टक्सार बजारका धातु उद्योग संकटमा  | Khabarhub Khabarhub

 टक्सार बजारका धातु उद्योग संकटमा 


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर – भोजपुरकाे  ऐतिहासिक टक्सार बजारमा रहेका धातु उद्योग संकटमा पर्न थालेका छन् । खास गरेर पुस्तान्तरण नहुँदा भाडा बनाउने पेशा संकटमा पर्दै गएको हो । बसाइँसराइ तथा दक्ष जनशक्तिको अभावले पनि उद्योग सञ्चालनमा प्रत्यक्ष असर पुगेको स्थानीयवासीको भनाइ छ ।

राणाकालीन समयदेखि सञ्चालनमा आएका यहाँका उद्योगले त्यो समयमा लाखौँ मूल्यका धातुका सामग्री उत्पादन गर्दै आएका भए पनि अहिले अधिकांश बन्द हुँदै गएका छन् । तत्कालीन समयमा रामप्रसाद राई गाउँपालिकाको धोद्लेखानीमा रहेको खानीबाट तामा ल्याएर सामग्री बनाउने चलन थियो ।  अहिले त्यो खानी पनि बन्द भइसकेको छ । 

विगतमा विभिन्न धातुका सामग्री बनाउने २२ उद्योग रहेकामा अहिले सात मात्र सञ्चालनमा रहेको धातु उद्योग सञ्चालन गर्दै आएका स्थानीय व्यवसायी विमलकुमार शाक्यले जानकारी दिए । सातमध्ये दुईले तामा र पितलका भाँडाकुँडा बनाउँछन् भने अन्य पाँच उद्योगले काँसका भाँडाकुँडा बनाउने गरेको व्यवसायी शाक्यले बताए ।

‘यहाँका पराम्परागत धातु उद्योग संकटमा पर्दै गएका छन्’, व्यवसायी शाक्यले भने, ‘मुख्य गरेर पुस्तान्तरण गर्न नसक्दा व्यवसाय संकटमा पर्ने देखिन्छ, विगतमा २२ को सङ्ख्यामा रहेका उद्योग अहिले सातमा सीमित भएका छन् ।’

नयाँ पुस्तामा छिटो लाभ लिने व्यवसायप्रति मोह बढेका कारण यस्तो पेशा गर्न नरुचाउने उनको भनाइ छ । बाबुबाजेले गरेको काम आफूले गरिरहेको भए पनि अबको तेश्रो पुस्ताले यो पेशा गर्न नचाहेको शाक्यले बताए । नयाँ प्रविधिको विकास गरेर नयाँ पुस्तालाई सिकाउन सके व्यवसायलाई बचाउन सकिने शाक्यले बताए । शाक्यले भने , ‘कोइलाको प्रयोग गरेर हातको सहायताले काम गर्नुपर्ने भएकाले मेहनत निकै छ, यसलाई अहिलेको प्रविधिअनुसार सञ्चालन गर्न सके नयाँ पुस्तालाई सिकाउन सकिन्थो जस्तो लाग्छ ।’

शाक्यले १० वर्षको उमेर हुँदा विसं २०३५ बाट धातुको काम गर्दै आएको बताए  । वार्षिक कारोबार १२ देखि १५ लाखको भए पनि आम्दानी भने तीनदेखि चार लाखसम्म हुने उनको भनाइ छ । हातको सहायताले विभिन्न धातुका सामग्री बन्ने भएकाले यहाँ उत्पादन भएका सामग्रीको छुट्टै महत्व रहेको छ । राणा शासनकालदेखि  प्रसिद्धि कमाएका टक्सार धातु उद्योग बन्द हुँदै गएपछि बजार क्षेत्रसमेत सुनसान देखिन्छ । यहाँ बनेका धातुका सामग्रीको बजार माग भने धेरै रहेको व्यवसायी बताउँछन् ।

दक्ष जनशक्ति तथा श्रोतसाधनको अभावका कारण देशकै पुरानो धातु उद्योगहरू मध्येको टक्सारका धातु उद्योग संकटमा पर्दै गएकोप्रति स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन् । टक्सारका धातु उद्योग र टक्सारको मौलिक पहिचानलाई जीवित गराउन सरकार तथा स्थानीयस्तरबाट अभिप्रेरित गराउनुपर्ने स्थानीयको माग छ । मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक श्रोतसाधन उपलब्ध गराउन जरुरी रहेको स्थानीयवासी कुमारप्रसाद श्रेष्ठले बताए ।

‘यहाँका उद्योग संकटमा पर्दै गएका छन्’, उनले भने, ‘संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक छ, प्रविधिको प्रयोग गरेर पुस्तान्तरण गर्न सके पेशालाई जीवन्त राख्न सकिन्छ ।’ यहाँ काँसको करुवा, डाडुपन्यू, कसौडी, आङ्खोरा, बटुका, थाल, डबका, तामा एवं पित्तलका गाग्री, खड्कुला, तसला बन्ने गरेका छन् । यहाँका भाँडा बनाउन धरान, विराटनगर, काठमाण्डौँलगायत ठाँउबाट आवश्यक पर्ने काँससहितका कच्चा पदार्थ ल्याइने गरिएको छ ।

दश वर्ष अघितिर वनले कोइला काट्न रोक लगाएकाले धेरै व्यवसायीले पेशा छाडेको व्यवसायी प्रेम उदासले बताए  । त्यो समयमा  कोइलाको धेरै अभाव भएको उनले अनुभव सुनाए । अहिले भने सबै व्यावसायी मिलेर वनसँग सम्झौता गरेर कोइला ल्याउने गरेकोले अभाव नरहेको उनको भनाइ छ । 

हातको सहायताले निर्माण गरिएको एक नम्बर काँसको करुवा प्रतिकिलो तीन हजार पाँच सयमा बिक्री हुनेगरेको छ । करुवाको तौलअनुसार मूल्य फरक पर्ने उनको भनाइ छ । विभिन्न बुट्टा बनाएर करुवा बनाइने भएकाले टक्सारे करुवाको माग बढी रहेको उनको भनाइ छ । यहाँ उत्पादन भएका करुवा, कचौरा, थाललगायत अत्यधिक माग भए पनि पूरा गर्न समस्या रहेको उदासको भनाइ छ ।

यो व्यवसायबाट वार्षिक रु छ लाखसम्म आम्दानी लिने गरेको उनले बताए । ‘राम्ररी काम चलेमा मासिक रु ५० हजारसम्म आम्दानी हुन्छ’, उदासले भने । दक्ष जनशक्ति नहुँदा बजार मागलाई धान्न नै समस्या छ । पछिल्लो समय ठूलाठूला करुवा, पानसलगायत माग धेरै छ ।

– युवराज विष्ट रासस

 

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  २ : ५३ बजे

म्याद थपका लागि रविलाई कास्की अदालत लगियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका

टिमुरका बिरुवा बेचेर वार्षिक दुई लाख रुपैयाँ आम्दानी

दाङ– दाङको बङ्गलाचुली गाउँपालिका–४ स्थित जुम्लेपानी गढी सामुदायिक वन उपभोक्ता

रविलाई म्याद थपका लागि आज अदालत लगिँदै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई

मेचीनगरमा अपाङ्गता पहिचान गर्न १५ दिने अभियान

झापा– झापाको मेचीनगरमा अपाङ्गता भएकाहरूको पहिचान गरी परिचयपत्र वितरण गर्ने

प्रतिबन्धित क्रिप्टोमा हजारौँ नेपालीले दैनिक गर्छन् अर्बौंको कारोबार

काठमाडौं– नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गर्न पाइँदैन । क्रिप्टोकरेन्सीको कारोबारसम्बन्धी कुनै