अंकगणित हेरेर गठबन्धनको भविष्य निर्धारण हुन्छ | Khabarhub Khabarhub

अंकगणित हेरेर गठबन्धनको भविष्य निर्धारण हुन्छ

‘एमसीसीको भ्रम चिर्न केन्द्रित छौं’


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै राजनीतिक दललाई चुनाव लागेको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेताको दौडधुप सुरु भएको छ। केन्द्रीय नेता चुनावका लागि गाउँगाउँ पुगेका छन्। मंगलबारबाट सत्ताको नेतृत्वकर्ता नेपाली काँग्रेसले ‘घरघर जाऔं, काँग्रेस जिताऔं’ अभियान सुरु गरेको छ। स्थानीय चुनाव, चुनावी गठबन्धन र कांग्रेसको तयारी विषयमा कांग्रेस प्रवक्त डा. प्रकाशशरण महतसँग खबरहबका लागि धिरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंश :

चुनाव केन्द्रित एक महिने अभियान बोकेर गाउँ पस्नु भएको छ, माहोल कस्तो पाउनुभयो ?

‘घरघर जाऔं, काँग्रेस जिताऔं’ भन्ने अभियान बोकेर हाम्रा साथीहरु जिल्लाजिल्ला र वडा वडामा पुग्नु भएको छ। केन्द्रीय नेतादेखि गाउँ तहका नेतासमेत यो अभियानमा हिंड्नु भएको छ । गाउँ तहका नेताले काम गर्न सुरु गरिसक्नु भएको छ। कार्यकर्ता पङ्त्तिमा उत्साह छाएको छ। माहोल उत्साहजनक छ। प्रतिक्रिया अत्यन्तै सकारात्मक आइहेको छ। हामी अझै जनताको घर घरमा पुग्न बाँकी छ, त्यसले अझै बढी माहोल बनाउने छ।

भोट माग्नका लागि तपार्ईंहरुसँग एजेन्डा के छ ? जनतालाई भन्ने र बुझाउने विषय के के छन् ?
कांग्रेससँग चुनावका लागि समसामयिक र स्थानीय दुबै एजेन्डा छन्। स्थानीय तहमा भएका कामको समीक्षा गर्ने र आगामी योजना बनाउने काममा हामी केन्द्रित छौं। विपक्षीले स्थानीय तहमा गरेको बद्मासीको भण्डाफोर पनि गर्छौ। सँगसँगै राष्ट्रिय मुद्दा पनि छन्। नेकपाको सरकारको तीन वर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनता समक्ष व्यापक रूपमा राख्ने हाम्रो तयारी छ।

कांग्रेससँग चुनावका लागि समसामयिक र स्थानीय दुबै एजेन्डा छन्। स्थानीय तहमा भएका कामको समीक्षा गर्ने र आगामी योजना बनाउने काममा हामी केन्द्रित छौं।

प्रतिपक्षमा रहनु पर्ने जिम्मेवारीका बाबजुद संविधान रक्षाका लागि बाध्यात्मक रुपमा सरकारमा जानु परेको यथार्थ हामी राख्छौँ। कांग्रेस नेतृत्वको सरकारले छोटो समयमा ७०% नागरिकलाई खोप लगाइसकेको र निर्वाचनसम्म पुग्दा प्रायलाई लगाइसक्ने योजना थप स्मरण गराउँदै जनतालाई कोरोना महामारीसँग अझै सतर्कताका लागि अपील गर्नेछौं। र, एमसीसीका विषयमा जनतामा रहेको भ्रम चिर्ने र बुझाउने काममा पनि हामी सक्रिय हुनेछौं। जनताहरुलाई झुक्याउने काम भएको छ। जसलाई चिर्न हामी यो समयलाई प्रयोग गर्छौँ।

एमसीसी पास गरेर कांग्रेसले राष्ट्रघात गर्यो भनेर जनताले तपाईंहरुमाथि प्रश्न उठाउने कम छैनन्। उनीहरुलाई कसरी विश्वास दिलाउनुहुन्छ ?
जम्मा ४ जना सांसद्ले मात्रै विपक्षमा हात उठाएको अवस्था हो। सर्वसहमतले नै एमसीसी संसदबाट पारित गरिएको छ। आम सहमति गर्न कांग्रेस सफल भएको छ। केही साना दलले आफ्नो अस्तित्व देखाउन यसका विषयमा अझै हल्ला गरिरहेका छन्, त्यसलाई जनताले सुन्दैनन्। ठूला दलका केही नेता उफ्रिरहेका छन्। तर, त्यसको पनि कुनै तुक छैन्। अब जनतामा अहिलेसम्म तिनले के के भनेर भ्रम बेचे र यथार्य के हो एमसीसीको ? हामी बुझाउँने प्रयासमा छौं। जनताले दोहोरो चरित्र देखाउँने दलको लेखा जोखा गर्छन्। तर, नेपाली कांग्रेस मात्रै एउटा यस्तो पार्टी हो जो सत्यलाई सत्य भनेर निरन्तर बोलिरहन्छ। शिर ठाडो बनाएर आफ्नो एजेन्डा राखिरहन्छ। हामी एमसीसीको विषयमा पनि जनतालाई बुझाउने छौं। कार्यान्वयन गर्नेछौं।

तपाईंले सजिलैसँग एमसीसी कार्यान्वयन हुन्छ भन्नु भएको छ। तर, यसका विरोधी पनि सक्रिय छन्। कसरी व्यवस्थापन गर्नुहुन्छ ?
यो नेपालको बिडम्बना हो। नेपालमा जब ठूला विकासको कुरा आउँछ, ठूलो अनुदान आउँछ त्यसलाई विथोल्न खोजिन्छ। प्रगति रोक्न खोज्ने प्रयत्न भइरहन्छ। यसविरुद्ध शसक्त जनमत तयार गर्नुपर्छ। होइन भने नेपाल सधैं गरिबीको दुष्चक्रमा फसिरहन्छ। हामी सधै अभावसँग जुधिरहन्छौ। यसको अन्त्यका लागि पनि विकासका ढोका खोल्नुपर्छ। एमसीसी जस्ता परियोजना कार्यान्वयन गरिनुपर्छ। गरिबीको नाममा जुन स्तरको राजनीति भइरहेको छ, यो अत्यन्त घातक छ। यो प्रवृति चिर्न जरुरी छ। त्यसका लागि नेपाली कांग्रेसले यो अभियान चलाएको हो।

एमसीसी जस्ता परियोजना कार्यान्वयन गरिनुपर्छ। गरिबीको नाममा जुन स्तरको राजनीति भइरहेको छ, यो अत्यन्त घातक छ। यो प्रवृति चिर्न जरुरी छ। त्यसका लागि नेपाली कांग्रेसले यो अभियान चलाएको हो।

अब, एमसीसी कार्यान्वयनको जुन कुरा छ, यो कार्यान्वयन हुन्छ। केही व्यक्तिले नेपालको जग्गा अमेरिकी सरकारको नाममा पास गर्यो भनेर हावा फैलाएका छन्। त्यस्तो होइन्, ठूला आयोजना काम नसकिदासम्म त्यस क्षेत्रको जमिन निर्माणको जिम्मा लिएको कम्पनीको नाममा हुन्छ। एमसीसीमा पनि त्यहि हो। एमसीए नेपाल भनेको अर्थमन्त्रालयका सचिवको संयोजकत्वमा रहेको नेपालको आफ्नै संयन्त्र हो। यही संयन्त्रले कार्यान्व्यन गर्छ। निर्माण प्रक्रिया सकिएपछि त्यो स्वतः पूर्ण रुपमा सरकार मातहात आउँछ।

जनताको घर जाँदा जनताले अघिल्लो पटक गरेको प्रतिवद्धता के भयो भनेर प्रश्न गर्छन्। त्यो बेला के जवाफ दिनुहुन्छ ? हरेक गाउँपालिकामा प्रसूति सेवासहितको १५ शैय्या र सबै नगरपालिकामा ५० शैय्याको आधुनिक अस्पताल बनाउने घोषणा किन कार्यान्वयन भएन ?
धेरै ठाउँमा यो प्रक्रिया अघि बढेको छ। तर, केन्द्रमा कम्युनिष्टको सरकार आयो। स्थानीय तहहरु अहिले आफ्नै स्रोत साधनले काम गर्न सक्ने अवस्थामा छैनन्। त्यसका लागि समय लाग्छ। अहिले पनि केन्द्रकै मुख ताक्नु पर्ने अवस्था छ। तर, कम्युनिष्ट पार्टीको तत्कालीन सरकारले सहयोग नगर्दा ती कामहरु पुरा हुन सकेनन्। हामी हाम्रो बाध्यता र अवस्थाका विषयमा जनतालाई स्पष्ट पार्छौं। पहिलो कार्यकालमा केही काम भएको छ, जग बसेको छ। अब दोस्रो चरणमा काम फटाफट अघि बढ्छ। केन्द्रदेखि स्थानीय तहसम्म कांग्रेस निर्वाचित भएको अवस्थामा हाम्रा कुनै प्रतिवद्धता अधुरो रहन दिनेछैनौ।

तपाईहरु जति काम गर्नुहुन्छ त्यो भन्दा कयौं गुणा बढी आश्वास बाढेर जनता किन झुक्याउनुहुन्छ ? सक्ने जति मात्रै प्रतिवद्धता गर्दा भोट आउँदैन् ?
दलहरु प्रचारमुखी भएका छन्। यसमा कम्युनिष्ट पार्टीहरु निकै अगाडि छन्। हामीले पनि नचाहदा नचाहादै अलिअलि बोल्नु परेको छ। जनता पनि तत्कालै धेरै कुरा सुन्न चाहन्छन्। जसले त्यो कुरा जोडदार ढंगबाट उठाउँछ, उसैलाई पत्याइ दिने सम्भावना छ। कांग्रेसले थोरै मात्रै गर्छु भनेको छ, फलानो पार्टीले यतिका धेरै काम गर्छु भनेको छ। भनेर जनता झुक्किने सम्भावना रहेकाले हामी पनि जति गर्न सकिन्छ त्यो भन्दा बढी बोल्न र प्रतिवद्धता गर्न बाध्य भएका हौं। तर, हामी बोलेको काम गर्छौ।

कांग्रेसका केही नेताहरुले यो गठबन्धन हुँदैन भनिरहनु भएको छ। तर, हाम्रो केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धन हुनुपर्छ, हुनुहुँदैन भन्ने विषयमा नेपाली कांग्रेस नबोल्ने निर्णय गरेको छ।

गठबन्धन चुनावमा पनि कायमै राख्ने कि सरकारमा मात्रै भन्ने विषयमा कांग्रेस विभाजित छ। गठबन्धन कसरी उपयोग गर्ने भन्ने विषयमा कांग्रेसको खास लाइन के हो ?
कांग्रेसका केही नेताहरुले यो गठबन्धन हुँदैन भनिरहनु भएको छ। तर, हाम्रो केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धन हुनुपर्छ, हुनुहुँदैन भन्ने विषयमा नेपाली कांग्रेस नबोल्ने निर्णय गरेको छ। वैशाख पहिलो साता तिर जब टिकट दिने समय सुरु हुन्छ। त्यो बेलामा जिल्ला जिल्लाबाट, गाउँ गाउँबाट रिर्पोटिङ लिनेछौं। गठबन्धनमा रहेका दलको शर्त र माग सुन्ने छौं। अनि बल्ल कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय गर्ने छौं। अहिले नै गठबन्धनका विषयमा यो हो र होइन भन्न आवश्यक छैन।

अंकगणित हेरेर गठबन्धनका विषयमा निर्णय गर्ने भन्न खोज्नु भएको ?
निर्वाचन भनेकै अंकगणित हो। निर्वाचनमा हरेक पार्टीले अंकगणित हेर्छ। हेरिनुपर्छ। अरु दलहरुले पनि हेर्छन्। गठबन्धनमा रहेका दलहरुलाई एक्लै लड्दा भन्दा केही बढी लाभ हुन्छ भन्ने लाग्यो भने अर्को पक्षलाई हराउन सकिन्छ। त्यसका लागि गठबन्धन बनाएर चुनावमा जान सकिन्छ। होइन भने एक्ला एक्लै अघि बढ्ने बाटो तयार छ।

कुनै पेशा व्यवसायका मान्छेलाई सांसद् बनाएको वा टिकट दिएको विषयमा बहस गर्नुपर्छ जस्तो मलाई लाग्दैन्। उनीहरुले पनि समाज र देशलाई योगदान गरेका हुन्छन्।

नेपालको निर्वाचन प्रणालीको कुरा गर्दा निर्वाचन निकै महंगो हुँदै गएको, पार्टीहरुले टिकट नै किनबेच गर्ने गरेको आरोप लाग्न थालेको छ। किन होला ?
हाम्रो पार्टीमा टिकट किनबेच भएको मलाई थाहा छैन्। यदि कति कतै अपवादका रुपमा रहेछ भने यसका विषयमा बहस छलफल गरौला। तर, टिकट पाए हुन्थ्यो भनेर आश राख्ने र अपेक्षा गर्ने थुप्रै हुन्छन्। टिकट नपाउनेले यस्तो कुप्रचार गरेको हुनसक्छ। खासमा दलहरुको लक्ष्य भनेको चुनाव जित्ने नै हुन्छ। जसलाई उठाउँदा चुनाव जितिन्छ, उसलाई उठाउन हो। पार्टीमा वर्षौ योगदान गरेर मात्रै हुँदैन् जनता माझ लोकप्रिय पनि हुनुपर्छ। कहिले काही नयाँले पनि अवसर पाउँनु पर्छ। अब यसो गर्यो भन्दैमा टिकट किनबेच भयो भन्नु बेकारको आरोप मात्रै हो।

तपाईंहरुका समानुपातिक उम्मेदवार र टिकट दिएका व्यक्ति हेर्दा यो प्रश्न स्वभाविक छैन र ?
कुनै पेशा व्यवसायका मान्छेलाई सांसद् बनाएको वा टिकट दिएको विषयमा बहस गर्नुपर्छ जस्तो मलाई लाग्दैन्। उनीहरुले पनि समाज र देशलाई योगदान गरेका हुन्छन्। त्यस्ता व्यक्ति पनि चाहिन्छ। त्यसैले टिकट दिइन्छ। त्यतिकै पार्टीले कहाँ सांसद् बनाउँछ ? उमेदवारका रुपमा टिकट दिन्छ र ?

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ७ : ०४ बजे

पाँच दलीय गठबन्धनको न्यूनतम कार्यक्रम सार्वजनिक 

काठमाडौं– पाँच दलीय गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ

पर्यटक बढाउन पोखराका होटेलमा छुट अफर

गण्डकी– होटल सङ्घ पोखरा नेपालले यही चैत २९ देखि आगामी

महाराजले श्रीमतीलाई महारानी बनाउनुपर्छ : श्रीनिवास

हिन्दु धर्मगुरु आचार्य श्रीनिवासले शीतलकृष्ण महाराजले श्रीमतीलाई अन्याय गरेको आरोप

भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक २०८०’ माथि विचार गरियोस्

सामान्य अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कको गिरावट देखिएको