'काठमाडौँलाई सफा र हराभरा बनाउन सबै जुट्नुपर्छ' | Khabarhub Khabarhub

‘काठमाडौँलाई सफा र हराभरा बनाउन सबै जुट्नुपर्छ’

राजधानीको फोहोर व्यवस्थापनकै लागि भनेर अर्बौँ बजेट छुट्याएका छौँ



काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापनको विषय दिनदिनै पेचिलो बन्दै गएको छ । सिसडोलबासी र बन्चरेबासीले भदौ १ गतेबाट फोहोर लैजान नदिने चेतावनी दिएका छन् । यो साउन महिनामा पनि धेरै फोहोर उठ्न नसकेर काठमाडौँ नगरपालिका आलोचित छ । ठाउँ ठाउँमा फोहोरको डङ्गुर छ । यसले चौतर्फी दुर्गन्ध फैल्याएको भन्दै जनताहरू आन्दोलनको सम्मुखमा पनि छन् । यस्तो अवस्थामा काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापनको विषयमा कसरी काम गर्दै छ, फोहोर किन उठ्न र भोलिका दिनहरूमा नगरपालिकाले कसरी काम गर्छ भन्ने विषयमा काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरसँग खबरहबका लागि चन्द्रकान्त न्यौपानेले गरेको कुराकानी:

यो काठमाडौँको फोहोर कहिलेबाट उठ्ला ?

बाटोका कारणले उठाउन नसकेका फोहोरहरू थुप्रिरहेका छन् । त्यसलाई घटाउने काम भइरहेको छ । हिजोआज यो फोहोर बन्चरे डाँडासम्म २ सयभन्दा बढी पटक लैजान सकियो भने केही दिनभित्र राजधानीको फोहोर उठ्छ । सडक र घरका फोहोरहरु एकै पटक उठ्छन् ।

बाहिर त महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न सकेन भनेर टिप्पणी हुन थालेको छ नि ?

त्यस्तो वातावरण छैन । धेरै फोहोर काठमाडौँबाट बन्चरे डाँडा गएको छ । साउन १ गते देखि फोहोरहरू वर्गीकृत हुनुपर्दछ भनेर आम जनतालाई अपिल गरेका थियौँ । किनभने नकुहिने फोहोरलाई फेरी पुन प्रयोग गर्न सकिन्छ । पुनः प्रयोग गर्ने फोहोरलाई पनि फोहोरमा हालियो भने सिसडोल जस्तै बन्चरे डाँडा पनि छिटो भरिन्छ र कुहिने फोहोरको लागि पनि मलको रूपमा प्रयोग गर्दा कम खर्च लाग्ने यसलाई जलाएर खरानी बनाउँदा अलि बढी लाग्ने, त्यसमा अलि बढी खर्च गर्दा ग्यास निकाल्न सकिन्छ ।अलि खर्च बढाउँदा विद्युत् पनि निकाल्न सकिन्छ । त्यसैले हामीले यो रूप परिवर्तन गर्ने भनेर लागिपरेका हौँ । धेरै घरको फोहोर पनि मल बनाएर कौसी खेती गर्न प्रयोग भइरहेको छ । यो सम्भव नभएको ठाउँमा महानगरले उठाइहाल्छ । टेकुमा ट्रास्सर्फमल केन्द्र पनि छ । त्यहाँ पनि केही दिन राख्न सकिन्छ । फोहोर व्यवस्थापनका लागि र आवश्यक सामग्रीका लागि हामीले यो वर्ष अर्बौँ रुपैयाँ राखेका छौँ ।

साउन महिनामा सर्वसाधारणले वर्गीकरण गरेर राखे तर नउठ्दा त्यो बाटोमै रह्यो । यो महिना किन जटिल भयो ?

१ गतेदेखि ४ गतेसम्म त्यसरी नै वर्गीकरण गरेर उठाइएको थियो । ५ गतेदेखि १२ गतेसम्म सिसडोलको बाटो बिग्रेर उठाइएन ।१३ गतेबाट गाडी दुईतर्फी जान नमिल्ने भएको हुनाले त्यो बेला ६० देखि ८० टिपसम्म फोहोर उठाउने व्यवस्थापन गरियो । एउटा गाडीले १४ देखि १७ टन फोहोर उठाउने गर्दछ । त्यसैले हामीले करिब सय टिप फोहोर उठाउनुपर्दछ । काठमाडौँ भरीका दुई वटा प्रशोधन नगरपालिका र काठमाडौँ महानगरपालिका गरेर १३ सय टन फोहोर उठ्छ भनेपछि एक सय टिप गाडी नपठाएसम्म दैनिक उठ्ने फोहोर पनि पठाउन सक्दैनौँ । अहिले केही फोहोर उठिसक्यो । कालीमाटी क्षेत्रतिर उठेको छैन । अन्त धेरै नै उठेको छ । काठमाडौँ महानगरपालिकाले अहिले सबै ठाउँको धेरै फोहोरहरू उठाउने गरेको छैन । मुख्य स्थानको मात्र सबै उठाएको छ । अरू ठाउँको त्यहीको स्थानीयहरूसँग सहकार्य गरेर प्राइभेटहरूले आफूसँग जति गाडी छ, त्यति मात्र उठाउँछ । काठमाडौँमा करिब ४२ वटा त्यस्ता संस्थाहरू रहेका छन् ।

यो फोहोरको विषय वडा तहबाट समाधान हुन्छ त ?

दुई वटै साइडबाट अवलोकन हामी गर्दछौँ । जनताले पैसा तिर्ने तर फोहोर नउठाउँदा किन सबै ठाउँमा नउठाउने त भनेर हामीले अवलोकन गर्नुपर्दछ । काठमाडौँको दायित्व भनेको नै सफा र हराभरा हुनु हो । प्राइभेटहरूले नउठाए पनि हामीले उठाउनुपर्छ ।

स्रोतमा नै वर्गीकरण यो अभ्यासमा महानगरबासीहरू सचेत भएनन् हो ?

सचेत गराउने काम हामी गर्दछौँ । अबको आर्थिक वर्षमा नै त्यस्ता व्यक्तिहरूलाई प्रोत्साहन स्वरूप राजस्वमा छुट दिने र फोहोर वर्गीकरणका लागि ती साधनहरूको पनि हामी व्यवस्थापन गर्दछौँ र उहाँहरूमा जिम्मेवार दायित्व सिर्जना हुन्छ । टेक्निकल सहयोगको आवश्यकता छ त्यो हामी पूरा गर्दछौँ ।

अब आम नागरिकले फोहोर फाल्नु हुँदैन भनेको ठाउँमा फोहोर फाले भने सजाय के छ जरिवाना कति छ त ?

सजाय र जरिवानाभन्दा पनि उनीहरूलाई सहजताका साथ दायराभित्र राख्ने हो । कुनै नागरिकले मैले फोहोर फाल्दा किन दण्डित नहुने भनेर सोच्नुपर्‍यो । यसमा सजायभन्दा पनि नागरिकमा यो सडक सफा गर्नु हाम्रो दायित्व हो भन्ने हुनुपर्‍यो ।

सिसडोलबासी र बन्चरे डाँडाबासीले भदौ १ गतेबाट फोहोर लैजान दिँदैनौँ, किनकि सहरी विकास मन्त्रालय र महानगरपालिकाले हामीसँग गरेको सम्झौता तोड्यो, हाम्रा माग पूरा भएनन् भनेर चेतावनी दिएका छन् । यो विषयमा के भइरहेको छ ?

उहाँहरूले अहिले सहरी विकास मन्त्रालय गृह मन्त्रालयमा मात्र ज्ञापन दिनुभएको छ । हामी अहिले पनि उहाँहरूसँग भएको १८ बुँदामा नै आधारित भएर नै बसेका छौँ । त्यसलाई नै सम्बोधन गर्नुपर्छ भनेर लागेका छौँ । हाम्रो नयाँ रूप यो भयो है भनेर हामीलाई उहाँहरूले ज्ञापन पत्र दिनुभएको छैन । यी १८ बुँदा मा के के सम्बोधन यो भएन भनेर उहाँहरूले भन्नुपर्‍यो । यो वर्षको बजेटले समेटेको छ कि छैन, त्यहाँ हामीले बजेट व्यवस्थापन गरेपछि त्यसलाई कार्यान्वयनतर्फ लैजानुपर्छ । कार्यान्वयनतर्फ लगिएन भने मात्र नयाँ बुँदा निस्किन्छ ।

उहाँहरूले फोहोर नै लैजान दिनुभएन भने समस्या जटिल बन्ला नि ?

त्यो बेलासम्म आउँदै गर्दा उहाँहरूको सम्बन्ध कोसँग रहन्छ त ? महानगरपालिकासँग रहने अवस्था आयो भने हामी त्यो जिम्मेवारी पूरा गर्छौ । सरकारसँग रहेछ भने सरकारले यी कुराहरू सम्बोधन गर्‍यो भने कुरै सकियो ।

दैनिक रूपमा धेरै फोहोर आउँछ यो विषय महानगरपालिकाले मात्र थेग्ने हो कि अरू प्रदेश सरकार, संघीय सरकारको, सहरी विकास मन्त्रालयको दायित्वभित्र पनि पर्छ या यसको दीर्घकालीन समाधानको लागि के भइरहेको छ ?

तीन वटै सरकार आउनु भनेको नै यही हो । स्थानीय सरकारले गर्न सकेन भने प्रदेश सरकार र प्रदेश सरकारले पनि गर्न नसके केन्द्रीय सरकारले जिम्मेवारी पूरा गर्नुपर्छ । फोहोर काठमाडौँको पनि जान्छ भक्तपुरको पनि जान्छ । ललितपुरको पनि आउँछ ।त्यसमा काठमाडौँ महानगरपालिका सबैभन्दा ठूलो महानगरपालिका भएकोले सिस डोल बन्चरे डाँडासम्मको जिम्मेवारी दिँदा काठमाडौँ महानगरपालिकालाई दिँदा राम्रो जस्तो लाग्छ तर कतिपय कुराहरू केन्द्रले र प्रदेश सरकारले पनि गर्नुपर्ने हुन्छ । त्यसले गर्दा पनि काम छिटो र छरितो नभएको जस्तो मलाई लाग्छ ।

काठमाडौँ महानगरपालिकामा फोहोर जटिल बन्ने तर नजिकैको ललितपुर, भक्तपुरका विषयहरू यसरी नआउने भनेर जनताले भन्न थाले नि त ?

जहाँ विकसित छ त्यहाँ धेरै फोहोर हुन्छ र ठूल्ठूला होटेलहरू छन् । ललितपुर र  काठमाडौँको बजेटको हिसाबले उहाँहरूको ६ अर्बको बजेट छ हाम्रो २५ अर्बको बजेट छ । त्यसबाट पनि थाहा हुन्छ ।

बालेन्द्र शाहले स्वतन्त्रबाट मेयर बन्नुभयो, महानगरको मिटिङ लाइभ आउन छोड्यो तपाईँहरूबीच द्वन्द्व भएको हो ?

हामी सबै जना आम नेपालीको इच्छाले आएका छौँ । यसमा कोही कुनै पार्टीको हो भनेर भन्न मिल्दैन हामी सबै जनाको दायित्व एउटै भएको छ । सबै जना सहकार्य गरेर अगाडि जान्छौँ ।

बालेन्द्र शाहको काम गर्ने शैलीलाई जनताले बुझ्ने गरी भन्दिनुहोस् ?

उहाँ सबैसँग सहकार्य गरेर काम गर्नुहुन्छ । यस्तो हुँदा चाहिँ राम्रो हुन्छ है भनेर काम गर्नुहुन्छ । पदमा जानुभन्दा अगाडि तल बसेर बोल्नुपर्छ र पदमा पुगेपछि माथिबाट सबैलाई हेर्नुपर्छ । सबैको साथ र सहयोगले थोरै जनाले नै धेरै फोहोर उठाउन सकिन्छ । त्यसैले सबै जना एक भएर फोहोर व्यवस्थापनमा लाग्यौँ भने एउटा स्वच्छ र हराभरा काठमाडौँ बनाउँछौँ । काठमाडौँलाई सफा र हराभरा बनाउन हामी सबै एक हुनुपर्छ ।

(प्रस्तुति: पुष्पाञ्जली बस्नेत) 

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १ : ५१ बजे

झापाबाट एघार करोडको चिया निर्यात

झापा– नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले ११ करोड ४३ लाख

विकास परियोजनाले कालीगण्डकी नदी संकटमा पर्ने चिन्ता

गण्डकी– मध्यनेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकीमा आधारित कतिपय विकास परियोजनाले सभ्यता

विद्युत् महसुल नतिर्ने छ सय ग्राहकको लाइन काटिँदै

बैतडी– विद्युत् महसुल नतिर्ने करिब छ सय ग्राहकको विद्युत लाइन

बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप

काठमाडौं– ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो र उनका सहयोगीहरुमाथि ‘कू’ प्रयास

पोखरिया अस्पताल ५० शै्यामा स्तरोन्नति हुँदै

वीरगञ्ज – सरकारले पर्साको पोखरिया अस्पताललाई ५० शै्यामा स्तरोन्नति गरेर