काठमाडौँ– त्रिकोणात्मक प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’ शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको छ । आकाश श्रेष्ठ र पूजा शर्मा मुख्य भूमिकामा रहेको फिल्मले प्रदर्शनको पहिलो दिन देशभरका हलमा सोच अनुरूप नै व्यापार गरेको जानकारी निर्माण पक्षले दिएको छ ।
निमेष प्रधानको लेखन र निर्देशनमा बनेको फिल्ममा दार्जिलिङ्गको चिया बगानमा कार्यरत मजदुरको जीवनशैली, पीडा, समस्या र हकअधिकारको कुरालाई समेत प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । अद्वितीय प्रधानको प्रस्तुति र रेबिका प्रधानको निर्माण रहेको फिल्ममा आकाश चियाबगानको मालिक र पूजा कर्मचारीको भूमिकामा छन् । उनीहरूबीचको सम्बन्ध, प्रेम र समग्र जीवनमा आउने उतारचढावलाई रोमान्चक तवरले केलाइएको फिल्ममा छुल्ठिम गुरुङ, सुनील थापा र शिशिर राणा पनि महत्वपूर्ण भूमिकामा छन् ।
देशभरका करिब एक सय स्क्रिनमा प्रदर्शन भइरहेको फिल्म दार्जिलिङ, सिल्गुढी तथा सिक्किमका रमणीय स्थानमा खिचिएको हो । निर्देशक निमेषकै लेखन रहेको फिल्म शिव ढकालले खिचेका हुन् । आरआर फिल्मस्ले बितरण गरेको फिल्मको शीर्ष सम्झना- बिर्सना केही दिनमै दर्शकमाझ ल्याउने तयारी गरेको छ ।
प्रतिक्रिया