‘बालबालिकामा मोबाइल ‘एडिक्सन’ बढ्दै गएको छ’ | Khabarhub Khabarhub

‘बालबालिकामा मोबाइल ‘एडिक्सन’ बढ्दै गएको छ’

'बालबालिकालाई सकेसम्म होस्टेल नराखौंँ'


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अहिलेको विश्व परिवेशमा प्रविधिले धेरै फड्को मारेको छ। बच्चा जन्मिएको हप्ता/महिनापछि नै बच्चा भुलाउने वा फकाउने नाममा मोबाइलमा भिडिओ सामग्री देखाउने गरिन्छ। परिवारको यस्तो आचरणले बच्चालाई बिस्तारै ‘एडिक्सन’तर्फ लैजान्छ। जसको परिणाम निकै नै हानिकारक हुन्छ।

आमा–बुवा आफू पनि मोबाइलमा व्यस्त हुने र बालबच्चालाई पनि मोबाइलमा नै व्यस्त बनाउने परिपाटीले गफगाफ र भलाकुसारी करिब बन्द जस्तै भएको छ। यहाँसम्मकी कति बालबच्चालाई त खानासमेत मोबाइल देखाएरै खुवाइन्छ। यो एडिक्सनको विकराल रुप हो।

बालबालिकाको मानसिक रोग बढ्दै
अभिभावकले समय नदिँदा बालबालिकामा विभिन्न असर पर्छ। अभिभावकको काम बच्चा हुर्काउने मात्र होइन। धेरै पक्षमा ध्यान दिनुपर्छ। अभिभावकले बच्चा हुर्किने बेला समय नदिँदा बालबालिकाको बौद्धिक, सामाजिक र शारीरिक पक्षका गम्भीर असर पर्छ। जसका कारण पढाइमा कमजोर हुने र मानसिक समस्यासमेत देखा पर्ने विभिन्न अनुसन्धानले समेत देखाएका छन्।

अभिभावकले समय नदिँदा सबै बालबालिकामा मानसिक रोग हुँदैन। बच्चाले अरू कुनै समस्या झेल्नुपरेको छ, छैन बुझ्नुपर्छ। तर अभिभावकले समय दिँदा आउने समस्या कम हुन सक्छन्। बालबालिकालाई मानसिक समस्या आउनुको मुख्य कारण भनेको ‘बुलिङ’ पनि हो। हामीले हेर्दा सामान्य लागे पनि बच्चाको लागी यो एकदमै ठुलो समस्या हो।

अभिभावकले आफ्नो बच्चालाई सबै कुरा सोध्ने, के भइरहेको छ, भनेर ध्यान दिने गरेको छन् भने एक्सन लिन सकिन्छ। बालबालिकामा दुर्व्यवहार भइरहेको छ भने उनीहरूले समय दिने अभिभावकसँग खुलेर भन्न सक्छन्। होइन भने अभिभावकको माया पाउन उनीहरू नकारात्मक बाटो खोज्छन्। अभिभावक भएको भन्दा नभएको बालबालिकामा मानसिक रोगको समस्या बढी पाइन्छ।

बालबालिकालाई सकेसम्म होस्टेल नराखौँ
होस्टेलमा राख्ने बाध्यता जस्तै हो। तर हामीकहाँ कतिपय अभिभावकले राम्रो शिक्षा दीक्षाको लागी मन नलागे पनि होस्टेलमा राख्नुपर्ने ठान्छन्। विदेशतिर होस्टेलमा राख्नै दिइँदैन। बालबालिकाले सिक्ने शिक्षा मात्र होइन। शिक्षालाई लागू गरेर राम्रो मान्छे बन्न सक्नुपर्छ। यो सिक्ने समयमा बालबालिकालाई परिवारसँगै राख्नुपर्छ।

स्कुलमा शिक्षकले मात्र सिकाएर हुँदैन। आफ्नो अभिभावकले के गर्नुहुन्छ, के गर्नुहुँदैन भन्ने कुरा सिकाउनुपर्छ। उनीहरूले अभिभावकले गरेको देखेर पनि सिक्ने गर्छन्। सकेसम्म होस्टेलमा राख्नु राम्रो होइन।

मानसिक समस्या कसरी थाहा पाउने ?
बालबालिकालाई मानसिक समस्या हुँदैन भन्ने धेरै जनालाई भ्रम छ। मानसिक समस्या ठुलो मान्छेलाई चिन्ता परेपछि हुने भनेर सोचिन्छ। तर, ठूलो संख्यामा मानसिक समस्या सुरु हुने बाल्यकालमा हो। बाल्यकालमा करिब ४० प्रतिशत समस्या सुरु भइसकेको हुन्छ।

मानसिक समस्या भएको बालबालिकाको भाव व्यक्त गर्ने तरिका, प्रस्तुति फरक हुन्छ। धेरै बालबालिकाले पढाई भन्दा खेल्नमा ध्यान दिन्छन्। राम्रो भइरहेको पढाई एक्कासि बिग्रियो भने अभिभावकले के कारणले हो भनेर बुझ्नुपर्छ। धेरै रिसाउने, झगडा गर्ने बानी पछि देखा पर्‍यो भने समस्याको बारेमा बुझ्न जरुरी हुन्छ।

यसलाई बालबालिकाको मानसिक समस्या भन्दा पनि बानी व्यवहारमा समस्या भनेर हेर्ने गरिन्छ। डिप्रेसन, एन्जाइटी हो भनेर उपचार गर्नु पर्दैन। धेरै ‘टिनएज’कोलाई डाक्टर नै पत्ता लगाएर अभिभावकलाई लैजानु भनेर पनि आउने गरेको पाइन्छ।

उपचार कसरी गर्ने ?
अहिले नेपालको धेरै ठाउँमा उपचार सम्भव छ। हामीले के-कस्तो समस्या हो भनेर चिकित्सकलाई देखाउनुपर्छ। कुन लेभलमा समस्या बढिरहेको छ डाक्टरले सल्लाह दिन्छन्। मानसिक समस्याको सुरुमै औषधी दिइँदैन।

यदि धेरै समस्या भएको भए अरू विभिन्न सल्लाह र थेरापीबाट उपचार सुरु गर्नुपर्छ। कसैलाई बाल्यकालमा कडा खालको सन्तुलन गुमाउने रोग पनि सुरु हुन्छ। यस्तो समस्या छ भने औषधि नै सुरु गर्नुपर्ने हुन्छ। तर अरू अवस्थामा औषधी नखाई ठिक हुन सक्छ।

परामर्श कसरी लिने  
अहिले धेरै ठाउँमा यो रोगको परामर्श लिन सकिन्छ। जहाँ नजिक छ, त्यहाँ गएर यो विषयमा छलफल गर्न सकिन्छ। गाउँ-गाउँबाट काठमाडौँ जँचाउन आउनुहुन्छ।
हामीले उपचार गर्न चाह्यौ भने जहाँ पनि सम्भव छ। पाँच बर्ष अघिको अवस्था र अहिलेको अवस्था हेर्ने हो भने गाउँका मान्छेले पनि परामर्श लिन नसक्ने अवस्था छैन। सामाजिक सञ्जाल र फोनबाट पनि चिकित्सकसँग परामर्श लिन सकिन्छ

समस्या आउन नदिन के गर्ने ?
मुख्य कुरा अभिभावकले बालबालिकालाई समय दिनुपर्छ। बालबालिकालाई अभिभावकले सक्ने जति मद्दत गर्नुपर्छ। शिक्षा, स्वास्थ्य, खेलकुदमा समय दिनुपर्छ। कति बालबालिकालाई अभिभावकले नसोधी आफ्नो कुरा खोल्दैनन्। उनीहरूलाई कसरी हुन्छ सबै समस्याको बारेमा भन्न लगाउनुपर्छ।

उनीहरूले सानो समस्यालाई पनि गहिरो रूपमा बुझेका हुन्छन्। आफ्नो शारीरिक बनावटमा आउने परिवर्तनमा पनि उनीहरू रुमल्लिइरहेका हुन्छन्। यो कुराले पनि उनीहरूलाई तनाव दिएको हुन सक्छ। अभिभावकले डर नदेखाई समय दिएर उनीहरूको समस्या बुझ्नुपर्छ।

(मनोचिकित्सक डाक्टर ऋषभ कोइरालासँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित )

 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ७ : २८ बजे

तमोरस्थित लुमुघाटमा मोटरेबल पुल पुनर्निर्माण सुरु

तेह्रथुम– तमोर नदीस्थित तेह्रथुम–पाँचथर जोड्ने लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण सुरु

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको नयाँ दिल्लीस्थित एपोलो

रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादन सुरु

रसुवा– उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरको परीक्षण उत्पादन सफल

मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन

काठमाडौं– मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ