नारायणगढ–मुग्लिन सडकखण्डका पुल बनाउन अझै एक वर्ष लाग्ने « Khabarhub

नारायणगढ–मुग्लिन सडकखण्डका पुल बनाउन अझै एक वर्ष लाग्ने


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै एक वर्ष लाग्ने देखिएको छ। पाँच पुल सञ्चालनमा आएका छन्।

आगामी असारसम्ममा १० पुल निर्माण सक्ने गरी काम अघि बढाइएको नागढुङ्गा मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए। विसं २०७६ चैत १० गते ३३ महिनामा पुल सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो। यही पुस ९ गते सम्झौताको अवधि सकिँदै छ।

उनले भने, “कोभिड–१९ का कारण समयमा काम सकिएन, अझै एक वर्ष लाग्ने देखिन्छ।” घरटहरा हटाउन र भित्तो काट्नुपर्ने ठाउँमा काम जटिल भएकाले समय धेरै लाग्ने देखिएको हो। समय थपका लागि फाइल विभागमा पठाइएको कार्की बताउँछन्।

विश्व बैंकको ऋण सहयोगमा पुल निर्माण गर्न लागिएको हो। चार पुल बनाउने ठाउँमा सडकको भित्तो काट्नुपर्ने भएकाले आगामी पुस ५ गतेदेखि दिउँसोमा सडक बन्द गरी काम गर्न लागिएको छ। सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माण गर्दा सडकको भित्तो काट्नुपर्ने भएको छ। भौगोलिकरुपमा असहज ठाउँमा रहेका कारण सवारी आवागमन रोक्नु परेको हो।

कार्कीका अनुसार विश्व बैंकको ऋण सहयोग भएकाले सडक छेउमा बसोबास गर्नेको व्यवस्थापन अर्को चुनौती छ। त्यहाँबाट हटाउँदै गर्दा घरटहरामा बसोबास गर्नेलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ। उनका अनुसार पुल बनाएर सञ्चालन गर्ने क्रममा २६ घरटहरा भत्काउनुपर्ने हुन्छ। जसका लागि रु एक करोड बजेट माग गरिएकोमा त्यो बजेट आइनपुगेकाले घरटहरा भत्काउने काम रोकिएको छ। असारसम्ममा १३ पुल सम्पन्न गर्ने गरी काम भइरहेको उनी बताउँछन्। तीमध्ये सेतीदोभान, डुम्रे, तोपे, लामो बालुवा र खहरे २ को पुल तीन महिनाभित्रमा सम्पन्न हुने कार्कीको भनाइ छ।

तुइन र जुगेडी पुललाई थप केही समय लाग्ने उनले जानकारी दिए। सो सडक विस्तारको कामसँगै साँघुरा पुल भएका ठाउँमा नयाँ पुल निर्माण गर्न लागिएको हो। हाल सो सडक नौदेखि ११ मिटर फराकिलो छ। ती पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको छ। प्याकेज–१ मा मुग्लिनबाट यताका खहरे, चिम्पान्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन्। प्याकेज–२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोल गरी आठ पुल छन्।

प्याकेज–१ को कूल ठेक्का रकम रु ६७ करोड ९९ लाख छ। पुल र नक्साङ्कनका लागि मात्र रु ५८ करोड ४० लाख छ भने अन्य रकम पोल सार्ने, बाटो फराकिलो बनाउने, नदी नियन्त्रणलगायतमा खर्च हुने आयोजनाले जनाएको छ। दोस्रो प्याकेजको कूल ठेक्का रकम रु ५९ करोड पाँच लाखमध्ये नक्साङ्कन र पुलका लागि रु ४९ करोड ६० लाख हो भने बाँकी रकम अन्य काम गर्ने गरी ठेक्का लगाइएको हो।

दुवै ठेक्काको काम अनक कन्स्ट्रक्सनले गरिरहेको छ। पुलको गाडी हिँड्ने ठाउँ सात दशमलव पाँच मिटर फराकिलो हुनेछ। दुवैपट्टि एक दशमलव पाँच मिटर फराकिला फुटपाथ र २५ सेन्टिमिटर रेलिङका लागि छुट्याइएको छ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  १० : ४७ बजे

वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरीले टोलीले गत वैशाख महिनामा देशका

राष्ट्रियसभा : सुकुम्वासीका लागि स्पष्ट र ठोस कार्ययोजना ल्याउन सांसदहरूको माग

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले सुकुम्वासी समस्या समाधानका

‘मेड इन नेपाल’ प्रवर्द्धन गर्न ‘सिस्टरहुड शोरुम’ सञ्चालनमा आउने

काठमाडौं- नेपाली महिला उद्यमीहरूको सामूहिक पहलमा ‘सिस्टरहुड शोरुम’ सञ्चालनमा आउने

अर्थमन्त्री वाग्लेले भने-अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन लक्ष्यका

कालाञ्जरमा खगोल अध्ययन केन्द्र सञ्चालनको तयारी

पर्वत– समुद्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा रहेको पर्वतको