पुग्यो । उनीहरुले त्यहाँ ‘प्रधानमन्त्री कार्यालय’ लेखिएको संकेतचिह्नमा श्रीलंकाको राष्ट्रिय झण्डा हल्लाए । आतिसवाजी र ‘रनिल बौलाहा’, गोता बौलाहा’ जस्ता नाराका साथ प्रदर्शन अघि बढ्यो ।
बेलायती महारानी एलिजावेथ, राजकुमार चाल्र्सजस्ता विशिष्ट विदेशी पाहुनाको तस्वीरले भरिएको यो कार्यालयका कोठाहरु सरकारविरोधी नाराले गुन्जिन थाले, ‘हामीले भनेकै हौँ, हामीसँग निहुँ नखोज्नु ।’ कार्यालयको ढोकाअघि सुरक्षाकर्मीहरु मुकदर्शक बनेर उभिरहेका थिए । ढोकाभित्र प्रदर्शनकारीले सोफा, टेबल, कुर्सीलगायतमा बसेर सेल्फी खिचिरहेका थिए ।
सयौँ प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालय प्रवेश गर्न खोजेपछि प्रदर्शनकारीहरु आफैँले भीडलाई नियन्त्रण गर्ने संयन्त्र तयार पारे । उनीहरु ढोकामा पहरा दिएर मानिसहरुलाई रोक्न खोजिरहेका थिए । उनीहरुले प्रदर्शनकारीको स–साना समूहलाई निश्चित समयको अन्तरमा कार्यालयका कोठाहरु घुम्न दिने व्यवस्था मिलाएका थिए ।
बाहिर आँगनमा मानिसहरु दुबोमा थ्याच्च बसेका थिए । केहीले साथमा ढोलक, ड्रमजस्ता बाजा ल्याएका थिए । त्यही बाजाको तालमा केही प्रदशर्नकारीहरु प्रधानमन्त्री कार्यालयको आँगनबाहिर नाचिरहेका थिए ।
‘आज मलाइ निकै रमाइलो लागिरहेको छ’ एकजना प्रदर्शनकारी निक्सन चन्द्रनाथनले भने ‘हामी अझै लडिरहेका छौँ । अझै संघर्ष गरिरहेका छौँ । हाम्रो उद्देश्य गोताले घर जानुपर्छ भन्ने हो । र रनिलले पनि र सरकारका अरु सदस्यहरुले पनि घर जानुपर्छ । हामीलाई श्रीलंकालाई विकास गर्न सत्य र इमान्दार नेताहरु चाहिन्छ ।’
महिनौँको निराशा, खाद्यान्न एवम् इन्धनको हाहाकार र आर्थिक संकटको पीडाबाट प्रताडित श्रीलंकालीहरुका लागि प्रधानमन्त्री कार्यालयलाई नियन्त्रण गर्नु ठूलो जित थियो ।
छोटो समयकै लागि भएपनि श्रीलंकाली जनताले जितेका छन् । तर, यो श्रीलंकाका लागि खतराको क्षण पनि हो । श्रीलंकामा अब के हुने हो, त्यो कसैलाई केही थाहा छैन ।
(स्रोत : टेस्सा वङ, बीबीसी)
प्रतिक्रिया