तनहुँ- व्यास नगरपालिका विपन्न स्थानीयहरू सार्वजनिक जग्गामा सामूहिक खेती गर्न जुटेका छन् । सिसुवा भतेरी कृषि सहकारीको समन्वयमा उनीहरु सामूहिक खेती गर्न आकर्षित भएका हुन् ।
व्यास नगरपालिका १० वडा स्थित मादी नदी किनार नजिकैको २५ रोपनी जग्गामा मौसम अनुरूपको बाली लगाउन सामूहिक खेतीमा उनीहरु जुटेका हुन् ।
संस्थाले सामूहिक खेती गरेर विपन्न समुदायको आयवृद्धिमा सहयोग गर्दै आएको सहकारीका अध्यक्ष यज्ञप्रसाद शर्माले जानकारी दिए । सहकारीले अति सीमान्तकृत बोटे, अल्पसङ्ख्यक दरै, दलित तथा विपन्न व्यक्तिको आयआर्जनमा टेवा दिनुका साथै अँधिया खेतीको लागि अन्यत्र जानुपर्ने समस्या हटेको छ ।
विपन्नको आयआर्जनको लागि वडा कार्यालयले १० वर्षको लागि उक्त सार्वजानिक जग्गा निःशुल्क प्रयोग गर्न अनुमति दिएको थियो ।
स्थानीयहरूले करिब रु एक लाख लागतमा जमिन समथर बनाएपछि खेती शुरु गरेका थिए । सहकारीले राम्रो कार्य गरेको भन्दै व्यास नगरपालिकाले सामूहिक खेतीका लागि रु १७ लाख पर्ने ट्रयाक्टर प्रदान गरेपछि खेती लगाउन सहज भएको अध्यक्ष शर्माले जानकारी दिए ।
जसको जग्गा छैन उनीहरूलाई पहिलो प्राथमिकता दिएर समूह बनाइएको छ । मैले काम पाइन तथा मैले गरी खान पाइन्न भन्नेका लागि सहकारीले सामूहिक खेतीलाई प्राथमिकता दिएको वडाध्यक्ष तुलसीराम सापकोटाले बताए ।
सहकारीले पराल तथा घाँस सोही ठाउँस्थित गौ संरक्षण प्राङ्गारिक मल उत्पादन तथा सरसफाइ केन्द्रलाई दिने र केन्द्रले गाईको मलमूत्र सामूहिक खेतीको लागि दिने व्यवस्था मिलाइएको छ ।
सहकारीले मौसम अनुसारको विभिन्न तरकारी, धान तथा माछापालन गर्दै आएका छन् । सहकारीमा आवद्ध भएकाले सामूहिक खेती र गाईभैँसीको दूध बिक्री गरी मासिक रु ३० हजारसम्म आम्दानी गर्दै आएका छन् ।
प्रतिक्रिया