प्याराग्लाइडिङ विस्थापन होइन व्यवस्थापन गर्न माग | Khabarhub Khabarhub

प्याराग्लाइडिङ विस्थापन होइन व्यवस्थापन गर्न माग


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराको साहसिक पर्यटकीय पहिचान बनेको प्याराग्लाइडिङ विस्थापित हुने हो कि भन्ने कुराले प्याराग्लाइडिङ व्यवसायीलाई चिन्तित बनाएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा ल्याउन सक्रिय व्यवसायी त्यही विमानस्थलले झन्डै रु डेढ अर्ब लगानीको व्यवसाय विस्थापित हुने हो कि भन्ने चिन्तामा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएकाले आगामी जनवरीमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । सोको लागि प्याराग्लाइडिङलाई विकल्पको छनोट गरेर सार्न निर्देशन दिइएको छ । तर, व्यवसायीको माग पोखराको आकाशबाट विस्थापन नभई व्यवस्थापन हुनुपर्छ भन्ने छ ।

‘प्याराग्लाइडिङ साहसिक पर्यटनको एउटा ब्रान्ड हो, पोखराको आकाशमा उड्न जति पर्यटक रमाउँछन् त्यो अन्यत्रबाट हुँदैन । तसर्थ यही कतै व्यवस्थापन गर्नुपर्छ’, नेपाल हवाई खेलकुद संस्था (ना)का अध्यक्ष सुनिलबहादुर भट्टराईले भने । उनले सरकारले चाह्यो भने समय छुट्टाएर यही आकाशबाट उडाउन सक्ने र आफूहरूको पनि त्यही माग भएको बताए ।

‘हामी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भन्ने विषयमा जति उत्साहित भएका थियौँ, अहिले विमानस्थल निर्माणसँगै कतै आफ्नै व्यवसाय नै विस्थापित हुन्छ कि भन्ने चिन्ताले पिरोलिएका छौँ’, भट्टराईले भने ।

जहाज उडानको समय तालिकालाई ध्यान दिएर प्याराग्लाइडिङको लागि दुई घण्टा समय तोकेरै भए पनि सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ । नाका पूर्व अध्यक्ष योगेश भट्टराई प्याराग्लाइडिङको व्यवस्थापनमा सरकारले विशेष चासो दिनुपर्ने बताउँछन्। ‘हामीलाई पूर्वाधार मात्र होइन पूर्वाधार निर्माण पछि आउने पर्यटक पनि चाहिएको हो जसले पोखरामा आनन्द लिन सकुन् र उनीहरूको बसाई पनि लम्बियोस् ।’ पोखराको प्याराग्लाइडिङ उडान विश्वमै उत्कृष्ट तीनभित्र  पर्ने र साहसिक पर्यटकको लागि उपयुक्त गन्तव्य भएको व्यवसायी बताउँछन्। विश्वका कतिपय देशमा जहाज उडानसँगै ‘एयर स्पोट्र्स’ गतिविधि हुने गरेकाले आधुनिक प्रविधिको प्रयोग गरेर ती देशमा भएका अभ्यासको अध्ययन गरेर अनुसरण गर्न सकिने व्यवसायीको भनाइ छ । ।

प्राधिकरणले अहिलेसम्म यस विषयमा विशेष चासो राखेर व्यवसायीको आवाजलाई सम्बोधन गर्नेतर्फ नलाग्नु दुःखद भएको उनको भनाइ छ । ‘अब कसरी जाने विकल्प के के हुन सक्छ ? विमानस्थलसँगै पोखराको आकाशमा प्याराग्लाइडिङ उडानको सम्भावना अध्ययनको रिपोर्ट के छ भन्नेबारेमा पनि स्पष्ट धारणा आएको छैन, उडान सम्भव छैन मात्र भनिएको छ’, उनले प्राविधिक कुरा भएकाले व्यवस्थापन गर्न सके सम्भव हुने बताए।

निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले पोखराको आकाशबाट उडान हुनुपर्ने र त्यसको प्राविधिक व्यवस्थापनसँगै दिगो पर्यटनका लागि प्राधिकरणले सोच्नुपर्ने बताउँछन् । जहाजको ‘ओभर सुट मिस एप्रोज’ हुँदा  त्यसलाई ‘राइट टर्न’ नगरी ‘लेफ्ट टर्न’ गर्‍यो भने प्याराग्लाइडिङ पनि हुने र जहाज उडानमा थप सुरक्षा हुने भएकाले प्राधिकरणले यसलाई अवलम्बन गरेर सञ्चालन गर्न उनको आग्रह छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई पोखरामा भइरहेका साहसिक उडानका गतिविधि रोकिँदा पर्यटकको पोखरा बसाई पनि घट्न सक्ने बताउँछन् । अहिले पोखरामा पर्यटकको बसाई अवधि औसत दुई दिन छ । टानका प्रथम उपाध्यक्ष धर्मराज पन्थी पोखरालाई विश्वमा चिनाउने पदमार्ग मोटरेबल बाटोले विस्थापित गरायो अब प्याराग्लाइडिङ पनि विस्थापित हुने हो कि भन्ने शङ्का बढ्न थाल्यो भन्छन् ।

पोखराको आकाशमा सन् १९९६ देखि प्याराग्लाइडिङ उडान सुरु भएको हो । पहिलो पाइलट राजेश बमजन छन् । सन् २००० देखि व्यावसायिकरुपमा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा आएका हुन् । अहिले पोखराका ६० कम्पनीमा करिब रु डेढ अर्बको लगानी छ । करिब दुई हजारले रोजगारी पाएका दाबी व्यवसायीको छ । यो व्यवसायमा करिब ३७५ पाइलट छन् । प्याराग्लाइडिङ फ्लाइङ स्कुल तीन, अल्ट्रालाइट कम्पनी चार र एउटा हटएयर बेलुन कम्पनी सञ्चालनमा छन् ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ८ : ४५ बजे

फ्रिक्वेन्सी बक्यौता विवाद : पैसा नबुझाएपछि टाटाले रोक्यो एनसेललाई इन्टरनेट ब्यान्डविथ

काठमाडौं– भारतीय ब्यान्डविथ सप्लायर्स कम्पनी टाटाले एनसेललाई उपलब्ध गराउँदै आएको

विपद्जन्य घटनाबाट झापामा एक वर्षमा १५ जनाको मृत्यु

झापा– विपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु भएको छ भने

महामन्त्री ढकालमाथि रास्वपाले थप कारबाही अघि बढाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक अहिले पनि जारी

अर्थसंक्षेप : वर्षासँगै बिजुली उत्पादन बढ्दै, सहकारी संस्थाका सञ्चालकलाई निर्देशन

काठमाडौं– पछिल्लो सातादेखि देशभर वर्षा हुन थालेपछि जलविद्युत उत्पादन गृहहरूबाट

राष्ट्रियसभामा विनियोजन विधेयकमा छलफल

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथि को छलफल