मुख्य समाचार

एसपीपी सम्झौताको प्रस्ताव आएको छैन, सरकारको बदनाम गर्न खोजियो : कानुन मन्त्री 

By खबरहब

June 15, 2022

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) सम्झौताको प्रस्ताव नआएको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्री शर्माले एसपीपी सम्झौताको प्रस्ताव नआएको जानकारी दिँदै सरकारको बदनाम गर्न खोजिएको आरोप लगाए ।

‘नेपाल सरकारले कुनै पनि ‘स्टेट पार्टनरसिप प्रोग्राम’का लागि इन्भाइट गरेको छैन, प्रस्ताव राखेको छैन । हामीकहाँ प्रस्ताव आएको छैन । यो कुरा सरासर गलत हो, झुटा हो । सरकारलाई बदनाम गराउने एउटा खेल मात्र हो,’ उनले भने ।

अमेरिकी सेना नेपालको इजाजतबेगर नेपाल आउन नसक्ने भन्दै उनले जबरजस्ती कुनै पनि सेना अर्को देशमा प्रवेश गर्न नसक्ने बताए ।

एसपीपीलाई एमाले सदनमा आपत्ति जनाउँदै सरकारको जवाफ मागेको थियो भने कांग्रेसका सांसद गगन थापाले पनि यसबारे प्रधानमन्त्रीले तत्काल सदनमा उभिएर जवाफ दिनुपर्ने माग गरेका थिए ।