काठमाडौँ : विगत १५ वर्षदेखि जुम्लामा उत्पादन भएको अर्गानिक स्याउलाई काठमाडौँमा बिक्री गर्दै आएका युवा उद्यमी हुन्, दिनेश खड्का । जुम्लाका दिनेशले कर्णालीमा ‘एप्पल गार्डेन’ फार्म सञ्चालन गर्दै आएका पनि छन् ।
नेपालमै उत्पादन भएको स्याउ खेतीले बजार पाउनुपर्छ भन्ने उनलाई लाग्दछ । युवाहरु विदेशिने क्रम बढीरहेको अवस्थामा पनि स्वदेशमै आत्मनिर्भर बनेर देशलाई समृद्धिको बाटोमा डोहोर्याउन सकिन्छ भन्ने गतिलो उदाहरण दिनेश हुन् ।
विगत १५ वर्षदेखि एप्पल फार्म सञ्चालन गरेर त्यसबाट उत्पादन भएको स्याउ उनी काठमाडौँमा बेच्दै आएका छन् । आफ्नो फार्म र गाउँभरीबाट संकलन गरी काठमाडौँ लगायतका अन्य ठाउँमा उनले कर्णालीको स्याउ निर्यात गर्दै आएका छन् ।
जुम्लाको अर्गानिक स्याउ किसानबाट प्रत्यक्ष रुपमा उपभोक्तासम्म पुगोस् भन्ने हेतुले आफुहरुले विक्री गर्ने गरेको उनी बताउँछन् । सुरु सुरुमा निकै जटिल ढंगले स्याउ काठमाडौँ ल्याएर बेच्ने उनी २०६५ सालतिर जुम्लामा गाडी पुगेपछि केही सहज भएको हो ।
त्यसपछि २०६६ सालदेखि उनले जुम्लाको स्याउलाई सुर्खेतमा ल्याउने गरेको अनुभव सुनाए । त्यपछि २०६८ मा प्लस टु सकेर व्याचलर पढ्दै गर्दा दिनेशले सुर्खेत नेपालगञ्जबाट काठमाडौँ स्याउ निर्यात गरेको बताए ।
ललितपुरको लगनखेलमा प्लस टु अध्ययन गर्दै गर्दा कक्षामा शिक्षकले जुम्लाको स्याउ उदाहरण दिएको उनी स्मरण गर्छन् । जापानमा फलफुल खेतीको राम्रो उदारहण दिदाँ दिनेशको मानसपटलमा पनि जुम्लाको स्याउँ खेतीलाई अझ उकास्न सकिन्छ भन्ने सोच ल्याएर काम सुरु गरेका थिए ।
त्यसपछि उनी काठमाडौँ आएर पनि कर्णालीको उत्पादनलाई प्रमुख प्राथमिकतामा राख्न थालेका हुन् ।
‘हामी त जन्मिदै स्याउँको बगानमा हुर्कियौँ । नास्ता पनि स्याऊ खाने गरेको थियौँ’ उनले सम्झिए । साथीहरुको जग्गा लिजमा लिएर उनले स्याउ फार्म सञ्चालन गरेका हुन् ।
सुरुवाती चरणमा उनले जुम्लाको स्याउ काठमाडौँ ल्याए । बिक्री गर्ने क्रममा दुई तीन वर्ष त निकै कष्टकर भएको दिनेश बताउँछन् । त्यो बेला धेरै नै घाटा व्यहोर्नु पत्यो । त्यसमा पनि बजार नबुझ्दा त झनै घाटामा गएको उनको अनुभव छ ।
जुम्लाबाट बोरामा राखेर स्याउ काठमाडौँ ल्याउने गरेको उनको अनुभव छ । जब घाटा व्यहोर्यौँ । त्यसपछि प्रत्यक्ष रुपमा उपभोक्तासम्म पुग्नुपर्छ भन्ने सोच बनायौँ । त्यही अनुसार लागेको उनी बताउँछन् ।
त्यसपछि केही बिक्रेतालाई खुद्रा र होलसेल मुल्यमा दिन सूरु गरेको पनि उनले बताए । उपभोक्ताले सुपथ मुल्यमा पाउन भन्ने उदेश्यले हरेक वर्ष स्याउनको सिजन भएको बेला स्टलका रुपमा राख्ने गरेको उनको बताए ।
आफूलहरुले उत्पादन गर्ने स्याउ १०० प्रतिशत अर्गानिक भएको पनि दिनेश बताउछन् । अहिले प्रत्येक वर्ष स्याउको मौसममा भएको बेलामा बानेश्वरको ‘अल इनमार्ट’बाट स्याउ बिक्री गर्ने गरेको उनले बताए ।
विगत १२ वर्ष यता १२० देखि १५० रुपैँयासम्म जुम्लाको स्याउँको बिक्री गर्ने गरेको पनि उनले बताए । मौसमको बेला प्रत्येक वर्ष जुम्लाबाट ३० देखि ३२ टनसम्म आयात गर्ने गरेको उनले बताए । एउटा स्याउको बोट ५ वर्ष सम्म फल फल्न योग्य हुने उनको अनुभव छ ।
उपभोक्ताको चेत फेर्न सकस
स्याउ अर्गानिक हो की हैन् भनेर चिन्नको लागि बजारमा पाइने फुजी स्याउ र जुम्लाको स्याउलाई एकसय डिग्रीमा उमाल्न उनी सुझाव दिन्छन् । अर्गानिक स्याउ छ भने पानी जस्ताको तेस्तै देखिन्छ ।
केमिकल प्रयोग गरिएको छ भने धमिलो देखिने उनले बताए । बजारमा देखिने भन्दा जुम्लाको स्याउ हेर्दा अलि नराम्रो देखिने उनी बताउँछन् । बाहिरको स्याउ केमिकल प्रयोग भएको कारणले हेर्दा आकर्षक देखिन्छ ।
तर जुम्लाको स्याऊ शत प्रतिशत अर्गानिक भएकोले हेर्दा नराम्रो देखिने गरेको उनले बताए । जुम्लामा रहेको एप्पल फार्ममा हाल १७५ वटा स्याउको बोट रहेको र ती सबैबाट स्याउ उत्पादन हुन थालेको उनले बताए ।
स्याउ खेतीमा लाग्न र बोट विरुवा हुर्काउन चुनौति रहेको उनको बुझाई छ । बोल्ने शब्द र काम गराईमा फरक हुने उनी बताउँछन् । कति वटा बोट मर्छ फेरी लगाउनु पर्यो । हेरचाह गर्दा गर्दा पनि धेरै चुनौति थपिएको उनको भनाई छ ।
आत्मनिर्भर बन्ने अवस्था छैन
स्याउ खेतीमा लागेर आत्मनिर्भर बन्ने अवस्था आइनसकेको उनी बताउँछन् । मौसममा भएको बेला दुई तीन महिना जुम्लाको स्याउ काठमाडौँमा आयात गर्ने गरेको उनी बताउँछन् ।
नेपालको राजनीतिक अवस्थाले गर्दा पनि नेपालको स्याउ खेती फस्टाउन नसकेको उनको बुझाई छ । मौसम सुरु भएसगैँ जुम्लाको स्याउ आयात हुने बेलामा बाहिरबाट बजार लिइरहेको फलफुलहरु मुल्य घटाइदिन्छ भने अरु बेला एकाधिकारको रुपमा बेच्ने गरेको उनको गुनासो छ ।
त्यसमाथि झन् भौगोलिक विकटताले गर्दा समस्या झेल्नुपर्ने अवस्था रहेको उनी बताउँछन् । स्याउ खेतीले मात्र जीवन धान्न नसक्ने भएपछि विगत ७ वर्ष अगाडि देखि उनले बानेश्वरमा कपडा कारखाना सञ्चालन गर्दै आएका छन् ।
बाहिरबाट कपडा मगाएर हाल सो कारखानामा कालिगढ राखी कटनको पेन्ट, जाडोमा लगाउँने ज्याकेट बनाउँदै उनी कपडा व्यवसायमा पनि लागेका छन् ।
आर्थिक रुपमा सफलता प्राप्त गर्न नसके पनि देशमै बसेर व्यवसाय सञ्चालन गर्न पाउँदा खुसी महसुस भएको उनको भनाइ छ । कोभिड र बजारको पछिल्लो अवस्थाका कारण देशमै केही गर्न पनि धेरै समस्या रहेको उनी बताउँछन् ।
‘कुनै काममा लाग्दा सय प्रतिशत्त दिदैँ निरन्तरता दिन सकिएमा नेपालमा नै केही गर्न सकिन्छ’ उनले सारमा भने, ‘काम गर्दै जादाँ केही बाधा अड्चन र आलोचना आउँछ । तर आलोचनाले मानिसलाई कमजोर होइन् अझै साहसी र शक्तिशाली बनाउँछ ।’
प्रतिक्रिया