चीनमा तीव्र आर्थिक विकासको युग सायद सकियो | Khabarhub Khabarhub

विशेष रिपोर्ट

चीनमा तीव्र आर्थिक विकासको युग सायद सकियो

अमेरिकालाई उछिन्ने महत्वाकांक्षामा धक्का, घरजग्गा व्यवसाय संकटमा



काठमाडौँ : चीनमा पछिल्लो समय घरजग्गा व्यवसायमा संकट देखिएको छ । चीनमा देखिएको घरजग्गा संकटले विश्व अर्थतन्त्रलाई नै प्रभावित बनाउने चिन्ताहरु उत्पन्न हुँदै आएका छन् । ‘निर्माण रोकिएसँगै किस्ता पनि रोकिन्छ, हामीलाई घर देऊ र पैसा लेऊ’ यो चीनमा घरजग्गामा पैसा गुमाएका प्रदर्शनकारीले गत जुन महिनामा लगाएको नारा हो । तर उनीहरुको आक्रोश नारा र प्रदर्शनमा मात्रै सीमित छैन ।

सयौँ घरजग्गा खरिदकर्ताहरुले घरको किस्ता तिर्न बन्द गरिदिएका छन् । असन्तुष्टी र विरोध सहन गर्न नसक्ने चीनमा यसलाई निकै कठोर कदमका रुपमा लिइएको छ ।

मध्य चीनको झेङजोउ सहरमा आएको एउटा युवा जोडीले बीबीसीलाई बताएअनुसार घरजग्गा निर्माण कम्पनीले उनीहरुबाट गत वर्ष ‘डाउन पेमेन्ट’ लिएलगत्तै उक्त परियोजना स्थगित गर्दै घर निर्माण कार्य बन्द गरिदिएको थियो ।

‘म नयाँ घरमा बस्दा प्राप्त हुने खुशीको कल्पना गर्थेँ तर अहिले यो सबै हास्याँस्पद लाग्छ ।’ आफ्नो नाम उल्लेख गर्न नचाहने महिलाले बीबीसीलाई बताइन् ।

२० को दशकको उत्तराद्र्ध उमेर रहेकी एक महिलाको अवस्था पनि यस्तै छ । उनले पनि झेङजोउ सहरमा घर खरिद गरेकी थिइन् । उनले पनि अहिले किस्ता तिर्न बन्द गर्न तयार रहेको जनाएकी छिन् । ‘जब परियोजना पूर्ण हुन्छ, बल्ल किस्ता तिर्न थाल्छु ।’ उनले बीबीसीलाई भनिन् ।

यीमध्ये धेरै घरको किस्ता तिर्न सक्षम छन्, तर पनि उनीहरु किस्ता तिर्न चाहिरहेका छैनन् । खुला स्रोत (ओपन सोर्स) मा आधारित गिटहबका अनुसार चीनभर झण्डै ३२० घरजग्गा परियोजनाका घरहरु किनबेच भएका छन् । यद्यपि कति घरजग्गा खरिदकर्ताले किस्ता तिर्न बन्द गरे भन्ने स्पष्ट छैन ।

एसएण्डपी ग्लोबल रेटिङको अनुमान अनुसार किस्ता तिर्न बाँकी रकम १ खर्ब ४५ अर्ब अमेरिकी डलरसम्म रहेको हुनसक्छ । अरु विश्लेषकहरु यो रकम अझ बढी रहेको हुनसक्ने बताउँछन् ।

घर खरिदकर्ताहरुको यो विद्रोह चिनियाँ अधिकारीहरुका लागि भने टाउको दुखाईको विषय बन्न पुगेको छ । उसैपनि संकटमा रहेको घरजग्गा क्षेत्र, ओरालोलाग्दो अर्थतन्त्र र तरलताको अभावका कारण समस्यामा रहेको बताइएको चिनियाँ अर्थतन्त्रमा यसले अझ नकारात्मक प्रभाव पार्नसक्ने अधिकारीको चिन्ता छ ।

यस्तै, यसले मानिसहरुमा यस क्षेत्रमा विश्वास गुम्दै गएको समेत विश्लेषण गरिएको छ ।

‘घरजग्गाप्रति घट्दो आकर्षण र किस्ता नतिर्ने घरजग्गा खरिदकर्ताहरुको निर्णय यस क्षेत्रको वित्तीय अवस्थामा गम्भीर जोखिम उत्पन्न गरेको छ ।’ अक्सफोर्ड इकोनोमिक्स नामक थिंकट्यांकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

घरजग्गा क्षेत्रले विश्वको दोस्रो ठूलो अर्थतन्त्रको एक तीहाई उत्पादन हिस्सा ओगट्छ । यसमा घर, भाडा, दलाली, घर निर्माण गर्दा प्रयोग हुने एवम् घर निर्माण भइसकेपछि प्रयोग हुने सामग्रीहरु लगायत पर्छन् ।

तर, चीनको अर्थतन्त्र ओरालो लागिरहेको छ । सरकारी तथ्यांकअनुसार पछिल्लो त्रैमासिकमा चीनको अर्थतन्त्र अघिल्लो वर्षको तुलनामा केबल शून्य दशमलब ४ प्रतिशतले बढेको छ । यसमाथि केही अर्थशास्त्रीहरुको विश्लेषणमा यो वर्ष चीनको अर्थतन्त्रमा कुनै वृद्धि नहुने देखिन्छ ।

चीनको शून्य कोभिड नीति, लगातारको लकडाउन र निरन्तरको निषेधित नीतिका कारण मानिसहरुको आय, बचत र लगानीलाई प्रभावित बनाइरहेको छ ।

चीनको अर्थतन्त्रको आकारलाई मध्यनजर गर्दा त्यहाँको अर्थतन्त्रमा महत्वपूर्ण मानिने घरजग्गा क्षेत्रमा उत्पन्न हुने समस्याले पूरै विश्वको वित्त बजारलाई प्रभावित बनाउन सक्ने चिन्ता उत्पन्न भएको छ ।

विज्ञहरु घरजग्गामा देखिएको समस्या अन्य क्षेत्रमा पनि फैलिनसक्ने बताउँछन् । कुनै क्षेत्र संकटमा रहेको देखेमा बैंकहरुले सो क्षेत्रमा लगानी गर्न ऋण प्रदान गर्दैनन् ।

‘यो नीतिहरुमा भर पर्नेछ ।’ स्ट्याण्डर्ड चार्टर्डको ग्रेटर चाइना इकोनोमिक रिसर्चका प्रमुख डिङ शुआङले भने, ‘विश्वको अरु भागमा जस्तो घरजग्गा क्षेत्रमा देखिएको वित्तीय फोका (बबल) बजारका कारण फुट्न सक्छ । चीनमा पनि यस्तो हुने देखिन्न । सरकारका कारण यस्तो भएको हो ।’

चीनमा ३० घरजग्गा कम्पनीहरुले विदेशी ऋण तिर्न ढिलाइ गरिसकेका छन् । ३ खर्ब अमेरिकी डलर ऋणमा चुर्लुम्म डुबेको एभरग्राण्ड नामक घरजग्गा कम्पनीले गत वर्ष नै टाट पल्टेको घोषणा गरिसकेको छ । एसएण्डपीले जनाएअनुससार यदी चीनमा घरजग्गा क्षेत्रमा बिक्री हुन ढिलाइ भएको खण्डमा अन्य धेरै घरजग्गा कम्पनीहरुको अवस्था पनि एभरग्राण्डको जस्तै हुनेछ ।

घट्दो शहरीकरण एवम् जनसङ्ख्या पनि ओरालो लागिरहेका कारण चीनमा घरजग्गाको माग पनि बढ्ने देखिएको छैन ।
‘चीनको घरजग्गा बजारमा नयाँ मोड आएको छ, यो नै हाम्रो अहिलेको आधारभूत मुद्दा हो ।’ क्यापिटल इकोनोमिक्समा वरिष्ठ चिनियाँ अर्थशास्त्री जुलियन एभान्स प्रिटकार्डलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

चीनमा घरजग्गाले व्यक्तिगत सम्पत्तिको ७० प्रतिशत हिस्सा ओगट्छ । धेरै अवस्थामा खरिदकर्ताहरुले घर प्राप्त गर्नुअघि नै कम्पनीहरुलाई पैसा तिर्दै आएका छन् । अर्थशास्त्री एभान्स प्रिटकार्डका अनुसार यस्ता ‘प्रि सेल’ ले चिनियाँ घरजग्गाको ७०–८० प्रतिशत हिस्सा ओगट्छ । उनका अनुसार निर्माण कम्पनीहरुले यही पैसाबाट नयाँ परियोजनाका लागि खर्च जुटाउँछन् ।

तर, कमजोर अर्थतन्त्र, बेरोजगारी र आयमा कटौतीका कारण पछिल्लो समय धेरै युवा एवम् मध्यमवर्गका मानिसहरुले घरजग्गा क्षेत्रमा लगानी गर्न हिचकिचाइरहेका छन् । यसकारण निर्माण कम्पनीहरुले अफ्ना घरजग्गा परियोजनाहरु पूरा गर्न नसक्ने भय उत्पन्न भएको छ ।

‘यो समस्याको एउटा हिस्सा हो । निर्माण कम्पनीहरुले नयाँ पैसा आइरहने अपेक्षा गरेका थिए तर नयाँ बिक्री भने भएको देखिएको छैन ।’ एभान्स प्रिटकार्डले भने ।

यस्ता निर्माणाधीन परियोजनामा २ खर्ब २० अर्ब अमेरिकी डलर बराबरको ऋण लगानी रहेको एएनजेड नामक कम्पनीले जनाएको छ । यसबाहेक यस्ता घरजग्गा परियोजनामा लगानी गर्नका लागि नयाँ ऋण प्रवाह पनि भइरहेको छैन ।

सन् २०२० मा चीन सरकारले ‘तीन रातो रेखाहरु’ नामक नीति अघि सारेको थियो । लेखासम्बन्धी यस नीतिले निर्माण कम्पनीहरुले लिने ऋणलाईको स्तर तोकेको थियो ।

यसले यस क्षेत्रमा लगानीको बाटो साँघुरो बनाएको बताइन्छ । यसबाहेक घरजग्गा बजारमा देखिएको विश्वासको अभावका कारण बैंकहरु यस क्षेत्रमा लगानी गर्नका लागि निर्माण कम्पनीहरुलाई ऋण दिन हिचकिचाइरहेका छन् ।

चीनका स्थानीय सरकारहरुले घरजग्गा खरिदकर्ताहरुका लागि न्यून निक्षेप, कर सहुलियत एवम् नगद अनुदानजस्ता कार्यक्रम अघि सारेका छन् । यसबाहेक निर्माण कम्पनीहरुलाई पनि सहायता कार्यक्रमको घोषणा गरिएको छ । तर, घरजग्गा क्षेत्रलाई सहुलियत दिँदा स्थानीय सरकारको ढुकुटी पनि रित्तो हुने जोखिम उत्पन्न भएको बीबीसीले उल्लेख गरेको छ ।

‘मेरो विचारमा केन्द्र सरकार र नियामकहरुले यस विषयमा कदम चाल्नुपर्ने बेला भइसकेको छ ।’ स्ट्याण्डर्ड चार्टर्डको ग्रेटर चाइना इकोनोमिक रिसर्चका प्रमुख डिङ शुआङ भन्छन्, ‘समस्याग्रस्त केही कम्पनीका लागि कुनै समयमा कदम चाल्नेछ । यो क्षेत्र अर्थतन्त्रका लागि पनि उत्तिकै महत्वपूर्ण छ ।’

फाइनान्सियल टाइम्सले जनाएअनुसार चीनले हालै निर्माण कम्पनीहरुका लागि १ खर्ब ४८ अर्ब अमेरिकी डलर बराबरको ऋण जारी गरेको छ । त्यस्तै, समस्यामा परेका घरजग्गा खरिदकर्ताहरुका लागि ‘पेमेन्ट होलिडे’ को पनि व्यवस्था गरिएको ब्लुमबर्गले जनाएको छ ।

यद्यपि अक्सफोर्ड इकोनोमिक्सले हालै जारी गरेको प्रतिवेदनमा पूर्वाधार एवम् घरजग्गा क्षेत्रमा सरकारी हस्तक्षेपले अल्पकालका लागि सहजता उत्पन्न गरेपनि ‘चीनको दीर्घकालीन वृद्धिका लागि सरकार र वित्तीय क्षेत्रले घरजग्गाजस्तो अनुत्पादनमुलक (एवम् ओरालोलाग्दो) क्षेत्रलाई सहयोग गर्नु राम्रो नहुने’ उल्लेख छ ।

यो वित्तीय संकटमात्रै होइन । किस्ता नतिर्ने जोखिम गम्भीर सामाजिक समस्या बन्न सक्ने डिङ बताउँछन् । यसले ऐतिहासिक तेस्रो कार्यकालको तयारीमा रहेका राष्ट्रपति सी जिन्पिङको राजनीतिक भविष्यलाई पनि जोखिममा पार्नसक्ने विश्लेषण गरिएको छ ।

विश्लेषकहरु चीन सरकारले उपलब्ध गराएको १ खर्ब ४० अर्ब अमेरिकी डलर यस क्षेत्रको सुधारका लागि पर्याप्त नहुने बताउँछन् । क्यापिटल इकोनोमिक्सका अनुसार घरजग्गा कम्पनीहरुले रोकेको निर्माण कार्य पुनः सञ्चालन गर्न मात्रै ४ खर्ब ४४ अर्ब अमेरिकी डलरको आवश्यकता पर्छ ।

बैंकहरु विशेषगरी ग्रामीण क्षेत्रमा सञ्चालित बैंकहरुले किस्ता नतिर्ने खरिदकर्ताहरुको कदमको वित्तीय भार बहन गर्ने क्षमतामा पनि आशंका रहेको बताइएको छ ।

रोकिएको पूर्वाधारको निर्माण पुनः सञ्चालनमा आएपनि धेरै कम्पनीहरुको अस्तित्व जोखिममा नै रहने देखिएको छ । घरजग्गाको खरिदमा वृद्धि भएपनि यसले यस क्षेत्रमा मानिसहरुको विश्वासलाई बढाउन सक्नेमा आशंका रहेको बताइन्छ ।

चीनको चाइना रियल इस्टेट इन्फोर्मेसन कोर (सीआरआईसी) का अनुसार चीनको ठूला १ सय घरजग्गा कम्पनीहरुको बिक्री यस जुलाई महिनामा अघिल्लो वर्षको यही अवधिको तुलनामा ३९ दशमलब ७ प्रतिशतले घटेको छ । यस संकटले चीनको अर्थतन्त्र नयाँ मोडमा रहेको देखाएको छ ।

‘वृद्धिको नयाँ स्रोत पत्ता लगाउन सरकारले सक्दो प्रयास गरिरहेको छ तर यो चुनौतिपूर्ण हुनसक्छ किनकी पछिल्लो तीन दशकमा चीनको अर्थतन्त्र घरजग्गा, पूर्वाधार लगानी एवम् निर्यात क्षेत्रमा धेरै नै निर्भर रहेको छ’ एभान्स–प्रिटकार्डले भने, ‘चीनको तीव्र आर्थिक विकासको युग सायद अब सकिएको छ… अहिलेको समयमा घरजग्गा क्षेत्रले त्यही देखाइरहेको छ ।’

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ११ : ५७ बजे

बजेट निर्माणबारे अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव

काठमाडौ– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे

राष्ट्रिय विकास परिषदको बैठक बस्दै, १६औँ योजनालाई अन्तिम रुप दिइने

काठमाडौं– राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

महोत्तरी– महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीका अग्निपीडित परिवार राहतको प्रतीक्षामा

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न