सांस्कृतिक सम्पदाको खोजी गरी प्रकाशन गर्न प्रधानमन्त्री देउवाको आग्रह | Khabarhub Khabarhub

सांस्कृतिक सम्पदाको खोजी गरी प्रकाशन गर्न प्रधानमन्त्री देउवाको आग्रह


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक जातजातिका कला र संस्कृतिका विशिष्ट सम्पदाको खोजी गरी त्यस्ता अपार बौद्धिक सम्पत्ति  प्रकाशनमा ल्याउनुपर्ने बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञसभाको ३७ औँ बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले देशका कला, संस्कृति, साहित्य, दर्शन र समाजशास्त्र देशलाई चिनाउने विशिष्ट गहना भएकाले मुलुकको भौतिकसँगै यस क्षेत्रको विकासमा पनि उत्तिकै ध्यान दिनु आवश्यक रहेको बताएका हुन् । प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री देउवाले कुनै पनि देशको विकास भौतिक विकाससँग मात्रै दाँज्न नमिल्ने बताए । उनले कला, संस्कृति, इतिहास, दर्शन र साहित्यको संरक्षण तथा प्रवर्द्धन भएमा मुलुकलाई विश्व समुदायले पहिचान दिने स्पष्ट गरे ।

प्रज्ञा प्रतिष्ठानले नेपालको कला, साहित्य र संस्कृतिलाई देश विदेशमा चिनाउन महत्त्वपूर्ण योगदान दिएको उनले उल्लेख गरे । प्रधानमन्त्री देउवाले मित्रराष्ट्रका प्राज्ञिक निकायसँगको साहित्यिक एवं प्राज्ञिक क्षेत्रमा सहकार्य र सांस्कृतिक आदानप्रदानका लागि सम्झौता गरेकोमा प्रतिष्ठानको नेतृत्वलाई धन्यवाद दिए। उनले  यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाए ।

उनले प्रतिष्ठानले नेपाल चिनाउने ग्रन्थ प्रकाशनका क्रममा ‘नेपाल दर्पण’ परियोजनाअन्तर्गत मधेस प्रदेशको दर्पण चाँडै प्रकाशन हुन लागेको तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सङ्ग्रहालयको चाँडै उद्घाटन गर्न लागिएकामा खुसी व्यक्त गरे । सो क्रममा सरकारबाट हुने सहयोग र सद्भावका लागि आफू तत्पर रहेको प्रधानमन्त्री देउवाले विश्वास दिलाए । सो अवसरमा प्रधानमन्त्री देउवाले प्रज्ञा प्रतिष्ठानको ‘इबुक एप’ को शुभारम्भ गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले नेपालका सम्पूर्ण साहित्यकारका बीचमा प्राज्ञिक नेतृत्व प्रदान गरी नेपालको गौरवलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउन प्रतिष्ठानले प्रशंसनीय  काम गरेको बताए । मन्त्री श्रेष्ठले दक्षिण एसियाली मुलुक र अन्य केही मुलुकसँग दौत्य सम्बन्ध कायम गरेर अनुवाद साथै आदानप्रदानका अन्य काम गरेर नेपाली साहित्य र संस्कृतिको अन्तर्राष्ट्रिय विस्तारमा प्रतिष्ठानले अनुकरणीय काम गरेको बताए ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्यिक क्षेत्रका महत्त्वपूर्ण योजना सञ्चालनका लागि सरकारबाट बजेट वृद्धि हुनुपर्ने माग गरे । सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुँयाल, पूर्व कुलपति वैरागी काइँला, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यलगायतले शुभकामना व्यक्त गरेका थिए।

विसं २०१४ असार ९ गते नेपालको भाषा, साहित्य, कला, संस्कृति, दर्शन र सामाजिक शास्त्र, विज्ञान–प्रविधिको अध्ययन, अनुसन्धान, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्राज्ञिक विचार–गोष्ठी, कार्यशाला-सम्मेलन आयोजना, नेपाल र मित्रराष्ट्रका प्राज्ञिक संस्थासँग भाइचारा सम्बन्ध कायम गरी प्राज्ञिक आदानप्रदान गर्ने उद्देश्यले प्रतिष्ठानको स्थापना भएको हो ।  नेपालको प्राज्ञिक गौरवलाई अध्ययन, अनुसन्धान, अनुवाद र प्रकाशनका माध्यमबाट विश्वव्यापी फैलाउने, विश्वको आधुनिक ज्ञान–विज्ञान र परम्परासँग सम्बन्धित प्रविधि नेपालमा भित्र्याउने प्रतिष्ठानको लक्ष्य छ।

सुरुमा नेपाली साहित्य कला एकेडेमीका नाममा स्थापना भएको यो समय क्रममा ‘नेपाल एकेडेमी’, ‘रोयल नेपाल एकेडेमी’ र ‘नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान’ हुँदै विसं २०२६ मा कानुनी मान्यता पाएको थियो । गणतन्त्रको स्थापनासँगै साविक नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा रहेका ललितकला र सङ्गीत–नाट्य विधाका निम्ति अलग्गै प्रज्ञा–प्रतिष्ठानको गठन गर्ने व्यवस्था गरिएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १ : ०१ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले