सामुदायिक वनमा व्यावसायिक बेसार खेती | Khabarhub Khabarhub

सामुदायिक वनमा व्यावसायिक बेसार खेती


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

झापा– झापाका दक्षिण क्षेत्रका सामुदायिक वनले व्यावसायिकरूपमा बेसार खेती सुरुआत गरेका छन् । कचनकवल र हल्दीबारी गाउँपालिकाभित्र रहेका १४  सामुदायिक वनमध्ये पाँचवटाले बेसार खेती गरेका हुन् ।

वनभित्र रहेको माइकेनियाँ झार फाँडेर बेसार खेती गरिएको सामुदायिक वन महासंघ कचनकवल गाउँपालिकाका अध्यक्ष भीम लुइँटेलले बताए । उनले कचनकवलभित्र रहेका तीनवटा सामुदायिक वन उपभोक्ता समितिले छ हेक्टर जमिनमा बेसार खेती गरिरहेको जानकारी दिए । 

गत वर्ष फरेस्ट एक्सन नेपालको सहयोग र सहकार्यमा उनले माइकेनियाँ झारको नियन्त्रण हुने र हात्तीले समेत नबिगार्ने हुँदा बेसार खेती थालिएको बताए । ‘आम्दानीको स्रोत पनि भयो’, उनले भने, ‘बेसार आफैँ पनि मलिलो बिरुवा हुँदोरहेछ । यसको खेती सुरु भएपछि वर्षौँदेखि माइकेनियाँ झारले उम्रिन नदिएका नयाँ बिरुवासमेत आफैँ उम्रन थाले ।’

उनले सामुदायिक वनकै अतिविपन्न परिवारका उपभोक्तालाई छानेर वनमा बेसार खेतीका लागि प्रोत्साहन गर्ने गरेको बताए । हाल वनमा बेसार खेती राम्रोसँग फस्टाएको उनको भनाइ छ । उनका अनुसार कचनकवल गाउँपालिकाभित्र रहेका दुर्गाभिट्टा, अभिमुक्तेश्वर, त्रिवेणी सामुदायिक वन उपभोक्ता समितिले क्रमशः चार हेक्टर र एक/एक हेक्टर जमिनमा बेसारको व्यावसायिक खेती गर्दै आएका छन् । 

यसैगरी हल्दिबारी क्षेत्रका रातमाटे र पाथीभरा सामुदायिक वनले समेत बेसार खेती गर्दै आएको सामुदायिक वन उपभोक्ता महासङ्घ हल्दिबारीका अध्यक्ष हेमराज काफ्लेले बताए । उनका अनुसार वन क्षेत्रमा परीक्षणका लागि चार/चार कठ्ठामा बेसार खेती गरिएको छ । ‘थोरै लगानीमा धेरै आम्दानी हुने, मल र पानीसमेत चाहिने हुँदा बेसार खेती उपयुक्त भएको महसुस गरेका छौँ’, उनले भने, ‘उपभोक्ताले उत्पादन गरेको बेसार उनीहरूलाई दिने र सो क्षेत्रमा उम्रिएका नयाँ बिरुवा भने खाली रहेको वन क्षेत्रमा सारिने गरिएको छ । वन क्षेत्रमा नयाँ बिरुवा उमार्ने उपयोगी खेती पो भयो बेसार ।’

उनले बिरुवा लगाएको एक वर्षमै उत्पादन दिन थालेको जनाउँदै भने, ‘अन्य वन क्षेत्रमा पनि लगाउने तयारी गरिरहेका छौँ ।’ हात्ती र माइकेनियाँ झारका कारण आजित भएका सामुदायिक वनहरु बेसार खेतीका लागि प्रेरणा दिने फरेस्ट एक्सनसँग यतिबेला खुसी छन् ।  आगामी दिनमा पालिकाभित्र रहेको सातवटै सामुदायिक वनमा व्यावसायिकरूपमा बेसार खेती गर्ने योजना रहेको उनले सुनाए ।

डिभिजन वन कार्यालय झापाले अन्य सामुदायिक वनहरूले पनि खाली रहेको अर्थात् साना बिरुवा भएको क्षेत्रमा बेसार खेती गर्दा उपयुक्त हुने जनाएको छ । कार्यालयका निमित्त प्रमुख जीवनकुमार पाठकले बेसार खेतीका लागि जमिन खनजोत गर्दा सो क्षेत्रमा वर्षौँदेखि उम्रिन नसकेका साल, हर्रो, बर्रो, कदमलगायतका बिरुवासमेत उम्रिएको बताए । 

जिल्लामा कृषि सहकारी, निजी क्षेत्रका सङ्घसंस्थाले विगतदेखि नै व्यावसायिक बेसार खेती गर्दै आए पनि सामुदायिक वनहरुले भने पहिलोपटक खेतीको अभ्यास गरेको उनले जानकारी दिए ।

जिल्लामा बेसारको व्यावसायिक खेती गर्ने पहिलो दमक नगरपालिकास्थित मानसरोवर कृषि सहकारी संस्था रहेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । सो सहकारीले आर्थिक वर्ष २०७६/७७ बाट बेसार खेतीको सुरुआत गरेको हो । 

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी गणेश शिवाकोटीले जिल्लामा गत आर्थिक वर्ष २०७८/७९ मा दुई सय २० हेक्टर क्षेत्रमा बेसारको व्यावसायिक खेती भएको बताए । उनले केन्द्रले बेसार खेतीको प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्षदेखि किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिने बताए । 

उनले बलौटे दोमट, कालो, रातो र चिम्ट्याइलो माटोमा बेसारको खेती हुने गरेको बताए । पानी नजम्ने जग्गामा चैत र वैशाख महिना बिरुवा लगाउन उपयुक्त हुने उनको भनाई छ । बेसार हाम्रो दैनिक भान्सामा मसलाका रूपमा प्रयोग हुने एक प्रकारको धुलो हो । बेसारलाई चिकित्सा विज्ञानले भिटामिन तथा खनिज लवणको उत्तम स्रोतको रुपमा लिने गरेको पाइन्छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  २ : २८ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय