लोप भइसकेको कपास खेती जगाउँदै हलेसीका महिला | Khabarhub Khabarhub

लोप भइसकेको कपास खेती जगाउँदै हलेसीका महिला


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– पुर्खाको अन्त्यसँगै कपास खेती गरेर खाँडीको कपडा उत्पादन गर्ने प्रचलन हराइसकेको छ । तर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको कात्तिकेमा एकादेशको कथाझैं बनिसकेको कपास खेतीलाई पुनर्जागृत गराइएको छ । 

नगरपालिकाले अनुदान उपलब्ध गराउन थालेपछि कात्तिकेमा आर्थिक वर्ष २०७६/०७७ देखि कपास खेती विस्तार गरिएको हो । साविकको महादेवस्थान–६ कात्तिकेस्थित जुनतारा आमा समूहमा आवद्ध ३४ महिला र साविकको महादेवस्थान/९ कात्तिकेस्थित गोदावरी आमा समूहमा आवद्ध ३१ महिलाले कपास खेती लगाएका छन् । 

नेपाली पहिचान झल्काउने दौरासुरुवालको कपडा उत्पादन गर्दै महिलालाई आर्थिक रूपमा सबल बनाउने लक्ष्यका साथ कपास खेतीलाई पुनर्जागृत गराइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले बताइन्। 

कात्तिकेभन्दा केहीमाथि पर्छ त्रि–धार्मिकस्थल हलेसी । हलेसीमा लाखबत्ती, आरती, पूजापाठका क्रममा काँचो धागोको बत्ती बाल्ने गरिन्छ । कपासको काँचो धागो उत्पादन गरेर त्यही हलेसीमा बिक्रीवितरण गरेर पनि आम्दानी लिने योजना बनाइएको छ । ‘लोप भइसकेको कपास खेतीलाई पुनर्जागृत गर्नुको अर्थ यसलाई पहिचान र पैसासँग जोड्ने प्रयत्न हो,’ मेयर राईले भनिन्, ‘दौरा सुरुवालले देशको पहिचान झल्काउँछ । त्यसको कपडा र काँचो धागो बिक्री गरेर पनि आम्दानी लिन सकिन्छ । संस्कार संस्कृति पनि बच्यो, आम्दानी पनि हुने भयो ।’ 

किरात राई समुदायमा पुर्खा तायामा र खियामाले तुवाचुङमा कपास खेती गरेर कपडा बुनेर लुगा लगाउने चलन सुरु गरेको किंवदन्ती छ । बाबुबाजेको पालासम्म कपासबाट खाँडीका कपडा उत्पादन गरिन्थ्यो । करिब चार पाँच दशकसम्म धेरैजसो घरमा खाँडी तयार हुन्थ्यो । खाँडीकै चोली, फरिया, दौरा सुरुवाल, भोटो बनाइन्थ्यो । तर बजारमा थरिथरिका कपडा आउन थालेपछि खाँडीका कपडा बुन्ने प्रचलन क्रमशः हराउँदै गए । लोपोन्मुख बनिसकेको खाँडीको पुरानो तान अहिले पनि गाउँघरमा देख्न सकिन्छ । गाउँघरमा बाजेबजुले ‘कुटी कुटी धागो काट्न र पला बनाउन लगाएको प्रसंग अहिले पनि सुन्न पाइन्छ ।

पछिल्लो समय सबैले खाँडीको दौरा सुरुवालको महत्व बुझ्न थाले । नेपाली पोसाक दौरासुरुवालप्रति युवा पुस्ताले चासो राख्न थाले । त्यहीबेला नगरपालिकाले सहयोग गरेपछि कपास खेती सुरु गरिएको जुनतारा आमा समूहकी कोषाध्यक्ष जुना राई बताउँछिन् । 

‘पहिला कपडा पाइन्नथ्यो । कपासको कपडा बनाएर लगाउने गरिन्थ्यो । पछिबाट बजारमा परिपरिका कपडा आउन थाल्यो । धागो निकाल्नु, धागो बनाउनु, दाना फाल्नु । नोमेक बढी लाग्ने र झन्झटिलो काम भनेर छाडियो,’ जुनाले भनिन्, ‘अहिले दौरासुरुवालको महत्व बढ्न थाल्यो । युवा पुस्ताले पनि मन पराउन थाले । हाम्रो बारीमा उत्पादन गरेर आफैले बुनेर लगाउन सकिन्छ भनेर फेरी कपास खेती सुरु गर्‍यौं । हाम्रो पहिलाको कल्चर पनि झल्काऔं न त भन्ने लाग्यो ।’ 

दुईवटा आमा समूहमा आवद्ध ६५ महिलाले प्रतिघर एकदेखि दुई रोपनीका दरले कपास खेती लगाएका छन् । नगरपालिकाको ११ वडामध्ये कात्तिकेमा मात्र व्यावसायिक रुपमा कपास खेती लगाइएको हो । उत्पादित कपास प्रतिकेजी सात सयका दरले बिक्री गर्ने गरिएको जुना बताउँछिन् । कतिपय कपासलाई सिरक, सिरानी र डसना बनाउने गरिएको छ । खाँडीको माग बढिरहेका बेला कपास खेतीलाई आर्थिक उपार्जनको माध्यम बनाउने सपना साँचेको स्थानीय समला राई बताउँछिन् । कपास खेती सुरु गरेका महिलालाई खाँडीको कपडा बुन्ने तालिम दिने नगरको योजना छ । 

कपास खेती प्रवर्द्धनका लागि वडा कार्यालयले आर्थिक वर्ष २०७६-०७७ मा १५ जना महिलालाई कपास खेती प्रवर्द्धनका लागि एक लाख खर्च गरेको थियो । आर्थिक वर्ष २०७७-०७८ मा १० लाख बिनियोजन गरेको नगरपालिकाले चालू आर्थिक वर्ष २० लाख विनियोजन गरेको छ । 

जसले छाडेनन् तान 

हिजोआज कपास खेती गर्ने र त्यसको कपडा बुन्ने सीप भएका महिला एक/दुई छन् । बजारमा सस्तो मूल्यमा थरिथरिका लुगा पाउन थालेपछि सबैले तान बुन्न छाडे । सबैले खाँडी बुन्ने तानलाई छाड्दा महादेवस्थान कात्तिकेकी जुनासरी राईले भने निरन्तर तान सम्हाल्दै आएकी छन् । ७९ वर्षकी जुनासरीले आफै कोगटी र ढ्यांग्रे प्रजातीको कपास खेती गरेर कपडा बुन्ने गरेकी छन् । जुनासरीले गाउँमा उत्पादित कोगटीको कपास प्रतिधार्नी एक हजार र ढ्यांग्रे कपास प्रतिधार्नी सात सयमा खरिद गर्ने गरेकी छन् । तान बुन्ने सीपको संरक्षणका लागि जुनासरीले नातिनी भविकला राईलाई पनि तान बुन्न सिकाइसकेकी छन् । 

दौरा सुरुवालका लागि कपासको कपडाको माग उच्च छ, त्यसमा पनि ग्राहकको रोजाइमा कोगटीको कपडा पर्छ । कोगटीको दौरासुरुवालको कपडा प्रतिथान २० हजार र टिंग्रे कपासको प्रतिथान १५ हजारमा किनबेच हुनेगरेको महादेवस्थानका पूर्ववडाध्यक्ष चइन्द्र राई बताउँछन् । कात्तिकेकी बिन्द्रासरी राईले पनि हिउँदमा खाँडी बुन्ने गरेकी छन् । कतिपय खाँडीको कपडा बुन्ने सिप भएका तर तान नबुन्ने महिला पनि छन् । ‘कोगटीबाट धागो उत्पादन गर्न सबैभन्दा झन्झटिलो र बढी मिहिनेत चाहिन्छ,’ पूर्ववडाध्यक्ष राईले भने, ‘तर कोगटीको कपडाको बढी नै माग छ । माग धान्नै गाह्रो देखिन्छ ।’ 

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  १ : ५२ बजे

भारतमा सर्वोच्च अदालतको फैसला- निट परीक्षाको पुनःपरीक्षण घातक

एजेन्सी– भारतको सर्वोच्च अदालतले मङ्गलबार एनइइटी (निट)–युजी सन् २०२४ परीक्षा

राष्ट्रिय परिचयपत्रको २५ हजार कार्ड कार्यालयमै थन्कियो

सङ्खुवासभा– नेपाली नागरिकताको प्रमाणपत्रको विकल्पका रूपमा सरकारले अघि सारेको राष्ट्रिय

आजका समाचार : प्राधिकरणले जोडिदियो उद्योगको बत्ती, प्रदेशमा फेरिँदै मुख्यमन्त्री, भारतमा नयाँ बजेट

संसद्का संयुक्त र विषयगत समितिका सदस्यको नाम हेरफेर प्रतिनिधिसभाले संसदीय

अक्षयको फिल्म ‘खेल खेल मे’ले ‘स्त्री २’सँग प्रतिस्पर्धा गर्ने पक्का

काठमाडौँ– बलिउड अभिनेता अक्षय  कुमारको मुख्य भूमिका रहेको फिल्म ‘खेल

युवालाई विदेशिन बाध्य बनाएपछि रोएर बस्नुको विकल्प छैन

पछिल्लो समय बढ्दै गएको निराशाको उत्तर थाहा पाउन हामीले पहिलो